तिज विशेष : सुन्ने भन्दा सुनाउने धेरै, दर्शक भन्दा मञ्चमा धेरै
(मञ्चमा बस्ने र दर्शकको संख्या हेर्नुस्)
हिजो तिनको कार्यक्रम हेरौं भन्ने लाग्यो । विहानै चितवनको पर्सा, रत्ननगर टाँडी बजार, भरतपुर आ इपुग्दा तिजको लहर, गित गायन केहि थिएन गाउँ, चोक बजारमा कतै तिजका गित घन्किएको सुनिएन, नाचेको देखिएन । कालिका एफ एमले तिजको विशेष कार्यक्रम राखेको छ भन्ने सुनियो । फोन गरेर सोध्दा महाकलेश्वर मन्दिरमा तिज विशेष रहेछ । त्रिपाल भित्रको विशेष कार्यक्रम देख्दा अचम्म लाग्यो । मञ्च अगाडि उभिएर सुन्ने दर्शक जति थिए त्यसकै हाराहारीमा मञ्चमा थिए, विशेष पात्र, मञ्चमा उपस्थित विशेष महानुभावहरु । विशेष मन्तब्य दिनेपनि अचम्मको परिपाटी रहेछ । मञ्चमा आमन्त्रित विशेष पात्रपनि गज्जबका । भरतपुर र नारायणगाट क्षेत्रका लुगा ब्यापारी, बिजुली पसले, भाँडाकुँडा ब्यापारी, स्कूलका प्रिन्सिपल थिए। सामाजिक संस्था खोलेर बसेका त झन हुनेनै भए ।
ति मञ्चमा उक्लिएका सबैले मन्तब्य दिने । तिजमा नाचगान र रमाईलोकालागि भनिएपनि मन्तब्यको क्रम निरन्तर चलेको चल्यै । पट्यार लाग्यो । तिजको कार्यक्रममा यति धेरै मञ्चमा उभिएर भाषण दिनेहरुको संख्या मैले पहिलो पटक अनुभव गर्न पाएँ । महिलाको बह पोख्ने, दुख बिसाउने र माईतिको आँगनमा पिर र विरह कहने थलो भनियो । त्यो ठिकै हो । तर के दुख, पिर र बह मञ्चमा उक्लनेले भुइँमा पलेटी कसेर बसेका दिदीबहिनी, चेलीहरुलाई मात्रै सुनाउने हो ? मञ्चमा बस्नेले त भुइँमा बस्नेलाई सुनाए । भूउँमा बस्नेले कसलाई सुनाउने ? नत्र गितकै माध्यमले दुख, पिर र बह पोख्ने, दुख बिसाउने भए किन मञ्चमा त्यतिधेरै भिड लगाउनुपर्थ्यो ? ति सबैले गित गाएरै बह पोखेको भए हुने थिएन र ?
मञ्चमा बस्नेले फेरि अन्यलाई सामान्य ठान्दा रहेछन् यहाँपनि । मञ्चमा बस्ने हैशियत भएकाहरु केहिबेर बसे । आफ्नो पालो न अौन्जेल कुरेर बसे । जब संवोधन गर्ने पालो आयो त्यसपछि आफूले जे भन्नुपर्ने हो त्यो सुनएर हिँडे कतिपय । तिनलाई अन्यका कुरा सुन्नु नपर्ने । अरुले के भन्छन् जान्नु नपर्ने । तिनलाई खालि आफ्नै कुरा ठूला, महत्वपूर्ण लाग्ने रहेछन् । आफैं महान, आफू उपदेश सुनाउन लायकको, सुन्न भने नपर्ने ठान्दा रहेछन् । त्यसैले मञ्चमा उभिएका केहिले आफ्ना भाषण सुनाए र ‘म ब्यस्त छु’ भन्दै बाटो लागे ।
मन्तब्यको क्रम रहँदा थुप्रै महिलाहरुले भगवान शिवजीको पूजा गर्ने महिलाको संख्या निकै थियो । कोहि सेफ्ली खिच्नमा ब्यस्त थिए ।
भरतपुरमा मित्र ईश्वर कँडेलसित भेट बह्यो । त्यसपछि हामी भरतपुर र नारायणघाटका मोल सडक, केहि भित्रि गल्ली छिचोल्यौं । तिजको चहलपहल देखिएन । देवघाट पुग्यौं । त्यहाँ त झन् सुनसान रहेछ । गैँडकोट हुँदै नवलपरासी पुग्यौं । टाँडी पुग्यौं । नवलपरासीमा तिजको चहलपहल अलि बाक्लो थियो । तर त्यतापनि किराना पसले वा अन्य कुनै ब्यापारीले त्रिपाल हालेर आयोजना गरिदिएका तिजको गित गाउन । सडक, छर छिमेक चोकमा स्वतस्फूर्तरुपमा गाइने, चेलीहरुले मौलिक गित गाएर छमछमी गाउने त्यो चलन हराएछ ।
अझ कतिपय ठाउँमा त गरगहनामा सजिएका । तिजको दर खाने चर्चा गरेका । तर राता लुगा, गहनामा सकेसम्म सजिएर गित भने झ्याउरे, झ्याउरे लोकभाकामा नाचेकापनि भेटिए ।
मित्र ईश्वर कँडेलको प्रयासले मैले खासगरि नवलपरासीका केहि चोकमा महिलाहरुले तिज मनाएको तस्विर लिएँ । केहि बेर सुनेर आनन्द लियौं ।
साँझ ईश्वरलेनै टाँडी बजारसम्म मोटरसाईकलमा ल्याएर छोडिदिए । सार्वजनिक गाडी कुरेर बसिरहेका बेला अर्का मित्र देवेन्द्र श्रेष्ठ भेटिए । उनीसित हामीले टाँडी बजारमा त्रिपालभित्र तिजको नाचगान जमिरहेको हेर्न खोज्यौं । टाँडीमा त झनै बिजोग रहेछ । लोकगित कुनै एक पुरुषले गाएका थिए । त्यसमा महिलाहरु लोकगित, आधुनिक गितमा डिस्को न्रित्य जस्तो देखाइरहेका थिए । तिजको पहिरनमा सजिएर आधुनिक गितमा नाचेको, पुरुषले मञ्चबाट माईकमा गित गाएर महिलाहरु नाचेको कति नसुहाएको । यस्तो आयोजना गर्ने फेरि एफ एम रेडियोहरु रहेछन् ।
(सबै फोटो- नेपालप्लस डट कम)



















