सांस्क्रितिक आदानप्रदान गर्न स्विसबासीको क्याम्पिङ, चुनावी रन्को झन गज्जब

Swiss-Camping-17-18-july-2015 381

प्रवाशका नेपालीको साझा चिन्ता, आफ्ना वालवालिकालाई  कसरि नेपाली जस्तै बनाइराख्ने ? नेपाली संस्क्रिति सिकाउने, नेपाली भाषा बोल्न सक्ने बनाउने । त्यसका लागि नेपालीहरुबिच भेटघाट भए न त्यस्तो देखेर सिक्ने हुन् । सानो देशमा दशतिर छरिएका स्विजरल्याण्डका नेपालीले केहि वर्षदेखि सांस्क्रितिक आदान प्रदान गर्न राती क्याम्पिङ गर्दै आएका छन् । यो पटकपनि गत हप्ताको सप्ताहन्तमा त्यसै गरे । साँस ग्रुण्ड भन्ने स्विजरल्याण्डको हिमाली क्षेत्रमा लगेर दुई रात क्याम्पिङ गराए । यो क्याम्पिङमा नेपालीहरुले मज्जाले रमाए । साँस ग्रुण्ड भन्ने ठाउँमा यस्सो टाउको उचाल्दा गज्जबको हिम नदी थियो, सलल बगेको । यो प्राक्रितिक छटा हेरेर रमाउँदापनि चुनावी रन्कोले भने नेपालीलाई छोडेन । आउँदै गरेको एन आर एन स्विजरल्याण्डको निर्वाचनका बारेमा बहसपनि गरे । कसैले पहिलेनै बोलेको कुरा बोलिन भने । कसैले पढ्दै नपढी सुनेका, सुनाएका भरमा मुख अमिलो पार्दै गुनासा सुनाए । कसैले उमेदवारी फिर्ता लिए ।Swiss-Camping-17-18-july-2015 278

‘साथीहरु एकछिन कुरो सुन्नुस त’ भन्दै एन आर एन स्विजरल्याण्डका महासचिव सुभास पोखरेलले ध्यान तानेपछि बल्ल थाह् भो’ एन आर एनको चुनावबारे छलफलपनि रहेछ । क्याम्पिङ गर्ने भनिएको तर एन आर एन स्विजरल्याण्डको चुनाबी माहौल बारे छलफल हुन्छ भनेर खबर नगरेकाले होला, केहिले असहज महसुस गरे । पोखरेलले ‘बिगतदेखि हालसम्म एन आर एनको टिमलाई सहयोग दिँदै आएकाले अबपनि दिन आग्रह गरेर बक्ताहरुलाइ अगाडी सारे ।

नेपालप्लसमा जुलाई १३ का दिन  ‘शेर्पाको प्यानल उत्रियो एन आर एन स्विजरल्याण्डमा’ शिर्षकमा एउटा फोटोफिचर प्रकाशित थियो, एन आर एन स्विजरल्याण्डमा अध्यक्ष पदको उमेदवारी दिएका तेन्जिङ शेर्पाको टोलीले आयोजना गरेको बारबाक्यु कार्यक्रम बारे । त्यसमा ‘उपाध्यक्षमा सिमा गौतमको नाम सार्वजनिक गरियो’ भन्ने उल्लेख थियो । त्यसमा उनले सबैका अगाडि आपत्ती जनाईन । ‘मलाई साथीहरुले भन्नु भो तपाईलाइ त अरुलेनै उठाएका रैछन् भनेर । मैले सुनें । के मलाई अरुले उठाउनुपर्छ र ? मेरो बारेमा यस्तो किन लेखियो ?’ समाचार लेखनको भाषा नबुझेकी र आफूले पढेको नभनेर अरुबाट सुनें भनेकि उनले पत्रकारहरुको उपस्थितिका बारेमापनि प्रश्न गरिन् ‘पत्रकारहरुलाई निम्ता गरेको कुरा हामीलाई भन्नुपर्थ्यो नी, हामीलाई थाह थिएन पत्रकारहरुलाई बोलाएको छ भनेर ।’

समाचारको त्यहि एक हरफले गर्दा आफूलाई अरुले उठाइदिएको भन्ने बुझेपछि उनले आफ्नो उमेदवारी फिर्ता लिएको बताईन् । ‘म कहिँ छैन, मेरो अहिले पक्का छैन । मलाई उपाध्यक्ष पदमा नभन्नुस् । तर म तेन्जिङ शेर्पा दाईलाईनै समर्थन गर्छु ।’

Geneva-Lake-Barbaque-party-12-july-2015 229

अघिल्लो वर्ष नारी दिवस मनाउने कार्यक्रममा पनि कार्यक्रम सञ्चालनका विषयमा कोषाध्यक्ष सिमा गौतम र महिला संयोजक संझना थापाका बिचमा बिबाद परेको कुरो उनले उठाईन् । ‘सबैलाई थाह छ मैले कति सहयोग गरें । म शुरुदेखि एन आर एनमा लागेर सहयोग गर्दै आएकि छु । तर किन ममाथि षडयन्त्र हुन्छ ? किन संझना र मेरो बिचमा बिबाद बन्छ ?’

Swiss-Camping-17-18-july-2015 308

बोल्ने क्रम अगाडि बढ्दै गयो । नेपाली एक बद्धता मंच स्विटजरल्याण्डका अच्युत प्रसाद फुयालले अलि लामै समय बोले । संगठनका कुराहरु स्पष्ठ पार्नु पर्ने भएकाले अलि समय लाग्ने उनी बताउँदै थिए । एन आर एन भित्र राजनिति गर्नु हुन्न भन्दै आएका अघिल्ला बक्ताहरुका कुरामा उनले असहमती जनाए । राजनिति जहाँपनि हुने, राजनितिबिना देश र समाजनै नचल्ने हुनाले राजनितिलाई अलग नराख्न उनले आग्रह गरे । भने ‘राजनिति कस्तो गर्ने, जनताको पक्षमा, इमान्दारिताको पक्षमा, प्राजातान्त्रिक हक अधिकार र स्वतन्त्रताको पक्षमा राजनिति हुन्छ । राजनिति नभएको कहिँ हुन्न । एन आर एनमै राजनिति दह्रो हुन्छ । त्यसैले राजनितिलाई अलग राखेर हेर्नु हुन्न’ उनले भने । सतहमा देखिएका उमेदवार मध्ये अर्को पक्षको (हिराबल गुरुङ) को एन आर एन र स्विसबासी नेपालीको हितमा प्रभावकारी काम नदेखिएकाले आफ्नो संगठनले तेन्जिङ शेर्पाको टोलीलाई समर्थन गर्ने स्पष्ठ पारे ‘देखिएका मध्ये को बढि असल र प्रभावकारी त भनेर हेर्दा हामी तेन्जिङ शेर्पालाई समर्थन गर्छौं ।’ नेपालमा राजाले शासन सत्ता हातमा लिएको बेला देखिनै स्विजरल्याण्डमा संगठन खोलेर त्यसका बिरुद्द आफूहरुले जनमत तयार गरेकोले पनि राजनितिक संस्था भनेर कम आँक्न नहुने बताए । ‘तपाईहरु एन आर एनमा गएर सामाजिक काम गर्नुस् । हामी सहयोग गर्छौं । हामी राजनितिक काम बाहिरबाट गर्छौं’ फुयालले स्पष्ठ परे ।

Swiss-Camping-17-18-july-2015 344

क्याम्पिङ भनेर एक्कासि एन आर एन निर्वाचनबारे छलफल चलाएकाले निर्वाचनमा आफूले कसैलाईपनि समर्थन गर्न नसक्ने राम महतोले बताइदिए । जनसंपर्क समितिका अध्यक्ष भएका उनले भने ‘छलफल नगरि हामीलाई बोल्न भन्नु भो, म त संठनमा छलफल नगरि केहि भन्न सक्दिन । तर मेरो ब्यक्तिगत शुभकामना भने दिन्छु तेन्जिङजीलाई बिजयको लागि’ उनले भने ।

Swiss-Camping-17-18-july-2015 282

कार्यक्रमको शुरुवाततिरै बोलेका एन आर एन स्विजरल्याण्डको अध्यक्ष पदका उमेदवार तेन्जिङ शेर्पाले भने एन आर एनमा राजनिति गर्न नहुने, एक जनाले केहि गर्न नसकिने र सबै मिले केहि न केहि गरेर देखाउन सक्ने आफ्नो अडान दोहोर्या्ए । ‘साथीहरु बिभिन्न राजनितिक पार्टीमा आबद्द हुनुहुन्छ होला । त्यहि बसेर राजनिति गर्नुस् । हामीलाई सहयोग गर्नुस् । म राजनिति नराम्रो भन्दिन । तर एन आर एन भनेको सबै नेपालीको साझा समस्या हल गर्ने थलो हो । यसमा राजनिति नछिराउनुस् । यदि कसैले राजनिति गर्छ भने मेरो टिममापनि नआउनुस्’ शेर्पाले भने ‘म एक्लैले केहि गर्न सक्दिन । तर समूह मिलौं, राम्रो साथीहरु जुटौं । त्यसो भयो भने केहि न केहि गरेर देखाउन सकिन्छ । त्यो ज्ञान र अनुभव हामीसित छ, पहुँच पनि छ । आफ्ना भनाईपनि छोटकरीमा राखेर उनले झर्को दिएनन् । अध्यक्ष पदका उमेदवार भएकाले होला, तेन्जिङ बिहान पनि टेन्टतिर पुगेर केकसो छ हेर्थे । बिहान सबैले नास्ता खाए की खाएनन् सोध्थे । केहि समस्या पर्यो भने भन्नुहोला भन्दै सबैको सम्पर्क र सोधपुछमा खटिएर आफ्नो अभिभावकत्व देखाउन खोजेका थिए ।

Swiss-Camping-17-18-july-2015 313

अहिलेको चुनावी माहौलमा सबैका आफ्ना आफ्ना दाउ, इच्क्षा र स्वार्थ देखेर, क्याम्प बदलेको आभास पाएर होला । एन आर एन स्विजरल्याण्डका आइसिसि सदस्य शिव रिजालले दह्रो तर्क दिए । यो पटक सायद सबैभन्दा बढि ध्यान दिएर उनको तर्क सुनिएको थियो । उखान टुक्का र ठट्टा मिसाएर हाँस्दै आफ्ना भनाइ राख्न उभिएका उनले उदेद्वारी दिनेहरुलाई घरि यता र घरि उता क्याम्प बदल्ने, पदको मोलमोलाइ (बार्गेनिङ) गर्ने, ढुलमुले निति लिने नगरि स्पष्ठ भएर उत्रिन सुझाव दिए । ‘कहिले यो प्यानल त कहिले त्यो प्यानल गर्ने नगर्नुस् । आफूलाई कताबाट केमा उठ्न मन छ भन्नुस् स्पष्ठसित । यता ठूलो पद पाइन्छ कि भनेर यता लाग्ने, फेरि अर्कोतिर ठूलो पद पाइन्छ कि भनेर अर्कोतिर लाग्ने । यो दोधारे र ढुममुले निति किन ? यस्तो मान्छेहरुले दुबैतिरबाट धोका पाउँछन् बेलैमा सोच्नुस् ।’ रिजालले भने ।

तेन्जिङ शेर्पाको टोलीले एन आर एन स्विजरल्याण्डका अध्यक्ष धर्म गुरुङलाई भावी आइसिसि सदस्यकालागि उभ्याएको छ । यदि धर्म गुरुङले खुट्टो कमाउने र बिचैमा छोड्ने गरेमा उनले त्यो पदमा फेरि आफू लड्ने घोषणा गरिदिए । ‘हाम्रो टिमले अहिले केकति काम गर्यो त्यो तपाईहरुलेनै मूल्यांकन गर्नुस् । अध्यक्ष गुरुङलाई हामीले आइसिसिमा उभ्याएका छौं । यदि उहाँले खुट्टो कमाउनुभयो भने जाने हुन्छ यो शिवले छोड्दैन । फेरिपनि आइसिसि पदमा लड्छ । अहिलेसम्मको अनुभवलाई लागू गराउनपनि फेरि लड्छ यदि हाम्रो तिमको कसैले छोड्छ भने । हाम्रो उद्देश्य सधैं भरि एउटै पदमा लिसो टाँस्सिएझैं हरेक वर्ष बस्नुहुन्न भन्ने हो । तर टिममा कसैले खुट्टो लर्बराउँछ भने शिव रिजाल तयार हुन्छ’ रिजालले त्यसो भन्दा गुटुट्ट ताली खाए ।

Swiss-Camping-17-18-july-2015 300

एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरी र बर्तमान अध्यक्ष धर्म गुरुङलेपनि अफ्ना भनाई राखे । स्विजरल्याण्डमा सबै नेपालीको हित गर्न, नेपाली नेपालीबिचको हार्दिकता, माया, ममता र सांस्क्रितिक क्रियाकलापकालागि, नेपाललाई सहयोग गर्न भनेर आफूले एन आर एन स्विजरल्याण्ड गरेको मुडभरीले स्मरण गराए । ‘सबैतिरका साथीहरु खोजेर सामाजिक काम गर्न मैले त्यो बेला सानो संस्था बनाएको । अहिले यत्रो ठूलो भयो, यति राम्रा कामहरु हुन थाले । आफूले गठन गरेको संस्था यति सक्रिय, फैलिएको देख्न पाउँदा म भन्दा बढि खुशि कोहि होला ?’ फुरुंग पर्दै उनले भने ‘अब यो कामलाई अझै अगाडि बढाउन, फुलाउन र फलाउन तेन्जिङ शेर्पाको टोलीलाई बिजय गराउनुपर्छ । राम्रो टिम आउनुपर्छ, हामी सहयोग गर्छौं ।’

Geneva-Lake-Barbaque-party-12-july-2015 123

धर्म गुरुङले भने आफूले दुई वर्षमा अहिलेसम्म भएका अन्य टोलीले भन्दा राम्रो काम गरेको । सबै साथीहरुको सहयोग र समर्थन पाएकोमा धन्यावाद दिँदै आफूले आइसिसि पदका लागि साथीहरुकै सल्लाहमा उमेदवारी घोषणा गरेको घोषणा गरे । ‘हामीले सकेसम्म राम्रो काम गर्यौं  । तर मूल्यांकन तपाईहरुनै गर्नुस् । अबपनि मलाई साथ दिनुहुने छ भन्ने अपेक्षा लिएको छु । अहिलेसम्म केहि कमीकमजोरी रहेको भए क्षमा दिनुहोला’ उनले आग्रह गरे ।

एन आर एनको कार्यक्रम गर्नासाथ सधैं पदाधिकारीहरुले बोल्ने । तर आम जनसमूदाय, सदस्यहरुको कुरा नसुन्ने । पट्यारलाग्दो भाषण गर्ने तर तिनले बोलेका कुरामा बहसकालागि कहिल्यै समय नदिने भन्दै केहिबेर मतमतान्तर भएको थियो । तर एन आर एनको आगामी निर्वाचनबारे दुबै पक्षलाई टेबलमा राखेर बर्न शहरमा बहस गर्ने र त्यसमा सबैले जिज्ञासा राख्न पाउने भनेपछि त्यो बिबाद साम्य भएको थियो ।

(स्विजरल्याण्डको साँस ग्रुण्ड क्षेत्रको फोटो फिचर आउने छ । नेपालप्लस हेर्दै गर्नुहोला । क्याम्पिङमा बक्ताले बोलेका कुराको अडियो नेपालप्लसले सुरक्षित राखेको छ)

तपाइँको प्रतिक्रिया