हाम्रा मेडियालाई प्रश्न : नागरिकको ज्यान ठूलो कि मन्त्रीको पद ?

एउटा बस पल्टिँदा बुल्गेरियाका तिन मन्त्रीले राजिनामा दिए । यो विषय हाम्रा लागि अचम्म र अपत्यारिलो लाग्छ । तर जुन देशमा बस पल्टियो र मन्त्रीले राजिनामा दिए त्यहाँकालागि अचम्मको होइन । अचम्म त बरु दूर्घटनामा ज्यान गुमाएको विषयले प्रमुखता पाउनुभन्दा मन्त्रीको राजिनामालाई प्रमुख मान्ने मेडियाको बुझाई हो ।

हाम्रोमा सरकारी गलत निति, अनुगमनको अभाव र अन्य चलखेलका कारण कति सवारी साधन पल्टिँदा हुन् ? अनुगमनको अभावमा मिति पुगिसकेका सवारी साधनहरु चलिरहेकै छन् । सार्वजनिक सवारि साधनले खचाखच यात्रु भरेर ओसारपसार गर्न छोडेका छैनन् । हरेक दिन जस्तै सवारी साधन पल्टिन्छन् । थुप्रै यात्रुको अनाहकमा ज्यान जान्छ । तरपनि हाम्रा नितिनिर्माता, मन्त्री र अनुगमनकर्ताहरुलाई पचेकै छ । यो नियति वर्षौं वर्षदेखि चलिरहेको छ । नागरिक तहबाट जति बिरोध गरेपनि नितिनिर्माता, मन्त्री र अनुगमनकर्ताले चेतेको देखिन्न ।

‘नाथे बस पल्टिँदा पनि राजिनामा दिने’ हाम्र मन्त्रीहरु यस्तै सोच्दा हुन् । बुल्गेरियामा बस पल्टिँदा २६ पर्यटकको ज्यान गएको र १६ घाईते भएपछि तिन मन्त्रीले दिएको राजिनामा बुल्गेरियाकालागि अचम्मको होइन । हाम्रोमा नागरिकको ज्यान गएको समाचार भन्दा तिन मन्त्रीले दिएको राजिनामा प्रमुख समाचार बन्छ । राजिनामाको विषय प्रमुखताका साथ छापिन्छ । दूर्घटना भएको देश र समग्रमा युरोपेली परिषदमा रहेकै देशहरुकालागि त्यो विषय अनौठो होइन । नितिनिर्माता र अनुगमनकर्ताको यहि समाचारपनि हाम्रोतिर मुख्य समाचार बन्छन् । युरोपतिरकालाई सामान्य लाग्छ । किनभने हाम्रोमा ब्यक्तिको ज्यान भन्दा ठूलाबडा, कुर्सीमा आसिनहरुलाई प्राथमिकता दिएर हेरिन्छ, लेखिन्छ । त्यसैले हाम्रा मेडियालाई दूर्घटनामा ज्यान गुमाउनेको भन्दा मन्त्रीको राजिनामा ठूलो र महत्वपूर्ण लाग्छ । ब्यक्तिको ज्यान ठूलो, महत्वपूर्ण कि मन्त्रीको पद महत्वपूर्ण हो ? यो प्रश्न हाम्रा मेडियाकालागिपनि हो ।

तपाइँको प्रतिक्रिया