‘कस्तो गित गायौ बाबु मन थाम्नै सकिएन’

  • सन्तोष न्यौपाने / बेल्जियम

narayan dhital

चितवन घर भइ बेल्जियमको सहर ओसटनडेमा बस्दै आएका गायक नारायण धिताल अहिले चर्चाको शिखरमा रहेका छन । युरोप देखि अस्ट्रेलिया, अमेरिका हुँदै नेपाल सम्म उनको चर्चा चुलिदै गएको छ । यसरि उनको चर्चा चुलिनुमा अरु केहि नभएर उनको कर्णप्रिय स्वर रहेको छ । पछिलो एल्बम ‘यतिबेला उनीलाई’ भित्र रहेको शिर्ष गीतले सबैको मन मुटु छुने काम गरेको छ । जसका कारण उनलाई बिर्सिसकेकाहरु पनि पुन उनको खोजि गर्न थालेका छन । उक्त गीतको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानल मार्फत रिलिज भएको थियो ।

”बाबु कस्तो रुवाउने गित गायौ । मन नै थाम्न सकिएन । अझै यस्तै गाउँदै जानु ” अस्ट्रेलिया बस्दै आएका ऋषि धितालले यो प्रतिक्रिया दीँदा गायक नारायणले आफु परदेस भासिँदाको पिडालाइ केहि हदसम्म बिर्सन मलजल गर्ने काम गर्यो । संसारभरबाट दर्शकहरुले गरेको मिठो प्रतिक्रियाले आफुमा थप हौसला पुगेको र विगतको सपनालाई केहि हदसम्म साकार पारिदिएको गायक नारायण धितालले सुनाए |

नारायण बिगत १२ वर्ष अगाडी बेल्जियम आएका थिए । नेपालमै बसेर प्रख्यात गायक बन्ने उनको सपनालाइ समयले धेरै साथ दिन सकेन । एस एल सी पश्चात ललितकला क्याम्पसमा भर्ना भए र पेंटिंग अध्ययन गर्न थाले । पढाई संगै पेंटिंग मार्फत केहि अर्थोपार्जन पनि गरे । जुन रकमले आफ्नो अध्ययन लाइ अगाडी बढाउनु त थियो नै घरखर्चको पनि जोहो गर्नुपर्ने बाध्यता उनमा थियो । बिहान पेंटिंगको क्लास लिन्थे भने साँझमा संगीत क्लासमा भर्ना भएका थिए । जसमा उनका गुरु चर्चित संगीतकार चन्दन श्रेष्ठ रहेका थिए । चर्चित कलाकारहरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए ।

बिक्रम सम्बत २०६० सालमा चितवनको सिनर्जी एफ एमले गरेको बेस्ट भोकल एवार्डमा प्रथम स्थान हासिल गरेपछि उनको बाटो पेंटिंग भन्दा बढी संगीत तर्फ लाग्यो । त्यसको लगत्तै पहिलो एल्बम कायस्थ निकाले । आजभन्दा १२ वर्ष अगाडी यसरी गीति एल्बम निकाल्ने नेपालमा कम नै रहेका थिए । उनका समकक्षी साथीहरु नेपालमा संगीतमा मज्जाले जमिरहेका छन भने धिताल परदेसबाट यसको सुरुवात गर्दैछन ।

”तिम्रो आवाज मा भगवानको वरदान छ धेरै प्रगति गर्नेछौ’नारायणका गुरु चन्दनले यसो भनेर आशिर्वाद दिएको नारायण अहिले पनि सम्झिन्छन ।’पारिवारिक बाध्यताले यतै भासियो । काम परिस्थितिले छिन्नभिन्न बनाएको मेरो सांगीतिक यात्रालाई पछिल्लो एल्बम र यसबाट पाएको दर्शकको मायाले थप प्रोत्सहान मिलेको छ ।” गायक नारायणले हर्षित हुँदै आफ्नो अनुभब साटे ”सोचे भन्दा धेरै सफलता मिल्नु नै मेरो लागि सौभाग्य बनेको छ ।”

बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेम प्रसंग र प्राणघातक क्यान्सर रोग लागेर श्रीमती गुमाउनुको पीडालाई निकै मार्मिक ढंगले कथानक रुपमा प्रस्तुत गरिएको छ । थकित यात्रीको शब्द, गायक धितालकै संगीत र महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको भिडियो हाल स्कटल्याण्डमा रही नेपालका चर्चित गायकहरुको म्युजिक भिडियो समेत बनाएका अनुभवी निर्देशक दिपेश रेग्मीले निर्देशन गरेका छन् । उक्त म्युजिक भिडियोमा गायक नारायण धिताल, शान्ति भट्ट, शिवम धिताल र सुदर्शन घिमिरेको अभिनय रहेको छ ।

तपाइँको प्रतिक्रिया