विश्वले चिन्ने रिक्सा चालक

चर्चा बाहिर रहेका, चर्चामा रहन सक्छन् भन्नेसम्म नसोचिएका पात्रपनि चर्चामा आउने रहेछन् । सामान्य दुखजिलो गरेर छाक टार्ने, परिवार पाल्न कठिन श्रम गर्ने सामान्य ठानिएका मानिसलेपनि चर्चामा आउले काम गर्न सक्दा रहेछन् । दैनिक गुजारा गर्नै मुस्किल ठानिएको पेशा गर्नेलेपनि समाजमा उल्लेख्य कर्म गरेर ख्याती कमाउन सक्ने रहेछन् । समाज सेवा गर्न चर्चित ब्यक्तित्व, धनी र सम्पन्न हुनै पर्छ भन्ने छैन रहेछ । यहि उदाहरण हुन्, रौतहटका रिक्सा चालक केदार प्रसाद तिमल्सिना ।

हरेक वर्षको जाडोयाममा तराईमा सधैँ शितलहर चल्छ । जाडोले मानिसहरु कठ्याङ्ग्रिन्छन् । न्याना लुगा र ओढ्ने ओछ्याउने नपाएर बिरामी पर्छन् । कोहि ठण्डिबाट बच्ने लुगा र खाना नपाएरै मर्छन् । यस्तो बेला रिक्सा चालन केदार प्रसाद तिमल्सिना लुगाफाटो र खाने कुराको खोजिमा लाग्छन् । आफूले दिनभरि रिक्सा चलाएको रकमबाट केहि अलग्ग्याएर उनी लुगा किन्छन् । खाने कुरा खरिद गर्छन् र त्यो लिएर दुखिहरुको सेवामा लाग्छन् ।

उनी धनी र सम्पन्न छन् । मनका धनी । सामाजिक सेवाको भावनाले सम्पन्न । तर पैसामा सम्पन्न ब्यक्ति होइनन् । उनीसित भएको जम्मा  एउटा रिक्सा हो । त्यहि रिक्सा उनको जिविकाको सम्पूर्ण आधार हो । यसैको कमाईले उनले आफ्ना लालावाला पाल्नुपर्छ । आफ्नी पत्नीको जिविका र वालवालिकालाई पठनपाठनको ब्यवस्था गर्नुपर्छ । तर उनले कहिलेकाहिँ परिवारको गास काटेरपनि लुगाफाटा किन्छन् र सडक पेटी, सार्वजनिक स्थलमा जाडोले काम्दै बसेका दुखिहरुलाई न्याना कपडा बाँड्छन् ।

यसकोलागि उनले फेसबूकमार्फत सहयोगको आव्हानपनि गर्ने गरेका छन् । शित लहरले चिसोमा कठ्याङ्ग्रिएर बस्नु परेका दुखिहरु होउन् वा बाढि र पहिरो, भूकम्पमा परेर घरबास उठेकाहरु, सबैलाई सकेसम्म अन्न र लत्ता कपडा सहयोगको माग गर्दै उनी सामाजिक सन्जालमार्फत आव्हान गर्छन् । कहिँ कतैबाट सहयोग नजुटे आफूले रिक्सा चलाएर कमाएको थोरै रकम खर्चेरपनि सहयोग गर्ने गरेका छन् ।

‘फलानो ठाउँमा वालवालिकाहरु खाने कुरा र कपडा नपाएर बिजोगमा छन्’ भन्ने सुन्नुपर्छ । रिक्सा चालक  केदार प्रसाद तिमल्सिना केहि न केहि सहयोगको घोषणा गरिहाल्छन् । आफूले बोलेको समयमा उनी आफ्नै रिक्सामा सामान राखेर भएपनि पुग्छन् ।

उनको यहि कर्मले गर्दा उनलाई विश्वभरिका नेपालीले चिनेका छन् । बिभिन्न देशका नेपालीले उनको त्यहि कर्म देखेर उनको सामाजिक अभियानकालागि धेरै थोरै आर्थिक सहयोग पठाउने गरेकापनि छन् । उनको यो कर्ममा पत्रकार, अभिनेता, गायक, शिक्ष र समाजका चर्चित ब्यक्तिहरुलेपनि बेला बेला साथ दिने गरेका छन् । उनको यहि कर्म देखेर सामाजिक अभियन्ता र केहि संस्थाले उनलाई सम्मानित गरेकापनि छन् ।

पछिल्लो समयमा उनी बेला बेला फेसबूक लाइभमै आएर आफ्ना कुरा राख्ने, सहयोगको याचना गर्ने गरिरहेछ्न । उनको यो कर्मले धेरैलाई सामाजिक काम गर्न प्रेरित गरेकोपनि छ । चर्चामा आउन चर्चित ब्यक्ति हुनुपर्दैन, सामाजिक काम गर्न आर्थिक रुपमा सम्पन्न हुनैपर्छ भन्नेपनि छैन। उनले साबित गरिदिएको यहि हो ।

तपाइँको प्रतिक्रिया