गोरखाका छ सय परिवारको उद्दार गर्ने यि हुन् स्विजरल्याण्डवासी मनकारी
शहरमा बस्ने धेरैले उनको नाम सुनेका छैनन् । र छैनन् युरोपका धेरै नेपालीलेपनि । उनको योगदान कति थियो दुख परेका नेपालीलाई भन्ने हेक्का उनी बसेकै देश स्विजरल्याण्डका नेपालीलाईपनि उति छैन । उनले आफ्नो कामको बेलिबिस्तर सुनाउँदै हिँडेका पनि छैनन् । तर कमल भट्ट भनेपछि भूकम्पले उठिबास लगाएर बस्ने थलो, टाउको लुकाउने बास, एक थाल खान बस्दा टुसुक्क बस्ने सुरक्षित पिर्का नभएका गोरखावासीलाई थाह छ । तिनलाई सहयोग गर्न कोहि पुगेकोपनि थिएन जतिखेर तिनलाई सहयोगको खाँचो थियो । तर अजिंगरको आहारा दैवले पुर्याउँछ भने झैं आकुलब्याकुल अवस्थामा बसेका गोरखावासीको आँगनमा एक जना युवा टुप्लुक्क देखिए । पराई मुलुकबाट । उनी थिए स्विजरल्याण्डको जुरिच शहर बस्ने कमल भट्ट ।
एक हप्ता भैसकेको थियो, भूकम्पले गोरखा जिल्लाको ताप्ले गाबिसको वार्ड न ७ का स्थानियको हुर्मत लिएको । तिनका आँगनमा सहयोगी कोहि पुगेका थिएनन् । ढलेका घरका खाँबा हेरेर ति रुन्थे । भत्किएका पर्खाल हेरेर ति पिरोलिन्थे । आफ्ना चिचिला नानीहरुलाई थाङ्नामा सुताउने ठाउँ नहुँदा ति भक्कानिन्थे । तर तिसित तत्काल गर्जो टार्ने माध्यम थिएएन । हातमा थैली थिएन । ऋण दिने कोहि थिएन किनकि गाउँमा ऋण दिनेहरुलेनै सर्वस्व गुमाएका थिए । भएका मकै र कोदोपनि माटामुनि पुरिएको थियो । तत्कालै पन्छाउने हिम्मत, आँट, साधान र तत्परता थिएन । यस्तो बेला तिनै कमल भट्ट तिनका आँगनमा सहयोगको हात लिएर पुगे । ति दुखि गोरखालीका मनमा आशाको त्यान्द्रो बोकेर देखिए । बास नभएर तुलसीको मोठ अगाडि झोक्राएर बसेका ति दुखियाका आँखा सामुन्ने सहयोगको पोको लिएर उभिए । साहस दिए । साथ दिए । बचन दिए । हौशलापनि दिए । र दिए उनले, गोरखाबासीलाई बस्ने थलो । जस्ता पाताका बण्डल, तिनलाई ठोक्ने घन र किला काँटा बोकेर उनले ५२ परिवारकालागि बस्ने थलो बनाइदिए ।
यति सहयोग हात्तीको मुखमा जिरा जस्तो भट्टलाई लाग्यो सायद । वरिपरिका डाँडामा ठडिएका घर बर्लङ्ग बर्लङ्ग ढलेका उनले देखे । ति घरसितै तिनको ईतिहाँस ढलेको थियो । पूर्खाको चिनो, पाखुराको कमाई र पसिनाले ठड्याएको जे थियो त्यो सबै ढलेको थियो । भट्टले त्यो महसुस गरे । तर ५२ भन्दा बढि परिवारलाई सहयोग गर्न सक्ने उनीसित आर्थिक सामर्थ्य थिएन । त्यसैले मन अमिलो पारिपारि उनी कर्म थलो स्विजरल्याण्ड फर्किए ।
यता आएरपनि हरेक दिन उनलाई ढलेका बस्ति, भत्किएका पर्खाल, दाम्ला छिनेका भैसी, खसेका डाँडाभाटा छेउ चिउँडोमा हात राखेर बसेका दुखि नेपाली, बाउ आमाका अगाडि बस्ने थलो नपाएर मलिनो अनुहारमा रनभुल्लमा परेका वालवालिकाको द्रिष्य आँखा वरिपरि घुमिराख्यो । त्यसैले उनले फेरि मनको ढोका फराकिलो पार्न खोजे । यता हिमचिम बनेका, नेपालीका मन मस्तिस्कलाई मनको कुनामा सजाएका केहि स्विस मित्रहरुसित सल्लाह लिए । सहयोग मागे । उताको दुख सुनाए, यताको संभावनापनि बताए । र उनलाई साथ दिन तयार भए, उनका स्विस मित्र आन्द्रियास स्नाइडर जस्ता मनकारीहरु । ति सबैसित हातेमालो गरेर भट्टले फेरि रकम जुटाए । फेरि त्यो सहयोग हतारिँदै नेपाल पुर्याए ।
उनलाई थाह थियो, जति छिटो पुग्न सक्यो उति दुखियाका दुख छोटिन्छन् । जति चाँडो पुग्यो उति तिनका आँसुका भल कम गर्न सकिन्छ । हतारिँदै पुगे ओछ्यान नपाएका, एक सरो लुगा नपाएर तारामुनी सुतेका वालवालिकालाई सुरक्षित राख्न सकिन्छ । त्यसैले बिलम्ब नगरि उनी यता उठाएको सहयोग लिएर ताप्ले गाबिसका ६, ७, ८ र ९ वडा पुगे । त्यहाँ बास नभएर आफ्नै आँगन र आफ्नै घरबाट लखेटिएर बारीको डिलमा पुगेका थप ५०० घर परिबारलाई टहरा बनाइदिए । ओत दिए । राहत दिए ।
त्यति मात्रै हो र ? यि मनकारीले अचम्मै गरिदिए । वडा न १, २, ३, ४ र ५ का अति निम्न आयश्रोत भएका २०-२० घरका दरले करिब सय घर टहरा निर्माण गर्न पुग्ने रकम नेपाल पठाए । हुँदाहुँदा त उनैको अभियानमा करिब ६०० परिवारले बास पाए ।
सहयोग त दिए । तर यता साह्रै इमान्दार र पारदर्शी भनेर चिनिएका स्विस साथीहरुको, आफ्नै मेहनतको कतै दुरुपयोग त भएन ? उनले आफूले लगानी गरेको कामको निरिक्षण गर्नपनि भ्याए । उनले सबै निरिक्षण गर्दा पाए, यता सुकर्म गर्छु भन्ने परोपकारी भावनाले उठाएको रकम उता दुरुपयोग भएको रहेनछ । आफू त खुशि भएनै, आफ्ना मनकारी स्विस साथीहरुलाईपनि खुशि बनाए । गोरखाका छ सय परिवारलाई मुस्कान दिए । हामी दुखियाकापनि कोहि रहेछन् भन्ने आशा जगाइदिए । मनकारी नेपालीको मनलाई अझै उँचो पारिदिए ।
त्यति सहयोग दिँदापनि उनको मन थामिएन । छ सय परिवारलाई टहरा हालिदिँदापनि अझै केहि गर्नुपर्छ भन्ने लागिरह्यो । त्यसैले उनले फेरि आफ्नो ट्रेकिंग एजेन्सीमा काम गर्ने धादिंङ जिल्लाका ३४ जना गाइड र भरियाहरुलाइ १५ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरे । किनभने तिनका बस्तिको पनि भूकम्पले उठिबास लगाएको थियो । पदयात्रा गरेर जोगाएको आर्थिक स्रोतले जे बनाएकाथिए त्यो सबै ढलाइदिएको थियो । तिनको पाखुराको कमाई सोत्तर पारेर रित्तो पारिदिएको थियो । त्यसैले उनी आफू, आफ्ना स्विस पर्यटक र दुख सुखमा सँगै हाँसेका, रमाएका, दुख गरेकालाई साथ दिनु पर्छ भन्दै सहयोगमा जुटे ।
छन त कमल भट्टका पनि आफ्नै दुख छन् । यता स्विजरल्याण्डमा उनी मिशिनको जस्तो जिन्दगी जिउँछन् । उनका आफ्नै गाह्रासाह्रा हुनु स्वभाविकै हो । ट्रेकिङ एजेन्सी चलाउँछन् । घर छ । परिवार छ । यताको मेशिन जस्तो जिन्दगी, कार्यालयको कामको दगुरादगुर र परिवारसितको तारतम्य मिलाउँदा उनलाई हम्मेहम्मे पर्छ । तर मन, बचन र कर्मले लागे मनले अह्राएको, आत्माले खटाएको काम गर्न सकिन्छ भन्ने उनले देखाएका छन् । ति सबै ब्यस्तताबाट समय निकालेर, आफू र आफ्नो परिवारको समय घटाएर उनले दिनदुखिकालागि सामाजिक कर्म गरेका हुन् । यहि कर्म देखेरै उनलाई गोरखा ताप्लेका पिडितहरु उठेर सम्मान गरे । भट्टका सहयोगी स्विस मनकारीहरुलाईपनि सम्मानले माला पहिर्याइदिए ।
यो सामाजिक कर्मबाट हौसिएका कमल भट्ट अझ कस्सिएर सामाजिक कर्ममा लाग्न खोजेका छन् । अब झन संस्थागत रुपमै लाग्नुपर्छ भन्ने भावले उनी एन आर एन स्विजरल्याण्डको आइ सि सि पदमा उमेदवार बनेका छन्, सन् २०१५ देखि सन् २०१७ का लागि । यतिखेर उनले आफू बिजयी भएपछि सामाजिक काम केके गर्न सकिन्छ त भनेर स्विसवासी नेपालीलाई प्रतिबद्दतानै सार्वजनिक गरिदिएका छन् ।
प्रतिबद्दताहरु :
१ – गैह्र आबासिय नेपालि संघ स्विस र अन्तररास्ट्रिय समन्वय कमिटि (इक्क्) का बीचमा समन्वयकारी भुमिका खेली संवन्ध प्र्गाढ बनाउनुका साथै सूचना आदान प्रदानमा सहजकारी भूमिका निभाउनेछु ।
२ – एन आर एनले भूकम्प पिडितको लागि बनाउने भनेको १००० घरको महत्वकांक्षी योजनामा स्विटजरल्याण्डको तर्फबाट सक्दो सहयोगको प्रयास गर्ने छु ।
३-स्विटजरल्याण्डका स्थानीय संघ सस्थासँग सहकार्य र हातेमालो गर्दै नेपाल र नेपालीको हितमा कार्य गर्ने छु ।
४ – स्विटजरल्याण्ड आएर बिचल्लीमा परेका, दुख पाएका नेपालीहरुको हित र उनीहरु को समस्यामा केन्द्रित भइ कार्य गर्ने छु ।
५ – नेपालको पर्यटन प्रबर्धन र बिकासको लागि पहल गर्ने छु ।
६ – दोहोरो नागरिकताको लागि आफ्नो ठाउँबाट पहल गर्ने छु ।
(तपाईहरुले यस्तै उदाहरणिय काम गरेका तर चर्चामा नआएका आन्य नेपालीका योगदानबारे लेखेर पठाउनसक्नुहुन्छ । त्यस्ता कर्म गर्नेलाई नेपालप्लसले उचित स्थान दिन्छ-नेपालप्लस डट कम)













