तपाईंलाई महासंघ किन चाहियो, यार ?

  • पदम गौतम

padam-gautam-denmarkप्रिय ददिजी,
नमस्कार ।

लेखनबाट केही समय ओझेलमा परे पनि म पुर्व पत्रकारका हिसाबले चनाखो नै छु । जति समय बित्दै जान्छ, त्यति नै देशका बिभिन्न घटनाबारे सतही अध्ययन र चासो बढिरहेको छ मेरो चाहिँ । अँ, दुई बर्ष यता विदेश बसेपछि बल्ल तपाईंको काम अर्थात् ब्लग र अनलाइन चलाएर बिभिन्न बिषयमा लेख्ने कामको चुनौति महसुस गर्दैछु । अहिले मात्रै पनि यो टिप्पणी लेख्नैलाग्दा तपाईंका नाममा नेपाल पत्रकार महासंघ, युरोप शाखाले पठाएको पत्र यही ब्लगमा मैले पढ्न पाएँ । यसर्थ मैले गर्ने टिप्पणी पत्रकार महासंघ र मेरा अनुभवका सेरोफेरोमा केन्द्रित गर्ने प्रयास गर्छु ।

मैले तपाईंलाई चिनेको डेढ दशकभन्दा अलिक बढी नै भयो । तपाईं फ्रान्स बस्न थालेपछिपनि यस बीचमा लेखन र व्यक्तिगत दुबै ढंगका सम्बन्ध यथावत नै छन् । अनि मैले युरोपमा रहँदा तपाईंसँग सम्पर्क नभएकै समयमा पनि नेपालप्लस हेरिरहने गरेको छु । समय पाए लेख्छु पनि । यस अवस्थामा तपाईं र तपाईंको मिसनलाई चिन्छु जस्तो लाग्छ, राम्ररी नै । यसर्थ पनि लाग्छ, मेरो यो टिप्पणी तपाईंले पचाउनु हुन्छ र प्रकाशन गर्नुहुन्छ ।

सर्वप्रथमतः नेपाल पत्रकार महासंघ पत्रकारिताप्रति विश्वसनीय र प्रतिबद्ध व्यक्ति पुग्ने संस्था हैन । म आफैं पनि बिगतमा यो संस्थाको चार पटक राष्ट्रिय पार्षद भएको थिएँ । म २०५३ सालदेखि काठमाडौं शाखाको सदस्य थिएँ, अहिले चाहिँ मेरो सदस्यताको अवस्था थाहा छैन । हाम्रो पालामा अर्थात् करिब आठ बर्ष अघि महासंघको पार्षद हुनका लागि बिभिन्न पत्रिकामा आबद्ध साथीहरूको हस्ताक्षर गराउनु पथ्र्यो । पहिला यो प्रक्रिया केही सहज थियो, सक्रिय पत्रकारका लागि । जम्मा चार जना पत्रकारको समर्थनमा पार्षद बन्न पाइन्थ्यो । महासंघमा पत्रकार नै साधारण सदस्य थिए सामान्यतया । तैपनि हामीनै पुराना पत्रकार र निस्क्रिय भएकाहरूका लागि अर्कै व्यवस्था गर्न वा हटाउन माग गर्ने गथ्र्यौं ।

पछि २०५८ पछि पार्षद बन्ने प्रक्रिया अझ जटिल बनाइयो । प्रष्ट भाषामा भन्नुपर्दा तत्कालीन राजा वीरेन्द्रको हत्यापछि बिस्तारै महासंघमा अनौठा व्यक्तिहरू आए । बिस्तारै महासंघमा बीचमा निस्क्रिय भएका र तत्कालीन अवस्थासँग असहमति जनाउने केही व्यक्ति आए । जनयुद्धमा संलग्न र हामीजस्ता क्रन्तिप्रेमीहरूले आँखा चिम्लिएर समर्थन गर्‍यौं, नयाँपनका नाममा । फलतः रेस्टुरेटका नर्तकीदेखि अघोषित नगरबधुसम्मले महासंघको साधारण सदस्य र पार्षदसम्मको पद हत्याए । यी बिषयमा पटकपटक महाधिवेशनमा आवाज उठेपनि कहिल्यै सदस्यता खारेज गरिएन । यसको अर्थ हो, सदस्यता शुद्ध छैन अनि छानिएका महासंघका नेताहरू सही धरातलमा टेकेर उभिएका छैनन् ।

पछि चाहिँ चार जनाको सट्टा सात जनाको समर्थनमा मात्र पार्षद बन्न सकिने व्यवस्था भयो । म माओवादी निकट क्रन्तिकारी पत्रकार संघ, एमाले निकट प्रेस चौतारी वा कांग्रेस निकट प्रेस युनियन कतै आबद्ध थिइनँ । पहिला माओवादी भुमिगत हँदा त्यस पार्टीका समर्थक साथीहरू हामी जस्ता प्रगतिशील बिचार राख्नेहरूलाई समर्थन गर्ने गर्थे । हामी पनि तिनको समर्थन लिन पाउँदा उनीहरूका मुद्दा बोकेर हिँड्थ्यौं । पछि उनीहरूको पार्टी नै खुला भएपछि आफ्नै संगठनमा कटिबद्ध मान्छे बाहेक अरूलाई समर्थन र सहयोग गर्न छाडे । अनि यससँगै समर्थकको संख्या पनि धेरै चाहिने प्राबधान भएपछि कि त गैर पत्रकारलाई हात लिने पत्रकार पार्षद बन्न पाए, कि त दलका भ्रातृ संगठनमा आबद्धहरू मात्र । यसले गर्दा महासंघमा जथाभावी सदस्यता बाँड्दै पार्षद र पदाधिकारी बन्ने बनाउने होड चल्यो । केन्द्रका पदाधिकारीहरू वास्तविक पत्रकार त थिए, तर तिनले आफ्नै जगमा जमेको फोहोबिरुद्ध बोल्न सकेनन् । किनभने तिनीहरू त्यही जगमा टेकेर माथि चढेका थिए । अब त कस्तोसम्म देखिन्छ भने एउटा संगठनको अध्यक्षले कुनै जिल्लामा १० जना मान्छेलाई पत्रकार बनाउने सिफारिस गरेको रहेछ भने त्यो बिषय केही दिन मात्र बिवादको बिषय बन्छ । पछि अरू संगठनका पनि केही मान्छेलाई सदस्यता दिने बिषयमा सहमति हुन्छ । अनि सधैंका लागि ‘सदस्यता बिवाद’ अन्त्य हुन्छ ।

यहाँ एउटा निजी स्मरण शेयर गर्न चाहन्छु । यसअघिका अध्यक्ष शिव गाउँले निर्वाचित हँदाको सययमा मैले पार्षद बन्नका लागि सात जना साथीहरूको हस्ताक्षरसहित फारम बुझाएको थिएँ । अर्थात् पार्षद बन्नका लागि मलाई एकजनाको हस्ताक्षर कमी थियो । मैले एक जना महासंघकै नेतालाई त्यो कागज जिम्मा लगाएँ । तीन दिन तालिका हेर्दा थाहा भयो, म पार्षद बनेको रहेनछु । त्यस समयमा मलाई त पार्षद बनाइएनछ नै, ती मेरो समर्थनमा हस्ताक्षर गर्नेहरू अनि म आफैंले पनि अरू केही साथीहरूलाई समर्थन गरेछौं । तर हामी कसैलाई पनि यो प्रक्रिया र विकास थाहा थिएन । त्यस घटनापछि मैले महासंघको साधारण सदस्यता पनि नवीकरण गरिनँ । अर्को महाधिवेशनमा काठमाडौं शाखाका गोबिन्द चौलागाईंले आफैं पैसा तिरेर नवीकरण गरिदिएछन् । करिब तीन बर्षअघि एउटा सिफारिस लिएँ । साथीले नवीकरण गरिदिएका कारण कतै काम नलागे पनि आफ्नै साथमा राख्नका लागि नै भए पनि १७ बर्ष सदस्य रहेको कागज लिन पाएँ ।

यहाँनेर बिगत १५ बर्ष यता मुलुकमा भएका दुई ठुला घटनापछि पत्रकार महासंघले खेलेको भूमिकाबारे हामीले सोच्नुपर्छ । पहिलो दरबार हत्याकाण्ड र दोस्रो ज्ञानेन्द्रको प्रतिगमन । दरबार हत्याकाण्डको रात नेपाली जनता सामान्य अवस्थामा सुतेका थिए । मुलुकमा माओवादी ‘जनयुद्ध’ चले पनि त्यसले सभ्यता विनास वा देशमा व्यवस्था परिवर्तनको रूप लिएको थिएन । तैपनि राति सुत्दा राजा वीरेन्द्र र बिहान उठ्दा युवराज दीपेन्द्रलाई राजा मान्दै जनता चुपचाप बसे । निभेको आगो बल्छ कि भनेर सखरखण्ड अगेनाँमा हालिरहेका बालबालिका झैं जनताले चमत्कार हुने आशा गरेका थिए । तर, त्यस समयमा पहिले नाम नै नसुनेको व्यक्ति राजा ज्ञानेन्द्रलाई राजा बनाइयो । पत्रकार महासंघ र देशमा कहलिएका मिडियाले त्यस समयमा केही बोल्ने हिम्मत गरेनन् । तर, त्यस समयमा हामीले गरेको आशा चाहिँ के थियो भने, कथित नयाँ राजा र उनका समर्थकको अभियानलाई निस्तेज पार्न नागरिक समाज सक्षम थियो । त्यसका पक्षमा महासंघले पत्रकारहरूलाई आश्वस्त पार्न सकेन । कुनै एउटा कार्यक्रम पनि भएनन् आम पत्रकारको त्राश र अलमललाई चिर्नका लागि । बरु केही पाक्षिक मिडियाले दैनिक बुलेटिन अंक निकालेर ज्ञानेन्द्रको सत्तारोहणलाई बैधानिकता दिए । संकटको समयमा जनतालाई साथ दिने अपेक्षा गरिएका त्यस समयका नयाँ मिडिया अर्थात् एफएम रेडियोहरू पुरै पृथ्वीको विनास भए झैं रोइरहे । यस घडीमा पत्रकार महासंघ र तिनलाई कब्जा गरेर बसेका कुनै संस्थाले केही बोल्न सकेनन् । यही भुमिका पछि ज्ञानेन्द्रका हरेक कदममा यथावत् रह्यो । अर्थात् भुमिकाहीन भुमिकाका लागि वक्तब्य निकाल्नमा मात्र ती संगठन ब्यस्त रहे । त्यस समय पत्रकारहरूका भन्ने बिभिन्न संगठनले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गरेर महासंघलाई आन्दोलन र अडानमा उभ्याउनु परेको थियो । भलै, ज्ञानेन्द्रको माघ १९ पछिको अवस्थामा चाहिँ महासंघले बाध्य भएर केही काम गरेकै थियो ।

एउटा अर्को कोणबाट हेरौं । तपाईं एक्लै युरोपमा काम गरेर बाँकी समयमा ब्लग चलाउनु हुन्छ, जो सामान्य अनलाइन भन्दा बढी चर्चित् छ । किताब लेख्नुहुन्छ, जुन प्रशंसनीय छ । अनि नेपाली समाज र समुदायका बिभिन्न बिषयमा धारणा राख्दै कम्प्युटर चलाउनु हुन्छ । महासंघ यस अवस्थामा किन चाहियो तपाईंलाई ? मैले नबुझेको यहाँनेर हो । अलिक परै बसेर बेतिथीबारे लेख्ने स्वतन्त्रता छँदैछ, हैन ? त्यसो गरे कसो होला ? किनभने भोलि महासंघलाई भँजाएर कुनै पद पड्काउनु पर्ने आवश्यकता नभएका मान्छेलाई र लेख्न नसकेर महासंघकै पदमा बस्नुपर्ने जरुरी पनि नभएका मान्छेले अलिक परै बसेर लेखे कसो होला ?

अब अहिलेकै तपाईंको ब्लग र यहाँ आएका बिषयमा प्रसंग मोडौं क्यार । क्या त ददिजी, यति कमजोर नैतिक धरातलमा उभिएको पत्रकार महासंघ तुरुन्तै परिवर्तन हुँदैन । यसका लागि सही मान्छे सक्रिय हुनुपर्छ । तपाईंकै कुरा गर्दा महासंघ युरोप शाखालाई सही ठाउँमा ल्याउने जिम्मेवारी पाउनु भएको छ क्या रे । यहाँ र नेपालमै पनि पत्रकार बन्न सजिलो छ, यो पेशालाई भजाँएर खानेका लागि । पहिला जासुस र दलालहरू पत्रकार थिए भने अहिले अनलाइन बस्न र वाक्य गठन गर्न जान्ने पत्रकार बनेका छन् । थोरै विज्ञापन खोज्न सक्ने मान्छे सम्पादक, सञ्चालक वा बरिष्ठ पत्रकार भएका छन् । अझ यहाँ युरोपमा त आधाजसो सक्रिय नेपाली पत्रकार नै भेटिन्छन् । यस अवस्थामा बहुमतमा तिनीहरू नै छन् र तपाईं एक्लो पर्दै हुनुहुन्छ । के तपाईं अहिलेकै ट्रेण्डमा एक्लै हिँड्न र लड्न सक्नुहुन्छ ? तैपनि यहाँ रविन्द्रनाथ ठाकुरको एउटा बंगाली कविता स्मरण गर्दै भन्न मन लाग्यो–
जोदि तोर डाक सुने केउ ना आसे तबे एकला चलो रे ।

(गौतम, लेखक, कवी र गजलकार हुन्)

तपाइँको प्रतिक्रिया