“आर्थिक अपारदर्शिता,बिधान बिपरित सदस्यता बितरण एन आर एन ए फ्रान्सको ठूलो कमजोरी” – निवर्तमान यूवा संयोजक पौडेल

एन आर एन ए फ्रान्सको निर्वाचन नजिकिँदै जाँदा गत दुई वर्षभित्र भएका बेथिति, आर्थिक अपारदर्शिता, कार्य समितिको निर्णय अधिकारमाथि बाहिरबाट हस्तक्षेप, हाल सदस्यता नविकरणमा भैरहेका बिधान बिपरित कार्य लगायतका विषयहरु सतहमा आइरहेका छन् । यस्ता विषयहरु कार्य समिति बाहिरका ब्यक्तिबाट जसरि सामाजिक सञ्जालमा उजागर भैरहेका छन् ति मध्ये कतिपय  आरोप र गुनासाको पुस्टि हुनसकेको छैन । कार्य समितिभित्रै बसेर काम गरेका ब्यक्तिको धारणा र भोगाई के छ ? यसलाई नेपालप्लसले बाहिर ल्याउने प्रयास गरिरहेको थियो ।

वर्तमान कार्य समितिको शुरुमा सदस्य र पछि यूवा संयोजक पद रिक्त भएपछि त्यसको जिम्मेवारी लिएका नितेश पौडेलले संस्थामाथि हस्तक्षेप, आर्थिक अन्य पारदर्शिता नभएको भन्दै लिखित राजिनामा दिएर पदबाट बाहिरिएका थिए । वास्तबमा के भएको थियो एन आर एन ए फ्रान्सभित्र ? कार्य सम्पादन कसरि हुनेगर्थ्यो ? सदस्यता बितरण र अन्य कार्यशैली कस्तो थियो र के कारणले राजिनामा दिए ? यसैको सेरोफेरोमा रहेर नेपालप्लसले उनीसित लिएको अडियो कुराकानीको संपादित अंश पढ्नुस् !

एन आर एन ए फ्रान्सको वर्तमान कार्यकारी समितिका काम कारवाहीप्रति तपाईले असन्तुस्टि पोखेको देखियो । तर आफ्नो कार्यकाल पूरा नगरि बिचमै राजिनामा दिएर हिँड्नुभयो । गल्ति तपाईकै देखियो नी ?

एकदम सहि प्रश्न गर्नुभयो । कुनै कारणबस गल्ति भएको भए माफी पाउँ भनेर मैले राजिनामा पत्रमा सबै खुलाएको छु । तर मेरो गल्ति थिएन राजिनामा दिनुमा ।

के खुलाउनुभएको थियो ?

संस्थाप्रतिको असन्तुस्टि उल्लेख गरेको छु । जस्तै- संस्था भन्दा बाहिरका ब्यक्ति हाबी हुने । संस्था बाहिरका ब्यक्तिबाट निर्णय हुने र त्यहि निर्णयका आधारमा कार्य सञ्चालन हुने । दोस्रो कुरा, पदको एउटा दायित्व र जिमेवारी हुन्छ । ति दुई फरक कुरा हुन् । दयित्व दिने तर त्यो दायित्व बहन गर्ने जुन पद्दती हुन्छ त्यो नदिने ।

राजिनामा दिएपछि तपाईमाथि काम गर्न नसकेको आरोप लागेको छ नी ?

हो, काम गर्न नसकेकोले राजिनामा दियो भनियो । अर्को के आरोप लगाइयो भने एन आर एन मा उहाँ पैसा पाइन्छ भनेर आउनुभएको थियो होला । यो त तलब पाइने, पैसा पाइने ठाउँ त होइन । यहाँ त उल्टो पैसा खर्च गर्नुपर्ने हुन्छ सामाजिक संस्था भएको नाताले ।

वास्तबिकता के हो त ?

उहाँहरुलाई एउटा कुरो के च्यालेन्ज गर्न गर्न सक्छु भने म केहि नबुझेको केटाकेटी होइन । मैले संस्थागत जिमेवारी, कार्य सन्चालन, पद्दती र बिधीबिधान हेरेर बुझेरै आएको हुँ । नेपालमापनि केहि संस्थामा बसेर, संस्थागत जिम्मेवारी सम्हालेर यहाँसम्म आएको हुँ । संस्थामा ब्याक बाईटिङ गर्ने र निराधार आरोप लगाउने काम गलत हो जुन यहाँ भयो ।

राजिनामा दिनुको मूल कारण के हो ?

मैले जब कुनैपनि पदमा बसेर आफ्नो पदिय दायित्व पुरा गर्न पाइन्न, दिईन्न र आफ्नो कार्यसन्चालन गर्न दिईन्न, सबै निर्णयमा बाहिरकै मानिस हाबि हुन्छ, नयाँ सोच र योजनाले काम गर्न पाइन्न भने त्यो पदमा बसिरहन नैतिकताले दिन्न । त्यो ठाउँमा बस्नु भनेको एक जना सदस्यका हिसाबले ताली पिट्नेबाहेक अर्को रचनात्मक सहभागिता हुने देखिन । म कसैको लम्पसारबादी र कसैकोलागि ताली पिट्ने सदस्य भएरपनि बस्न सकिन । त्यहि नैतिकताका आधारमा मैले राजिनामा दिएको हुँ ।

तपाई यूवा संयोजक भएपछि खेलाडीहरुलाई परिचालित गर्न सक्नुभएन भन्ने आरोपपनि छ नी ?

हो, केहि सामाजिक सन्जालमा त्यो आरोपपनि लगाइयो । तर म सदस्यका रुपमा थिएँ । यूवा संयोजक प्रमोद पाण्डेले राजिनामा दिएपछि मेरोपनि चाख र साथीहरुको समर्थनले म त्यो ठाउँमा गएँ । पहिलो वर्षको कार्यकालमा खेलको माहोल भर्खरै शुरु भएको थियो । त्यो बेला साथीहरु र अध्यक्षलेपनि सहयोग गर्नुभयो । दोस्रो माहोल शुरु हुँदा म कार्यसमितिबाट बाहिर भैसकेको अवस्था थियो । त्यो बेला उहाँहरुले धेरै चोटि आउनुस् भनेर आग्रह् गर्नुभयो । तर मैले यो यो कारणले भनेर नआउने बताएँ ।

त्यो बेलाको एउटा घटना सुनाउँछु । पोर्चुगलमा फूटबल खेल्न खेलाडि लैजाने कुरो भयो । त्यो बेला समितिबाट भन्दापनि बाहिरको ब्यक्तिबाट के भनियो भने यत्रो पैसा खर्च हुन्छ, जित्ने भए त ठिकै हो । जित्ने पक्का छैन, हारिन्छ भने किन जाने भन्ने प्रश्न उठाइयो । मैले त्यो बेला भनें- हामी कुनै ब्यवशायिक क्लब त होइनौं । सामाजिक संस्था भएकाले समाजका क्रियाकलाप, कार्यक्रममा सहभाहि हुने हो । जित्ने आकांक्षा राख्नु ठिक हो, तर जितिन्छ नै भन्ने पक्का त कसैले गर्न सक्दैन । सहभागिता जनाउन खोज्दापनि बाहिरकै ब्यक्ति हाबी भएर त्यो कार्यक्रमपनि रद्द गरिदिनुभयो ।

बजेट बनाउनुपर्छ, संस्थालेनै आयमूलक कार्यक्रम गर्नुपर्छ भन्ने जस्ता गर्नै नसकिने कुरा उठाउनुभयो भन्ने आरोप छ नी तपाईमाथि ?

हो, कुनैपनि संस्था, संगठन, राज्यको संरचना, उद्देश्य, जिम्मेवारी, सहभागिता हुन्छ । त्यो भूमिका पुरा गर्न बजेट चाहिन्छ । त्योबिना चल्दैन । हाम्रो समग्र संस्थाकै बजेटिङ गरेर त्यसको आधारमा कार्य सञ्चालन गरौं भनेको थिएँ । त्यो अचम्मको कुरो होइन । गर्न नसकिनेपनि होइन । हामीसित पैसानै छैन, के बजेट बनाउने भनियो । मैले घाटा बजेटपनि बन्छ । बजेट बनाएमा कार्य सन्चालनमा सहजता हुन्छ भनें । अनेक कुरा गरेर त्यसलाईपनि तुहाइयो । कुनैपनि काम, राम्रो योजना लैजाँदा केहिपनि गर्न नदिने अवस्था स्रिजना भएरपनि म बाहिरिएको हो ।

तपाईले पटक पटक बाहिरको हस्तक्षेप भन्नु भो । त्यो भनेको को ? नेपालका नेता कि ? एन आर एनका केन्द्रिय नेता कि ? एन आर एन ए फ्रान्सकै पदाधिकारी कि ? अलि खुलेर भन्न मिल्दैन ?

मैले बिभिन्न सामाजिक सन्जालमा लेख्दै आएको छु । नाम तोकेरै भन्नुपर्ला जस्तो लाग्दैन । किनकि फ्रान्सबासीहरुले चिन्नुभएकै छ ।

नाम नलिएपनि यतिसम्म भन्न मिल्छ नी, पूर्व महासचिव, सचिव, संरक्षक, पूर्व अध्यक्ष की ? को त ?

उहाँ संरक्षक, सल्लाहकारनै भनौं । त्यो हैसियत राख्नुहुन्छ । भूतपूर्व अध्यक्षनै हुनुहुन्छ । उहाँका कुरानै संस्थामा बढि हाबी हुन्छन् । कार्य समितिका एक दुई जना बाहेक अन्य साथीहरु आफ्नो अडानमा अडिग रहन सक्नुभएन र निर्णयको क्षमतापनि देखिएन । आफ्नो क्षमता नभएपछि के गर्ने त ? सरसल्लाह लिने । सरसल्लाह लिँदा कुनै एक ब्यक्तिलाई मात्रै छान्नुभयो । सल्लाहकार त अरुपनि हुनुहुन्थ्यो । तर अरुसित सल्लाह लिएको कहिल्यैपनि देखिएन । मिटिङमा उहाँकै कुरा तयार भएर आउँथे । उहाँकै कुरा हाबी हुन्थे । कुनै निर्णय गर्दा उहाँहरुबाटै निर्णय गराएर कार्य समितिमा प्रस्तुत हुन्थ्यो । त्यो सरासर देख्दा देख्दै त्यो भिडमा ताली मात्रै पिटेर बस्ने दर्शक हुन सकिन । मेरो दोषनै यहि हो ।

मिटिङमा उहाँ प्रत्यक्षनै सरिक भएर त्यस्ता निर्णय गराइन्थ्यो कि अप्रत्यक्ष ?

प्रत्यक्ष र अप्रत्यक्ष दुबैरुपमा हुन्थ्यो ।

अध्यक्षको भूमिका के त उसो भए ? खोपीको देउताजस्तो, थापना मात्रै ?

उहाँसित ब्यक्तिगत रुपमा हाम्रो राम्रो छ । समस्या केहि छैन । हाम्रो अग्रज हो सम्मान गर्छु । तर एउटा कुरा के भने संस्थाको अध्यक्ष जस्तो पदमा बसिसकेपछि त्यो पदको भूमिका पूरा गर्नसक्नुपर्छ । म के भन्छु भनें उहाँले त्यो संस्थाको अध्यक्ष पद त लिनु भयो तर त्यो पद सेरेमोनियल भयो ।

तपाईले दुई वर्षको कार्यकालमा कति समय काम गरेर राजिनामा दिनुभयो ?

यो चार महिनादेखि मेरो सहभागिता छैन ।

कार्य समितिमा हस्तक्षेप हुँदा तपाईको बादबिवाद त्यहिँका कार्यकारी साथीहरुसित हुन्थ्यो कि पूर्व अध्यक्षसित ?

म एक घटना सझाउँछु । पहिलो वा दोस्रो बैठक हुनुपर्छ, आइ सि सि सदस्यको घरमा बसेको थियो । हरेक कार्यक्रमकालागि वा नेपालमा केहि सहयोग गर्नुपर्दा संस्थाको पदमा भएकाले यति पैसा, ब्यापारी भएकाले यति, कार्यकारी पदमा भएकाले यति भन्दै इमोसनल ब्ल्याकमेल गरिन्थ्यो । इमोसनल ब्ल्याकमेल गरेपछि दिन्न भन्ने मान्छे कमै हुन्छ होला । दया र मायाको भाव पोखेपछि मन पग्लिहाल्छ । त्यहि देखेर मैले बिदेशमा सबैले कुनै न कुनै दुखले आर्जेको रकम हरेक कार्यक्रमकालागि माग्ने, दुख दिने होइन कि संस्थाको आर्थिक ब्रिद्दी र मजबुती कसरि गर्ने भनेर केहि प्रस्ताब राखेको थिएँ ।  नेपाल डे, फुड फेस्टिबल लगायतको काम गरेर आर्थिक संकल गर्ने । समितिकाले सहमती जनाए । तर सल्लाहकारले ‘यो काम गर्न झमेला हुन्छ, नियम कानुन जानुपर्छ र त्यो झमेला छ’ भनेर आलोचना गर्नु भो । त्यसपछि मैले ‘ल कार्यक्रम गर्न पाउने अनुमति लिएर आउनुहोस, कार्यक्रम म गरेर देखाइदिन्छु, मै नेत्रित्व गर्छु, घाटा परे म ब्यहोर्छु’ भनिदिएँ । यसमा सहमति जनाउने अर्को एक जना साथी हुनुहुन्थ्यो । तर त्यसलाई अल्पमतमा पार्ने काम गरियो र निर्णय हुन पाएन । झण्डै दुई वर्ष यस्ता कुरा धेरै भए । यस्ता प्रस्ताब  आउँदा कसरि तिनलाई अनादार गर्ने र कसरि आफ्ना कुरा हाबी गराउने भनेर निर्णय गरिन्थ्यो, त्यसरिनै चलिरहेको छ ।

अध्यक्ष, महासचिव भनेको शक्तिशाली पद हो । यति राम्रा निर्णय लिएर जाँदा बोल्नुहुन्थेन ?

मैले बोल्थेनन् भनेकै छैन । बोल्थे । तर जे निर्णय बाहिरबाट आउँथ्यो त्यसैमा सहि थापेर बोल्नुहुन्थ्यो ।

तपाइ कार्यकारी समितिबाट राजिनामा दिएपनि सामान्य सदस्य त हुनुहुनुन्छ । अहिले तपाइको सदस्यतानै सदर गरिएन भन्ने चर्चा छ नी ?

मैले राजिनामा पत्रमा मेरो पद र सामान्य सदस्यतासमेत नरहने गरि राजिनामा दिन्छु भनेर लेखेको छु । त्यसको कारण के भने फ्रान्सको बसाईका क्रममा यहाँको बसाईलाई सहज बनाउन वा अनुमति पाउन भनौं, बिभिन्न प्रक्रिया अपनायौं होला । जसले जसरि गरेपनि हामी सबै नेपाली हौं । एकै माटो, उहि धरती, एकै हावापानी र उहि मन बोकेका हौं । अहिले नयाँ सदस्यताको फर्म भर्ने वा रिन्यु गर्ने क्रममा फर्म हेरें । त्यसमा सदस्यता भरेको न्यायपूर्ण, बैधानिकतापूर्ण छैन । कि फर्म भर्ने सबैको स्विक्रित गर्नुपर्यो कि गल्ति भयो भनेर क्षमा माग्नुपर्यो ।

भन्नाले, के काम गर्नुभएको छ त्यस्तो क्षमानै माग्नुपर्ने ?

म उदाहरण दिन्छु । फर्म सदस्यता बैधानिक बनाउन कार्त द सेजुर (रेसिडेन्स कार्ड), तिर्थ द सेजुर (छोटो सायकालागि दिने रेसिडेन्स कार्ड), कार्त द सेजुरको अगाडि, पछाडीको भागको फोटो कपी । बिदेशी नागरिक भैसकेको भए पासपोर्ट, नेपाली मूलको खुलाउने कागज आदि । त्यसपछि ठेगाना खुलाउनकालागि बिजुली (EDF) को वा फोनको बिल आदि उल्लेख हुनुपर्ने । त्यो भन्दा बाहिर गएर कसरि सदस्यताको फर्म सदर गर्नुभयो ?

कसको गर्नुभएको छ त्यसरि ?

ब्यक्तिगत रुपमा म नाम लिन चाहन्न ।

धेरै छन् त्यस्ता ?

मलाई लाग्छ ६० देखि ७० प्रतिशत त्यस्तै छन् ।

त्यसमा निर्वाचन आयोगले हेर्ला नी ?

मैले सामाजिक सन्जालमार्फत निर्वाचन आयोगलाई जानकारि दिईसकेको छु । भोली यो ठूलो इस्यू बन्ने कुरो हो, ध्यान दिनुहोला भनेर । कसैले आफ्नो ब्यक्तिगत स्वार्थ र संस्थाकोलागि नियम र बिधीबिधान मिचेर नक्कली कागज भराएर आफ्नो पक्षको ब्यक्तिहरुलाई सदस्यता सदर गराउनु त सरासर गलत हो नी ।

यो विषयमा कार्य समितिका जिम्मेवार ब्यक्तिसित कुरो गर्नु भएन ?

मैले दुई चार दिन अगाडि महासचिवसित कुरो गरेको थिएँ । उहाँले ‘कुनै ब्यक्तिले यहाँ दुई वर्ष बसेको प्रमाणस्वरुप कार्त भिताल (स्वास्थ्य विमा कार्ड) ल्याएर नेपालको परिचयपत्र देखाउँछ भने त दिनै पर्यो नी’ भन्नुभयो । म त्यसमा बिवाद गर्न चाहन्न । बिधानले जे भन्छ त्यस अनुसार जाने हो ।

बिधानमा त्यो उल्लेख छ ?

बिधानमा कार्त द भिताल छैन । मैले बुझे अनुसार बिधानमा बकाईदा ‘दुई वर्ष सार्क मूलुक बाहेकको कुनै देशमा बसेको हुनुपर्यो ।’ त्यहाँ बसेको परिचयपत्र देखाउनै पर्छ । कार्त द भिताल देखाएर हुने भए त राम बहादुर भन्ने एक भारतीयले दुई वर्ष म्याद भएको कार्त द भिताल देखाएर नेपालीको पासपोर्ट देखाएर सदस्यता सदर गराउन सक्ने भो नी ! त्यसो गर्न पाइन्छ त ?

अर्को कुरा बिध्यार्थीहरुपनि बकाईदाले दर्ता भएका छन् । कार्त भितालको आधारमा दर्ता गरेको भन्नुभएको छ । बिधानमा कार्त भिताल देखाएको भरमा दर्ता हुन्छ भनेर कहाँ लेखेको छ त्यो देखाइदिनुपर्यो । नेपाल सरकर र एन आर एन एको बिधानभन्दा माथि उहाँहरु को हो ?

यहाँ निस्चित समयकालागि काम, तालिम वा पढाईकालागि आएका ब्यक्तिलेपनि कार्त सेजुर पाउँछन् । तिन महिनाको भिजामा आउनेलेपनि कार्त भिताल पाउँछन् । अनि के त्यहि देखाएर एन आर एन एको सदस्यता दर्ता गराइदिन मिल्छ ? कार्त भितालकै भरमा दर्ता हुने हो भने त यस्ता खाले भिसा हुने सबैले एन आर एन सदस्य पाउने भए ।

तपाईको सदस्यता रिन्यू भएन ?

मेरो साधारण सदस्य बन्ने अधिकारपनि नभएपछि कार्यकारी समितिमा बस्न नैतिकताले दिँदैन । सदस्यताको बारेमा मैले यहि प्रश्न उठाएको हो । मैले नेपाल सरकारको मान्यताप्राप्त एन आर एनको कार्डको अगाडि र पछाडीको भागको स्क्यान कपी, बिजुलीको बिल (EDF) को फोटोकपी, कार्त भितालको अगाडिको भागको कपीसहित सदस्यता भरेको थिएँ । तर उहाँहरुले सदर गरिदिनुभएन ।

किन नी ?

कारण एउटा मात्रै छ, रिस । अर्को कारण समाजबाट मलाई एक्ल्याउने काम ।

के कारणले भएन मेरो सदस्यता भनेर सोध्नु भएन ?

सोधें । सोध्दा कार्यकारी समितिको जिम्मेवार ब्यक्तिबाट के जवाफ आयो भने हाम्रो फलानो अग्रजले तपाईको सदस्यता हुन्न भन्नुभएको छ त्यहि भएर दिन सकिएन ।  त्यहि प्रक्रितिको अर्को ब्यक्तिले पाउने र मैले नपाउने कसरि हुन्छ ? सदस्यता बितरणमा समस्या छ, गल्ति छ । आज १३  तारिख भयो म १५ तारिखबाट यो विषयमा बोल्ने छु ।

यो विषयमा निर्वाचन समितिलाई औपचारिक रुपमा जानकारि गराउनुभयो ?

लिखितरुपमा चिठिनै पठाएर त गराएको छैन । तर अनौपचारिक रुपमा जानकारि गराएको छु । सामाजिक सन्जालमा मैले लेखेको ठाउँमापनि उहाँले हामी छानबिन गर्छौं भनेर लेख्नुभएको छ । त्यसैले उहाँलाई यो विषयको जानकारि छ । अब कसरि छानबिन गर्नुहुन्छ हेर्न बाँकि छ ।

तपाईको सदस्यता सदर भएन भने के गर्नुहुन्छ ?

मैले अहिलेनै यसै गर्छु त भन्न सक्दिन । लगभग ६० प्रतिशत भन्दा बढि दाजुभाई दिदीबहिनीको यो समस्या छ । एन आर एनको सदस्यता धेरैले नलिनु, एन आर एन मा उत्साह नहुनुको कारण योपनि हो । म एक्लो नभएकोले पछि कसरि जाने सोच्छौं ।

केहि नेपाली कागजीरुपले भूटानी मूलका भएपनि एन आर एन ए फ्रान्सको बिधानलाई संशोधन गरेर, साधारण सभाबाट बिधान परिमार्जित गरेर वा अन्य कुनै तरिकाले तिनलाई एन आर एन एमा समेट्नुपर्नेमा केहिलाई त्यत्तिकै सदर गर्ने र केहिलाई पाखा लगाउने काम भएको छ भन्ने सुनिएको छ । खास के भएको हो ?

कोहि ब्यक्तिलाई त्यत्तिकै सदस्यता दिईएको छ । कसैलाई दिईएको छैन । एउटै बिधान फरक मानिसलाई फरक किसिसले प्रयोग गरिएको छ । म भन्दा अघिल्लो कार्यकालमा यस्तै कागजीरुपले भूटानी भएको साथी कार्यकारी समितिमा हुनुहुन्थ्यो । उहाँलेपनि अहिले यहि गुनासो गर्नुभएको छ ।

एन आर एन एको अघिल्लो कार्यकालमा कार्यकारी समितिमै बसेर कार्य गरेको । तर अहिले साधारण सदस्यपनि बन्न नपाउनेपनि छन् ?

एकदमै हो, त्यस्ता साथीहरु धेरै हुनुहुन्छ ।

तपाईलाई फरक विषयमा प्रश्न गरौं न । भूकम्प पिडितका नाममा ३२, ३३ हजारजति उठेको सुनियो । तपाईको कार्यकालमा यो विषय उठेको थियो ?

यो विषयको बारेमा छलफलनै भएको थिएन । धेरै पछि जब सामाजिक सन्जालमा भूकम्प पिडितका नाममा उठेको पैसाको बारेमा धेरैले प्रश्न उठाएपछि बल्ल समितिमा कुरो उठ्यो । कोषाध्यक्ष र अध्यक्षले मात्रै जानकारि राख्ने होइन कि कार्यकारी समिति भित्रका सबैलाई जानकारि हुनुपर्छ भनेर कुरा उठायौं ।

संस्थामा आएको पैसाको जानकारि कोषाध्यक्ष र अध्यक्षलाई मात्रै जानकारि हुन्थ्यो ?

कोषमा कति पैसा आयो, कहाँबाट आयो र कति छ भन्ने हामीलाई लास्ट टायम (अन्तिम) अवस्थासम्म जानकारि थिएन ।

लास्ट टायम भनेको कहिलेसम्म ?

तिन चार महिना अगाडिसम्म । कोषको बारेमा जानकारि हुनुपर्छ भनेर धेरै पटक प्रश्न उठाएकोपनि हो । तर जवाफ पाएनौं ।

अनि के भयो ?

कोषाध्यक्षले ब्यक्तिगतरुपमा आएर माग्नुपर्यो, आधिकारिक रुपमा आएर भन्नुपर्यो भन्ने कुरो गर्नुभयो । संस्थाको कार्यकारी समितिका मान्छेले मागेको, सोधेको कुरो जान्न फेरि रजिस्ट्री चिठि लेख्नुपर्ने हो कि के हो बुझ्न सकिएन । तर स्पष्ठ के हो भने आजको दिन (१३ अगस्ट, दिउँसो) सम्म कुनैपनि हिसाब किताब स्पष्ठ छैन । ३२, ३३ हजार भूकप पिडितका नाममा उठेको भन्ने मैलेपनि अधिवेशनको हलमै सुनेको हो । केहि समय अगाडि १२ हजार युरो भूकम्प पिडितका नाममा उठेको रकम नेपाल पठाउँदा दुई तिन हजार यताउति भएको मैलेपनि हेरेको हो । नत्र कति उठेको हो, कति छ, के भयो स्पष्ठ जानकारि मैलेपनि दिन सक्दिन । मलाई के लाग्छ भने संस्थाको आर्थिक विषयमा कार्यकारी समितिका धेरै साथीहरुलाई हिसाब किताब बारे राम्रो जानकारि कसैलाईपनि छैन ।

अध्यक्ष र कोषाध्यक्षलाई मात्रै जानकारि हुन्थ्यो ?

उहाँहरुलाई छ । तर संस्थाको आम्दानी र खर्चको हिसाबकिताबबारे समितिमा कहिल्यैपनि जनकारि दिईएन, छलफल हुन पाएन ।

कार्य समितिभित्र राजनितिक प्रभाव कत्तिको पर्थ्यो ?

कार्य समितिभित्र राजनिति घुसेको त मैले देखिन । तर फलानो फलानो ब्यक्तिलाई लानुपर्छ, दिनुपर्छ भनेर ब्यक्ति हाबी भएको देख्थें । एक पटक महासचिव र सल्लाहकारले नितेश पौडेललाई त हामीले ल्याएको हो भनेर बाहिर भन्नुभएको साथीहरुबाट सुनें । म च्यालेन्ज गर्न चाहन्छु कि म बकाईदा चुनाव लडेर, मत जितेर आएको थिएँ । भोट दिनुभयो होला उहाँहरुले । तर म कुनै पार्टीबाट गएको थिईन । उहाँहरुको टिको लगाएर आएको होइन । म स्वतन्त्र उम्मेदवार हुँ भनेर भोट मागेर आएको हो । संस्थामा राजनिति मिसाउनुहुन्न । सबै नेपालीको साझा बनाउनुपर्छ भन्ने मान्छे हुँ म ।

तपाईको तर्फबाट केहि भन्नु छ कि ?

मेरो भनाई के छ भने एन आर एन ए केन्द्रको बिधान छ । एन आर एन ए फ्रान्सकोपनि छ । फ्रान्स सरकारको निति, नियम र कानुन छ । त्यो कानुन, नितिलाई तोडेर, अनादार गरेर नेपाली दाजुभाई दिदीबहिनीको पर्सनल डाटा, जानकारि दुरुपयोग गर्ने काम जिम्मेवार ब्यक्तिहरुले गरिरहनुभएको छ । आफ्नो पदिय मर्यादा भुलेर, आफ्नो स्वार्थकालागि प्रयोग गरिरहनुभएको छ । त्यो एकदमै दयनिय र निन्दनिय काम हो । यसको म घोर निन्दा गर्छु । सबै दाजुभाई, दिदीबहिनी, साथीहरुले यसको बिरोध गर्नुहुने छ भन्ने आसा छ ।

त्यस्तो उदाहरणनै दिनसक्नुहुन्छ की ?

कार्य समितिका कोषाध्यक्ष मिन श्रेष्ठले एक जना साथीलाई म्यासेज गर्नुभएछ । म के भन्न चाहन्छु भने हामी दाजुभाई जस्तै हौं, ब्यक्तिगत सम्बन्ध सुमधुर छ । त्यो रहने छ । तर इस्सु संस्थागत हो । उहाँ संस्थाको कोषाध्यक्षले यस्ता ब्यक्तिलाई म्यासेज गर्नु भयो कि कहिल्यै भेटेको, देखेको र बोलेकोपनि छैन । उहाँको ब्यक्तिगत परिचय, नंबर कसरि फेला पार्नुभयो ? त्यसरि म्यासेज गर्ने भएपछि हामी नेपालीहरु सबैको डकुमेन्ट चुहावट भैसकेको छ भनेर बुझिन्छ । हाम्रो डकुमेन्टहरु अहिले मात्रै होइन कि दशौं वर्षसम्मपनि हामी सुरक्षित भएनौं । यसको ग्यारेन्टि कसले लिने ? त्यसैले संवन्धित निकायले छानबिन गरोस । यो डाटा प्रयोग जसले गर्यो ति ब्यक्ति सामान्य सदस्यपनि नरहनेगरि कारवाही होस् । तिनले नैतिकताका आधारमा राजिनामा दिउन् । नैतिकता पचाएर बस्छन् भने निर्वाचन समितिले, केन्द्रले निर्णय लेओस् । हामी त्यसको पर्खाईमा छौं ।

(तस्विरहरु पौडेलको फेसबूकबाट लिईएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया