पाँच वर्षपछि नेपालको यात्रा : खै के लम्ब्याउनु र नेपालको बसाई ?
—रामवहादुर गुरुङ / वेल्जियम, हाल चितवन

प्रत्येक पल्ट विदेशी भूमीबाट नेपाल आउँदा नयाँ अनुभव हुनु स्वभाविकै हो । आज भन्दा पाँच वर्ष अगाडी नेपाल आउँदा जुन परिवर्तन थियो त्यो भन्दा चौव्वर परिवर्तन भएको देखियो नेपालको हालत यसपल्ट । नेपाल बाहिर बसेपनि लगभग सबै नेपाली नेपालप्रती अतिनै चासो राख्छन । नेपालमा बसेर खोक्रो देशभक्तिको देखावा गर्दै विदेशिने नेपालीलाइ हियाउने केही आत्मकेन्द्रित नेपालीहरुको विचार भन्दा अलग ढंग हो यो । नेपालीहरुको आफ्नो देश प्रतिको यो चासोलाइ हौस्याउने र उनीहरुको अवस्थाप्रति चासो राख्ने सचेत नेपाली पनि कम छैनन । त्यसैले विदेशिएका नेपालीहरुको आत्मग्लानीलाइ थोरै भएपनि मल्हम लगाएको छ ।
बेल्जियम बसाइको लगभग सोह्र सत्र वर्षको अवधी भित्र त्यहाँको बसाइ र काम नियमित भए पछि प्राय वर्षेनी नेपाल आउने जाने गरें । तैपनि तिन वर्ष यता बल्ल यस पल्ट नेपाल आइयो । एउटा सचेत नेपालीको हिसाबले विभिन्न विद्यत्तिय मिडियाहरुको माध्यमबाट नेपाल बारे विविध जानकारी मैले पनि राख्नेनै गर्थें । मोटा मोटी अवस्था त थाहा पाइएकै हो । तर आफ्नै आँखाले देख्न र अनुभव गर्न पाउँदाको अनुभव निक्कै फरक हुँदो रहेछ ।
आजभन्दा झन्डै पाँच वर्ष अगाडी आउँदा नेपालीको क्रयशक्ति बढेको तर वजार भाउ वृद्धि पनि देखियो । अर्को के देखियो भने भाडाको तथा व्यक्तिगत सवारी साधनको अति वृद्धि । पहिलेको भन्दा चौव्वर र साइकललाइ मोटरसाइकलले विस्थापित गरेछ । साइकल चढने एकाध मात्र देखिन्थ्यो । तर यसपल्ट आउँदा के देखियो भने मोटर साइकलको संख्यामा कटौती त आएको छैन तर कार चढनेको संख्या ह्वात्तै वढेछ । वजारमा सुपरमार्केटहरु पनि थपिएछन् । तराइको समतल भूमी जसलाइ पहिले अन्नको भण्डार भनिन्थ्यो अहिले ति मध्येका धेरै ठाउँ शहरीकरण भएछ । अझै विस्तार हुँदैछ । शहरको मापदण्ड नपुगे पनि नगरपालीकाहरुको संख्या थपिएछ । यसो माथीबाट हेदा त नेपाली जनता वा नेपाल साँच्चै धनि भएछकी भन्ने भान पनि पर्छ ।
तर अर्को तितो वास्तविकताले भने मुटु हल्लाइदिन्छ । आजैको अनलाइन खवरमा प्रकाशित सतासी अरवको व्यापार घाटाको आर्थीक समाचारले कुनै पनि सचेत नेपालीको ध्यानकर्षण पक्कै पनि गर्छ । तर बाहिरबाट हेर्दा त एक हिसाबले नेपाल धनि भएकै हो भनेपनि किन भयो होला ? किनभने सबै दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरु आयतितनै छन् । आफ्नो उत्पादन केही छैन । केही होला । तर त्योपनि नेपालीलाई नपुग र नगन्य । बरु युरोपमा नपाइने उपभोग्य वस्तु नेपालमै पाइला जस्तो पो देखिन्छ, यहाँ खुलेका पसलहरु हेर्दा ।
नेपाल टेकेदेखि मैले सधैं चाहिने चामल, दाल, तेल, हरियो तरकारी, मासु, दुध र फलफुलको मुल्यवारे जानकारी लिंदा प्राय सबैको मुल्य युरोपको बजारमा भन्दा महँगो छ भने नेपाली जनता कसरी बाच्ने ?
धेरै समय युरोप बसेर नेपाल आउँदा नमिठो अनुभव गर्ने अर्को विषय भनेको कुनै कागजात बनाउन कार्यलयमा पाउने सास्ती र वजारमा, स्वास्थ्य क्षेत्रहरुमा देखिने अव्यवस्था र अनियमततानै हो । बजारमा औषधी पसलले किराना पसलले जसरी औषधी बेचेको देख्दा अचम्म लाग्छ । युरोपमा सामान्य सिटामोल र कफसिरप जस्ता औषधी बाहेक अरु डाक्टरको सिफारिस विना किन्न पाइंदैन । तर यहाँ ग्राहकले मागेमा जुनसुकै औषधी पनि बेचिन्छ र पसले आफैले डाक्टरले जसरी विरामीलाइ यो औषधी खानुस भनेर एन्टिवायोटिक र डिप्रेसनका जस्ता अति संम्वेदनशिल औषधी पनि जिरा मरिच वेचे जस्तै भटाभट बेच्दा रहेछन् । विरामीले किकिरहेकै छन् । अब हाम्रो स्वास्थ्य संम्वन्धि चेतना र सरकारी व्यवस्थापनलाइ के भन्ने ?
केही महिना अगाडी नक्कली डाक्टर सम्वन्धी समाचारले अचम्म पारेको थियो धेरैलाई । अनि राजमार्गमा ठिंग ठडिएको चारतल्ले पसले घरमा अस्पतालको साइन वोर्ड छ । किनमेल गर्ने बजार जसरी अस्पताल र औषधी पसलहरु लहरै छन् । यस्ता उदेक लाग्दा उदाहरण त हाम्रा देशमा धेरै कुरा देख्न पाइन्छ । डाक्टर केसी त्यसै अनशन बसेका रहेनछन् भन्ने यस्तै दृष्य र अनुभवले पुष्टी गर्छ ।
शहरमा वटुवाले बाटो काट्न प्रहरीको सहारा लिनु पर्ने । जेव्रा क्रसिंगको नत बाटो काटने बटुवालाइ मतलव छ नत सवारी चालकलाइ । अनि दिन दिनै दुर्घटना हुनेनै भयो । जता गए पनि जाम उत्तिकै छ । नारायणघाटवाट मुगलिंनको हुँदै पोखरा,काठमाण्डौ पुग्न आठ घन्टा लाग्ने । राजधानीको धुलो,धुवाँ र होहल्लाको त बयानै गर्नु परेन ।
मानिसहरुलाई बाहिर हिँडनुपर्नेनै भयो । सधैं घरको खाना मात्र खाएर हुने कुरै भएन । बाहिरको खान डराउनु पर्ने अवस्था छ । पानी त्यस्तै दुषित छ । दुर्गन्धले पुरा वातावरण प्रदुशित छ । उही हिमालको फेदीमा होला अलि शुद्ध पर्यावरण । होइन भने मान्छे ओइरिएको जुनसुकै ठाउँमा नेपालको यहीं हो दुर्गती ।
भ्रष्टचार,राजनीतिक वितण्ड,अस्थिरता वा तरलता,महंगी,अशुरक्षा,दरिद्रता,अव्यवस्था,अनियमितता के के नहुनु पर्ने हो सवै छन हाम्रा देशमा । कहिले हो यसबाट नेपाली जनताले मुक्ति पाउने ? अझै अनिश्चित छ । कुलमान घिसिंगको व्यवस्थापनले विजुली भने राम्रै वाल्न पाइएको रहेछ । यसले पनि निक्कै ठुलो राहत महशुस भएको छ । नत्र आएको भोली पल्टै खै नेपालको वसाइ के लम्व्याउनु जस्तो हुन्थ्यो । क्रमस ……





