कसरि गर्ने जेष्ठ नागरिकको सम्मान ?

– गोपीचन्द्र कार्की
अहिले हाम्रो समाजमा धन सम्पत्ति, छोराछोरी भएर पनि पारिबारिक माया ममता नपाएर कष्टकर जीवन विताउन परेका र अर्काथरी छोरा छोरी बिदेशमा रहेर एक्लो जीवन बिताउन परेका बृद्धबृद्धा छन् । त्यस्तै छोराछोरीले सामाजिक उत्तरदायित्व भुलेर उनीहरुका हेलत्व व्यवहारबाट पिडित भएका र अर्काथरी आर्थिक दुरावस्थाका कारण कष्टकर जीवन विताउन परेका बृद्धबृद्धाहरु हाम्रो समाजमा देख्न पाइन्छ । विकसित मुलुकको तुलनामा हाम्रो संस्कार, संस्कृति र परम्पराले हामीलार्ई व्यक्तिवादी वनाउने भन्दा हामी र हाम्रो परिवार भन्ने भावनाले गाँसेको पाइन्छ ।  विकसित मुलकमा वृद्धवृद्धा एक्लै वस्ने गरे पनि राज्यले उपलव्ध गराउने सेवासुविधा, सामाजिक सुरक्षा एवं भरण पोषणले जीवन गुजरा चलाउन सहज हुने हँुंदा उनीहरुमा ठूलो समस्या आएको देखिदैन ।

छोरा होस् वा छोरी प्राय अठार वर्ष पुगेपछि परिवारसँग नवसी आफनै खुटृामा उभिएर अलग्गैै वस्न रुचाउँछन् । सकेसम्म मेरा लागि म आफैले गर्नु पर्छ, कसैमा आश्रित हुनुहुन्न भन्ने सोच उनीहरुमा रहेको पाइन्छ । वुढावुढी पनि आफुले  काम गर्दा सरकारलाई सामाजिक सुरक्षा बापत तिरेको करका कारण वृद्ध वा असक्त जेष्ठ नागरिकप्रति राज्य पूर्ण रुपमा जिम्मेवार रहेको पाइन्छ ।
संचार क्षेत्रले फड्को मारेको कारण, हाम्रो समाजको वनोट संस्कार र संस्कृति भन्दा फरक विकसित देशकोे देखासिकि गरेर अहिलेका पुस्ता बृद्धबृद्धाहरु प्रति व्यवहार गर्न खोज्छन् । तर नेपालमा वृद्धवृद्धाको आर्थिक अवस्था दयनिय छ, । सुविधायुक्त वृद्धमैत्री भौतिक संरचना छैन । प्रशस्त पूर्वाधार भएर पनि देशले आर्थिक उन्नतीको फड्को मार्न नसक्दा धेरै बृद्धबृद्धा विरामीपर्दा उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न सकेका छैैनन् । सन्तुलित आहार हैन कतिपयलाई बाँच्नका लागि खान जुटाउनुुनै ठूलो कुरो भएको छ । मुलुकको आर्थिक विकास र पूर्वाधार तैयार नभइ केवल सोचाइ र देखासिकीवाट मात्र आएको परिवर्तन एवं पश्चिमाकरणले हाम्रो जेष्ठ नागरिकको अवस्था असुरक्षीत एवं करुणादायक हुँदैछ । संयुक्त परिवारमा रमाउने हामी अहिले एकल परिवारमा रमाउन थाल्दैछौँ । अनि हाम्रो सामाजिक संजाल, परिवार परिवार वीचको माया ममता अचेल खलवलिँदै  गएको देखिन्छ ।
२०६८ को जनगणना अनुसार ६० वर्ष पारगर्नेको संख्या २३ लाख ५१ हजार पुगेको छ । जबकि यस भन्दा अघिल्लो २०५८ को जनगणनामा बृद्धबृद्धाको संख्या करिब १५ लाख थियो । यस हिसावले नेपालमा वृद्धबृद्धाको संख्या बढोत्तरीमा रहेको प्रष्टै छ । एक दुई दशक अघि ६० वर्षकै मानिस वुढो हुन्थे, देखिन्थे । अहिले खानपिन, स्वास्थ्य सम्वन्धी चेतना र पारिवारिक हेरचाहका कारण वुढ्यौलीको उमेर बढ्दै छ । अहिले हाम्रो समाजमा ८०, ९० का बृद्धबृद्धाहरु पनि स्वस्थ्य रही हिँडिरहेका देखिन्छन् । यो निश्चयनै राम्रो कुरा हो ।
बिकसित मुलुकमा रोजगारीका विभिन्न अवसर र संभावना भएकोले बृद्ध अवस्थामा टेवा पुगिरहेको देखिन्छ । यहाँ काम गर्ने समयमा पनि बेरोजगारी रहनु पर्ने अवस्था छ । जसका कारण बृद्ध अवस्था अझ कठिन हुन जानेनै भयो । खासमा सरकारी वा गै्रह सरकारी क्षेत्रमा काम गर्नेहरुले पाउने पेन्सन जस्ता सुबिधा र पेन्सन नपाउने स्थानमा बीसौवर्ष काम गर्ने उही उमेरका वृद्धबृद्धाले बाँच्ने जीवनशैली समाजमा अलि फरक देखिएको छ । सरकारी, गैह्रसरकारी वा नीजीक्षेत्रमा जहाँ जहाँ काम गरे पनि योगदानमा आधारित पेन्सन सुविधा पाउने व्यवस्था लागु गर्ने हो भने नेपालीको बुढ्यौली जीवन केही सुविधायुक्त हुने देखिन्छ । सरकारी लगायत अन्य केहीमा काम गर्दा पेन्सन पाए जस्तै जहाँ काम गरे पनि निश्चित रकम कटृा गर्ने , काम गरेको अबधि जोडिदैं जाने र निश्चित उमेर पुगेपछि राज्यवाट सामाजिक सुरक्षावापत पेन्सन, भत्ता पाउने व्यवस्था मिलाउन सके बृद्धहरुको बीच दुई वर्ग देखा पर्ने थिएन । धेरै विकसित मुलुकहरुमा अपनाएको यस्तो बिधिले जे काम जहाँ गरे पनि काम प्रति मानिसको सम्मान रहने र निश्चित समयपछि राज्यवाट पाइने पेन्सन सुविधाले बुढ्यौली जीवन सहज बन्न सक्छ । साथै विकसित मुलुकमा कम आय भएका वृद्धवृद्धाहरुलार्ई यातायात, पानी, विजुली, स्वास्थ्यजस्ता क्षेत्रमा राज्यवाट छुट वा निशुल्क व्यवस्था गरिएको पाइन्छ । वेलायतमा वृद्धवृद्धाहरुलाई वेलायतभर सार्वजनिक यातायातमा घुम्न निशुल्क व्यवस्था छ । बिकसित मुलुकहरुले बृद्धबृद्धाका लागि गरेका यस्ता राम्रा कुराहरु सक्ने जति हामीले पनि क्रमश किन लागुगर्दै नजाने ?
०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा मौलिक हकको धारा ४१ मा जेष्ठ नागरिकको हक उल्लेख भएको छ । जसमा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ’ भनि उल्लेख भएको पाइन्छ । जेष्ठनागरिकलाई दिने सामाजिक सुरक्षा भत्ता बापत अहिले मासिक दुईहजार पाउंदै आएका छन् । निर्वाचनमा जस्ले जेष्ठनागरिकको भत्ता बृद्धि गर्ने, उनीहरु प्रति थप सेवा सुविधा दिने वाचा गरेका पार्टीनै अहिले सरकारमा रहेकाले जनताहरु नेताले बोलेका कुरा कहिले पुरा होलान् भन्ने आशमा रहेका देखिन्छन् । एकल महिलाले एकल भएकै मितिवाट मासिक एक हजार राज्यवाट भत्ता पाउन सकिन्छ । राज्यवाट पाउने यि भत्ता कतै राज्यवाट पेन्सन नखानेहरुलेमात्र पाउँदै आएका छन् भने कतै कतै पेन्सन खाने नखाने सवैले भत्ता लिँदै आएको देखिन्छ । ७० बर्ष पुगेपछि राज्यबाट पाउने भत्ता उनीहरुको सम्मानको लागि हो र एकल महिलाले पाउने भत्ता जीवन यापनका लागि सजिलो होस भन्ने हेतुले दिइएको हुँदा यस्मा विभेद गरी छुट्याउनु हुँदैन । अनुगमनका माध्यमवाट सवैतिर एकरुपता हुनु राम्रो । जेष्ठनागरिक सम्वन्धी ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको सार्वजनिक सवारी साधनमा सम्वन्धित सवारीधनीले जेष्ठनागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्ने र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु पर्ने व्यवस्था लागु भएपनि जसरी अहिले महिला सिटमा हतपत्ती पुरुषवर्ग वस्दैनन् त्यो सिट महिलाकै लागि सुरक्षित भएको पाइन्छ । निश्चयनै हाम्रो समाज सभ्यतातिर उक्लेको र महिलाको सम्मानको  संकेत पनि हो । तर जेष्ठनागरिका लागि छुटिृएका दुई सिटमा अझै जेष्ठनागरिकको पहुँच पुग्न सकेको पाइदैन यस्मा हामी नागरिकहरुलेनै सभ्य बनि जेष्ठनागरिकहरुको सम्मान गर्नुपर्छ । एकदिन सवै जेष्ठनागरिक हुनेनै हो ।
सन्तानहरुले आफना आमा वावुको रेखदेख, माया ममता तथा बिरामीमा उपचार गर्ने हाम्रो परम्परा र संस्कृति वचाउन जेष्ठनागरिक सम्वन्धी ऐन २०६३ को धारा ४ (१) मा जेष्ठ नागरिकलाई आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनि उल्लेख छ । तसर्थ आमा वावु प्रति दुव्र्यवहार गर्ने छोरा छोरीलाई कानूनी रुपमा कडा दण्डीत गर्ने व्यवस्था हुनु पर्दछ । आमा वावु वा वुढावुढीको हेरचाह नगरी कर्तव्यपालना नगर्ने छोराछोरी आमा वावुका योग्य सन्तान हुन सक्दैनन् । वावु आमाको संपत्ति वांडि चुंडि खाने तर सन्तानवाट वावु आमाहरुले दुख भोग्नेपर्ने अवस्थामा छोराछोरीवाट पनि भरण पोषणका लागि खर्च माग्न, पाउन सक्ने सरल व्यवस्था हुनु पर्दछ । सुनिन्छ डाक्टर भएका छोराहरुले पनि आफना बृद्ध आमा बाबुलाई बृद्धाश्रममा राखेको कुरा पनि सार्वजनिक हुने गरेका छन् । यसै प्रसंगमा मेरो घर अगाडि भएको सीबीन ( बालबालिकाको लागि काम गर्ने संस्था ) ले सडकमा अलपत्र परेका बालवालिका ल्याइसकेपछि उनीहरुको बाबुआमा, घर ठेगाना पत्ता लगाउने र उनीहरुलाई सकेसम्म घरमै पुर्नस्थापना गर्ने काम गरे झै, बृद्धाश्रममा आइपुग्ने बृद्ध बृद्धाहरुको पनि यसरीनै सोधी खोजी गरी घर हुने जग्गा जमिन हुने छोराछोरी छन् भने उनीहरुलाई पनि पुर्नस्थापना गराउने, छोराछोरीबाट सहयोग नभए उनीहरुका जायजेथा सम्पत्तिबाट केही संस्थाले लिन सक्ने व्यवस्था भै दिए बृद्धबृद्धाहरुले छोराछारी हुँदा वा आफनो घर सम्पत्ति छंदाछंदै पनि बृद्धाश्रममा बस्न पर्ने अबस्था आउंदैन थियो कि , छलफल चलाउनु पर्ने बिषय बनेको छ ।
 जेष्ठनागरिकका लागि राज्यले गर्न सक्ने र गर्नु पर्ने थुप्रै कुरा मध्ये उनीहरुको दीर्घजीवनको लागि घनावस्ती भएको शहरभित्र घुम्न डुल्नका लागि हरिया ठुला ठुला पार्कहरु ठाउँठाउँमा हुनु आवश्यक छ । अहिले ठुला शहरमा यस खालको सुविधा छैन । तसर्थ राज्यले घुम्न डुल्न र वस्न मिल्ने किसिमका ठुला हरियाली पार्कहरु वनाउन ढिलो भै सकेको छ । त्यस्तै वुढावुढीहरुले आफनो मानसिक र वौद्धिक विकासका लागि भेला भै, पुस्तक, पत्र पत्रिका पढ्रन पाउने गरी जेष्ठनागरिक क्लव वा भेटघाट थलोका रुपमा गाउँपालिका वा नगरभित्र हरेक वडामै संचालनमा ल्याउनु पर्छ । बृद्धबृद्धाहरुका लागि छुटृै अस्पताल संचालन भै त्यस्मा बृद्धबृद्धा सम्वन्धी बिशेषज्ञ डाक्टरहरुबाट सेवा पाउने व्यवस्था भै दिए राज्यबाट जेष्ठनागरिकहरुको सम्मान भएको ठहरिने छ ।  किनकि  जेष्ठनागरिकको संख्यानै २५ लाख पुगि सकेको अवस्था छ  । छुटृै अस्पताल नहुँदासम्म सवै अस्पतालमा बालबालिका वार्ड, महिला बार्ड आदि भए जस्तै बृद्धबृद्धा वार्ड बनाइ उपचार हुनु पर्दैन र ? । जेष्ठनागरिकहरुलाई लक्षित गरी छुटृै वा हाल संचालनमा आएका पत्र पत्रिकाहरुमा वुढावुढी सम्वन्धी स्तभ्म रहनु आवश्यक छ । उनीहरुको स्वस्थ्य् जीवनका लागि योग गर्ने, व्यायाम गर्ने थलोको व्यवस्था मिलाउन स्थानिय निकायहरुले योजना वनाउनु पर्छ । देशको सबै भागमा बिशेषज्ञ डाक्टरको सुविधा नपुगेकोले बर्षेपिच्छे बिकट क्षेत्रमा घुम्ति स्वास्थ्य क्याम्प संचालन गरी बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरिनु पर्दछ । शहरभित्र धुलो, धुंवा र फोहर वातावरण हटाई शहरलाई स्वच्छ राख्ने कामले वृद्धवृद्धाको लागि राज्यले सम्मान गरेकोनै ठहर्ने छ । गाउँपालिका र नगरका वडाहरुले आफनो वडामा रहेका स्वास्थ्यचौकीमा भएका स्वयंमसेविका, अहेव, नर्सहरुसमेतलाई साथलिई घरदैलो नर्सिङ सेवा संचालन गर्न सकिन्छ । स्थानिय निकायहरुबाट यस्ता कार्य हुँदा बिशेष गरेर जेष्ठनागरि लगायत अन्यले पनि स्वास्थ्य लाभ लिन सक्छन् । जाँच पश्चात स्वास्थ्य चौकि वा अस्पताल जान सल्लाह दिन सकिन्छ । मधुमेह र रक्तचाप भएकाको पहिचान गरी तिनलार्ई उचित सल्लाह र निगरानी राख्न सकिन्छ । अनुभव र ज्ञानका खानीका रुपमा रहेका जेष्ठनागरिकहरु अहिले पत्रुका भाउमा रहेका हुँदा राज्यले लाभ उठाउनु पर्दछ , उनीहरुको सवैतिरबाट उचित संरक्षण र सम्मान हुनुपर्दछ ।
 सहरका सडकपेटी पैदल यात्रु मैत्री  छैनन्, त्यसमाथि जेष्ठनागरिक र अशक्तलाई अहिलेको कतिपय सडक पेटी र आकाशेपुल सजाय दिन वनाइएका जस्तो भै रहेछ । अव वन्ने तथा विस्तार गर्ने सडक र पेटी वृद्धमैत्री हुनुका साथै जेब्राक्रसबाटै निर्धक्क बाटो काट्न पाउने व्यवस्था भै दिए  हामी सभ्यतातिर उक्लेको ठहर्ने थियो ।  वृद्धमैत्री आवास, वृद्धमैत्री सार्वजनिक यातायात, वृद्धमैत्री धार्मिक थलो, अस्पताल आदि वनाउने तर्फ पहिलेनै ध्यान दिँदा झन् राम्रो हुने थियो । पासपोर्ट बनाउन जांदा अलिकति कपाल फुलेका देखेपछि तपाई ७० वर्ष पुगेको हो भनि सेवा दिए जस्तै अन्य क्षेत्रमा पनि जेष्ठनागरिकका लागि  जेष्ठनागरिक डेस्क राखेर छिटो छरितो सेवा दिने व्यवस्था भए सुनमा सुगन्धै हुने थियो ।
  समाजवाट हपहेलत्व पाएका, कोही नभएका, कसैले वास्ता नगरेका, अलपत्र परेका वुढावुढीहरुको रेखदेख एवं संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । त्यसैले त्यस्ता जेष्ठ नागरिकलाई राज्यले विभिन्न जिल्लाहरुमा व्यवस्थित वृद्धाश्रमको व्यवस्था गरी वस्न पाउने व्यवस्था मिलाइदिनु राज्यको कर्तव्य भित्रै पर्दछ । आयस्रोत हुने, शुल्क तिर्न सक्नेहरुका लागि सुविधा सम्पन्न, हरियाली र शान्त ठाउँहरुमा बुढाबुढी हेरचाह केन्द्र बनाउन राज्यले निजीक्षेत्रलाई प्रोत्साहित गर्नुु पर्दछ । घरमा एक्लो महसुस गर्ने बृद्धबृद्धाहरुले त्यस्ता ठाउँमा कोठा वा फल्याट भाडामा लिइ चाहेको समयसम्म वस्न सक्ने व्यवस्था मिलाइदिँदा हुने खाने जेष्ठनागरिक वा बृद्धबृद्धाहरुले बाँकी जीवन शान्ति र आनन्दसँग बिताउन सक्छन् र उनीहरुबाट आउने रकमको केही हिस्सा अरु बृद्धबृद्धाहरुका लागि खर्च गर्न सकिन्छ ।
हाम्रो बुढ्यौलीे, जीवन विभिन्न अवस्थामध्ये एक प्राकृतिक बिशेषता हो । यसलाई हामीले चाहेर पनि रोक्न सकिन्न । आफुले आफुलाईनै वुढो भैयो भनि जीवनदेखि निरास नभै शारिरीक वा मानिसक रुपमा केही न केही काम गरेर जीवनलाई सक्रिय रुपमा चलायमान बनाउनुु पर्दछ । यसरी जीवन बिताउनेहरु नाम सुन्नमा आएका र सुन्नमा नआएका गाउँ र सहरमा थुप्रै हुनुहुन्छ । आफना दिनचर्या बनाई सक्रिय जीवन बिताउने केही नाम चलेका भर्खरै सय काटेका राष्ट्रकवि माधव प्रसाद घिमिरे, सय पुग्नै लागेका सताब्दी पुरुष संस्कृतिविद्ध सत्यमोहन जोशी, रेडियो पत्रकार भैरब रिसाल, कमलमणि दीक्षित, तीर्थ बहादुृर श्रेष्ठ, डा. गौरी शंकर लालदाश, चित्रकार हरिप्रसाद शर्मा ,अंगुरबाबा जोशी, तेजश्वरबाबु ग्वंग आदिबाट पनि जेष्ठनागरिकहरुले प्रेरणा लिनु पर्दछ । जो अहिले पनि शारिरीक र मानसिकरुपले  साहित्यिक , सामाजिक राजनीतिक कार्यमा अझै सक्रिय हुनुहुन्छ ।
बुढाबुढीको हेरचाहका लागि छोराछोरीहरुले पनि बुढाबुढीको बस्नको लागि सकेसम्म तीनतिरबाट घाम लाग्ने कोठामा राखौं, नहुँदा घाम लाग्ने कोठाको व्यवस्था गरौँ । शौचालय टाँसिएको नभए पनि नजिक पर्ने कोठामा राखौं ,त्यो पनि नभए भाँडाको व्यवस्था गरिदिउँ । कोठामा सफा रुमाल, थर्मसमा तातोपानी ,सुकिलो ओड्ने र सफा तन्ना र सामान्य अवस्थाका बृद्धबृद्धाका लागि होचो र नरम तकियाको जोहो गरिदिउँ । बिजुलीको स्वीच सजिलै भेट्न सकिने गरी मिलाइदिउँ । चार्ज गरेर बाल्ने बत्ति पनि सँगै राखिदिउँ । लामखुटृे लाग्ने समयका लागि विभिन्न कुरा भन्दा झुल सबैभन्दा राम्रो हो नै । बुढाबुढीलाई हेर्न, भेट्न आउनेका लागि पनि वस्ने उचित व्यवस्था मिलाइदिउँ । परिवारजनले मेरो रेखदेखमा कतिपनि कमि गरेका छैनन् भन्ने कुरा डाँडाका जुन भै सकेकालाई दिन पछि नपरौं । खानपानमा ज्यादा चिल्लो नगरीे सागपात र, तरल पदार्थ मा जोडदिउँ । गुलियो ज्यादा नदिउँ, पचाउन सक्ने खानेकुरामात्र दिउँ । बासी खाने कुरा बृद्धबृद्धाहरुलाई दिंदै नदिउँ । कतिपय परिवारमा वृद्धलाई फोहरी, कचकचे, छुच्चो, डेव्रो भनि हेय दृष्टिले हेर्ने वा उपेक्षा गर्ने गरिन्छ त्यसो नगरौ, एकदिन हामी पनि वृद्ध हुन्छौँ भन्ने भावले स्याहार संभार गरौँ ।
अन्तमा जेष्ठनागरिक हाम्रो समाजको पथप्रदशक, ज्ञान, अनुभवका खानी र वाटो देखाउने अगुवा हुन् । त्यसैले राज्यले बृद्धबृद्धाहरुकोे उपेक्षा कदापी गर्नु हुन्न । आज हामीहरु हाम्रा जेष्ठनागरिककै कठोर परिश्रमको लाभ उठाइरहेका छौँ । भोली हाम्रा सन्ततिले पनि यसै भनुन् र हामी पनि एक दिन बृद्धबृद्धा हुनेछौँ भन्ने सिकाइ अहिलेको पुस्तामा जागृत गर्नु नितान्त जरुरी देखिन्छ । तसर्थ छोराछोरी वा राज्य सवैतिरबाट वृद्धवृद्धाहरुको सम्मान गरौँ ।
२०७५ असोज ५

तपाइँको प्रतिक्रिया