त्यसपछि बुवासित कहिल्यै भेट भएन

  • ईश्वर देवकोटा

devkota

समय भर्खर रातको साढे नौ मात्र । झ्वार्र सलाइ कोरेर आमाले बत्ति बाल्नु भयो ।  तर राम्रो सँग बल्न नपाउँदै फु गरेर कसैले निभाइदियो । तीन  चार जना मान्छे, एउटै खाले पोषाकमा मल्याक मुलुक टर्चलाइट बाल्दै आमालाइ हप्काउन थाले । “बत्ति हामी सँगै छ ।” एक जनाको अनुहारमा टल्किएको त्यो चस्मा, हाम्रो कलिलो बालमुटु तर्साउनेगरी अगाडीपट्टि बोकेको बन्दुक । भर्‍याङबाट बुटको गड्याम गड्याम आवाज, एउटाले बोल्यो ” सोधपुछ गर्नुछ, एकछिन हामी सँग जाउँ ” ।

सायद उसको त्यो आदेश नै थियो, जसको शिरोपर गर्दै अर्को तीन चार जनाले चुपचाप खाटमा बसिरहनु भएको बुवालाइ ओरालेर भर्‍याङतर्फ कोठाबाट बाहिर निकाले । म आमाको पछि पछि । बुवाले “म कपडा लगाउँछु” भन्नुभएको थियो । ती बुवाको मुखबाट सुनेको जीवनकै अन्तिम शब्द हुन् ।

घरको पहिलो तला पुर्वि मोहोडामा ढोका जहाँबाट बुवा बाहिर कपडा लागाउन दलानमा जानुभयो । डोरिमा झुण्डिएको सेतो चेक सर्ट, कालो पाइन्ट, ढाका टोपी प्राय वहाँको दैनिक विद्यालय पोषाक नै हुने गर्दथ्यो । सोही कपडा अनि लामो टेक्न मिल्ने कालो छाता लिएर निस्कनु भयो ।  “म पनि जान्छु कहाँ लैजान लागेको” आमा  भन्दै हुनुहुन्थ्यो । “पर्दैन आधा घण्टामा त छाड्दीन्छौ ।” जवाफ यहि थियो । तर अँधेरोमा कसले बोल्यो बोल्यो थर्काउने स्वरमा ।

पुर्णिमाको रातमा पानी पर्दापनि टल्कीएको घर पूर्वको धन्सारको जस्तापाता त्यसको बारदली । आगन सबैतिर उभिएका दर्जनौ काला मान्छेहरू । म घरको दलानमा हुँदा बुवालाइ आगनमा पुर्याएका थिए । त्यस पछि बुबा सँग भेट कहिल्यै भएन । त्यति नै खेर मलाइ याद छ, पुरा सेतो पोषाक लगाएको अर्को अपरिचित धन्सारको बारदलीबाट हामफालेर ओझेल पर्यो । प्रश्न अझै उव्जिन्छ मेरो मनमा, को थियो त्यो अलग पोषाकको लुकेर भाग्ने मान्छे ।

मेरो बालापन, रातको समय, त्रास, अविरल बर्षा के नै गर्न सक्थे र म । मुखबाट मैले एक शव्द पनि बोले जस्तो लाग्दैन । जे हुँदैथियो त्यो डरैडरमा हेरेर बस्ने मेरो विवसता थियो । बुवाको काखमा सुतेको ३ बर्षको भाइ दिवसलाइ केही पत्तो भएन । हजुरवुवा उभिन नसक्दा पनि रूदै हामी सुत्ने ओछ्यानमा पुग्नुभएछ । आमा बुबाको पछि पछि जान खोज्दा बाटो छेकेर जान दिएन छ,”सरलाइ सोधपुछ गरेर भोली छाडी दिन्छौ, हामी घ्र्याम्पेशालबाट आ’को” यस्तै जवाफले अत्तालिएको मन लिएर आमा केहि बेरमा घरमा आइपुग्नुभयो । “म लुकेर पछि पछि जान्छु, बुवालाइ केही हुदैन । भाइ बहिनिलाइ नआत्तिनु भन्नु” यति भनेर हाम्रा लागि  आमा बत्ती बालिदिएर आफु फेरी बुबाकै खोजीमा जानुभयो । केहिबेर म पिढीमा नै बसें । पिढीबाट उठेर घर भित्र पसें ढोका बन्द गरेँ । हजुरवुवाको रूवाइले बहिनि सुनिता बिउझिइछिन् । भाइ, म, बहिनि, हजुरबुवा सबै जना बुवाको ओछ्यानमा जम्मा भयौ । डरत्रासले भरिएको त्यो कालरात्रीमा रोएर बस्ने बाहेक के नै गर्न सकिन्थ्यो र ।

buwa-3000

आजभन्दा ठिक १७ वर्ष अगाडी हामीबाट बुवाको काख खोसियो । २०५५ साल असार महिनाको २४ गते गुरु पुर्णिमाको रात एउटा काल रात्री बनेर आयो । मध्यरातमा खोसिएको बुवाको काख हामीले सदाका लागि गुमायौं ।  बुबा गुणनिधि देबकोटालाई तत्कालिन राज्य पक्षबाट खटिएका प्रहरीको टोलीले घरैबाट पक्राउ गरि नजिकै खोलामा लागि गोलि हानी हत्या गरे । बुबाको हत्या पछिपनि बारम्बार शारीरिक र मानसिक यातना दिन राज्य नै लागिरह्यो । उपलब्धि के भयो राज्य नै जानोस् । तर राज्यले एउटा असल शिक्षक गुमायो । दैनिक २ घन्टाको बाटो उकालो ओरालो गरेर १५ बर्षसम्म दैनिक कलिला लालाबालालाई पढाएर बिहान बेलुका खेतीपाती सम्हाल्दै परिवारसँग रमाउने एउटा शिक्षकले राज्य बिरुद्ध कुन अन्याय गर्यो ? त्यो कठोर सजाय दिने निर्णय गर्यो राज्यले आफै बुझोस् ।

यो त प्रतिनिधि मुलक घटना मात्रै हो । त्यो दर्दनाक युद्धको दशकले इतिहासमा हजारौं कोख र काख रित्यायो । रगत र आँशुको भेलमा हुर्किएका उतिबेलाका हामी लालाबालामा संसारमा सबै भन्दा डरलाग्दो शत्रु “मान्छे” नै हो भन्ने मानसिकता जन्माई दियो । यो युगमा पनि आखिर मान्छे मान्छेकै मित्र हुन किन जानेन ? मान्छे मान्छे सँगै लड्यौं, चेतनशील भएको बहानामा । हामी आफैले ठुलो विपद निम्त्यायौं बिगतमा ।

हामीले साँच्चै लड्नु पर्ने त विपद सँग हो जो यो प्रकृतिमा सबैको शत्रु हो । अहिले समय बदलियो समय सँगै यो परिवर्तनशील प्रकृतिमा मानिसको सोच समेत बदलियो । बदलिएका सोच केहि हदसम्म सकरात्मक भैदियो । हत्या हिंशा र प्रतिहिंसाका शृंखला टुंगियो । यो बितेको दशकमा पुछिएका सिन्दुर, रित्तिएका काख, भत्किएका संरचना, उजाड वस्ती देशले उपहार पायो । त्यसो त युद्ध पछिको जनआन्दोलनले सत्ता परिवर्तन आवश्यक ठान्यो । जनताका नाममा गणतन्त्र खोजियो । गणतन्त्र संस्थागत भयो । समग्र राज्य प्रणालीमा परिवर्तनका निम्ति नयाँ संविधान खोजियो । संविधानको पर्खाइमा अर्को दशक बित्नै लाग्दा कालो बादलमा चाँदीका घेरा देखिन थालेको छ ।

यहि बीचमा प्रकृतिले देशमा अर्को विपद निम्त्याएको छ । बैशाख १२ को विनाशकारी भूकम्पकाकारण हामी आफैले बनाएका कम्जोर संरचनाले हाम्रा आफन्तहरु चेपिनु परेको छ । पुरिनु परेको छ । कयौं कोख र काख क्षण भरमै रित्तिएका छन् । शोकमा डुबेको छ देश । हाम्रा मनबाट त्रास अझै टुंगिएको छैन । त्रसित हुदा हुदै पनि अब हरेक बिपत्ति सँग मिलेर जुध्ने आँट गर्नु पर्ने भएको छ । अनेक आकस्मिक र आफैले निम्त्याएका बिपत्तिहरुसँग सामना गर्दै अझैपनि यहि धर्तीमा मुस्कुराउनु छँदैछ भोलिको अर्को सुनौलो बिहानी पर्खन । त्यहि बिहानी को पर्खाइमा बेला बेला ति स्मृतिका पाना तिर यो मन डुल्न पुग्छ । आफुलाई जन्म दिने बुवालाई सम्झिन पुग्छु । सम्झनामा मन न हो बेला दुखित भै दिन्छ । लाग्छ उहाँ भौतिकरुपमा हामी सँगै आज सम्म भैदिएको भए हामी कति खुशी हुने थियौं ।

(लेखक २०५५ साल असार २४ मा राज्य पक्षबाट हत्या गरिनु भएका श्री सुर्य ज्योति मा.वि., ताकुकोटका तत्कालिन सहायक प्रधानध्यापक पन्द्रुंग- १, गोरखा निवासी गुणनिधि देवकोटाका छोरा हुन्) |

तपाइँको प्रतिक्रिया