ताइवानमा ‘जहाँ छन् बुद्धका आँखा’

-कपिल अधिकारी / ताइवान (फोटो र रिपोर्ट दुबै)

    ताइचुंग विश्व पुष्प प्रदर्शनीमा नेपाल मण्डप दक्षिण मोहडाबाट

परदेशमा बस्नु भएको छ । देश नै नफर्की परदेशकै भूमिमा हजारौं माइल दुरीमा रहेर पनि सधैं आफैसंग रहेको अनुभूति गरिरहनु भएको मातृभूमिको त्यो सुन्दर बुद्धका आँखा साक्षात दर्शन पाउनु भयो भने के सोच्नु हुन्छ ? भयो यहाँ त्यस्तै । स्वयम्भु अर्थात् महाचैत्य साक्षात दर्शन । यस्तै भाव र खुशी बोकेर आयो ताइवानमा रहेको नेपाल मण्डपमा “सानो स्वयम्भुनाथ” । स्वयम्भुनाथ, माहाचैत्य जस्ले शाक्यमुनि बुद्धले प्रदान गर्नु भएको ज्ञान, दर्शन, करुणामयभावलाइ मात्र प्रज्वलित गरिरहेको छैन, यसले सदियौं देखिको नेपाली वास्तुकला, कलाकृति र संस्कृतिलाइ ब्याख्या पनि गरिरहेको छ ।

प्रसङ्ग हो ताइवानमा चलिरहेको ताइचुंग विश्व  पुष्प प्रदर्शनी  (Taichung World Flora Exposition ) । यहि नोवेम्बर ३,२०१८ मा उद्घाटन भएको  विश्व  पुष्प प्रदर्शनीमा झन्डै ३०० वर्ग मीटर भित्र फैलिएको  ७ मीटर अग्लो  स्वम्भुनाथ स्तूपा । स्तूपको वरीपरी सानो सुन्दर बंगैचा । ढुंगे धारो । सानो चैत्य । भूमि स्पर्स मुद्रामा रहेका अभिताब बुद्धको मुर्ति । नेपाली काष्ठकाला भरि कुँदिएको अग्राखका ठुलो ढोका । कुनामा एउटा सत्तल । एउटा बज्र । एउटा माने र स्तूपा अगाडी  ठडीईरहेको नेपालको बिशाल झन्डा रहेका छन  । परदेशी नेपालीलाइ मात्र हैन जो कोहि यहाँ पुग्छ उनीहरूलाई मंत्रमुग्ध पार्छ । एउटा तटस्थ व्यक्तिलाइ पनि  यो “सानो स्वम्भुनाथ”अरू देशहरूको  प्रस्तुति भन्दा निनान्त भिन्न  र  ज्यादै मनमोहक, सम्मोहक  लागेको  छ । झन्डै पाँच  महिना (नेपालमा चार महिना र ताइवानमा एक महिना) लगाएर बनाईएको हो यो महाचैत्य तथा पुरै मण्डप  ।

    ताइचुंग विश्व पुष्प प्रदर्शनीमा नेपाल मण्डप पुर्बी मोहडाबाट

अरनिकोको शहर ललितपुरको ललित मण्डप आर्ट एण्ड आर्टिटेक प्राइभेट लिमिटेडले तयार परेको हो यो स्तूपा । स्तूप र अझै ५ महिनासम्म यहाँ रहने छ । नेपालको निजि कम्पनिलाइ कसरि आयोजकले विश्व पुष्प प्रदर्शनीको लागि निम्ता गर्यो त ? यो पंक्तिकारलाइ खुल्दुली लाग्यो र अहिले ताइवान भ्रमणमै रहनुभएका नेपाली निर्माण कम्पनीका निर्देशकहरू संग यो पंक्तिकारले यस बारे कुराकानी गरेको थियो ।

यत्रो ठूलो लगानी छ, लगानी उठ्ने हो हैन कस्तो लाग्छ भन्ने मेरो प्रश्नमा ललित मण्डपका निर्देशक भन्नु हुन्छ, “यो पैसा संग तुलना गर्ने बस्तु नै हैन । हामीलाई धेरै गौरब लाग्छ बिदेशमा आएर यस्तो कार्य गर्नु पाउनु । नेपाल र नेपालीलाइ बिस्वसामु चिनाउन पाउनु । खर्च त उठछ होला । आर्थिकरूपमा नउठे पनि हामीलाई आफ्नो देशको लागि केहि गरें भन्ने गौरब बनाउनेछ । यो पनि उपलब्धि हो । हामी निर्माणकर्ताको लागि । हुनसक्छ कुनै ठुलो संघ संस्थाले, व्यक्तिले पुरा स्तुपनै खरिद गरि आफ्नु निजि जमीन, मन्दिर अथवा पर्यटकीय स्थलमा लागि स्थानीय पर्यटन परबर्धन बढाउने ठाउँमा लैजान सक्छ । अहिले ताइवानको प्रसंगमा भने शायद आयोजक ताइचुंग विश्व पुष्प प्रदर्शनीले नै स्वम्भुनाथ स्थाई रूपमा अहिल्यैको, यहि ठाउँमा राख्ने सम्भावना छ । यहाँका संघ संस्था,व्यक्तिले यस किसिमको मण्डप प्रति इच्छा देखाएको खण्डमा हामी अर्को यस्तै र यो भन्दा पनि छुट्टै किसिमको नेपाली कला र संस्कृति संग जोडी मुर्तिकला, काष्ठकला, बस्तुकला भरि निर्माण गरिएको नेपाली मण्डप निर्माण गर्न सक्छौं । झन् पहिलो हुन सके त कुरै अर्कै ।”

उहाँले थप्नुभयो “हाम्रो प्रस्तुति युरोपको यस्तै ठुला पुष्प पर्दर्शनीमा देखेर आयोजकले हामीलाई बोलाएको हो । यो प्रस्तुतिले नेपालको पर्यटन परबर्धनमा ठुलो भूमिका खेल्ने छ र नेपालले मनाउन लागेको भिजिट २०२० मा नेपालमा पर्यटक भित्राउन ठुलो सहयोग गर्ने छ । नेपालको प्रचार प्रसारमा ठुलो भूमिका खेल्छ भने लाग्छ । सन् २०१९,२०२० २०२१ मा हुने अरू विश्व पुष्प प्रदर्शनीमा फेरी हामी जाँदै छौ। | फ्रान्समा पनि कुरा भै राखेको छ ।”

नेपाल सरकारबाट केहि सहयोग भयो कि भन्ने प्रश्नमा दुवै भन्नुहुन्छ “सबै कुरामा हामीले सरकारको मुख ताक्ने हो र ? आफूले गर्न सक्ने काम आफ्नै गर्ने हो । गार्हो सांग्रो पर्दा पो सरकारको सहयोग माग्ने हो ।”

नेपाली रेस्टुरेन्ट

फूल प्रर्दर्शनी २४ अप्रिल २०१९ सम्म चल्ने यो मेलामा स्वादिस्ट भोजनसहितको एक नेपली रेस्टुरेन्ट पनि छ । यसलेपनि नेपाली खानाको प्रचारमा ठूलो भूमिका खेलेको छ । छ महिना लामो पर्दशनीमा कतिले भ्रमण गर्ने छन अहिले नै थाहा हुने कुरा हैन । तर आयोजकले ८० लाख व्यक्तिले भ्रमण गर्ने अनुमान गरेको छ । पहिलो १ महिनाको अवधिमामात्रै झन्डै १५ लाखले भ्रमण गरिसकेका छन् । यहाँ ताइवानी मात्र हैन धेरै बिदेशी पर्यटकहरूले भ्रमण गर्ने छन् । ताइवानको ट्रावल एजेन्सीहरूले ताइचुंग विश्व पुष्प प्रदर्शनीमा अनिबार्य एउटा भ्रमण गर्नुपर्ने क्षेत्रमा राखेको छ । ताइवानमा सन् २०१७ मा एक करोड भन्दा बढी बिदेशी पर्यटकले भ्रमण गरेका थिए । अनुमान गरौँ, करिब ३५-४० लाख मानिसले सानो स्वम्भुको भ्रमण गरे, अबलोकन गरेर सम्झनाको फोटो खिचे भने नेपालको कति प्रचार होला ? अहिले आयोजकका अनुसार दिनको ३० -३५ हजार पर्यटक हरूले नेपाली मण्डला अबलोकन गरेको छन ।

यो विश्व पुष्प प्रदर्शनी हो । यो छ महिना भित्र यो प्रस्तुतिप्रति पर्यटकको मोह, स्थानीय पत्रिका तथा टेलिभिजनमा भएको यसको चर्चा परिचर्चा तथा निर्माणकर्ता ललित मण्डपले पुरै छ महिना अवधिसम्म गर्ने सफा सुघरता, मण्डपमा आउने भ्रमण्कर्ताप्रति नेपालले देखाउने आधार, सत्कार, सेवा , सदयता आदि हेरी आयोजकले कुन देशको प्रश्तुति राम्रो भनि पहिलो, दोश्रो नाम घोषणा गर्ने छ ।

नेपालीहस्तकला स्टल 

नेपाल मण्डपसँगै विस्वका धेरैदेशसंगै नेपालले नेपाली खानाको स्टल तथा नेपाली हस्तकला परबर्धनको लागि हस्तकला स्टल राखेको छ । नेपाली खाना भिजिटरहरूले धेरैनै मन पराएको आयोजकले बताएका छन्। अरनिकोले १५ शताब्दीमा चिनमा नेपाली बस्तुकलाको अनुपम उदहारण प्रस्तुत गरेकै ठाउँ, ललितपूरबाट ताइवानमा ललित मण्डप आएको छ, अर्को अनुपम उदाहरण प्रस्तुत गर्न ।
ताइवानको औद्योगिक शहर ताइचुंग नजिक, हौली भन्ने ठाउँमा भएको यो पर्दर्शानी ७१ हेक्टर जमीनमा फैलिएको छ । भ्रमण गरौँ । आफ्नो कलाकृति र संस्कृतिको सम्मान गरौँ ।

तपाइँको प्रतिक्रिया