स्विजरल्याण्डको हिमालमा नेपाली चिनो
स्विजरल्याण्डको ब्रेडवाल्डमा नेपाली लुङता (तोरण) लगेर नेपालको चिनो राखिएको छ । हाल ब्रेडवाल्ड निवाशी चितवनका राम परियारले नेपाली लुङ्ता लगेर ब्रेडवाल्डमा नेपालको चिनो स्वरुप राखिदिएका हुन् ।
ब्रेडवाल्ड स्विजरल्याण्डको एकदमै चर्चित स्थल हो । यहाँ सयौं देशका मानिसहरु पैदल यात्रा र यहाँको हिमाल चढ्न आउने गर्छन् । जाडोयामका बेला यहाँ हिउँ परेर सेताम्मे हुन्छ त्यसपछि झन यहाँ हिम चिप्लेटी (स्की) खेल्न आउनेहरुको भिड लाग्छ । यहाँको हिमालबाट हिउँमा चिप्लेटी खेल्दै स्थानिय र बाहिरका पर्यटकहरु बेशीसम्म झर्छन् ।
नेपालको प्रचार प्रसार होस्, नेपाललाईपनि चिनुन् र कम्तिमा यो देखेर चसो राखुन् भन्ने उद्देश्यले यि लुङ्ता लगेर स्विजरल्याण्डको हिमालमा राम परियारले राखिदिएका हुन् । उनी आफूपनि हिमालको दौडमा चासो राख्छन् । उनले यस अघि स्विजरल्याण्डमा भएको हिमाली क्षेत्रको दौड प्रतियोगितामा भाग लिएका थिए ।










