पदको लोभले पत्रकार महासंघ युकेमा तिब्र बिवाद, सहमती नगरे समानान्तर शाखा

नेपाल पत्रकार महासंघ संयुक्त अधिराज्य (युके) को सदस्यता वितरण सम्बन्धि विवाद बढ्दै जाँदा महासंघको समानान्तर शाखा गठन हुनसक्ने संभावनासमेत देखिएको छ । शाखाका सल्लाहकार वरिष्ठ पत्रकार भगिरथ योगीसमेतले शाखाका पछिल्ला गतिबिधीप्रति असन्तुष्टि जनाएपछि शाखाको भविष्यप्रति धेरैले चिन्ता गरेका छन् । पत्रकार महासंघ युकेको अधिवेसनको तयारि भैरहेका बेला निवर्तमान अध्यक्ष नरेश खपांगी मगरले आफ्नो पक्षलाई मात्र सदस्यता बाँडेको भन्दै विवाद तिब्र भएको हो । यदि केन्द्रले उपयुक्त पहल गरेन र शाखाका पदाधिकारीले सहमतीको साझा बाटो अपनाएनन् भने समानान्तर शाखा खुल्नसक्ने देखिएको छ । नरेश खपांगी मगरले केन्द्रको निर्देशन बिरुद्द काम गर्दै गएमा समानान्तर शाखा गठन गर्ने र त्यस्तो शाखालाईनै केन्द्रले मान्यता दिने भन्ने चर्चापनि छ ।

           पत्रकार महासंघ यूकेको विवादको भित्री गाँठो के हो ? 

बेलायतमा नेपालीका करिब चार सय संघसँस्था छन् । ति मध्ये ठूलो बिवाद नभएको भनेर चिनिन्थ्यो, पत्रकार महासंघ बेलायत । अहिले फुटको संघारमा पुगेको छ । दुइ बर्षे कार्यकालको लागि निर्वाचित अध्यक्ष नरेश खपांगी मगरको नेतृत्वमा रहेको कार्यसमितिले मार्च ६ तारिख भित्र नयाँ अधिवेशन सम्पन्न गरिसक्नुपर्ने वैधानिक व्यवस्था थियो । तर सो समयसिमा भित्र अधिवेशन गर्न नसकेपछि अधिबेशन नगरिकनै शाखाको कार्यकाल सकियो । तर निवर्तमान बनिसकेको समितिले सदस्यता बितरण, आबेदन आव्हान र अधिबेशन गराउने एकल प्रयास थालेपछि बिबाद चुलिएको हो ।

कार्यसमितिको वैधानिकता सकिएपछि आदीवासी पत्रकार महासंघ यूकेका महासचिव खुशि लिम्बू लगायत पत्रकारहरु संजय कँडेल, बिपीन निरौलासहित करिब दुई दर्जन पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा उजुरी दिए । सोही उजुरीका आधारमा महासंघले अध्यक्ष खपांगीको कार्यसमिति माथि अंकुस लगाउँदै केन्द्रको समन्वयविना काम नगर्नु भनि पत्राचार गर्‍यो । तर खापांगीले केन्द्रको पत्रको समेत वेवस्था गरे । आइतवार कार्यसमितिको वैठक सम्पन्न भएको दावी गर्दै पुराना सदस्य सबै हुबहु पास भएको र नयाँ २० जनालाई सदस्यता दिएको घोषणा गरेका थिए । तर उपाध्यक्ष ध्रुव आर्यल लगायतका अधिकांस सदस्यहरुले आइतवारको वैठक निश्कर्ष विहीन भएकोले कुनै औपाचारिक निर्णय नभएको दावी गरे ।

अन्तिममा युके शाखाका सक्रिय पत्रकारहरु बाहिरिने र तिनीहरुले शाखा गठन गर्ने छलफलपनि अगाडि बढाएका छन् । यो बिवाद बढ्दै जाँदा नरेश खपांगी मगरले केन्द्रको निर्देशन बिरुद्द काम गर्दै गएमा समानान्तर शाखा गठन गर्ने र त्यस्तो शाखालाईनै केन्द्रले मान्यता दिने भन्ने चर्चा युकेमा छ ।

                          पदकै लागि मारमुंग्री

नेपाल पत्रकार महासंघ युके भित्र एक व्यक्तिले एक कार्यकालको लागि मात्र नेतृत्व लिने परम्परा छ । संस्थापक अध्यक्ष नविन पोखरेल र निवर्तमान अध्यक्ष चिरन शर्माले एक कार्यकालको नेतृत्व गरेपछि आफ्नो नेतृत्व हस्तान्तरण गरेका थिए । सोहि परम्परालाई मान्यता दिनुपर्छ भन्ने बुझाई धेरैको छ । तर वर्तमान अध्यक्ष नरेश खपांगी मगरले पुनः आफु अध्यक्ष हुने आकांक्षा राखेपछि भित्रभित्रै विवादको आगो सल्किएको भनाई असन्तुस्टहरुको छ । खपांगीको ध्येय अधिवेशनबाट सकेसम्म आफैं अध्यक्ष हुने र नसके केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यको हातबाट भएपनि टिके अध्यक्ष बन्ने रणनिती रहेको कतिपयको बुझाइ छ । तर निर्वाचन भएकै अवस्थामा के गर्ने ? निर्वाचनमा मतदान हुँदापनि आफ्नो पक्षमा मत पुर्‍याउन उनले एकतर्फी रुपमा सदस्यता बाँडेको आरोप असन्तुष्टहरुले लगाएका छन् ।

नरेश खपांगी मगरले नयाँ सदस्य बनाएका र पुरानो सदस्य पाउनेमा तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ्ग, मगरसंघ यूकेका पूर्वअध्यक्ष दुत पुनदेखि नौमति बाजा यूकेका अध्यक्ष ओम थापापनि छन् । तिमध्ये कोहिपनि पत्रकारितामा सक्रिय नरहेको त्यहाँका सक्रिय पत्रकारहरु बताउँछन् ।

पत्रकारिता गर्ने दुई दर्जन भन्दा कम, सदस्य पाँच दर्जनबढि

त्यसो त, बेलायतमा सक्रिय पत्रकारिता गर्नेहरुको संख्या दुई दर्जनपनि छैन । केहि दिन अघिसम्म नेपाल पत्रकार महासंघ युकेको वेभसाईटमा ७१ जना सदस्य रहेको उल्लेख थियो । नेपालप्लस डट कममा गत सोमबार सदस्यताबारे समाचार प्रकाशित भएपछि त्यो सूचीलाई घटाएर हाल ६१ जना सदस्य रहेको उल्लेख छ । नविकरणका नाममा तीन दर्जन भन्दा बढी नक्कली पत्रकारको सदस्यता नविकरण गरिएको आरोप लगाउनेहरुपनि छन् । ति ६१ जना सदस्य मध्ये अंशिक पत्रकारिता गर्नेको संख्या जोडेपनि आधासम्मा नपुग्ने भनाई सक्रिय पत्रकारहरुको छ ।

                     सपार्ने भन्दा भत्काउनेको चलखेल

शाखाको बिवाद देखिनासाथ त्यसलाइ समाधान गर्न शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगी मगरनै लाग्नुपर्ने थियो । सदस्यता बितरण लगायतका विषयमा गरिएका गल्ति र निर्णयहरुमाथि पूनर्मूल्यांकन गर्ने, सल्लाहकारहरुसित सुझाव लिने, छलफल र बहसगरि सामुहिक निर्णयमा पुग्ने गरेको भए बिवादमाथि कसैले खेल्न पाउने थिएन । तर निवर्तमान बनिसकेपछिपनि सक्रिय रहनुपर्ने र केन्द्रिय निर्देशनलाईसमेत लत्याएर आफूखुशि एकपछि अर्को निर्णय गर्दै जाँदा बिवाद चुलिँदै गयो । यहि बिवादमाथि राजनितिक दलका नेता, कार्यकर्ता, कलाकार लगायतले खेल्ने मौका पाए । समितिका सदस्यहरु बिभिन्न गूटमा बिभाजित भए । अहिले नरेश खपांगी मगरको निवर्तमान नेत्रित्वले भनेका कुनैपनि विषयमा सहमतिभन्दा समानान्तर समिति बनाउने, टक्कर दिने, बिरोधीहरुले उचाल्ने दिशामै शाखा गइरहेको छ । सिंगो आदिवासी जनजाति पत्रकार महासंघ युकेनै खपांगीको बिरुद्दमा उत्रिएको छ ।

                          ३० लाख फ्रिज !

नेपाल पत्रकार महासंघ यूकेले आपतकालिन कोष खडा गर्ने भन्दै नेपालीज प्रेस नाईट भन्ने दान कार्यक्रम (च्यारिटी शो) जेठको पहिलो साता गरेको थियो । त्यसबाट करिब २५ हजार पाउण्ड (करिब ३० लाख रुपियाँ) उठ्यो । कार्य समितिनै अबैधानिक बनेपछि हाल सो रकम फ्रिज भएको अवस्था छ । खपांगीको नेतृत्वमा संकलित सो रकम व्यवस्थीत गर्ने नाममा लामो समय भइसक्दापनि कार्यन्वयनमा आउन सकेको छैन् । आफूले यत्रो च्यारिटी कार्यक्रम गरेर लगभग ३० लाख रुपियाँ उठाएकाले फेरि अर्को एक कार्यकालकोलागि अध्यक्ष बनेर ति योजना सफल बनाउन पाउनुपर्ने आकांक्षा उनले आफ्नाहरुसित ब्यक्त गर्ने गरेका छन् । तर यो कोष पत्रकारहरुको संस्थाबाट उठेकाले कोष सञ्चालनमा पत्रकारहरु राखिनुपर्नेमा गैह्र पत्रकारहरु राखेको भन्दै अध्यक्षको आलोचना हुने गरेको छ ।

                        आफूलाई अनुकूल हुनेगरि बिधान संशोधन

नेपाल पत्रकार महासंघ युकेको बिधान नेपाल पत्रकार महासंघ केन्द्रिय विधानसित मेल खानुपर्ने हो । स्थानिय कानुन र प्रशासन अनुकुल पार्नुपर्ने अवस्थामा केन्द्रिय बिधानसित नबाझिनेगरि संधोधन गर्न पाइने ब्यवस्था छ । तर नेत्रित्वमा आफूले चाहेका ब्यक्ति पुर्‍याउन केन्द्रिय बिधानसित बाझिनेगरि पत्रकार महासंघ युकेको बिधान संशोधन गरिएको छ । अध्यक्ष पदमा उमेदवारी दिन वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव वा कोषध्यक्ष मध्ये कुनै एक पदमा एक कार्यकाल जिम्मेवारीमा रहेको हुनुपर्ने र सदस्यले अध्यक्षमा उमेदवारी दिन नपाउनेगरि संशोधन गरिएको छ । तर नेपाल पत्रकार महासंघमा अध्यक्ष बन्नको लागि सदस्यलेपनि उमेदवारी दिन सक्छन् । त्यसैले युके शाखाको बिधाननै केन्द्रिय बिधानबिरुद्द छ । यहि बिधानमा टेकेर यस अघि अध्यक्ष पदमा उमेदवारी दिएकि बिमला सेनेलाई उमेदवारी फिर्ता गर्न लगाइएको थियो ।

                 कोको छन् अध्यक्षका दाबेदार

हाल अध्यक्षका प्रमुख दाबेदारनै नरेश खपांगी मगर हुन् । उनी अर्को एक कार्यकाल अध्यक्ष बन्ने दाउमा छन् । तर उनी बिवादमा परेकाले यसै भन्नसकिने अवस्था छैन । किनभने बेलायतमा जनजातिका पत्रकारहरुको समर्थनबिना उच्च पदमा मतदान भए जित्न गाह्रो छ । नरेश खपांगी मगरलेपनि जित्ने त्यहि मतले हो । तर जनजाति पत्रकार महासंघ बेलायतकै महासचिव खुशी लिम्बुलाई सदस्यता नदिने खपांगीको निर्णय र सदस्यता बितरणमा उनले अपनाएको शैलीले हाल जनजाति पत्रकार महासंघका अधिकांश सदस्य खपांगीको पक्षमा छैनन् । त्यसैले मतदान भएमा तिनको मत खपांगीलाई नजान सक्छ । खुशि लिम्बुले खुलेरै नरेश खपांगी मगरका कामलाई बिरोध गर्दै एफ एन जे युके शाखा भंग गरि तदर्थ समिति गठनको माग गरेका छन् । निवर्तमान बनिसकेको युके शाखाका पदाधिकारीले कुनैपनि बैधानिक निर्णय गर्न नपाउने भन्दै आवाज उठाउनेमा खुशि लिम्बु अग्र भागमा छन् । एफएनजे युकेका संस्थापक सदस्य बिपिन निरौलाको सदस्यता नबिकरण नगर्ने लगायतका निर्णयलेपनि सदस्यता बितरणमा चर्को आलोचना र बिबाद खेप्नुपरेको हो ।

आफू अध्यक्ष बन्न नपाउने अवस्थामा खपांगीले निवर्तमान बरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई अध्यक्षका रुपमा उभ्याउने रणनिति बनाएको बताइन्छ । श्याम लुइँटेललेपनि आफूलाई भाबि अध्यक्षका रुपमा उभ्याएका छन् । अध्यक्षका दाबेदार निवर्तमान उपाध्यक्ष ध्रुव अर्याल, पूर्वउपाध्यक्ष दिनेश परियार र विमला सेनेको नाम चर्चामा छ । तर एक कार्यकाल माथिल्लो पदमा रहेर काम गरेको हुनुपर्ने संशोधित प्रस्तावले गर्दा विमलाकोलागि सहज छैन ।

तपाइँको प्रतिक्रिया