चितवन समाज गठन सँगै जर्मनीमा तिजको रमझम
“चितवन समाज जर्मनी”को संस्थापक समिति विधिवत गठन भएको छ । जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु जम्मा बहेर संस्थापक समिति चयन गरेका हुन् । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीको सभापतित्व र गैह्र आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यतामा दिपेन्द्र चितवन समाज गठन भएको हो । कार्यक्रममा सुनिल हमालले स्वागत गीत अनि भीमा नानी श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
आपसी परिचय पछि मन्तब्यको क्रममा जीवा लामिछानेले सामाजिक उद्देश्य प्राप्त गर्न एक आपसमा संगठित हुदै अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । बिशेष अतिथिको रुपमा चितवन सहायता कोष बेल्जियमका अध्यक्ष दिनेश भण्डारीले संस्थाले संचालन गरेका परोपकारी कार्यहरुको उल्लेख गर्दै जर्मनीका साथीहरुसंग हातेमालो गरी सामाजिक कार्यहरु संचालन गर्ने मनसाय प्रकट गर्नुभयो ।
किरण चन्द्र रायमाझीले चितवन समाज जर्मनीको लागि प्रस्तावित विधानको पूर्णपाठ गर्नुभयो र संसोधन सहित बिधान पारित भयो । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीले संस्थाको आधिकारिक स्थापनार्थ विगतका महिनाहरुमा भएकागरिएका कार्यप्रगतिको फेहरिस्त प्रस्तुत गर्नुभयो । छोटो विश्राम पछिको बन्द सत्रमा जीवा लामिछाने, हुमनाथ ढकाल र सुरज श्रेष्ठको अध्यक्ष मण्डलले संस्थापक समितिको चयन गरेको थियो ।
जर्मनीमा चितवनवासीको वीचमा आपसी भाईचारा,पुस्ता-पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्ला एवं देशको अन्य क्षेत्रमा समेत समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले समाज स्थापन भएको हो । चितवन समाज जर्मनीको संस्थापक समिति निम्नानुसार छ
अध्यक्ष : यज्ञराज सुवेदी
उपाध्यक्ष : राजेश लाल श्रेष्ठ
सचिव : किरण चन्द्र रायमाझी
कोषाध्यक्ष : भीमा नानी श्रेष्ठ
क्षेत्रीय संयोजकहरु : बिष्णु अधिकारी
होम शर्मा
रमेश शिवाकोटी
राम गुरुङ
सदस्य हरु : शिव मरहठ्ठा
अरुण अधिकारी
सुनिल हमाल
सजिना श्रेष्ठ
दिपेन्द्र सुवेदी
संस्थापक समिति गठन पश्चात अध्यक्ष यज्ञराज सुवेदीले नवगठित समितिको तर्फबाट समग्र समितिले मन, वचन र कर्मले संस्थाको उद्देश्य प्राप्त गर्न लागिपर्ने प्रतिबध्दताका साथ मन्तव्य प्रकट गर्नुभयो। डोर बहादुर गुरुङको शुभकामना पश्चात अध्यक्ष मण्डलको तर्फबाट जीवा लामिछानेले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनुभयो ।
औपचारिक समारोहको समापन पछि सुवेदी परिवारको निमन्त्रणामा सम्पूर्ण चितवनवासीहरुको साथमा विभिन्न क्षेत्रबाट आउनुभएका चेलीबेटी हरुसंग तीजको दर खाने कार्यक्रम संगै नाचगान गरेर तिज मनाईयो ।








