बेलायतमा अवार्ड बेच्ने कार्यक्रममा राजदूत नजाने, सम्मान लिन इच्छुक पनि पाखा लागे (फलो अप)

लन्डन । लन्डनमा एक कार्यक्रम गरि पैसामा बाँड्न लागिएको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ मा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी नजाने भएका छन् । नेपाल प्लसले ‘सम्मान किनबेचमा राजदूतावास प्रतिनिधिको समेत संलग्नता’ भएको समाचार प्रकाशित गरेपछि राजदूतले अन्तिममा कार्यक्रम रद्द गरेका हुन् । दूतावास श्रोतका अनुसार राजदूतले त्यो बेला आफू माल्टामा हुने बताएर कार्यक्रममा सहभागी हुन नसक्ने अवगत गराइसकेका छन् । ‘महामहिम विवादास्पद सम्मान कार्यक्रममा जानुहुन्न’, दूतावास श्रोतले भन्यो, ‘शुरुमा आयोजकसँग जानकारी माग्दा बेलायतका वरिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने बताएपछि महामहिमले निम्तो स्वीकारेपनि कार्यक्रमको गलत नियत बुझेपछि उहाँले रद्द गर्नुभएको छ ।’  

कार्यक्रममा विशेष अतिथीका रुपमा आउने भनिएका बेलायती सांसद वीरेन्द्र शर्मा समेत नआउने भएका छन् । क्रिसमस होलिडे परेकाले स्थानीय मेयर, काउन्सिलरहरुले समेत उपस्थित हुन नसक्ने जनाउ दिएको एक सल्लाहकारले बताए ।

कार्यक्रमको प्रवेश शुल्कनै ३० पाउन्ड राखिएको छ । महान महान ब्यक्ति आउने भन्दै प्रचार गरेर प्रवेश शुल्य चर्को लिएर मनग्गे दाम उठाउने योजना उनीहरुले बनाएका हुन् ।

कार्यक्रमका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले सम्मानितको सूचीमा धेरैजसो आफ्नै निकटका ब्यक्तिलाई  राखेको बुझिएको छ । श्रोतका अनुसार, आयोजकले डा. राघवप्रसाद धिताल, डा. सूर्य सुवेदी, सनमकुमार बैराग, प्रसुना कँडेल, मदन थापा, राजु थापा, कुल आचार्य, मनिष श्रेष्ठ, डा. पदम सिम्खडा लगायत ५१ जनाको सूची तयार पारेका छन् । नेपालका बिभिन्न गाउँ वेशीमा स्कूल, धारापानी, सडक, गोरेटो, पुस्तकालय लगायतका सामाजिक काम गरेका समाजसेवीहरुलाई सम्मान नगरेर रकम लिँदै सम्मान बाँड्ने योजना बनाएपछी यहाँस्थित संघसंस्थाका कर्मशिल नेपालीहरु झन क्रुद्द बनेका छन् ।

नेपालबाट कलाकार, पत्रकार र अनेक नाममा बेलायत आउने, केहि हाटहुटे सामाजिक अभियन्ता र नक्कली समाजसेवी समातेर कार्यक्रम गर्ने, त्यसका नाममा रकम उठाउने र पछि केहि कमजोरी देखिए ‘बेलायतका नेपालीले चाहेको हो, हामी त माध्यम त हो नी’ भन्दै पन्छिने गरेकालेपनि बेलायत बस्ने नेपालीको बदनाम हुने भन्दै त्यहाँका नेपालीले आपत्ती जनाएको लण्डन निवाशी मुकेश दहालले बताए ।

‘बेलायतमा कार्यक्रम गर्ने । पैसा उठाउने, आफ्नो कार्यक्रम सफल पार्ने । अन्तिममा दोष जति बेलायतबासी नेपालीलाई दिएर आफू पन्छिने गरेका घटना धेरै भैसके । यो सम्मानलेपनि बेलायत बस्ने नेपाली त सम्मानका भोका भन्ने सन्देश दिन्छ, हाम्रै बदनाम गर्छ, यस्तो कार्यक्रमको पनि समर्थन गर्न सकिन्छ ? दहालले प्रश्न गरे ।

सम्मानको स्तर थाहा पाएपछि शुरुमा सम्मान लिन राजी भएका केही व्यक्तित्व समेत नजाने श्रोतको दावी छ । आयोजकले उद्घोषण गर्न निम्ता गरेका मध्येपनि केहिले अस्विकार गरेको नेपालप्लस प्रतिनिधीलाई बताए । ‘मलाईपनि बोलाएका थिए सहयोग गर्नुपर्‍यो भन्दै । पैसा तिरेर सम्मान दिने भन्ने सुनेपछि भो भ्याउन्न भनेर पन्छिएँ’ नाम उल्लेख नगरिदिन उल्लेख गर्दै लण्डन निवाशी ति ब्यक्तिले भने । अग्रजहरुले धमाधम रद्द गरेपछि ‘बाटोमा जो भेटिन्छ उसैलाई’ पुरस्कार लिन आग्रह गर्दै फर्म पठाइएको प्रसंग यहाँ अहिले रोचक छ ।

नेपालबाट आएका एकजना फिल्मी पत्रकार रामबहादुर सुवेदी (आर के सुवेदी) र बेलायतवासी सुरेन्द्रप्रसाद श्रेष्ठले नागरिक सम्मानका नाममा यही २६ डिसेम्बर साँझ ट्रफी बेच्ने कार्यक्रम छ । प्रत्येकसँग रकम उठाएर ५१ जनालाई वितरण गर्न लागिएको उक्त सम्मानले बेलायतको नेपाली समुदायमा सम्मानकै आस्था र महत्व घटाएको अधिकांशको चिन्ता छ ।

‘सम्मानित व्यक्तित्व छनोट गर्न सुवेदी र श्रेष्ठलाई पैसा दिए अरु केही जरुरी पर्दैन’, एक अभियन्ताले भने, ‘न जुरी, न कुनै क्राइटेरिया, न सिफारिस न समुदायमा योगदान, धमाधम फोन र इमेल गर्दै सिभी मागिएको रहेछ । फेरि बेलायत जस्तो ठाउँमा बसेर त्यो सस्तो सम्मान ग्रहण गर्न मानिसहरु किन मरिहत्ते गरेका होलान् ?’ सम्मान लिन लालयित हुनेमा पत्रकार, नर्स, कथित समाजसेवी, एनआरएनका अभियन्ता, कलाकार आदि रहेको बुझिएको छ ।

पत्रकार सुवेदीले हालै एक पत्रकार सम्मेलनमा ‘आफू एक बटुवा’ भएको र विश्वका जहाँ जहाँ पुग्छु त्यहाँ सम्मान बाँड्दै हिँड्छु भनेका थिए । उनले आफ्नो एकमात्र उद्देश्य विश्व घुम्ने रहेको स्पष्ट बताएका छन् । सुवेदीको सम्मान कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भएको छ ।

                   मुद्दा हाल्ने धम्की

नेपालप्लसमा सम्मान खरिदबिक्रिको समाचार सर्वजनिक भएपछि कलाकार, पत्रकार र अन्य ब्यक्तिहरुले त्यसलाई साझेदारी (शेयर) गरेका थिए । त्यसपछि यो कार्यक्रमको बिरोध झनै चर्किएको थियो । त्यसपछि कार्यक्रम आयोजक मध्येका एक आर के सुबेदीले सामाजिक सन्जालमा कार्यक्रम बिरुद्द लेखिएको समाचार शेयर गर्नेहरुको तिब्र आलोचना गरेका छन् । शेयर गर्नेहरुलाई  ‘के बुझेर, शेयर गर्नु भो ? सत्यतथ्य नबुझी शेयर गर्ने ?’ भन्दै बिरोध जनाएका छन् ।

उनले आफूले साईबर क्राईम बिरुद्द नेपाल प्रेस काउन्सिलमा कारवाहीको माग गर्दै उजुरी हाल्ने भनाईपनि सञ्जालमा ब्यक्त गरेका छन् । तर नेपालप्लसका सन्चालकसित यस विषयमा सम्पर्क गर्दा उनले बेलायतमा गैह्र् कानुनी तरिकाले रकम उठाउने, समाजलाई बदनाम गराउने कार्यक्रम आयोजना गर्नेहरुको धम्कीलाई कुनै महत्व नदिने बताए । ‘मुद्दा हाल्नेले कहिँ बताउँदै हिँड्छ ? ब्यक्तिगत स्वार्थका लागि गैह्र कानुनी काम गर्ने र पैसो उठाउँदै हिँड्नेले केका आधारमा मुद्दा दिने ? शिर झुकाएर पैसो सोहोर्दै हिँड्नेले केको मुद्दा हाल्ने ?’ उनले भने ।

तपाइँको प्रतिक्रिया