हिराचनको कर्म : भूकम्प पिडितको संझनामा जापानमा बन्यो नेपाली मन्दिर
एन आर एन ए का पूर्व अध्यक्ष देवमान हिराचन नेपाली हुन् । तर उनीपनि जापानी जस्तै लाग्छन् । किन ? कम बोल्छन् । मुसुक्क हाँस्छन् । बादबिवाद कम गर्छन् । मन नपरे बेवास्ता गरेर आफ्नो कर्मतिर लाग्छन् । जापानीले झैं काम गर्छन् । काम फत्ते नगरि कतै केहि बोल्दैनन् । खट्छन् । जिन्दगीका लामा वर्ष जापनमा बिताएपनि नेपालमा अनेक सामाजिक काम गरेका छन् । उता जापानीको मनपनि जितेका छन् । उनले यो पटक फेरि यस्तो काम गरे जसले नेपाललाई वर्षौं वर्ष चिनाउने छ । जापानीलाई नेपालीको सम्झना गराउने छ । उनको सामाजिक र भावनात्मक कर्म, सोच र लगनले गर्दा जापानमा नेपाली मन्दिर बनेको हो । जापानमा यसरि नेपालीको संझनामा बनेको संभवत पहिलो मन्दिर हो ।
यो मन्दिर बन्नुको नाता धेरै पहिलेको घटनासित जोडिएको छ । विश वर्ष अघि जापानको कोबे शहरमा अति ठूलो भूकम्प गएको थियो । त्यो बेला सयौं जापानी नागरिकलाई भूकम्पले छिनेर लग्यो । हजारौं घर भत्किए । धेरै नागरिकको बिल्लीबाठ बनायो । त्यो बेला यि हिराचनको मनपनि रोयो । के गरेर जापानीलाई सहयोग दिने ? तिनको अप्ठेरो, आपतमा साथ दिने ?
(यिनै हुन् कर्मशिल देवमान हिराचन)
उनले ति जापानीको आत्मशान्तिकालागि नेपालबाट छ जना बौद्द लामाहरु जापान बोलाए । आत्माशान्तिकालागि पाठ गराए । बितेर जानेको आत्मशान्ति होस् भनेर लामाबाट कामना गराए । त्यो बेला जापानीहरुले हिराचनको औधी प्रशंसा गरे । भावुक बने, हिराचनको साथ, जापानीप्रतिको माया र भावना देखेर । हिराचनको भावना जापानी पूजारीको मनमा किलो ठोकिएझैं बसिराख्यो ।
(अब बन्ने मन्दिर)
कोबे शहरको सुमेदार (मन्दिर) का पूजारीले त्यसको गुनै तिरे जस्तो भो यो पटक । किनभने गत साल नेपालमा भूकम्प गएर जापानीको विश वर्ष जस्तै हालत भयो । मन्दिरका प्रमुख पूजारी कोइकेले नेपाली मन्दिर बनाए आफ्नै मन्दिरको छेउमा । बौद्द धर्मका झल्लरहरु, मन्त्रहरु लेखिएका कपडाले सजाएर ठ्याक्कै नेपालकै मन्दिर जस्तो बनाए । नेपालमा अप्रिल २५ का दिन भूकम्प गएकोदिन यहि अप्रिल २५ का दिन वार्षिकी पारेर नेपालीको आत्मशान्तिका लागि पूजापाठ गरिँदै छ । त्यो सानो मन्दिर भएको ठाउँमा नेपाल र नेपालीको संझनामा ठूलो मन्दिर बन्ने भएको छ । यो मन्दिरले सदा जापानी र नेपालीको आत्मा गाँस्ने छ । किनकि यो भावनात्मक चिनो, सम्झना र पूल हो जापानी र नेपालीका लागि । यो मन्दिरले जापानमा नेपाललाई चिनाउनपनि थप सहयोग पुर्याउने छ ।










