सामाजिक सन्जालभरि रवी लामिछाने, जनमत कसको पक्षमा ?

अमेरिकाको बसाई त्यागेर नेपाल आएका रवी छोटो समयमै लोकप्रिय बने । ‘जनतासित सिधा कुरा’ टिभी कार्यक्रम मार्फत । उनको कार्यक्रम जति सफल, सबल र प्राभावकारी बन्दै गयो उति जनतालाई दुख दिने, गलम काम गर्ने, भ्रस्टाचारी, ढिलासुस्ती र समाजका कसिंगरहरुको टाउको खाँदै गयो । उनको कार्यक्रमले धेरै अत्याचारीको अत्याचार र भ्रस्टारीका कुकर्महरुको पर्दाफास गरिदियो । रवी लामिछानेको कार्यक्रम प्राभवकारि नभएको भए उनलाई खेद्नेहरु निस्किँदैनथिए । भ्रस्टाचारी, अत्याचारी, फटाहा, ठग ठेकेदार र जनताको खाएर दलको राजनिति गर्ने प्रशासक र कर्मचारीमा उनले भूकम्प ल्याइदिएकाले उनलाई जेल हाल्ने सम्मको धम्कि दिईएको हो । सामाजिक सन्जालमा अधिकांश ब्यक्तिहरु रवी लामिछानेको पक्षमा देखिएपनि पक्ष र बिपक्ष हुन्छ नै । उनको पक्ष र बिपक्षमा कसले के भने ? केहि ब्यक्तिले सामाजिक सन्जालमा ब्यक्त गरेका तर्क हेर्दा बुझ्न सकिन्छ, बिरोध र समर्थनको अवस्था । 

रवी लामिछाने 

प्रेस काउन्सिलका केही आचारसंहिता ठेकेदार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैन्थ्यो।मसङ अमेरिकी पासपोर्ट त के भिषा पनि छैन।फिर्ता बुझाई सकेको थाहा नै पाएनछन।वाह पत्रकारिता ! अब के मा लखेट्ने मिटिङ बस्यो ? 

मनोज गजुरेल (हास्य कालाकार) 

रवि लामिछानेको ‘बिद्रोहकारिता’ लाखौं जनताद्वारा अनुमोदित अभियान हो । उनिमाथी उठेका प्रश्न प्रकृयागत भए सम्बोधन हुनुपर्छ, नियतबस उठाएका हुन् भने यो ‘सुचनाक्रान्ती’ दबाउन असम्भव छ । सुशासन र सदाचारकालागि ‘सिधा कुरा…’ले राज्यलाई कमजोर हैन, झन् जिम्मेवार र बलियो बनाउनेछ । म तपाईंको उर्जालाई समर्थन गर्छु रवी लामिछाने जि । 

अम्बारिस पोख्रेल (बैज्ञानिक, क्याम्पसका लेक्चर)

भाडाका टट्टुहरुको देश हो नेपाल: रवी लामिछानेहरु लखेटिनु पर्छ यहाँ ।

१- बाउले भन्दा पहिले छोराले नागरिकता लिएका नेपाली अंगिकृत नागरिकताधारी भारतीयहरु पटक पटक मन्त्री बन्छ्न, नेपाललाई गाली गर्छन, दशगजामा सुतेर ६-६ महिना नाकाबन्दी लगाउँछन्, भारतमा भात खाएर नेपालमा ढुँगा हान्छ्न, नेपालको संसदमा हिन्दी भाषामा भाषण ठोक्छ्न ।

२- तैपनि उनिहरुलाई नै समर्थन गरेर चुनाव जिताईन्छ

३- सरकारमा लगेर मन्त्री बनाईन्छ

४- तर नेपाल मै जन्मेको, हुर्केको, पढेको ब्यक्ती बिदेश जान्छ, उतैको नागरिकता लिन्छ तर पछि बिदेशी नागरिकता छाडेर नेपाल मै आउँछ र देश र जनताको हितमा अपराधी, माफिया, भ्रष्टाचारी, दलाल र माफिया बिरुद्द एक्लै लड्ने प्रयत्न गर्छ अनि हामी उसलाई बिदेशी भनेर लखेट्न खोज्छौं !

राजेन्द्र थापा (वरिष्ठ गितकार)

फेसबुक, अनलाईनहरुको अध्ययनको विश्लेषण र निष्कर्ष मैले यश प्रकार पाएँ । यस्मा सहमत कति ? र असहमत कति ? कृपया like या लामो कमेन्ट नगरी कि agree or सहमत लेख्नुस कि disagree or असहमत मात्र लेखेर जनमत ज्ञात गराउनुस् । एक किशिमबाट people poll का रुपमा ।

1) रबि लामिछानेको काम कानून सम्मत छ या छैन, तर जनसम्मत हुन पुग्यो – अब गर्ने के ? जनसम्मतले राजा फालेको, देश टुक्राटुक्रा बनाइएको, धर्म निरपेक्ष बनाईएको भनेर नथाक्ने दल नेताहरुको भनाइ के छ ? ती बिषय तत्कालिक अबस्थामा गैर कानूनी नै थिए ।

2) जिवा लामिछानेलाई रसियन नभनेर NRN भनिने तर रबि लामिछानेलाई भने NRN नभनेर अमेरिकन भनिने ?

3) जुन देशको नागरिकता लिए पनि नेपाली त नेपाली नै सम्बोधित हुने मनसायबाटै संबिधानमा NRN बिषय प्रसङ्ग आएको हो कि हैन ?

4)NRN को माने Non Residential Nepalese अर्थात नेपालमा बसोबास नगरे पनि एकचोटि नेपाली सदैब नेपाली हो कि हैन?

5) रकम नाफाका लागि लगानीको सपना देखाएर दशैंमा आउने NRN लाई स्वयम् प्रधानमन्त्री लगायत मिडियाहरु भिआईपी रेड कारपेट । फोहर सफा नभएसम्म NRN को लगानी, दाताको लगानी, करको लगानी, उद्योग बाणिज्य बैंक बेपार कुनै पनि लगानी लाई नेता कर्मचारी र बेपातीहरुले लुटिरहनेछन् भन्ने NRN रबिलाई कालो मोसो ?

6) चार बर्ष देखि को रबीको पसलमा बेचिने सामान उही हो । तर अचानक यश बेला मात्र उसले खोलेको पसल अबैध भन्ने चेत अाएको लाई सरकारले बुद्धत्व पाएको भन्ने हो ?

7) जेल गएर पनि यदी रबिले कुनै न कुनै माध्यम बाट फोहर सफा गरिरहे के गर्ला सरकारले ? डिपोर्टेड भएर पनि अमेरिकाबाट अाजको डिजिटल सुबिधाको उपयोग गरेर फोहर सफा गरिरहे कसरी छेक्छ आकाश सरकारले ?

8/ सुन तस्करी, युवा खुन तस्करी, सपनाको जुन तस्करी, कर्णाली नून तस्करी, न्याय निसाफ तस्कारी, सरकारी कामको तस्करी, हर सदन तस्करी, बजेट तस्करी, भिभिआईपी र भिआईपि सेवा सुबिधा लाभ सवारी तस्करी, इमान धरम तस्करी र जनताबिचको युद्ध कुनै पनि बेला शुरु हुन सक्ने सम्भावना छ । रबिहरु एक बहाना मात्र हुन् जनताका लागि मनको बह पोख्ने । र अपराध र भ्रष्टाचार को खुला सिन्डिकेट चलाईरहेका नेता कर्मचारी बेपारी दल यनजिअो आदीका लागि रबिभन्दा बढी खतरा जनभावनामा बढ्दै गएको आक्रोस हरु हुन् । सत्य यही हो कि हैन ?

मचरा गोर्खाली  (नेकपा समर्थक, युके)

एउटा सामान्य मुल्याङकन गर्नोस् । एउटा नेपाली जो केहि बर्ष बिदेश बस्छ,  आफुलाई मज्जाले तीखार्छ । जब उ सक्षम भएर देशमै केहि गर्छु । मुलुकको बिकाशमा सानै भएपनि केही योगदान गर्छु भनेर देश फर्कन्छ । तर उसलाई यो समाज उल्लिबिल्ली पार्छ । उसका सकरात्मक गतिबिधी देखेर अल्तालीन्छ भने नेपालमा बिदेशी लगानीको ओईरो लागेर रेल र पानीजहाज गुडाईदिन्छन भनेर नसोचेपनि हुन्छ । केबल जनता ठग्ने नयाँ काईदा मात्रै हो । यहाँ जताततै दलदल छ । तर त्यो दलदल छेडन रवीले झीनै भएपनी प्रयास गरेका छन् । उनलाई साथ दिने हामी सबै सचेत नागरीकको कर्तब्य हो । 

राम प्रसाद सापकोटा दीपशिखा (नेकपा युवा नेता)

रवि लामिछाने चर्चित पत्रकार हुन्, यसको अर्थ उनले प्रचलित नेपालको कानुन मान्नुपर्दैन र ? केको कचकच हो यो ! सरकारले लामिछानेलाई नेपाली नागरिकता वा भिषा माग्न किन नपाउँने ! 

नारायण गाउँले (पत्रकार, बेलायत)

कानुनकै कुरो गर्ने हो भने प्रचण्डले खुल्लमखुल्ला ४ हजार पनि नरहेको जनसेनालाई २० हजार बताएर राज्यबाट तलबभत्ता बुझेको आफैले स्वीकारेका थिए । त्यो राज्यविरुद्धको ठगी थियो तर कुनै कानुन लागेन ।

सञ्चारमन्त्रीले सरकारी कागजातमा सम्पत्तिको स्रोत दाइजो भनेर लेखे तर मिडियामा होइन भनेर बयान दिए । यस्तो कीर्ते काम पनि गैरकानुनी नै थियो तर उल्टो पत्रकार नै कोपभाजनमा परे ।

कानुनले त पत्रकार डेकेन्द्र थापाहरूलाई पनि जिउँदै गाड्नु हुन्न भन्दो हो, हिजो चप्पल लगाउने हाम्रा सबै दलका टाउकेहरूको आज देखिने अकूत सम्पत्तिको स्रोत खोज्दो हो । बालकोटदेखि बूढानीलकण्ठसम्मको मैलो ईंटाबारे खोजी गर्दो हो ।

कानुन सबैलाई लाग्नुपर्छ भनेर शासकीय भाषा बोलिरहेकाहरूले त्यस्तो कानुन सबैलाई बराबरी लाग्नुपर्छ भन्न किन नसकेका होलान् ?

कानुनभन्दा माथि कोही छैन र हुनुहुँदैन तर त्यो कानुनको लठ्ठी समाएर अर्काको टाउको ताक्नेको हातमा पनि दाग हुनुहुँदैन ।

एउटा पत्रकारसँग थुरथुर हुने तिम्रो नैतिकताको जग पो बरु बलियो बनाउनतिर लाग्ने कि महाराज ?

बिन्दुकान्त घिमिरे (पत्रकार)

एउटा नेपाली (एनआरएन) रबि लामिछानेलाई अमेरिकी नागरिक भन्दै उनिबिरुद्ध जुन खालको षड्यन्त्र सरकारी निकायबाट भइरहेको छ यो नितान्त उनलाई बद्नाम गराउने र बास्तबमै नागरिक पत्रकारिता गरिरहेका उनलाई पेशाबाट बिमुख गराउने कुचेष्टा बाहेक अरु केही होइन । आज अन्यायमापरेका आमनेपाली नागरिकको एउटा भरोसा बनिरहेका लामिछानेलाई विभिन्न बहानामा हतोत्साहित बनाउदा उनले गुमाउनु पर्ने केही छैन । उनी आज सारा नेपालीबिच चर्चित भैसकेका छन । उनी फेरि बिदेश जालान या त यतै अरु व्यवसाय गर्लान तर यसले पत्रकारिताप्रतीको जनविश्वास घटाउने निश्चित छ । तसर्थ लामिछानबाट कुनै कमजोरी भए उनलाई सच्चिन दिउँ न कि उनको कार्यक्रम बन्द गर्ने र स्वयम् लामिछानेलाई देशबाट लखेट्नेे कुप्रयास नगर्दा बेश होला कि ?

प्रकाश बिक्रम शाह (पत्रकार)

पासपोर्ट त यात्रा अनुमति हो,कतिपय नेपालीले पनि बिदेश गएपछि च्यातेर फालेका हुन्छन्,कुरा नागरिकताको हो,अनि सरकारी निकायले नै यी बिदेशी हुन,अबैध हिसाबले काम गरेको भन्ने पत्र दिएका छन्,गृहको कुन हाकिमले मौखिक रुपमा बस्दै गर भनेको छ,जस्ता कुतर्कको कुनै जवाफ हुन्छ ?अनि उनलेे कहिले सुटुक्क कता लगेर पासपोर्ट बुझाए,यसको के मतलब ? पासपोर्ट बुझाउनासाथ उनी स्वत:नेपाली भए ? नियम,कानून पालना गर्न नपर्ने हैसियतमा पुगे ? अमेरिकी नागरिकता त्यागे उनले ? पासपोर्ट त ५५ बर्षमा नवीकरण भैरहन्छ नागरिक्ता भएसम्म, के अमेरिकाको नागरिकता त्याग्ने हिम्मत छ उनीसङ्ग ? नेपालको कानून पनि मान्दिन र नियामक निकायलाई पनि चिन्दिन मेरो लोकप्रियताको मापनकर्ता म आफैं हु र मेरो बैधानिकताको बारेमा कसैले प्रश्न गर्न पाउँदैन भन्नेबाट समाजले कस्तो योगदानको अपेक्षा गर्ने खै ? # रबि लामिछाने प्रकरण ।

मित्रलाल पार्दे (पोल्याण्डका ब्यवशायी, कलाकार 

राष्ट्रियता भन्ने कुरा पर्खाल भित्रको भुगोलले मात्र नापिदैन मन भित्रको गोलले पनि राष्ट्रियता नापिन्छ । रवी चाहे पातालबाट फर्किउन् चाहे अमेरिकाबाट फर्किउन् आखिर उनी नेपाली हुन् । नेपाली भएर बाँच्न पाउने, बोल्न पाउने उनको जन्मसिद्ध अधिकार हो । कुनै सिन्को नभाँच्ने बिदेशीले नेपाली भएर बाँच्छु भन्दा उसलाई त बाजागाजा फूलमाला सहित ससम्मान मानार्थ नागरिक्ता दिने सरकारले एउटा नेपाली रगत बगेको प्राणीलाई बिदेशी भनेर दुरुत्साहित गरिनु सरासर गलत छ । एक पटकको नेपाली सधैको नेपाली भनेर नारा लगाउने एन आर एन पनि यो विषयमा चुप लागिरहनु दुखको विषय हो । 

टि आर सापकोटा 

नेपाली पत्रकारले बिबिसी लन्डनमा गएर काम गर्न पाउने तर नेपालमै जन्मेको एउटा नेपालीले अमेरिकी पासपोर्ट भयो भन्दैमा नेपालमा पत्रकारिता गर्न नपाउने ? श्रम स्वीकृति माग्दा नदिने अनि गैरकानुनी रुपमा काम गरेको भन्ने ? अरु केही होइन, उनको लोकप्रियताबाट अतालिएका भरौटे पत्रकारहरु र आफ्नो पोल खोलिने डरले सरोकारवालाहरु अहिले रवी लामिछानेको पछाडी लागी परेका छन । यो कुरा सबैले बुझ्न जरुरी छ । यदि कुनै बिदेशीले नेपालमा काम गर्न पाउने कानुन छैन भने एनसेल लगायत विभिन्न बहुराष्ट्रिय कम्पनी र बैंकहरुमा बिदेशी एग्जिक्युटिभहरु छन, ती सबैलाई देश निकाला गरियोस !

पारसमनी सापकोटा

छविलालका हनुमानहरु रवि लामिछानेको केसमा यसरी कानुनका कुरा निकालिरहेछन् कि, मानौं उनीहरुले १२ हजार बढीको ज्यान लिन नेपालको संविधान २०४७ को अक्षरस: पालन गरेका थिए । भन्नुहोला, युद्धमा कुनै नियम हुँदैन । त्यसो हो भने रविले गरिरहेको काम पनि चानचुने युद्ध होइन ।

राज्यद्वारा संचालित नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउन रवि लामिछानेलाई नियुक्ति दिइँदा यी ब्वाँसाहरु कता थिए ? अहिले प्राइभेट च्यानलमा ‘सिधाकुरा जनतासँग’ चलाउदा बाँसको झ्याङ्गमा सार्कोटीले गरेजस्तो हल्ला किन ? प्रधानमन्त्रीका कुरा गर्दा कानुन नलाग्ने, जनताका कुरा गर्दा कानुन लाग्ने यो कुन संविधान हो यो ? थाहा चाहियो ! भन्नुहुन्छ उहाँ । कृपया थाहा दिएर उहाँको चित्त बुझाइदिनूहोला ।

अम्रित लोप्चन 

सिधा कुरा जनतासँगको आवाज रवी लामिछाने ज्युलाई केही भित्तिहरुले खेदो गर्नुको मुख्य कारण तपशिल अनुसार छ्न् ।

१) छोरी चेलिहरु बेच्न पाएनन् ।

२) गुन्डागर्दी गर्न पाएनन् ।

३) हत्याहिंसा गर्न पाएनन् ।

४) लुटपाट गर्न पाएनन् ।

५) दलाली गर्न पाएनन् ।

६) बलात्कार गर्न पाएनन् ।

७) चोरी गर्न पाएनन् ।

८) घुसपैठ गर्न पाएनन् ।

९) कालो धन कमाउन पाएनन् ।

१०) भुत बनेर सिध्याउन पाएनन् ।

११) सुन तस्करी गर्न पाएनन् ।

१२) सस्तोमा जग्गा किन्न पाएनन् ।

१३) गरिबको छोरा छोरी बेच बिखन गर्न पाएनन् ।

१४) भ्रस्टचारी नेता मन्त्रि एबं कर्मचारी हरुले हाई सुख पाउदै पाएनन् ।

१५)अन्य याबत गैर कानुनी धन्दा गर्न पाएनन् ।

यस्ता थुप्रै गैर कानुनी अभ्यास असफल हुनु रवी लामिछानेको प्रमुख एजेन्डा हुन जसलाई पतित कुमुद लोहनी, लक्ष्मण बिक, दिले मगर, मुकुन्द घिमिरे, सोनिका रोकाया, इश्वर अर्याल, टिकाराम ओली, दिनेस डिसी जस्ता नामर्द भतुवाहरुले खुलेर बिरोध गर्ने गर्दछ । यिनिहरु आफ्नै लागि पनि केही गर्न नसक्ने कथित् भित्तिहरु हुन । यस्ता पतित् तोरिलाईहरुलाई खुलेर सामाजिक बहिस्कार गर्नुको विकल्प छैन मान्यवर !

आर सि मरहट्टा

पछिल्ला दिनमा करोडौं चीनिया र करोडौं भारतीय नागरीक युरोप अमेरीका क्यानडा अस्ट्रेलीया लगायतका बिकशीत देशमा स्थाई रुपमै सेटल भएका छन् । यध्यपी चीन र भारतले आफ्ना भुपु नागरीकहरुलाई उनिहरुले चाहे जुनसुकैबेला मातृदेश फर्कन अनुरोध गर्दै स्वागत गरिरहेका छन् । यसैको पछिल्लो उदाहरण हो, हाल भारतीय सेन्ट्रल बैङकको सीईयो पहिला अमेरीकी बैङ्कका सीईयो थीए । युरोप र अमेरीकाका अधिकांश आईटी कन्ट्रोल सेन्ट्रल दिल्ली मुम्बई र आन्द्रप्रदेशमा छन् । यसो गर्नुको कारण सस्तो मज्दुर र चुस्त सुबिधा नै हो । यसैगरि युरोपमा ब्याबसाय गर्ने र बेलायतमा पढन आउने चीनीया बीध्यार्थी पछिल्लो समय बर्षेनी लाखौंमा नाघेका छन् ।

चीनले र भारतले आफ्ना देशका हरेक नागरीकलाई बिदेशीयर शिप दक्षता क्षमता हाँसील गरेका भुपु नागरीक सँग सम्बन्ध बढाई देशको आर्थिक उन्नतिमा सघाउन अपिल गरिरहेको छ । तर हामीकोमा यसको ठीक उल्टो भएको म पाउँछु । कुनै नेपाली युरोप, अमेरीका, क्यानडा वा अस्ट्रेलीया बसेर दक्षता हाँसील गरेर स्वदेश फर्कियो भने स्वदेशमा बसेर ठग्ने जमातले बिल्ला बनाई दिन्छन । आफ्नो मानो खोस्न आएझै। गरेर झम्टन्छन ।यो तीतो सत्य हो ।

मेरो एक साथी जापानबाट पिएचडी सकेर नेपाल फर्कियो । टियुमा अस्थाई प्राध्यापकको निम्ती परिक्षा दियो । पछि अन्तरबार्तामा अयोग्य ठहर्याईयो । त्यासको लगतै उसले हाडवर्ड बिश्वबिध्यालयमा करार शिक्षककोलागि आबेदन दियो । अमेरीकाले तु छान्यो । हाल उ उतै छ । यो हो नेपालको दुर्दशा । जताततै चाचुचाको सीन्डिकेट छ । जताततै दलाली छ । यो जालो यहि पारामा पटक्कै चीरिन्न । यो सोच नै आजको नेपालको बाधक हो । शिरदेखि पाउसम्म मागेर लगाउने अनि रास्ट्रबादको गाना बजाएर चुस्किमा नाच्ने जमातले घरदेशी र परदेशी भनेर नयाँ दॄन्द सृजीत गर्न खोज्दै छन् । एनआरएन एनआरएन भन्छन तर यीनका गतिबिधी पनि फगत ब्याबसायीक बन्दै जाँदा दुख लाग्छ । 

सुमन बराल 

रवि लामिछाने इमानदार छन् र उनको नियत सफा छ भन्ने कुरामा म ९९% विश्वस्त छु । बाकी १ % मा भने आशंका छ । जस्तै, कहिलेकाहिँ शक्ति राष्ट्रहरुले मान्छे खटाउने गर्छन् एजेन्ट बनाएर, विभिन्न स्वार्थ पूर्तिका लागि । द्वन्द बढाउन र आफ्नो हतियारको बजार बनाउन । आन्तरिक किचलो निम्त्याएर गरीब देशलाई माथि बढ्नै नदिन, छिमेकी देशको चियो चर्चा गरेर प्रगतिमा बाधा पुर्याउन, कुनै देशको गोप्य सूचना लिन, प्राकृतिक स्रोतको दुरुपयोग गर्ने बाटो बनाउन लगायत काममा खटाइन्छन् । विगतमा धेरै देशमा सफलता पूर्वक शक्तिराष्ट्रहरुले यो प्रयोग गरेको छन, गर्दै छन् र गरिरहने छन् । नेपालमा पनि यस्ता हजारौं दलाल – एजेन्ट लाई तलब दिन्छ भन्छन् कतिपय मानिस, जुन सत्य नै होला । उनीहरूले राम्रो इमेज बनाइदिन सहयोग गर्ने अनि सत्तामा पुर्याएर वा कुनै क्षत्रको शिखरमा पुर्याएर फाइदा लिने गर्छन् । कतै रवि त्यसरी नै खटाएका त छैनन् ? कतै अन्जानमा उनी गलत तरिकाले प्रयोग त हुँदैनन् भविष्यमा ? यो प्रश्नका कारण १% आशंका छ । तथापि मेरो मनले उनी नेपाल र नेपालीको अहित चिताउँदै अमेरिका त्यागेर फर्किएका हुन् भन्ने मान्दैन । त्यस्तो नहोस् भन्ने कामना गर्छु । तर संसारमा एजेन्टहरुको प्रयोग बारे जानकार भएकोले दिमाखले चाई १ % संका गरेको हो ।

रवी लामिछानेको खेदो खन्नुमा केही राम्रै पदमा रहेका व्यक्तिहरूले (ठूलै पत्रकार, सम्पादकहरु समेत) यही कारण देखाउने गरेको सुने । यो कुरा आरिस नभई साँच्चै हो भने अनुसन्धान गर्नु पर्यो र रविको वास्तविकता पर्दाफास गर्नुपर्यो । मसंग श्रोत साधन भए म आफैं गर्ने थिएँ । सरकारले पनि वास्तविकता बारे ध्यान दिनुपर्छ । साँच्चै दोषी पाइए दण्डित गर्नुपार्छ । अन्यथा रविको लोकप्रियताबाट र्याल चुहाउनुको साटो आफू पनि राम्रो काम गर्नुपर्यो । जनताले थोरै मात्र राम्रो काम गर्नेलाई पनि पुज्ने गरेका छन् किनकि मरूभूमिमा एक थोपा पानीको पनि ठूलो महत्व हुन्छ । जब अधिकांश मानिस भ्रष्ट हुन्छन्, तब कुनै पनि मानिसको सानो इमानदार प्रयासलाई पनि ठूलो मानेर समर्थन गरिनु स्वभाविक हो । रवीले त धेरै भ्रष्टाचारी, तस्करी, अपराधीहरूको सातो लिएका छन, नङ्ग्याएका छन् । उनको चौतर्फी समर्थन र प्रशंसा हुनु अनौठो होइन ।

तपाइँको प्रतिक्रिया