युरोपकै सबैभन्दा ठूलो हिमनदी पुग्ने म्याराथनमा नेपालका राम परियार
चितवन मेघौलीका राम परियारले हजारौं युरोपेलीका बिचमा फेरि नेपालको नाम राख्ने काम गरेका छन् । स्विजरल्याण्डमा रहेको युरोपकै सबैभन्दा ठूलो हिमनदी हो, आल्टेक । यो हिमनदी युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचिक्रित छ । यहि हिमनदीसम्म पुग्ने २१ दशमलव एक किमी लामो म्याराथोनमा राम परियारले भाग लिएर नेपालको नाम राख्ने काम गरेका हुन् । उनले नेपालको झण्डा बोकि नेपाल लेखेको पोशाकमा भाग लिएका थिए । यो हिमनदी स्विजरल्याण्डको सँ लुक हिमाली क्षेत्रको आल्टेकमा पर्छ । आल्टेक हाल्बमाराथोन भन्ने नाम दिईएको यो म्याराथोनको दूरी उनले तिन घण्टा ११ मिनेटमा पुरा गरेका थिए ।
यो म्याराथोनको अन्तिम बिन्दू पुग्ने थलो २६०० मिटरमा छ । त्यहाँ पुग्न सहभागिहरुले एक हजार मिटर अग्लो पहाड दौडिनुपर्छ । बिभिन्न मुलुकबाट आएका करिब तिन हजार धावकहरुसित उनले म्याराथोनमा भाग लिएका थिए । यसमा सहभागि हुन उनले निकै पहिलेदेखि हिमाली क्षेत्रमा हिम चिप्लेटी खेल्ने, दगुर्ने गरेर ब्यायाम गर्दै आएका थिए । बिभिन्न मुलुकका नागरिकहरुसित म्याराथोनमा भाग लिँदा धेरैले नेपालका बारेमा चासो राखेको र नेपालका बारेमा जानकारि नहुनेलाई आफूले जानकारि दिएर नेपाललाई चिनाउने काम गरेको बताए ।
चितवन मेघौलीका राम परियार पर्यटन ब्यवशायीपनि हुन् । उनको मेघौलीमा पर्यटकिय होटेल छ । उनी हाल स्विजरल्याण्डको लुसेर्न भन्ने ठाउँमा सपरिवार बस्छन् र बँचेको समयमा नेपाललाई चिनाउने यस्तै काम गर्न रुचाउँछन् ।










