“बा” की प्रेमिका खोज्दा (दोस्रो भाग)
-महेन्द्र पौडेल
करिब बीस घण्टाको रेल यात्रापछि सिमलगढी स्टेशनमा उत्रेको थिएँ । किराझैं मानिसहरु यताउता गरिरहेँ । मैले आफ्नो चेहेरा खोज्नु थियो । आफ्नाहरु खोज्नु थियो । बाकाहरु खोज्नु थियो । बाले छाडेका यादहरुलाई पुनर्जागित गर्नुथियो ।
खोज्नेक्रममा भेटेको थिएँ “दुधवाला नेपाली” ।
अहमदाबाद विश्वविद्यालयबाट शास्त्री गर्नुभएका बुबाले आचार्यको पहिलो पेपर लागेपछि विरक्तिएर आसाम पुग्नुभएको हो । आफ्नो जवानीमा । फेल भएका ती जाँचका पेपरहरु उहाँले आफ्नो बाकसमा सुरक्षित राख्नुभएको थियो । पछि हामीले हेथ्र्यौ ती बाले जाँच दिएका पेपरहरु । भारत सरकारको अर्धसरकारी कम्पनीमा उहाँले सर्भिस गर्नुभयो । एउटा स्तरीय पदमा । नेपाली, बंगाली अनि पञ्जाबीहरु बुबालाई इर्ष्य गर्दथे । एउटा पहाडी बाहुन त्यो पनि नेपाली सिधैं सुपरभाइजर पदमा । आजभोली त्यो कम्पनीको जागिर आकर्षक जागीर रहेछ । जो पायो त्यही पस्न नपाउने त्यो कम्पनीमा । त्यो कम्पनीलाई “ओएनजीसी” भनिदोँ रहेछ ।
आसाम एउटा ऐतिहासिक ठाउँ हो, भारतको । पूर्वी भारतको एउटा राज्य मानिन्छ । यो एउटा ढोका पनि हो बंगलादेश, भुटान र नेपालसँग जोडिएको छ । ७८,४८३ किलोमिटरको स्क्वाएरमा फैलिएको सबैभन्दा ठूलो शहर गुवाहाटी हो । ३ करोड १२ लाख जनसंख्या रहेको यहाँका आदिवासी नागाहरुको छुटृै राज्य छ, नागाल्याण्ड । उनीहरुलाई विशेष खालको सुविधा यहाँको सरकारले दिएको छ ।
७४ प्रतिसत साक्षरता रहेको यस क्षेत्रमा विशेष गरी आसामिया, बंगाली बोडो र नेपाली भाषा बोलिन्छ । आसामको संसदमा नेपाली भाषीका ३ जनाले प्रतिनिधित्व गरेका छन् ।
आसाम संस्कृत शब्द “अस्म” अथवा “असमा” जसको अर्थ हुन्छ “असमान” पछि त्यो अपभ्रंश भएर “आसाम” भएको भनिन्छ । धेरैभन्दा धेरै आकासे पानी पर्ने गर्दछ यस ठाउँमा ।
प्राचिन भारतमा यस ठाउँलाई प्रागज्योतिषपुरको नामबाट जानिन्थ्यो । पुराणहरुका अनुसार यो कामरुपको राजधानी थियो । महाभारतअनुसार कृष्णको नाती अनिरुद्धले यहाँको उषा नामको युवतीसित मोहित भएर उसको अपहरण गरे भन्ने भनाई छ भने अर्कोतिर होइन उषाले नै अनिरुद्धलाई अपहरण गरेकी हुन् भन्ने भनाई छ ।
इस्वी सन् १२२८ मा बर्माका एउटा चाउ लिंग सिउ का फाले यसमाथि राज गरेका थिए । उनी अहोम बंशका थिए भन्ने यिनको शासन १८२९ सम्म चल्यो । पछि यिनलाई ब्रिटीशहरुले हराएपछि उनको शासन काल सकियो ।
तेलको प्रख्यात मानिएको यस क्षेत्रको तेल निकाल्ने श्रेय ब्रिटिशलाई दिएका छन् । “डिगबोइ” भन्ने एउटा ठाउँ छ । यहाँ एकजना ब्रिटिशले एकजना केटालाई जमिनमा ‘खन’ भनेर आदेश दिएका कारण डिगबोई नाम रहन गएको स्थानीयहरु बताउँछन् । त्यसरी तेल पत्ता लगाएको हो । खनिज तेलको मुख्य खानी रहेको यस क्षेत्रमा ठूलो डिजल पेट्रेल र कोइला खानीका साथसाथै चियापत्तिको खानी मानिन्छ । करिब ४० लाख नेपालीभाषीरहेको मानिएको यस क्षेत्रमा भाजपाको नरेन्द्रमोदी सरकारका आएपछि एनओसी १९७१ भन्दाअगाडि देखि भारतमा बसोबास गरेको डकुमेन्टहरु देखाउनु पर्ने अहिले नियम बनाइएको रहेछ । भारतबाहेकका बंगाली, बर्मेली र नेपालीहरु त्यही एनओसीका लागि दौडादौड गरिरहेका रहेछन् । उनीहरुले आफू जन्मेका कागजात मिलाउने चक्करमा सबैको निदहराम भैरहेको रहेछ । यो त भयो आसामको इतिहासको कुरा ।
छोटो समयमै हरेक जातिका मान्छेहरुसँग छिटो घुलमिल हुने मेरो एउटा बानी छ । चाहे उनीहरु जुनसुकै संस्कृति भाषा, भेषभुषाका होऊन । जुन काडाँले विझाइरहन्थ्यो त्यो काँडा झिक्नका लागि त्यस्तै काँडा प्रयोग गर्नुपर्दथ्यो । मलाई बाकी प्रेमिकाको विषयले विझ्याइरह्यो । जसको बिगत पीडादायी छ त्यही विगत कोट्याएर दुःखदिनेहरु धेरै थिए, म त्यसबाट पार पाउन चाहन्थे । मेट्न चाहन्थे । अनि उनलाई भेट्न चाहन्थें ।
तीनसुकिया आसामको ठूलो शहर मानिन्छ । दुधवाला साथी अर्थात रमेश र म आसामका धेरै ठाउँहरु घुम्यौं । ऊ त्यही जन्मे हुर्केको पढेको । उसले मलाई धेरै ठाउँहरु घुमायो । डेढ एकमहिनाको बसाईँमा उनलाई खोज्न मैले कति पापड बेलेँ होला भनिसाध्य छैन ।
एकदिन प्रत्येक पुराना पसलहरु, नेपालीका पसलहरु, पान पसल, छकौलियाका गल्लीगल्लीहरु । होटलहरु । सबै ठाउँमा सोधखोज गरेको थिएँ । मलाई उनको नाम थाहा थियो, तस्वीर थाहा थिएन । उनलाई चिन्ने केही गुह्य कुराहरु थाहा थियो । अरु केही थाहा थिएन ।
प्रत्येक दिन बेलुका निरास भएर सोफामा बसेको देखेपछि रमेशका बुबा, आमा, दाजुभाई सबैले आफ्ना आफ्ना च्यानलका फोनहरु घुमाउँथे । मेरा कान ठाडा हुन्थे, कुनै ‘गुड न्यूज’ आइ पो हाल्छ कि भनेर । प्रत्येक रात र दिन घरि उत्साह घरि निरासामा नै बित्दै गयो । बाकी प्रेमिका खोज्ने चक्करमा ।
फलानो ठाउँमा फलानो बुढी यसरी बसेकी छिन् ओहो सायद तिनै पो हुन कि ‘बाकी प्रेमिका’ भन्ने हुटहुटी रातभरी चल्थ्यो । भोलीपल्ट गयो भेट्यो अनि अर्कैलाग्दथ्यो । फर्कन्थें ।
यसरी धेरै दिन बित्दै गए । मेलाई धेरैले सोधे ‘किन “बा” की प्रेमिका खोज्नु पर्यो ?’अब बितिसकेको कुरालाई किन ल्याउनु पर्यो’ धेरैले भने ।
मेरो जवाफ फरक हुन्थ्यो । बितेर गएका “बा”को एउटा आत्मा पक्कैपनि आफ्नो प्रेमिका प्रति रहन्छ । यसैपनि आफ्नो जीवनको अन्तिम अबस्थामा बुबाले त्यो इच्छा मलाई सुटुक्क बताएको हुनाले मैले जसरी खोज्नु थियो । जसरी पनि खोजेस कसरी बसेकी छ हेरेस भनेको हुनाले हेर्नु थियो । “बा”लाई के थाहा थियो भने जसरी बसेपनि यसले अर्को बिबाह गर्दिन भन्ने रहेछ । “बा”ले यी कुरा दाईहरुलाई नभनेर मलाई भन्नुको कारण थियो । कान्छो छोरा यसैपनि “बा”को प्यारो हुन्छ नै । जेठो छोरा आमाको प्यारो भएझैं ।
कहिलेकाँही लाग्दछ “बा”ले सानैदेखि यसैको निम्ति अर्थात आफ्नी प्रेमिका खोजाउनका निम्ति मलाई तयार गर्नुभएको त होइन ? किनभने उहाँले दाईहरुलाई कहिल्यैपनि महाभारत, रामायण र बेदजस्ता कितावहरु पढाउनु भएन । मलाई यी किताबहरु बारबार पढ भन्ने गर्नुहुन्थ्यो र पढ्थें मैले ।
राजा सन्तनुले गंगापुत्र भीष्म हुँदाहुँदै मत्यनरेश कि पुत्रीसँग बिबाह गरेका थिए । एकदिन मन बहलाउने क्रममा उनको भेट मत्स्य नरेशकी पुत्रीसँग हुन्छ । नदि पार गर्ने क्रममा ती युवतीले राजालाई डुंगा चढाएकी हुन्छिन् । एक तरुनी केटीले डुंगा खियाएको देखेर राजा मोहित हुन्छन् । उनीसँग राजाको प्रेमहुन पुग्दछ र राजाले उनलाई बिबाह गरेर दरबार लैजाने प्रस्ताव गर्दा उनले आफ्नो हातमाग्न आफ्नो बाबुसँग भन्नुपर्ने बताउँछिन् । राजा अर्कोदिन मत्यनरेशकी पुुत्रीसँग हात माग्न उनको बाबुसामु जाँदा बाबुले एउटा कुरा तेर्साछ ।
के भने मेरी पुत्रीबाट जन्मेको सन्तानलाई नै राजा बनाउने हो भने म मेरो पुत्रीको बिबाह तपाईसामु गरिदिनेछु, त्यो शर्त मान्न सक्नुहुन्छ ? भनेर प्रश्न तेस्र्याएपछि राजाले आफ्नो जवान पहिलो छोरा भीष्मप्रति अन्याय हुने ठानेर बिबाह त्यागिदिन्छन् ।
बिबाह तोडिएपछि राजाका दिनहरु निरासामै बित्न थाल्छन् । राजा प्रत्येक दिन जंगलतीर गएर टोलाउने, निरास हुने देखेर छोराको मनमा बिरह चल्छ र उनले आफ्नो बाबु के कारणले यस्तो अवस्थामा पुगे भन्ने कुरा बुझ्न गुप्तचरको प्रयोग गरेपछि भीष्मलाई पत्ता लाग्दछ यो कुरा ।
त्यसपछि उनी स्वयंम मत्स्य नरेशसामु आफ्ना बाबाको लागि आफ्नो सौतेली आमाको हात थाम्न पुग्दछन् । हो त्यही बेला उनले गरेको भीष्मप्रतिज्ञा आजपर्यन्त पनि जीवित छ । कि कसैले कसम खाएभने भीष्मप्रतिज्ञा हो मेरो भन्दछन् ।
आफ्ना छोरासँग बाउको एक किसिमको भावना हुन्छ जेनेटिक जसका कारण उसले बाबुको धेरैजसो भावना बुझ्नसक्छ । मलाई “बा”को सायद भावना यही हुनुपर्दछ भन्ने हेक्का थियो । मैले दिलोज्यान लगाएर खोज्नु थियो । यो खोज्नु बढो कठिन कुरा थियो । महासागरमा सियो खोजे जस्तो ।
१८ वटा गाई ती नेपाली परिवार अहो कति खुशी । बिहान ५ बजे उठेर गाई दुहुइसकेपछि ७ बजेभित्र बजारमा दुध पुर्याइसक्थे । बिहान साढे ७ बजे नास्ता तयार हुन्थ्यो ।
तीनवटा रोटी । एकगिलास दुध । अनि रोटीमा लगाउने क्रिम । अलिकति साग वा अन्यको तरकारी । मान्छेहरु स्वस्थ । शाकाहारी । सस्तो जमिन । डिखौ नदीको छेउछाउ । एउटा ठूलै नेपाली बस्ती । चाडपर्वमा महत्वका साथ सामेल हुने । एकअर्कालाई पर्दा निश्वार्थ सहयोगी । कोही कसैका लागि खुटृा तान्ने प्रवृत्ति नभएको । कति मिलेर बसेका । लोभलाग्दो । प्रत्येकदिन छलकपट र अर्थखोज्ने समाजबाट म त्यस बस्तीमा पुगँ । मेरो मन आउनै मानेको थिएन ।
आसाममा खानेपानीको समस्या रहेछ बस्तीबस्तीहरुमा । खाल्टाखुल्टीमा जम्मा भएको पानी वा बोरिंग वा कलको पानीलाई बाल्टीमा बालुवा भरेर त्यसबाट अर्को अनि अर्को गरी पानी छानेर बल्ल पिउने गर्दारहेछन् । सरकारले कृषि कर्जा जस्तै पशुपालन र खेतिपातीमा मनग्गे ऋण उपलव्ध गराउने रहेछ । अति सस्तोमा ।
मैले लगभग सबै नेपालीसँग भेटेँ, पुराना पुरानाहरु । सबै ठाउँहरुमा खोजेँ । अब एउटा ठाउँ बाँकी थियो खोज्न । त्यो हो मन्दिर । अब मलाई मन्दिरमा खोज्नु थियो । क्रमश …..