बुद्द लामाबाट पाठ गराउँदै ईटालीको मिलानमा सामूहिक ल्होसार

ईटालीको मिलान शहरमा नेपालीहरुसितै ईटालियनहरुलेपनि ल्होसार पर्व मनाएका छन् । आइतवार ११ मार्चका दिन ईटालीको मिलान शहरमा मितेरी मञ्चले आयोजना गरेको ल्होसार पर्वमा नेपालीहरुसँगै नेपाल र नेपालीमा चासो राख्ने नेपालप्रेमी ईटालियन नागरिकहरुलेसमेत हर्षका साथ ल्होसार मनाएका हुन् । कार्यक्रम तोला, ग्याल्बो र सोनाम ल्होसार सामुहिक रुपमा मनाउन आयोजना गरिएको हो । ल्होसार पर्व बौद्द लामाहरुबाटै पूजापाठ गरेर शुरु गरिएको थियो ।

आइतवार धुम्म बादल लागेको, पानी परिरहेको ठण्डि भएपनि मिलान भन्दा टाढाटाढा बसेका नेपाली र ईटालियनहरुका बिभिन्न संस्थाबाट ल्होसार मनाउन आएका थिए । मिलान शहरमा रचनात्मक हिसाबले सामुहिक ल्होसार मनाउने चर्चा चलेकाले कस्तो हुन्छ भन्ने कौतुहलतालेपनि नेपालीसँगै ईटालीहरुको उपस्थिति बाक्लो बनेको हो ।

लामा गुरुहरु ड्रुपछेन रिम्पोर्छे र लामा नवाङ्ग (नोर्बु) शेर्पाद्वारा बुद्द धर्मको रीत अनुसार औपचारिक पूजा गरेर ल्होसार पर्व शुरु गर्दा उपस्थितहरु कौतुहल बनेका थिए । मितेरी मंचको कार्यसमिति सदस्य तथा सामुहिक ल्होसार कार्यक्रम संयोजक श्रीमती अन्जु राइले उपस्थित सबैलाई स्वागत गरिन् । मंचका बरिष्ठ उपाध्यक्ष योगेन्द्र रिजालले कार्यक्रममा उपस्थित र रोचक कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैलाई धन्यावाद दिए ।

कार्यक्रमको रोचक, रमाईलो र नौलो के थियो भने नौ बर्षीया कामाना तामांगले ईटालियन भाषामा ल्होसार पर्वको शुरुवात, सांस्क्रितिक महत्व, ल्होसार पर्वका प्रकार, विशेषता र तिनको महत्वका बारेमा प्रकाश पारेकि थिईन् । ल्होसार पर्वका बारेमा सुनेका तर यसका विविध आयामबारे जानकारि नभएका नेपाली र ईटालियनहरु उनको प्रस्तुति देखेर दंग परे । तिन थरिका ल्होसार पर्व नेपाल मितेरी मञ्चले किन एकैसाथ मनाएको हो भन्ने विषयमापनि उनले गरेको ब्याख्याले थप रोचक बनेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी गैह्र आवाशिय नेपाली संघ ईटालीका अध्यक्ष दिपेश कुमार रेग्मी थिए । उनले मितेरी मंचले नेपालीका सबै पर्व आफू बसेको देशमा मनाएर संस्कृति र भाषा  बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गरे ।  आगामी दिनमा स्थानिय संघसंस्थाहरुसित मिलेर एन आर एन इटालीलेपनि विभिन्न कार्यक्रमहरु  गर्ने योजना रहेको बताए ।

कार्यक्रमका अर्का अतिथी एन आर एन इटालीका संस्थापक डा भिम बहादुर बमले लगभग २५ बर्षको आफ्नो इटाली बसाइको क्रममा धेरै उतारचढाबहरु देखेको सुनाए । आफू आउँदा दुई चार जना मात्र नेपाली भेटिने गरेकोमा बिस्तारै नेपाली थपिँदै जाँदा आज इटालीका प्राय प्रमुख शहरहरुमा नेपालीका विविध खाले समाजहरु नै बनिसकेको, एक भन्दाबढि संस्थाहरु बिबिध स्वार्थ र उद्देश्यले खोलिनुको साथै राजनैतिक खेलहरु शुरु भएको देख्दा आफूलाई दुख लागेको बताए । तर लोम्बार्दिया क्षेत्रमा एक मात्र संस्था मितेरी मंच भएको र मंचसँग आफू स्थापनाकालदेखिनै लगातार सम्पर्क र मंचका गतिविधिहरुबाट नजिक रहेको भन्नि उनको थियो । बिगतका बर्षहरुमा दशैं, तीज, नयाँ वर्ष लगायतका कार्यक्रमहरु मंचले मनाउने तर ल्होसार चाहीँ जनजातीका दाजुभाईहरुले छुट्टै तरिकाले आयोजना गरेको देख्दा मंचका पदाधिकारीहरुलाई ‘ल्होसार पनि हाम्रै हो, त्यसैले जसरि अरु कार्यक्रम मंचको आयोजनामा हुन्छ त्यसरी नै ल्होसारपनि तपाईहरुको सूचीमा राखी मनाइनु पर्छ’ भनि सुझाएको घटना सुनाउँदै भने ‘त्यो सुझाबलाई मनन गरेर यो सामुहिक ल्होसार आयोजना गरेकोमा खुसि लागेको छ । यसकोलागि मंचका अध्यक्ष बिशाल तामांग र वहाँको टोलीलाई बधाई दिन्छु ।’

ल्होसार पर्व विविध सांस्क्रितिक कार्यक्रमकासाथ मनाईएको थियो । सांस्क्रितिक कार्यक्रमको पाटोको जिम्मा दिपेन्द्र भण्डारीले लिएका थिए । तामाङहरुको म्हेंदोमाया नाच, शेर्पा नाचहरु देखाईएको थियो । स्थानीय गायकहरु किरण लामा, बिक्रम शेर्पा र दिपेन्द्र भण्डारीले गीत गाएर कार्यक्रमलाई मनोरन्जनात्मक बनाए । नेपालीकालागि विविध मानविय सेवाका काम गरेका एक दम्पति प्रदिप आचार्य र शुस्मिता खतिवडा आचार्यलाइ मंचले कदर पत्र र खादा ओढाएर सम्मान गर्‍यो ।

मंचका अध्यक्ष  बिशाल तामाङ्गको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा एन आर एन इटालीका महासचिब छबिलाल कँडेल, इटालियन पत्रकार पाओला मनफ्रेदी, ‘टुगेदर फर  नेपाल’का पिएर आन्जेलो फाब्री र ईटालियन प्रहरी इन्स्पेक्टर फाबिओ फ़िओरि लगायतले शुभकामनासहितको मन्तब्य राखे । कार्यक्रम संचालन मंचका सचिब नील बहादुर गुरुङले गरेका हुन् ।

(थप फोटोहरु हेर्नकोलागि नेपालप्लसको फेसबूक एलबम https://www.facebook.com/pg/Nepalplus/photos/?tab=album&album_id=1603656336338597 मा जानुहोला)

तपाइँको प्रतिक्रिया