बेलायतमा किनबेच हुँदै सम्मान, लिन इच्छुकलाई निवेदन खुल्ला

लन्डन । के मान र सम्मान किनबेच हुने वस्तु हो ? कि अशल कर्म गरेबापत पाईने दूर्लभ वस्तु हो ? तर बेलायतमा यो किनबेचको वस्तु बनाउँदै छन् केहि नेपालीले । र यो सम्मान किनबेच गर्न लागिएको कार्यक्रममा नेपालीहरुको साझा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधीपनि सम्मिलित हुँदै छन् । बेलायतमा नेपाली समुदाय बढ्ने क्रममा छ । अहिले नेपाली डायस्पोरा जति ‘भाइब्रेन्ट’ बन्दैछ, रमिता पनि अनेक अनेक हुन थालेका छन् । यहि रमिताका बिच अर्को रमिता थपिएको हो- मान र सम्मान किनबेच गर्ने कार्यक्रम ।

यतिखेर बेलायतमा सम्मानको बिक्री खुल्ला गरिएको छ । नेपालबाट आएका एकजना फिल्मी पत्रकारले झोलामा केही थान ट्रफी बोकेर बिक्रीका लागि निवेदन खुल्ला गरेका छन् । प्रत्येकसंग पैसा उठाएर ५१ जना सम्मलाई पुरस्कार दिने योजना छ ।

बेलायतस्थित सामाजिक अभियन्ताहरुलाई नागरिक सम्मान गर्ने भन्दै रामबहादुर सुवेदी (आर के सुवेदी) ले एक कार्यक्रम गर्ने तयारी गरेका हुन् । आगामी २६ डिसेम्बर, २०१७ मंगलबार लन्डनमा कार्यक्रम हुन लागेको छ जसको संयोजन गर्दैछन् सुरेन्द्रप्रसाद श्रेष्ठले । ओशो सन्यासी श्रेष्ठले आफूलाई केही लोभ छैन भनेपनि सम्मानका लागि आवेदकसँग रकम मागिरहेको श्रोतको दावी छ । श्रेष्ठले प्रायोजन खोजीलाई पनि तीव्र पारेको बताइएको छ । बक्स अफिस इन्टरनेशनल अवार्ड बाँड्ने सुवेदी न पत्रकारितामा सक्रिय छन्, न कुनै मुलधारको पत्रिकामा लागेका विश्वासयोग्य व्यक्ति हुन् ।

आयोजकले ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७ बेलायत’ थाप्न इच्छुकलाई आवेदन खुल्ला गरिएको जनाउँदै इमेल तथा फोन जारी राखेका छन् । तर, केही अगुवाले भने सम्मान अस्वीकार गरेपछि अन्य कयौं अग्रज पुरस्कार थाप्न आनाकानी गरिरहेका बुझिएको छ । केही अगुवाले भने सम्मान थाप्न आवेदन दिइसकेको बताइएको छ । सम्मान लिन खोज्नेमा पत्रकार देखि डाक्टर र वकिलसम्म रहेको श्रोतको दावी छ । पत्रकार सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतमा नागरिक सम्मान गर्न लागेको र यसअघि युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि बेलायतमा पाँचौं पटक उक्त सम्मान गर्न लागेको बताएपछि कतिपय लोभिएका छन् ।

आर के सुवेदीले सन् २०१६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा हाइ अल्टिच्युड अवार्ड वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम अंकित गराएको, समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेर अन्तर्राष्ट्रिय जगतमा आफूलाई स्थापित गराइसकेको जिकिर गर्दै इमेल पठाएका छन् । यहि जिकिर हेरेरपनि केहि अभियन्ताहरु सम्मान थाप्न लोभिएका हुन् ।

चिन्नु न जान्नु एकजना व्यक्तिले विश्व घुम्ने उद्देश्यले दिने सम्मानको के महत्व छ ? एकजना अभियन्ता प्रश्न गर्छन्, सम्मानको छनोट प्रक्रिया के ? को कसलाई दिने ? दिने व्यक्तिको विश्वसनियता के ? भिजिट भिसामा आएको व्यक्तिलाई चन्दा उठाउँदै कार्यक्रम गर्न बेलायतको कुन कानुनले दिन्छ ? ५१ जनालाई बाँडिने पुरस्कारको महत्व के हुन्छ ? बेलायतको नेपाली समूदायलाई पदकालागि लम्पट देखाउन र निजि स्वार्थ पुरा गर्न आयोजना गर्न लागिएको यस कार्यक्रमले यहाँको नेपाली समूदयलाई थप बदनाम गराउने केहिको तर्क छ । ‘बेलायतका नेपाली पदकालागि ज्यान फाल्छन् भन्ने देखाउँछ । यसलाई रोक्नपनि भिजिट भिसामा आएर पैसा उठानेका बिरुद्द उजुरी गर्नुपर्छ’ एक सामाजिक अभियन्ताले गुनासो गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथी बन्न राजदूत डा दुर्गाबहादुर सुवेदी सहर्ष राजी भएको दाबी आयोजकको छ ।

तपाइँको प्रतिक्रिया