सुकेको रुख ओगट्न घमासान

चराहरुपनि असाध्यै लडाइँ, झैझगडा गर्छन् । खासगरि एउटाको वासस्थान, क्षेत्रमा अर्को प्रवेश गर्दा । आफ्नो प्रेमी वा प्रेमीकामाथि अर्कोले आँखा लगाउँदा । आफ्नो समूह वा परिवारमाथि कसैले धम्की दिँदा । लाहाँचे चराहरुको मुख्य गूँड बनाउने ठाउँ सुकेका रुखको टोड्का हुन् । जंगलमा बस्ने उल्लू वा लाटोकोसेरोकोपनि रुखको टोड्कोनै हो । लाहाँचेहरु सुकेको रुखमा ठोंडले खोतलेर, रुखका बोक्रा उप्काएर त्यहाँ भित्रका किरा खान्छन् । सुकेको र मक्किन लागेको रुखमा टोड्को पारेर गूँड बनाउँछन् । उल्लूहरु सुकेको रुखमा बसेर वरिपरिको वातावरण नियाल्ने, मुसा र छुचुन्द्राहरु सल्बलाएको नियाल्ने गर्छन् । किनकि सुकेको रुखमा बस्दा हरिया पात, हाँगाबिँगाले छेक्दैन । परपरसम्म छ्याङ्ग देखिन्छ । उल्लू र लाहाँचे दुबैको प्रमुख आकर्षणको थलो सुकेको रुख हुनाले ति एकापसमा जम्काभेट हुँदा लडाई गर्छन् । त्यो रुखलाई आफ्नो कब्जामा पार्न । जसले जित्छ उसले ओगटेर बस्छ । यहाँ भएकोपनि त्यहि हो । फोटोहरु ईयान स्कोफिल्डले खिचेका हुन् ।

तपाइँको प्रतिक्रिया