जबर्जस्ति विवादमा राजेश हमाल

-हरि अधिकारी

वरिष्ठ चलचित्र कलाकार राजेश हमाल महानायक हुन् महानायक होइनन् भन्ने विवादले गत केही दिनदेखि नेपालका अनलाइन न्युज जर्नलहरू र सामाजिक सञ्जालका माध्यमहरू रङ्गिएका छन् । हुन त यो विवाद चियाको कपबाट उठेको आँधी जस्तो मात्रै हो किनकि अहिले विवाद झिकिएको “महानायक” को उपाधि राजेश हमाललाई राज्य वा कुनै अख्तियारप्राप्त संस्थाले आधिकारिक रूपमा दिएको होइन, न त, हमालजी स्वयम्ले त्यस्तो उपाधिको प्रयोग वा चर्चा नै गर्ने गरेका छन् । नेपाली चलचित्र जगतका एकताका निकै चलेका हिरो राजेश हमाललाई महानायक बनाउँने यो विवादास्पद काम कुनै ‘खानेदाउ पत्रकार’ को अथवा कुनै घटिया चाप्लुस कलाकारको हुनुपर्दछ । समग्रमा नेपाली समाजको सामूहिक मनोविज्ञान त स्यालको जस्तो छँदैछ कसैले हुइँया चलाइदिएपछि आँखा चिम्लेर त्यसका पछि दगुरिहाल्ने !

राजेश र महानायक सम्बन्धी पछिल्लो विवाद भने “छक्कापञ्जा फेम” निर्देशक दीपाश्री निरौलाले झिकेकी हुन् । निरौलाले जसरी राजेश हमालको नामको अगाडि लगाइने गरेको महानायक भन्ने मानार्थ उपाधिसँग व्यक्तिगत स्तरमा समस्या भएझैं कुरा गरिन् त्यसरी कुरा गर्नु अनावश्यक मात्र होइन अनुचित पनि थियो । हल्लाकै भरमा प्रचारित भएको भए पनि राजेश हमाल धेरै नेपालीहरूका दृष्टिमा महानायक भइसकेका छन् । महानायक भनेको अलि बढी नै गर्‍हुँगो सुनिएला तर हमालले नेपाली चलचित्र जगतमा लामो अवधि गरेको काम, व्यक्तित्वको ओज, विद्वता र सामाजिक सचेतताका वलबुतामा नेपालीहरूको मनमा त्यस्तो सम्मानजनक स्थान बनाएका हुन् ।

दीपाश्री निरौला वा उनका सहकर्मी दीपकराज गिरिका लागि राजेश हमालले आर्जन गरेको त्यो स्थान अझै पनि धेरै टाढाको जून-तारा जस्तै हो । छक्कापञ्जा शृङ्खलाका फिलिमहरूबाट निरौला-गिरिको यो जोडीले पैसा खूबै बनाएको छ क्या रे । तर पैसाले राजेश हमालको स्तरको व्यक्तित्वका प्रसाद गुणहरूलाई किन्न सकिंदैन । यस प्रसङ्गमा दीपकराज गिरिको स्पष्टीकरण पनि सुनियो । उनको कुरो सुन्दा त यो जोडीमा संस्कृत भाषाको ‘महा’ उपशर्ग लाग्ने तहसम्म पुग्ने ल्याकत नै छैन भन्ने निचोड पो निकाल्नु पर्ने भएको छ ।

(वरिष्ठ पत्रकार, लेखक अधिकारीको यो सामाग्रि फेसबूकबाट लिएको हो र राजेश हमालको फोटो फ्लिकरबाट तानिएको हो)

तपाइँको प्रतिक्रिया