भूकम्प पिडितलाई चाउ र बिस्कुट होइन, किला काँटी, घन र तार

धादिङको सेमजोङ डाँडामा कोही पुगेनन भन्ने खबर आएपछि म प्रकाश सुबेदीजीलाई लिएर धादिङबेशी गएँ । त्यहाँ अन्नपूर्ण पोष्टका साथी मनिष दुवाडी र अर्का पत्रकार महिन्दो वाईवा जोडीनु भो । त्यताको मेसो उहाँहरुले मिलाउनु भो । महिन्दोजीको घरको छतमा टेन्ट टाँगेर रात बसियो । असाध्यै बिकट रहेछ त्यो बस्ती । साह्रै मुस्किल पुग्नपनि । धादिङबेशीबाट सेम्जोङ पुग्न जम्मा ३० किमी रे । तर बडेमानका ढुंगामा अरिगाँठे भन्दा ढिलै हिँड्दो रहेछ । त्यस्ता बाटामा ढिकिच्याउँ खेलेझैं हिँड्ने गाडी हुँदा रहेछन । त्यस्तै गाडीमा हामी सामाग्री राखेर गयौं । ३० किमी बाटो गाडीलाई साँढे पाँच घण्टा लाग्यो छिचोल्न । असाध्यै डरलाग्दा भिड छिचोलेर हामी सेमजोङ पुग्यौं ।

बाटोमा धेरै पटक पाङ्रोले अलिकती लत्तु छोड्यो भने ज्यान खतरामा छ भन्ने सोच्दै पुगियो । सबैले चाउ चाउ, चिउरा लगिदिने गरेको, झारा टार्ने गरेको गुनासो गरे । हामीले भने फरक तरिकाले सोच्यौं । घर लडेपनि त्यसका ढुंगा, ईट्टा, जस्ता र डाँडाभाटा काम लाग्छन् । खान त बरु बारीको मकै, कोदो र आलुलेपनि चलाऊलान । तर बस्ने कहाँ ? त्यसैले किला काँटी, घन, ढुंगा फोर्ने अर्को बलियो घन, डाँडा भाटा कस्ने फलामका तार लगिदिए बरु दिर्घकालिन होला । त्यही भत्केको घरका सामाग्री जोडेर बास बस्लान भन्ने सोच्यौं । यस्ता सामाग्री लैजाने प्रस्ताब गर्दा पत्रकार महिन्दो वाईवा एकदम खुशी भए । मनिषा दुवाडीलेपनि गज्जब हुन्छ भन्दै सहमती जनाए । यि दुबइ पत्रकार धादिङका थिए र तिनलाई त्यहाँको बारेमा ज्ञान थियो। हाम्रो यात्रा कस्तो भो ? महिन्दो वाईवाले तयार पारेको भिडियो हेर्नुस् ।

 

तपाइँको प्रतिक्रिया