नेपालमा पत्रिकाका सम्पादक प्रावीका शिक्षक जस्ता

रन्जित तामाङ

सर, यसमा टिप्पणी गर्न बाध्य भएँ । नेपाली मिडियाको चुरो साथीले भनेकै कुरा हो । पत्रकारलाई सित्तैमा वा थोरैमा जोताउनु पर्छ भन्ने रोगले मिडिया हाउसहरू ग्रस्त छन् । पत्रकारलाई थोरै तलब भत्ता दिनु वा दिँदै नदिनुमा मिडिया मालिकहरूको आर्थिक कमजोरीले हुँदै होइन, नियतले हो । म कारोबार दैनिकमा काम गर्दा हामीले ‘तलब बढाउनु पर्‍यो’ भन्दा सँधै ‘अफिस घाटामा छ, सकिँदैन’ भनिन्थ्यो । तर करोबार दैनिकलाई कर्पोरेट लुक्स दिनको लागी ५० औं लाख रुपैयाँ खर्च गरे । ६ अंकको तलब खाने र कार चढ्ने सम्पादक छानीछानी नियुक्त गर्थ्यो । तर पत्रकारलाई दुइचार हजार बढाउनु भन्दा दाँतबाट पसिना झार्थ्यो । साथीले भनेजस्तै ‘यहाँ छोडेर यिनीहरू कहाँ चाहीँ जाँदो रहेछ ?’ भन्ने खालका कुरा गर्थे । जब मैले राजिनामा पत्र सम्पादकलाई बुझाएँ, अनि तलब बढाउँछु भन्यो ।

(एक जना पत्रकारको दुखेसो । भानुभक्त आचार्यको फेसबूकबाट साभार)

अर्को रोचक कुराचाँही के भने म कारोबार दैनिकमा छँदा नेपालमै ‘वाह !’ भनिएका दुई वटा मिडियमा जागिरको लागी गएँ । एउटामा मैले कारोबारमा मैले लिइरहेको भन्दा कम तलब प्रस्ताव गर्‍यो । अर्कोले निवेदन माग्यो, दिएँ । मलाई इन्टरभ्यूका लागीसमेत बोलाएन । पछि मेरै एकदम मिल्ने साथीलाई नियुक्त गरेछ । पछि बुझ्दा त त्यहाँ पनि कारोबारमा मैले लिएको भन्दा मेरो साथीको तलब थोरै रहेछ ।

यसमा मिडियाहरूको नियत मात्रै लुकेको छ । आर्थिक समस्या होइन । सिधा कुरा के भने, आर्थिक हैसियत नभएकाले किन मिडिया चलाउनु ? हेर्दा टोपी खस्ने मिडिया हाउसका मालिकहरू पत्रकारलाई १९ हजार ५०० दिन सक्दैनौं भनेर रोइकराई गर्दै हिँडिरहेका छन् । यसरी नाङ्गै हिँड्ने मालिकहरूसँग सम्पादकहरूले कुन नैतिकताका आधारमा जागिर खाइरहेका छन्, मलाई अचम्म लाग्छ । सम्पादक र प्राविको मास्टर उस्तै भए । प्राविमा एक हुल बिद्यार्थी आउँछ, मास्टरले ‘कुपुरी क’ ‘खरायो ख’ भनेर पढायो, बर्षदिन पछि अर्को कक्षामा जान्छ, अर्को नयाँ हुल आउँछ, फेरी त्यही कपुरी क, खरायो ख……… । नेपालको सम्पादकहरू पनि नयाँ रिर्पोटरहरूलाई सिकाउँछन् । अलिअलि जान्ने भएपछि पेसाबाटै पलायन भएर जाने हो कि अन्तै जाने हो, गइसक्छन् । फेरी नयाँ पत्रकारलाई सिकाउँदैमा हत्तु हुन्छन्, सम्पादकहरू ।

न्यूनतम पारिश्रमिकजस्ता बिषयमा मिडिया हाउसहरूको बेइज्जतिपूर्ण क्रियाकलापले पत्रकारिताको आर्कषण घटाउँदै लगेको छ । भएका योग्य पत्रकारहरू पनि पलायन हुन बाध्य छन् । पलायन कतिसम्म डरलाग्दो भइसक्यो भने, उमेर ४० बर्ष पुगेका पत्रकार पाउन गाह्रो भइसकेको छ । यही पारा देखाउने हो भने दोबाटोमा उभिएर ‘ओ भाई हाम्रो मिडियामा पत्रकारिता गर्ने हो ?’ भनेर खोज्नु पर्ने दिन आउँछ । नेपाली पत्रकारिता आर्कषण घट्नु राम्रो कुरा हो । किनकी यहाँ गरिखाने पत्रकारको कुनै सम्मान भएन । त्यही भएर म सँधै कामना गर्छु कि, नेपालका मिडिया हाउसमा पत्रकारिता गर्छु भन्दै जागिर खोज्दै जानेजस्तो दुर्दिन मैले भोग्न नपरोस् ।

(तामाङले सामाजिक सन्जाल फेसबूकमा राखेको प्रतिक्रिया)

तपाइँको प्रतिक्रिया