जाँडरक्सी, रक्तचाप र मधुमेहले गाउँ गाउँमा बिचल्ली, ईज्जत जोगाउन गुपचुप

beerकेहि वर्षकै बिचमा गाउँमा विकासे जाँड नराम्रोसित छिरेछ । बियर, भोड्का र रमको पहुँच धेरैका घरघरसम्म पुगेछ । कतार, दुबाई र साउदी अरेबिया नजाने घरनै छैन । कसैको घरमा त्यो छुटेमा युरोप, अमेरिका, जापान वा दक्षिण अमेरिकाभएपनि पुगेका छन् । उता दुखनै सहि, कमाई छ । केहि रकम घर भित्रिएको छ । घर घरमा नगदको चलखेल छ । त्यहि चलखेलले धेरैको ज्यान पनि लिइरहेको रहेछ ।

गाउँमा यस्सो बसेर गफ गर्‍यो । फलानाको छोरो जाँडले खत्तम पार्‍यो । फलानो त मधुमेहको रोगी थियो, मुख बारेन । औषधी खाँखाँदै जाँड नछोडेर बित्यो । उच्च रक्तचाप थियो । भनेको टेरेन । डाक्टरले भनेकोपनि मानेन । रक्सी छोडेन । ठहरै भएछ ठाउँको ठाउँ । फलानाको बुढाको त रक्सीले कलेजोनै खिईएर सक्किइसकेको रैछ । रक्सी धेरै खाएर फोक्सो कुहिइसकेको रैछ । अन्तिम अवस्थामा अस्पत्ताल लगेको के हुने ? गाउँमा उच्च रक्तचाप र मधुमेहका बेला रक्सी पिएर ज्यान जानेको सूची लामै छ । सबैलाई थाह छ । तर यो गोप्य छ । गोप्य अर्थात् कुराकानीमा सबैले बताउँछन् । तर हाकाहाकी कसैलेपनि त्यो भन्दैन । ढाकछोप गर्छन् ।

बिदेश नगएको घरनै फेला पर्दैन । त्यसैले घर घरमा नगद भित्रिएको छ । पहिले झैं दाल, चामल र धान बेच्नु पर्दैन बजारबाट केहि किन्नुपर्दा । धेरै जसो कतार, मलेशिया, साउरी अरब गएका छन् । केहि गएका छन्, दुबाई । युरोप र अमेरिका, जापान र अष्ट्रेलिया पुग्ने पनि केहि भए । विदेशको हाईफाई देखेका छन् तिनले । विदेशको मदिरा, पेय पदार्थ, चिटिक्कको घर, मोबाईल र कम्प्युटरको आकर्षण पैसा सितै बोकेर गाउँ भित्रिएका छन् ति । उता कमाएको पैसोले यता गाउँमा शान देखाउनुपरेको छ । विदेशमा अर्काको काम गर्दा सास्ति हुन्छ । आफूले सास्ति भोगेपनि अर्काले मोज गरेको देखेकाले ‘जिन्दगीमा मस्ति, ऐस आराम गर्नुपर्छ’ भन्ने परेको छ । विदेशमा कमाएको पैसाले विदेशमै मोजमस्ति गर्न धान्दैन । जसको अकम गरेको हो तिनैका अगाडि समान्य खालको मस्तिको अर्थपनि रहन्न । ‘ओहो फलानाले त मस्ति गरेको छ’ भन्दै उचालिदिने, र्‍याल काढिदिनेपनि कोहि हुन्न उता । त्यसैले ति गाउँमा मस्ति गर्न चाहन्छन् । त्यो मस्तिको तिर्खा गाउँमा छिरेको छ अहिले । किनकि मति गरेर पाइने प्रशंसा र वाही वाही गाउँमा मौलाउँदो छ ।

विदेशमा घोटिएर कमाएको रकम गाउँ ल्यायो । सकेसम्म सानो घर बनायो । नसके मोटर साईकल किन्यो । मदिरा र अन्य गुलिया मिठा कुरामा खर्च गर्‍यो । बजारिया तयारि खाने कुरामा खर्च गरेर विदेशको कमाईको मस्ति देखायो । रक्तचाप, मधुमेह र किड्नीको रोगी हुँदापनि मस्ति गर्न नछोड्दा धेरैको ज्यान गइरहेको छ ।

बियर धेरै रोगको मूल स्रोत हो । मधुमेह, उच्च रक्तचाप, मुटु, किड्नीका रोगीले खानै हुन्न । तर युवाहरुमा यसैको आकर्षण बढ्दो छ । अधिक मात्रामा मसला राखेर तेल तपतपी झर्ने गरि मासु भुट्ने र बियर खाने सोख धेरैको देखिन्छ । मासु र बियर भनेपछि मस्ति गर्ने सबैभन्दा ठूलो तरिका यहि हो भन्ने ठान्छन् । यसले ग्यास्ट्रिक, अल्सर, मधुमेह, उच्च रक्तचाप सबैलाई हानी गर्छ । त्यस्तो रोग लागेकालेपनि बियर र मासु लिईरहेका छन् । बियर पिएर नपुग्नेले गर्मीका बेलापनि भोड्का पिउँदा रहेछन् । यस्तो गर्मीका बेला भोड्काले झनै शरिरको तापक्रम, रक्तचाप बढाउँछ । किनकि भोड्का खासगरि जाडो याममा, अति जाडो हुने मुलुकमा पिउने गरिन्छ । तर थोरै खाएर लाग्ने हुनकालागि यहि किन्ने गर्छन् र तिनलाई झनै असर परिरहेको छ । यो जानिजानिपनि मस्तिका नाममा यहि पिउने गरेका छन् । धेरैको ज्यान गइरहेको छ । धेरै रोगी भैरहेका छन् ।

फलानाको ज्यान रक्सी र अन्य घातक पेयले ज्यान लियो भन्ने चर्चा भएमा कूलकै ईज्जत जाला भन्ने त्रासले सबै थर्कमान देखिन्छन् । जाँड रक्सीले ज्यान लिएको, डाक्टरको सल्लाह नटेरेर ज्यान गएको, कलेजो र फोक्सो रक्सीले खत्तम पारेको भन्ने दाग मरेकामाथि लगाउन कोहि चाहन्न । सायद मरेकामाथि न्याय गर्न चाहन्छ हाम्रो समाज । त्यसैले सबै गोप्य छ समग्रमा हेर्दा । तर ब्यक्तिपिच्छे कुरा हुँदा त्यो न्यायको पर्दाफास हुन्छ । त्यहि न्याय गर्न खोज्दापनि रक्सीले ज्यान लिने क्रम चलिरहेको छ । समाजमा घुमाउरो बाटोबाट त्यो पुरस्क्रित भैरहेको छ । यहि गुपचुप संक्रितिले गर्दा गाउँमा धेरैका पत्नी, दिदि बहिनी, बाउ आमा र दाजुभाई त्रसित छन् ‘कुन दिन हाम्रोपनि त्यस्तै हुने हो की’ भन्ने ।

तपाइँको प्रतिक्रिया