सामाजिक सञ्जालमा मान्छे किन गालीको खेती गर्छन् ?
- प्रकाश सायमी
भारतको टेलिभिजनमा अमिर खानले ‘सत्यमेव जयते’ नामक् कार्यक्रम चलाउँदा सानाले ठूलाले ढोग्ने एउटै मात्र देश भारत हो भन्दा त्यहाँ कतै आगालागी भएन ।
बाबुआमालाई पहाडबाट खसालेर मार्ने भारतमा एउटा जिल्ला छ भन्दा त्यहाँ अमिर खानलाई फाँसी भनेनन् । तर नेपालमा गत विहीबार प्रसारित ‘सुमन सँग’ कार्यक्रममा कञ्चन-वाणी प्रसारण भएपनि मास कम्युनिकेशनका कोचिँग क्लास फेसबुक र ट्वीटर मा धमाधम शुरु भए , सबैले MV Kamath को किताबै पढाउन थाले ।
गाली पहिले ‘पति रेग्मी’ लाई गरे ।
त्यही गाली गर्ने टोली भोलि पल्ट ‘पत्नी रेग्मी’ तिर लागे ।
अनि फेरि खेलको मैदानमा सबै गाली सुमन खरेलतर्फ लागे ।
कति गाली, कति आलोचना , कति इतिहास, कति धारे हात .. वाफ रे वाफ । मानौँ सुमन खरेलले बेलायत जानु गल्ति नै गरेका हुन् कि भन्ने पनि देखियो ।
समाचार मात्र दिने बीबीसी नेपाली सेवामा सुमन खरेलले चलाएका त्यस्ता अहम् कार्यक्रम बेकार नै हुन् कि भन्ने सम्म पनि भनियो । उनले गायक अरुण थापालाई संगीत सर्वेक्षण गरेर विश्व सूचीमा सातौँ मा ल्याएको योगदान त व्यर्थै हो कि जस्तो भान पर्यो ।
कञ्चन रेग्मी प्रकरण पछि उनका पति त देखिए , उनले आफ्नो सफाई दिने क्रममा कञ्चनको चरित्र, यौन ईच्छा, शैली र आसनका कुरा गरेर कञ्चनलाई अझै स्पष्ट त पारिदिए , महिला के हुन् भनेर । यही सुन्न र हेर्न ‘हाम्रो जनअदालत’ ले यो वहस शुरु गरेका रहेछन् भन्ने मलाई लाग्यो ।
अब कतिले फेरि पति रेग्मीजीको ताजा अन्तर्वार्ता हेरेर वा पढेर फेरि भोलि देखि उहाँलाई तथानाम गाली गर्न शुरु गर्नुहोला त्यो पनि तत्कालै नगरौँ ।
ऋत्विक रोशनले ‘नेपाल मन पर्दैन’ भन्यो भनेर आफ्नो देश जलाउने नेपाली पनि हामी नै हौँ, पहाड र मधेशको त्यो वेला आएको फाटो अहिले सम्म पुर्न सकिएको छैन तर ऋत्विक रोशनले भन्दै नभनेको कुरा भनेको भनेर सुनाउने त्यो एफएमलाई कारवाही भो त ? त्यो खबर छाप्ने अखबारलाई सजायँ भो त ?
हामीले पो रोशनको रिसमा तराईका केही मान्छेलाई कुट्यौँ , मान्छे केही मरे । ७ लाख खर्च गरेर आयोग बन्यो, के भो त ? हाम्रो जलेको आगोमा केही दवाई-पानी भो त ? घाटा त हामीलाई भो , ऋत्विक भाइलाई पाँच पैसा केही फरक परेन ।
यस्तो काम हामी बारम्बार किन गर्छौँ ?
एउटा कार्यक्रममा भएको गल्ति अर्को कार्यक्रम सम्म पर्खने धैर्यता हामीमा राखौँ, हरेक प्रस्तोताले कसैलाई पर्न गएको सामाजिक आघात वा अपशब्द प्रति क्षमा माग्ने डिस्केलमर देखाउन बाँकी छ ।
अब सुमन खरेललाई कारवाही गरियोस् भन्ने माग राख्नेहरु पनि देखियो ।
कुनै कुनै मिडियाले त सुमन खरेललाई कान्तिपुर टीभीबाट सुमन निष्काशित भनेर पनि अनलाईन मा हालि सके , के यो रियल जर्नालिज्म हो त ?
साँच्चै यो चैँ हामीले ठीक र सही पत्रकारिता गरिरहेका छौँ त ???
हामी धेरै बहादुर पनि नबनौँ, नेपाल भारतको एक भूभाग हो भनेर फिल्म संवाद् बोल्ने नायक अक्षयकुमारलाई इन्सेपेक्टर गार्ड सहित स्वागत गर्ने देश पनि यही हो ।
कुनै पत्रकारले वा टेलिभिजन प्रस्तोताले गाली गर्दा हामीले सजायँ तोक्छौँ, तोकेकै आधारमा सजायँ हुने र पाउने भए , पूर्व रानी ऐश्वर्य शाहलाई पम्फा देवी जस्तो झूर उपनाम दिने सम्पादकलाई कारवाही भएको ख्वै त ? जनसेवा सिनेमा हल जल्दा विद्यार्थीले गरेका हुन् भनेर लेख्ने पत्रकार कारवाही भएको खोई त ?? दिल शोभा श्रेष्ठ वा अनुजा बानियाँ , रुपक शर्माको हत्या लेख्ने पत्रकारको कुरा छोडौँ ।
नेपालको इतिहासमा चीनका अध्यक्ष आउँदा उनको टाउको उल्टो छापिएको फोटोको प्रकरणमा ‘गोरखापत्र’ का चार उपसम्पादक को कारवाही भएको घटना छोडेर कुनै घटनामा हामीले न्याय गरेका छैनौँ ।
(अजरअमर गितहरुको नामबाट फेसबूकमा लेखक, कलाकार, सामाजिक अभियन्ता सायमीले लेखेको स्टाटस)





