कुनै फाईदा लिएको छैन : विष्ट
– महेन्द्र विष्ट
प्रिय ददी सापकोटाज्यू,
पछिल्ला केही दिनदेखि यहाँको फेसबुक स्टाटस र यहाँबाट सञ्चालित अनलाइनमा निरन्तररूपमा म, नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई मुछेर पोष्ट भइरहेका सामग्री देख्दा आश्चर्यचकित र दुखित भएको छु । यस्ता संगीन विषयमा यसरी क्रुरतापूर्वक सार्वजनिक टिप्पणी गर्नुअघि एक पटक मलाई सोध्ने कष्ट गर्नुभएको भए पत्रकारिताको धर्म पुरा हुनुका साथै यथार्थको बोध पनि हुने थियो । यद्यपी स्पष्टताका लागि केही कुराहरु उल्लेख गर्न चाहन्छु ।
त्यसमा आरोपित गरिएका कुरामा कुनै सत्यता छैन । ती कुराहरू कि पूर्वाग्रहका कारण आएका छन् कि त गलतफहमीका कारण । म दुइ वर्ष अघि महासंघ युरोप शाखाको निमन्त्रणामा शाखा अधिवेशनका लागि गएको हो, एक मात्र प्रतिनिधि र प्रमुख अतिथिको रूपमा । महासचिवजी पनि जानुभएको हो तर अर्कै कार्यक्रमका लागि । शाखाले बोलाएपछि मेरो टिकट खर्च शाखाले नै व्यहोरेको हो अन्यत्र जस्तै । त्यो बाहेक मेरो परिवारको कसैका लागि टिकट वा बसाइ खानपीनका लागि युरोप शाखाका कसैलाई कष्ट दिइएको थिएन, सवै निजी खर्च हुन् । दुइ तीन दिनको त्यहाँको बसाइ र खानपीन व्यक्तिगत पाहुना बनेर एकजना मित्रकहाँ भएको थियो ।
अकल्पनीय परिस्थितिका बीच जसोतसो अधिवेशन सकाएर म मेरो पारिवारिक भेटघाटका लागि बेलायत गएको हो, अरु थाह भएन चासो पनि रहेन । मैले कसैबाट आइफोन या अरु कुनै उपहार लिएको थिएन र त्यस्तो लालच पनि छैन । कसैबाट अरु खर्च मागेको वा लिएको थिएन, आवश्यकता पनि रहेन । मेरो परिवारका लागि कसैले उपहार टक्र्याएको थिएन, अपेक्षा या स्वीकार्यता रहने कुरा पनि थिएन । यसपटकको आइएफजे महाधिवेशनमा जाँदा युरोप शाखालाई कुनै भार दिइएको छैन, प्लेन टिकटदेखि होटल खर्च र खानपानसमेत निजी खर्चमा भएको छ । रक्सीले नहुआउने भन्ने कल्पना बाहिरको कुरा भयो, कसैले भन्छ र कसैले पत्याउँछ भने पनि त्यो उसको व्यक्तिगत समस्या हो ।
युरोप शाखाको अधिवेशन वैधानिक हो । कार्यसमिति अधिवेशनले चयन गरेको हुनाले स्वतः वैधानिक हो । पदाधिकारी चयन अधिवेशनकै म्यान्डेट अनुसार निवर्तमान अध्यक्षको संयोजनमा शाखा कार्यसमितिको वैठकले गरेको हो । त्यसलाई केन्द्रले मान्यता दिएको हो, अन्यथा नठहरुञ्जेल शाखा, यसका पदाधिकारी र विगतदेखि अधिवेशनमा कायम रहेका सदस्यको वैधानिकतामाथि केन्द्रले प्रश्न उठाउने कुरा भएन । त्यसपछि एकजना पनि सदस्य थप गरिएको छैन । विगतका सदस्यको छानवीनको जिम्मा अधिवेशनले जसलाई दिएको छ, उसले प्रमाणित गर्न सकेमा त्यही बेला केन्द्रले उचित निर्णय लिनेछ ।
नेपाल पत्रकार महासंघले यसका दस हजारभन्दा बढी सदस्यमध्ये दुई वर्षे पछिल्लो अवधिमा १३५ जनालाई आईएफजे कार्ड प्रदान गरेको छ, त्यस सूचीमा युरोपको एक जना पनि छैुन । अर्थात् एफएनजेले त्यहाँका लागि आइएफजे कार्ड जारी गरेको छैन । ब्रसेल्स अफिसले दिएको आइएफजे कार्ड तपाईले समाचारमा लेखेजस्तो रक्सी, प्लेन टिकट र उपहारमा साटिएको भए, आइएफजेले जानोस्, जवाफ पनि उसैले देओस् । मलाई त्यसमा विश्वास छैन ।एफएनजेले सदस्यता दिएपछि उसलाई एफएनजेको कार्ड दिने कुरा कुनै आश्चर्यको विषय भएन, दिएको भए पनि स्वाभाविक हो । महासंघ गौरवमय इतिहास र उज्जवल भविष्य भएको संस्था हो । त्यसको वैधानिकता, इज्जत, प्रतिष्ठा र पद अनुकूलको आचरण गर्न सक्दो प्रयास गरिएको छ, यस सन्दर्भमा यहाँले प्रदान गर्नुभएको सुझावका लागि धन्यवाद छ । बस यत्ति नै, बाँकी कुरा जुन स्तरमा लेखियो त्यही स्तरमा जवाफ फर्काउन संस्कारले दिएन । धन्यवाद ।
(अघिल्लो लेखको जवाफ, यसको जवाफपनि आउने छ)
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





