एन आर एन ए बेल्जियममा मनोनित सदस्यकालागि जनजाति संगठनकैबिच रडाको

एन आर एन बेल्जियमको मनोनित पदमा जनजातिका कुन संगठनबाट कोको बस्ने भन्ने विषयमा खिचातानी मात्रै भएको छैन तिब्र बिबाद छ । जनजाति संगठनकै बिच रडाको मच्चिएको छ । एउटा जनजाति संस्थाले अर्को जनजाति संगठनलाई अबैधानिक, मान्यता नपाएको जस्ता आरोप प्रत्यारोपहरु लगाएर बिबाद झिकेका छन् । यो बिबाद सल्टाउन एन आर एन बेल्जियमलाईनै हम्मे हम्मे परेको छ । खासगरि गुरुङ (तमु) समूदायका दुई भिन्न संगठनले गर्दा अन्य जातिय संगठनबिचपनि बिबाद र अलग अलग समूहमा बिभाजित बनाउँदै लगेको छ ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी आदि राजनितिक दलका आआफ्नै खिचातानी र तमु समाजलाई आफ्नो प्रभावमा राख्ने तानातानमा बिवाद बढ्दै गएपछी गत अगष्ट ६ का दिन तमु धिँ बेल्जियम भन्ने संस्था गठन गरियो । तमु समाज गठन भएको १७ वर्षपछी सोहि दिनकै अवशर पारेर तमु समाजलाई टक्कार दिन तमु धीँ गठन गरिएको थियो । यसपछी तमु समाज र तमु धीँ समाजका बिच बैधानिकता र अबैधानिकताका बारेमापनि बिबाद बढ्दै गयो । एउटा संस्थाकाले अर्को संस्थाकालाई देखिनसहने स्थिति बन्यो । तमु समाज र जनजाति महासंघले तमु धीँलाई अबैधानिक संस्था भनेर एक्ल्याउने रणनिति अँगालेपछि भने बिबाद तिब्र बनेको हो । यहि बिबादको भुँग्रोमा एन आर एन बेल्जियम परेको छ ।

तमु समाज र तमु धीँ दुबैले यो पटक अलग अलग तरिकाले ल्होसार पर्व मनाए । दुबै संस्थाले एन आर एन बेल्जियमका अध्यक्ष लोक दहाललाई निमन्त्रणा गरे । लोक दहाल दुबै कार्यक्रममा उपस्थित भए । तमु धीँलाई शत्रुका आँखाले हेर्ने र अबैधानिक संस्था मान्नेहरुले लोक दहाल तमु धीँको कार्यक्रममा गएको उचित मानेनन् । उनको आलोचना गरे । तमु धीँको तर्क फेरि के थियो भने लोक दहाललाई निर्वाचनमा आफ्नो संस्थालेपनि सहयोग गरेकाले र एन आर एन सबैको संस्था भएकाले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । तर तमु समाज पक्षले भने फुटेर गएकाहरुलाई मान्यता दिएको भन्दै लोक दहालसित चिढिए । बिबादको यो चुरो एन आर एन बेल्जियममा केहि पद मनोनित गर्दा छताछुल्ल भयो।

जनजातिका लागि छ वटा पद छुट्ट्याएर मनोनित गर्ने प्रस्ताव गर्‍यो, एन आर एन बेल्जियमले । जनजाति महासंघमा हाबी देखिएका संघिय समाजवादी फोरमका पिजी शेर्पाले मार्के मगर, तिलक तामाङ, पि डी शेर्पा, धन कुमार वान्तवा (मणी), जीवन गुरूँग र सौरभ क्रान्जीतको नाम सिफारिस गर्दै बधाई समेत दिन भ्याए । यसपछि बिवादले उग्र रुप लियो । किनभने यसमा तमु धीँ को प्रतिनिधीलाई राखिएन ।

तमु समाज बेल्जियमका सूर्य बहादुर गुरुङ लगायतले पिजी शेर्पाले सिफारिस गरेका छ जनालाई अनुमोदन गर्नुपर्ने दबाब दिईरहेका छन् । उता उता आङमाया लामा, अनिता घले लगायतले तमु धीँ बेल्जियमको प्रतिनिधीलाईपनि मनोनित गर्नुपर्ने माग गरेका छन् ।

तमु धीँ बेल्जियमको तर्क के छ भने आफूहरुपनि जातिय संस्था भएकाले बिधानसम्मत तरिकाले एक सदस्य मनोनित गरिनुपर्छ । तमु धीँले आफ्नो तर्फबाट गडुल धोज तमु (जिमी) लाई सिफारिस गरेको छ ।

पिजी शेर्पाले भने तमु समाज बेल्जियमले सिफारिस गरेका ब्यक्तिहरु आधिकारिक हुने भन्दै समाजले सिफारिस गरेका ब्यक्तिहरुलाईनै मनोनित गर्न सामाजिक सन्जालमार्फतपनि दबाब दिएका छन् ।

बेल्जियममा यो बिवाद कतिसम्म उर्लिएको छ भने पछिल्लो समयमा क्षेत्री समाज बेल्जियमलेपनि एक सिट दाबी गरेको छ । बेल्जियमका महेश थापाले त्यस्तो माग गर्दै लेखेका छन् ‘यसरि सबै भागबण्डा गर्दा क्षेत्री समाजलाई किन पाखा ? खस आर्यलाईपनि एक सिट अवश्य चाहिन्छ ।’

कुन कुन जातिय संस्थाका तर्फबाट कोको मनोनित हुने भन्ने विषयमा अहिले सामाजिक संजालमा समूहहरु बनाएर छलफल र बादबिबाद चर्किएको छ । एन आर एन बेल्जियममा यो विषयमा तिब्र बिवाद देखिएपछी अध्यक्ष लोक प्रसाद दहालले एन आर एन बेल्जियमको आगामी बैठक फर्वरी २५ मा बस्ने हुँदा एन आर एनको बैठकले आधिकरिक निर्णय गर्नुअघि मिडियाबाजी नगरिदिन आग्रह गरेका छन् ।

तमु धीँ बेल्जियमलाई मान्यता दिने, तमु समाज बेल्जियमको धारणा वा कार्यक्रममा असहमती जनाए एन आर एन बेल्जियमका अध्यक्ष लोक दहाललाई एक्ल्याउनुपर्छ भन्ने अतिबादीहरुपनि देखिएका छन् । 

को बैधानिक को अबैधानिक ?

तमु धीँ बेल्जियमलाई तमु समाज फुटाएर गएको, अबैधानिक भन्न थालेपछी तमु धीँका सदस्यहरुले संघिय समाजवादी फोरमका नेता पि जी शेर्पालाई प्रश्न गर्न थालेका छन् ‘एमाले पार्टी फुटाएर तपाईहरुले किन संघिय समाजवादी फोरम बनाउनुभयो ?’ उनीहरुको तर्क के छ भने यो संघिय समाजवादी फोरम झनै अबैधानिक संस्था हो । आफैंले अबैधानिक काम गरेर बैधानिक काम गर्नेलाई नाजायज प्रश्न गर्न सुहाउन्न । तमुहरुका नेपालमैपनि चार वटा रष्ट्रिय संस्था भएकाले नेपालको तमु धीँकै शाखा बेल्जियममा खोल्नु पूर्ण रुपमा बैधानिक हो ।

तमु समाजको पकडमा एन आर एन बस्नुपर्ने ?

जनजातिबिचको यो बिवाद गत सेप्टेम्बर ३ मा भएको एन आर एन ए बेल्जियमको निर्वाचनसितपनि जोडिएर आउँछ । एन आर एन बेल्जियमका अध्यक्ष लोक प्रसाद दहालको प्यानलमा जनजातिसहितको समावेशी समूह भन्दै प्यानल बनाएका थिए । त्यसमा तमु समाज बेल्जियमपनि थियो । पछिल्लो समयमा तमु समाज फुटेर बनेको तमुधिँपनि थियो । सबैले लोक प्रसाद दहाललाई मत दिएका थिए । अर्थात् साझा प्यानल बनेको थियो । उता संघिय समाजवादी फोरमपनि दहालतिर लागेको थियो । फोरमका प्रमुख पिजी शेर्पा जनजाति महासंघमापनि प्रभावशाली भएकाले जनजाति महासंघ बेल्जियमलाईपनि दहाल पक्षतिरै ताने । अन्तत, अध्यक्षमा लोक प्रसाद दहाल बिजयी भए ।

जनजातिहरुको अनेक संस्था र संगठनले दहालसित मिलेर निर्वाचन लडेकाले जनजातिहरु दहालको बिजयी आफ्नो बिजयी जस्तो मान्छन् । दहालले उनीहरुको भावना र इच्क्षा बिरुद्द कुनै निर्णय नगरुन् भन्ने ठान्छन् । तर एन आर एन स्वतन्त्र संस्था भएकाले जनजातिकै नारा र योजना बोकेर हिँडिरहन संभव हुन्न ।

तपाइँको प्रतिक्रिया