युरोपमा गरिखाने सपना ब्याउनी भैंसी तुहिए जस्तो

-तारा अधिकारी / बार्सिलोना, स्पेन

तिन दिन देखिको लगातारको बर्षा र बार्सिलोनाको हिउँले नेपालको माघे झरीको झल्को लागेर मन कटक्क खाएको छ । बिस्तारै लट्ठीको सहारातर्फ उन्मुख अभिभावकको सम्झनाले त झन हरिबिजोग नै बनाउँछ । नेपालमा हुँदै गरेको राजनीतिक परिवर्तनले केहि सम्भावना र म भित्रको ‘म’ लाई कता कता घचघच्याईरहेको छ । तर निर्णय गरिहाल्ने अवस्थामा भने पुर्‍याएको छैन । तसर्थ यहाँका तिता सत्य सम्प्रेशणको प्रयास गर्न मन लागेको हो ।

लामो समयदेखि मध्यपूर्व अर्थात खाडी राष्ट्रहरुमा श्रम बेच्दैगर्दा मलाई यूरोपका कुनैपनि राष्ट्रमा सयर गर्न कतै असहज थिएन । बिदाको समय पारि यूरोपका केहि राष्ट्रहरु घुम्दै गर्दापनि मलाई यहाँको दैनिकी देखेर कहिले यूरोपमा भासिन्छु भन्ने लागेकै थिएन । तर जीवन सोचेको जस्तो कहाँ हुन्छ ? १० बर्ष खाडी राष्ट्र कतारमा काम गर्दै गर्दा बिगत केहि बर्ष देखि खाडी राष्ट्रहरुमा देखिएको कच्चा तेलको मूल्यमा आएको गिरावटले भविष्य असुरक्षित देख्न थालेँ । त्यो ताका नेपालमा चल्दै गरेको राजनीतिक अस्थिरताले गर्दापनि नेपाल अवतरण गरे त मरिन्छ कि झैं गरि फर्किने निर्णय गर्नै सकिन । त्यसपछि शुरु भयो यूरोपको यात्रा ।

यहाँनिर कान्तिपुर राष्ट्रिय दैनिकका अब्बल पत्रकार होम कार्कीलाई म झलझल्ति सम्झिन्छु । दोहा कतारको नज्मा बगैचामा भेटघाटको क्रममा ‘तपाइँको खाडी राष्ट्रको संघर्ष र सिप भएको खण्डमा खाडी राष्ट्रका अवसर बिषयक मेरो जीवनी लेखौं’ भनेको । साँच्चिकै नेपाल सरकारको मातहतमा अब्बल दर्जाका प्रशिक्षकद्वारा नेपालमा प्रविधिक तालिम मात्र दिने र सरकारकै मातहतमा खाडी राष्ट्रमानै रोजगारीको लागि पठाइदिने व्यवस्था गर्न मात्र सक्ने हो भने पनि धेरै नेपाली युवाहरु र राष्ट्रकै कल्याण हुने थियो । तर यहाँ तल्लो दर्जाको एयरपोर्ट सेटिंग गर्ने दलाल, मेनपावरहरुको केहि मालिकदेखि श्रम सहचारीकै मिलोमतोमा मानव तस्करी भईनैरहेको छ । पैसो ब्रिफकेशमा ठमेलका होटल र घरसम्मै पुगेकै छ । तैपनि तै चुप मै चुप छन् मानिसहरु, जिम्मेवार निकायका अधिकारी ।

अब गरौं यूरोपका राम्रा घर, राम्रा गाडी, राम्रा र सेता सेता गोरिनी (तरुनी) का कुरा । हाँस्यास्पद, खरा, शब्द तर यथार्थमा पनि उस्तै छ युरोप । बिहान चियाको चुस्की पूर्वनै हातमा ट्याक्क बियर आउँछ ! के गर्नु ? तान्नै पर्यो हल्का भएपनि । नभए चिसोले भ्याउँछ । फेरी स्वास्थ्यवर्धक गहुँको झोल न पर्‍यो । एक बोत्तल तन्काएपछि कतारमा कम्पनिका आफ्ना कामदारलाई ओसार्न आएको जस्तै बस यहाँ पनि दैलो मै आउँछ । अनि सुट र टाईमा ठाँटिएर अफिस गइन्छ । मासिक २६ दिन काम । त्योपनि दिनको आठ घण्टा मात्रै । हल्लिँदै हल्लिँदै काम गर्‍यो । दिन गएको पत्तो नै हुँदैन । पैसो फेरी मनग्य । नेपाली झन्डै ३ लाख रुपियाँ ।

यस्तै यस्तै गफ सुन्नु भएको होला यूरोपबाट नेपाल केहि दिनको बिदामा आएका यूरोपेली लाहुरेहरुको हगी ? झन गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा त टलक्क टल्किने कोट पाइन्टमा ट्याक्क हातमा बियर लिएर काठमाडौँका दरवार र रोधी घरभित्र तरुनीको लागि बार्गेनिङ गर्दै यूरोप बसाइको कति मिठो अनुभव सुनाउँछन । मैले पनि सुनेको थिएँ अघिल्लो कार्यकालको विश्व सम्मेलनको निर्वाचन ताका ।

तर यी यावत कुरा फगत झुटा रहेछन । हिजो मलाई गैरआवासीय नेपालीको संघको विश्व सम्मेलन ताका दरवार र रोधी घर भित्र कालो कोटमा ठूला गफ छाँट्ने ठूले दिनभरि युरोपमा मस्काउनि चम्काउनि पो गर्दो रहेछ । अर्थात उरुङका उरुङ भाँडा माँझ्दो रहेछ । अर्कोले त झन नाइक कम्पनिका जुत्तामा लोभ लाग्दा टिसर्टसँगै कत्रा कत्रा गफ चुट्यो ओहो ! यहाँ उसको गति भनेको १२ देखि १८ घण्टा पिजा पोल्नी पो रहेछ । त्यस्नतै गफ हान्ने अन्य केहि नेताहरु बार अर्थात रौसि भट्टीमा काम गर्दा रहेछन् । तैपनि तिनैका कुराले प्रत्येक दुइ बर्षमा हुने गैरआवाशिय नेपाली संगठनको बिश्व सम्मेलनले नेपाल तताउँछ । अनि फगत झुटा आस्वासन नेपाल सरकारलाई दिएर आफ्नो दोहोरो नागरिकताको मुद्धामा यथासिघ्र काम गर्न आदेश दिन्छन । त्यसपछि फर्किन्छन पुन: युरोप ।

गैरआवासीय संगठन र यो भित्रका दाउपेचहरुलाई मैले निकै नजिक देखि मुल्यांकन गरेको छु । प्रत्येक ब्यक्तिको दम्भ र हैसियत कतै लुकेको छैन । तर मलाई यो बिषयमा कुरा गर्नु नै छैन । गैरआवासीय नेपाली संघले बिकसित राष्ट्र अर्थात यूरोप लगायत अन्य यस्तै प्रकृतिका राष्ट्रहरुमा के कस्ता काम हामीले गर्ने हो । हाम्रो हैसियत कहाँ सम्म हो । हाम्रो नेपालमा अध्यन गरेको शिक्षाको दायराभित्र पर्ने जागिरका प्रकृति कस्ता कस्ता हुन ? साक्षात्कार कार्यक्रम गरेको खै ? खै गैर आवासीय नेपाली संघले यूरोप लगायत अन्य यस्तै प्रकृतिका राष्ट्रहरुको तत्कालिन अवस्थाबारे जानकारी गराएको नेपाली यूवाहरुलाई बिशेस ? बिद्यार्थी बर्गलाई ? के दोहोरो नागरिकता मात्रै हो यिनीहरुको मुद्धा ? यो गम्भीर प्रश्न गैरआवासीय संगठनका पछि लाग्नेहरुका लागि ।

नकारात्मक मात्र नभएर यूरोपमा सकारात्मक पक्षहरु पनि नभएका हैनन । तर त्यो केहि सिमित ब्यक्तिको मात्र भाग्यमा पर्ने गर्दछ । अवसरहरु यहाँपनि नभएका पक्कै हैनन । तर यहाँपनि उस्तै आर्थिक मन्दी छ । ७००- ८०० यूरो भन्दा माथि आर्जन गर्ने नेपाली कमै छन । त्यति आर्जन गरेको पैसाले २०० देखि ३०० घर भाडा तिर्नु कि मोबाइल खर्च र दारुपानी ? युरोप आउँदा लागेको घरको १५ देखि १८ लाख खर्चको ब्याजले त घनले टाउकोमा हाने जस्तै हान्छ । पुन : ३ देखि ४ बर्षको असहज बसाईपछि यहाँको अस्थाई बसाईको अनुमति पत्र बनाउनकै निम्ति पनि झन्डै १५ लाख नेपाली खर्च लाग्दछ । अपबाद र भाग्यमानिहरु २, ४ जनाले सित्तैमा बसाई अनुमति पत्र पाएको देखिन्छ । बाँकिको हालत सहज हुन्न ।

विशेष नेपाली युवा बर्गलाई यहाँ अनियमित ३ देखि ४ बर्ष भौंतारिएर आफ्नो भबिस्य अन्धकारमा नधकेल्न बिशेस आग्रह गर्दछु । केहि आर्थिक उन्नति गर्नु नै छ भने खाडी राष्ट्रमा केहि सिप सिकेर जानुस । उतै समुन्नती हुन्छ । त्यतै लाग्नुस् ।

तपाइँको प्रतिक्रिया