स्वस्थ मानिसलाई कोरोना संक्रमितभन्दै प्रचार गरेपछि पत्रकार महासंघभित्रै लफडा, सचिवले दिए राजिनामा

नेपाल पत्रकार महासंघ युरोपको आधिकारिक फेसबूकबाट सोमबार स्पेनमा कोरोना भाइरस र त्यहाँका नेपालीका बारेमा लाईभ प्रशारण थियो । स्पेनका नेपालीको बारेमा जानकारि दिँदा बक्ता उत्तर कुमार राइले भुलबस स्पेनको बार्सिलोना निवासी गोपाल रेग्मीलाई कोरोना भाइरस संक्रमितका रुपमा नाम लिए । यसपछि गोपाल रेग्मीमाथि दर्जनौं फोन आए । आफन्तले दुख मनाए, संपर्क गरे । रेग्मी र भुलबस नाम लिने राई दुबैले नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईलाई उक्त भिडियो सम्पादन गरेर गोपाल रेग्मीको नाम हटाउन वा भिडियो हटाउन आग्रह गरे । तर त्यसलाई अस्विकार गर्दै ‘गोपाल रेग्मी भन्ने तपाई मात्रै हुनुहुन्छ र ? हामी हटाउन सक्दैनौं’ भन्ने सम्मको जवाफ केजिन राईले दिएको गोपाल रेग्मी बताउँछन् । गोपाल रेग्मीले दुख मनाउ गर्दै लेखेको फेसबूक स्टाटसमा नेपाल पत्रकार महासंघका सचिव बसन्त रानाभाटले लाईक गरेपछि उनमाथि कारवाहि गर्नुपर्ने भन्दै आफ्ना निकटका ब्यक्तिहरुमार्फत केजिन राईले दबाब दिएपछि बसन्त रानाभाट आफैंले राजिनामा दिएका छन् ।

सोमबार लाईभ प्रशारण सकिन नपाउँदै गोपाल रेग्मीको फोन निरन्तर बज्न थाल्यो । आफन्तहरु आत्तिए । फोन र सामाजिक सन्जालमा चासो राखेर सम्पर्क गर्नेहरुको जवाफ दिँदा दिँदा उनी हैरान परेको बताउँछन् । ‘यति फोन र सम्पर्क भयो कि दुई दिन त मलाई राम्रोसित सुत्ने पनि समय मिलेन’ गोपाल रेग्मीले भने ।

उनले नेपाल पत्रकार महासंघका अध्यक्ष केजिन राईलाई सम्पर्क गरेर त्यो भिडियोमा जहाँ गोपाल रेग्मी भन्ने नाम उच्चारण गरिएको छ त्यति नाम हटाउन वा भिडियो हटाउन आग्रह गरे । तर केजिन राईले आफूलाई गैह्र जिम्मेवार जवाफ दिएको उनी बताउँछन् । ‘मलाई थाह छ कहिलेकाहिँ गल्ति हुन्छ । मेरो नाम कोरोना संक्रमितका रुपमा लिने उत्तर कुमार राईसित सोध्दा उहाँले भुलवस नाम उच्चारण भएको र त्यसलाई सच्याउन, भिडियो हटाउन आग्रह गर्ने भनियो । तर केजिन राईले गैह्रजिम्मेवार जवाफ दिए ।’ गोपाल रेग्मीले भने ‘बिरामीनै नभएको मान्छेको नाम पत्रकार महासंघ जस्तो संस्थाको पेजमा आएपछि उहाँलेनै मलाई सपर्क गरेर गल्ति महसुस गर्ने र सच्याउने गर्नुपर्ने हो । पिडितलेनै उहाँलाई खोजेर मर्का सुनाउँदापनि उहाँले मेरो रिडर संख्या घट्छ, त्यसैले घटाउन मिल्दैन भन्नुभयो । अझै गोपाल रेग्मी भन्ने मान्छे तपाई मात्रै हुनुहुन्छ भन्ने के ग्यारेन्टि छ र समेत भन्नुभयो ।’

(उत्तर राइले उक्त भिडियो हटाउन माग गर्दै महासचिव योगेन्द्र मिलन छन्त्याललाई लेखेको म्यासेज)

लाईभ प्रशारणका क्रममा गोपाल रेग्मीको नाम लिएका उत्तर कुमार राईसित गोपाल रेग्मीले पटक पटक सम्पर्क गरे । उत्तर कुमार राईले रेग्मीसित भुलबस नाम लिएको भन्दै माफिसमेत मागे ।

फेसफूकमा लाईक गरेबापत सचिवमाथि कारवाहिको धम्किपछि अन्तत : राजिनामा

गोपाल रेग्मीले नेपाल पत्रकार महासंघ (एफ एन जे) को फेसबूकका एडमिन योगेन्द्र मिलन छन्त्यालसितपनि संपर्क गरेका थिए । उनी एफ एन जे युरोप शाखाको फेसबूकका एडमिन हुन् भन्ने थाह पाएपछि उनलाई भनेर हटाउन आग्रह गर्न खोजेका थिए । तर योगेन्द्र मिल्नले ‘म तपाईसित सहमत छु, मर्का परेपछि हटाउनुपर्छ भन्नेमा छु । तर अध्यक्षलाई नसोधी हटाउन सकिन्न’ भन्ने जवाफ दिएकोपनि रेग्मीले बताए ।

पत्रकार महासंघ, युरोपका अध्यक्ष केजिन राईले हटाउन नसकिने जवाफ दिएपछि गोपाल रेगीले एउटा स्टाटस लेखेका थिए जहाँ घटनाको सानो बर्णन (अन्तिममा हेर्नुस) लेखेर आफ्नो फेसबूकमा हालेका थिए । त्यसमा एफ एन जे युरोपका सचिव बसन्त रानाभाटले लाईक गरेका थिए । उनले लाईक गरेको देखेपछि नेपाल पत्रकार महासंघको बिरोध गरेको स्टाटसमा किन लाईक गरेर संस्था बिरुद्दमा गएको भन्दै केजिन राई पक्षका केहि सदस्यले रानाभाटमाथि कारवाहि गर्नुपर्छ भन्दै हस्ताक्षर संकल गरेर राईलाई बुझाएको कार्यकारि समितिका एक सदस्यले नेपालप्लसलाई बताए । यहि बिबादका बिच सचिव रानाभाटले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

उनले आफ्नो राजिनामामा उल्लेख गरेका छन् “मैले फेसबुकमा गरेको लाईकबारे यहाँ बहस भएछ । त्यो स्वभाबिक पनि हुन सक्छ । स्पेनको कार्यक्रमको बारेमा म खासै धेरै जानकार थिईन । के भएको रहेछ भन्नेबारे मैले पछि भिडीओ हेरेको थिएँ ।’

एफ एनजेसित जोडिएर राखिएको स्टाटसमा आफ्नो लाईक फिर्ता लिनेपनि उनले उल्लेख गरेका छन् । “फेरि एकपटक भन्छु, एफएनजेको नाम जोडिएर लेखिएको स्टाटसमा गरिएको लाईक म तुरुन्त फिर्ता नै गर्छु ।” उनको राजिनामामा उल्लेख छ ।

के भिडियो सम्पादन गर्न सकिन्न ? के गर्नुपर्थ्यो पिडितलाई न्याय दिन ?

पत्रकार पिडितको आवाज बोक्ने यात्रि हो । उसले कसैलाईपनि पिडा दिने त सोच्नपनि सकिन्न । तर यहाँ पत्रकारकै संस्थाबाट गरिएको कार्यक्रमले कसैलाई पिडा दिने र नेत्रित्वकर्तानै पिडक भएको आरोप लागेको छ ।

आमसञ्चार विज्ञ एवम् क्यानडाको ओटावा विश्वबिध्यालयका मिडिया अनुसन्धानकर्ता भानुभक्त आचार्यका अनुसार कुनैपनि बहस लाईभ प्रशारण सकिएपछि त्यो भिडियोका रुपमा बस्छ । यदि त्यस्तो लाइभ प्रसारण व्यक्तिगत प्रोफाइलबाट गरिएको छ भने त्यो भिडियोलाई ‘डिलिट’ वा ‘पर्सनलाइज्ड’ गर्न सकिन्छ । तर कुनै संस्थाको पेजबाट लाइभ गरिएको छ भने त्यसको प्रक्रिया अलि भिन्न हुन्छ । पेजमा भएको भिडियो गलत वा समाजलाई भ्रमित गर्ने किसिमको छ भने त्यसलाई डिलिट गर्न सकिन्छ । त्यसरी डिलिट गर्दा त्यसको एक प्रति सम्बन्धित मिडियाकर्मीले जोगाइराख्नु पर्छ ताकि भविष्यमा कुनै कानुनी झमेला आइलाग्ने अवस्था भएमा त्यसलाई प्रमाणका रुपमा पेस गर्न सकिन्छ । अथवा, लाइभ प्रसारण भइसकेको भिडियोलाई डाउनलोड गर्ने । भिडियोलाई सच्याउनु पर्ने ठाउँमा आवश्यक सम्पादन गरेर सच्याउने । अनि पहिलेको पोस्टबाट भिडियोलाई डिलिट गर्ने र नयाँ भिडियोलाई अपलोड गर्ने । यसो गर्दा सम्बन्धित सञ्चारकर्मी व्यक्ति वा संस्था एवम् पीडित पक्ष दुवैलाई न्याय हुन्छ ।

पार्टीका क्याडर भित्र्याएको भन्दै अध्यक्ष राईको बिरोध

नेपाल पत्रकार महासंघ युरोपभित्र अर्को बिवादपनि छ । केहि समय अघि अध्यक्ष राईले समितिमा कुनै छलफल नगरिकनै पाँच जना पदाधिकारि नियुक्ति गरेका थिए । ति पाँच जना मध्ये अधिकांश नेपाल कम्युनिस्ट पार्टीको प्रवाश कमिटिका कार्यकर्ता थिए । हो यहिँबाट एफ एन जे युरोपमा बिबाद भएको हो । ‘कमिटीमा सल्लाह नगरि किन पदाधिकारीहरु थपेको भन्दै महासचिव योगेन्द्र मिलन छन्त्याल, शेर बहादुर छन्त्याल र वरिष्ठ उपाध्यक्ष डिल्लीराम अंमाई (अनाथ अंकल) ले बिरोध गर्दै आएको एफएनजे कार्य समितिका एक सदस्यले बताए । उनका अनुसार अम्माईले त केजिन राईको यस कदमका बिरुद्द पत्रकार महासंघ केन्द्रिय समितिलाई लिखित बिरोध पत्रनै पठाएका छन् । तर केन्द्रले हालसम्म कानमा तेल हालेर बसेको छ ।

पिडित गोपाल रेग्मीले सामाजिक सन्जालमा राखेको दुखेसो

यहि अप्रिल १३ तारीख सोमवार पत्रकार महासंघ युरोप शाखाको नाममा स्पेनमा कोरोनाको कहर शीर्षकमा स्पेनका बिभिन्न ब्यक्तिहरुलाई सम्मिलित गराई लाइभ अन्तरकृया गरिएको रहेछ । त्यहां वक्ताको रुपमा उपस्थित उत्तर कुमार राईले भुलबस मेरो नाम कोरोना संक्रमितको रुपमा प्रस्तुत गर्नु भएछ । उक्त भिडियो हेरि मेरा आफन्त तथा साथीभाइले म्यासेज मार्फत,कल मार्फत जिज्ञासा,चासो र चिन्ता राखे पछिमात्र मैले थाहा पाएं । म अहिलेसम्म शकुशल र साबधानी पूर्वक स्पेन सरकारको लक डाउनको नियमलाई पुरै पालना गरि घरमै बसिरहेको छु र मलाई कुनै संक्रमण नभयको जानकारी गराउन चाहन्छु । मेरो वारेमा चासो राख्ने सवै शुभेक्षुकहरुप्रति आभार व्यक्त गर्दछु ।
यो विषयमा वक्ता उत्तर कुमार राइले मलाई सम्पर्क गरि त्रुटि भएको जानकारी गराउनु भयो । मैले वहांलाई उक्त भिडियोमा भएको बिबादास्पत वाक्यांसलाई एडिट वा डिलीट गराउन लगाउनुस । गल्ति भइहाल्छ तैपनि आगामी दिनमा यस्तो संवेदनशिल विषयमा वोल्दा ध्यान दिनुहोला भनें।

त्यतिकुरा भइसकेपछि त्यो सच्याउलान भनेर कुरिरहें तर सच्चियन र पत्रकार महासंघको तर्फवाट मलाइ कसैले सम्पर्क पनि गरेनन।म आफैंले उक्त संस्थाका अध्यक्ष केजिन राई तथा अन्य पदाधिकारीहरुलाई समेत पटक पटक सम्पर्क गरेर त्यसलाई सच्याएर मलाई थप तनाववाट मुक्त गर्नुस भनें।मेरो अनुरोधलाई बेवास्ता गरि अध्यक्ष केजिन राईले बक्ताले गलत बोलेका हुन हाम्रो केही दोष छैन भनेर गैर जिम्मेवार अभिव्यक्ति दिए र अनाबस्यक ढीपि पनि गरिरहे ।

उक्त संस्था संग सम्वन्धित एक सदस्यले हामी हटाउंदैनौं तपाइ कानुनी रुपमा जान सक्नुहुन्छ भनेर धम्की समेत दिए । कुनै नेपाली साथीमाथी त्यहिपनि यो पिडाको समयमा र विदेशी भुमिमा रिस राग सांध्ने,नेपाली साथीलाई कानुनी कठघरामा उभ्याउने मेरो कुनै मनसाय छैन र गर्दिन पनि। संस्थाको अध्यक्ष केजिन राइको फेस वुक टाइमलाइनमा नाम फरक भएछ भन्ने तर भिडीयोको वाक्यांश जस्ताको तस्तै राख्ने जुन गलत र गैह्रकानुनी काम गर्नु भएको छ म त्यसको भ्रत्र्सना गर्दै तत्काल सच्याउन आग्रह गर्दछु ।

अहिले कसैलाई आग्रह पुर्वाग्रहमा राखेर काम गर्ने वा अनावस्यक होहल्ला गरेर त्रास सृजना गर्ने वा मनोरन्जन गर्ने समय होइन।सवैले एकअर्कालाई सहयोग गरौं,यदि कसैलाई यो संक्रमण लागेको छ भनेपनि आफ्नो स्वस्थ्यको बिशेष ख्याल राख्दै नआत्तिकन सकिन्छ आफैले सार्वजनिक रुपमा सुचित गरौं सकिन्न भनेपनी आफ्नो साथी भाइ र भेटघाट भएको सर्कलमा बेलैमा जानकारी दिउ।कोरोनाको महामारी वाट बच्न राज्यले अघि सारेको नियम पालना गरौं,सुरक्षित वसौं र समुदायको हितमा काम गरौं ।
गोपाल रेग्मी
बार्सेलोना स्पेन।

 एफएनजे युरोपका सचिव बसन्त रानाभाटको राजिनामा पत्र

प्रिय साथीहरु। नमस्कार। मैले फेसबुकमा गरेको लाईकबारे यहाँ बहस भएछ। त्यो स्वभाबिक पनि हुन सक्छ। स्पेनको कार्यक्रमको बारेमा म खासै धेरै जानकार थिईन। के भएको रहेछ, भन्नेबारे मैले पछि भिडीओ हेरेको थिए। सो सन्दर्भमा मेरो ब्यक्तिगत राय यसअघि दिएकै हु। घटनाक्रमपछि सम्बन्धित ब्यक्ति वा अन्य कोहिसँग पनि मेरो सम्पर्क भएको छैन। आफ्नै काममा ब्यस्तताले गर्दा त्यो सम्भव पनि भएन। गलत सच्चाईदिनुपर्छ भन्ने आशयको स्टाटस झैँ सम्झेर मैले लाईक गरेकै हो,तर मैले संस्थाको नाम जोडिएकोप्रति त्यति ख्याल गरेनछु। संस्थाप्रति पुग्न गएको आचप्रति म क्षमापार्थी छु। हुन न म पहिलेदेखि नै कार्यसमितिमा रहनका लागि पनि त्यति धेरै ईच्छुक थिईन्। तर केहि नेतृत्वमा रहेका साथीहरुले दिएको सुझाव र अनुरोधका आधारमा नै यो कार्यसमितिमा रहे। संगठन आँफैमा राम्रो भएपनि हामीमा नेतृत्वको बिकास राम्रो हुन सकेन भन्ने मलाई लाग्दछ। संस्थाले त्यति ठुलो उल्लेख काम गर्न नसकेको म सचिवको हैसियतले आँफू पनि जिम्मेबार ठान्दछु। मेरो कुनै पनि साथिसँग कुनै पुर्बाग्रह पनि छैन। यो घटनाक्रमको कारणले पनि हैन।तर मलाई केहिदिन अघि देखि नै कार्यसमितिमा रहिरहने ईच्छा थिएन। फेरि एकपटक भन्छु एफएनजेको नाम जोडिएर लेखिएको स्टाटसमा गरिएको लाईक म तुरुन्त फिर्ता नै गर्छु। म कार्यसमितिभन्दा बाहिर रहेपनि सम्पूर्ण साथीहरुसँग सम्पर्कमा नै रहनेछु। साथै यतिजेन्लसम्मको समय तथा साथप्रति आभार प्रकट गर्दछु। पत्रकारिताको क्षेत्रमा यहाँहरुसँग सहयोग र सहकार्य अबश्य नै रहने छ। म अध्यक्ष ज्यू संग यो राजिनामा व्यहोरा यसै सन्देश मार्फत पेश गर्दछु। धन्यबाद

बसन्त रानाभाट,

बार्सिलोना।

तपाइँको प्रतिक्रिया