बिदेशबाट भूकम्प पीडितलाई सहयोग गर्ने ? सहयोग गर्नु पहिले बुझ्नुपर्ने कुरा

ktm-sindhupalchok-sakhu-01-may-2015-266

भूकम्पले आहत बनाएका बेला सबैको मन पग्लिन्छ । यती बेला केही सहयोग गर्न नसके आँफैंलाई सहज लाग्दैन । कता कता ऋण बोकेजस्तो लाग्छ । केही गर्न नसक्ने पीडित जस्तो लाग्छ । त्यसैले सहयोग गर्ने नेपाली धेरै छन । अझै लागिपरेकाइ छन् । तर आफूले गरेको सहयोग दुरुपयोग भयो भने, सहि ठाउँमा नपुगे त्यसको के अर्थ ? अहिलेको राहत बितरणको अवस्था नहेरी, राहत लिने को हुन ? कस्ता छन ? पीडित हुन कि होइन ? कसले पाएको छ ? कसले पाएको छैन ? आवश्यक कहाँ छ त्यो बुझ्नु जरुरी छ ।अहिलेसम्म भूकम्पमा जती मानिस परे । जिवित रहने संभावना अब हत्त पत्त छैन । म्रितकहरुको लास निकाल्ने काम सरकारी निकायले गर्छ । बिदेशी बिशेषज्ञहरुले गरिरहेकै छन । जो घाईते छन तिनको उपचार मुख्य कुरो हो । खाने कुराको खाँचो र अभाव दुबै अहिलेलाइै काठमाडौंमा  छैन । भएभरका भारतीय संघ संस्था, नेपाली मनकारी, सरकारको संयन्त्र र बिदेशी दात्री संस्थाले काठमाडौंमा आवश्यक भन्दा बढी बितरण गरिरहेका छन् । त्यसो त अब सडक भएको, गाडी पुग्ने ठाउँमा चिउरा, चामल, दाल पुगेको छ । आवश्यक भन्दा बढी पुगेको छ ।

खाँचो एकदमै बिकट ठाउँको हो जहाँ गाडी पुग्दैन । टाढाबाट आउनेहारु राहत बाँडेर फर्किन्छन । तर लैजाने कसरी ? एक दुई जनाले ढाडमा २० किलोको दरले बोकेर लगेर त्यसले कुनै राहत दिन्न । हेलोकोप्टरमा अली धेरै लैजान ठुलो खर्च लाग्छ । अहिले हेलिकोप्टर भाडामा लिन्छु भनेपनि पाइन्न । सडक पुगेका ठाउँमा पटक पटक लगेर बाँड्नुको कुनै अर्थ छैन । गाउँमा यसैपनि मनिसको खेतबारी हुन्छ । त्यहीँ खनजोत गरेर खाइहाल्छन् । खाँचो तत्कालको हो । त्यो धेरै हदसम्मा टरेको छ जुना सामान्य मनिषाले समाधान गरिदिन सक्छ ।

घर भत्केकाहरुलाई तत्काल बासको ब्यवस्था मुख्य समस्या हो, गाउँको । टेन्ट अहिले अभाव छ नेपालमा । अब केहिदिनमा त्योपनी सहज हुन्छ ।

राहत सामाग्री अहिले ब्यापक रुपमा दुरुपयोग भैरहेको छ । सडक नजिकका ठाउँमा बाँड्दा कतिपय मानिसहरु आफ्नो बारी खनजोत गर्न छोडेर दिनभरी राहत संकलनमा आउने गाडी कुरेर बस्छन । जती पटक राहत बोकेर गाडी आउँछन उती पटका तिनले राहत लिन्छन । भण्डार गर्छन् । कतिपय यो राहत फेरी काठमाडौंमा बिक्री हुन्छ । कि त स्थानिय दोकानमा बेच्छन । बाटो छेउमा ढाट थुनेर बस्ने, समूहगत रुपमै बाटोमा उभिएर गाडी रोक्ने र राहत माग्ने । राहत नदिए गाडी अगाडि जान नदिने गरिरहेकापनि छन् । अरु ठाउँ लैजान लागेको राहतलाई रोकेर ‘हामीलेपनी केही पाएको छैन ‘ भन्दै बिलाप गरेर खाद्दान्न मागिरहेका छन् । लिएको राहतले रक्सी बनाउनेपनि छन् ।

अर्को पक्ष के भने साँच्चै दु:खमा परेका, परिवार गुमाएका, घर भत्किएर बिलापमा परेका, गाइभैंसीको गोठ भत्केर बारीका कुनामा रुँदै बसेकाहरु चामलका बोरा तान्न जाँदैनन् । तिनलाई आफ्नै पीडाले सताएको हुन्छ । चामल र दालको ध्याउन्न हुन्न । तिनलाई बारी र खेतका गह्रा चाहर्दै गएर कसैले हातमा राखिदिन्न । जती पटका गाडी आउँछन उती पटका गाडीको पछी दगुर्दै गएर राहत माग्ने, लाईन लागेर बोरा ओसार्ने, बाटो छेक्ने, बेदना देखाउने छट्टु, फटाह, लोभी र दरिद्रहरु जतापनी अहिले हाबी भाईरहेका छन् । त्यसैले अहिले सडक पुगेको ठाउँमा बाँडेको राहतको खासै ठुलो अर्थ छैन, केही अपवादलाई छोडेर ।

केही सुझाव

केही दिन, हप्तामा अब भूकम्प पछीका दिर्घकालिन समस्याहरु देखिने छन् । जस्तै- अब भूकम्पमा परेका धेरै घाइतेलाई उपचार चाहिने छ । कसैको तत्कालै घाइते औंला, गोडा, ढाडको अपरेशन नगरे सिंगै पाटो काट्नुपर्ने हुन सक्छ । अपांग बन्न सक्छन् । त्यस्तो उपचारकालागि खर्च चाहिन्छ । गरगोठ भत्केर, स्कूल भत्किएर दु:ख पाउनेहरु निकै देखिने छन् । स्कूलको पोशाक नपाएर, स्कूलको शुल्क तिर्न नसकेर वालवालिकाको पढाईमा समस्या पर्ने छ । स्कूलका कक्षा कोठा भत्किएर अब वालवालिकालाई बस्ने समस्या हुने छ । अब एक महिनापछी वर्षाद लाग्छ । भूकम्प पिडितका समस्यामाथि झन बढी र पहिरोको समस्या थपिन्छ ।

अब हामीले पूनर्निर्माण कसरी गर्ने । कुन ढाँचा अपनाउने ? कसरी नेपाली ढाँचाको, नेपाली मौलिक शैलीको तर बलियो, दिर्घकालिन रुपमा टिकाउ हुने बनाउने ? आर्थिक रुपमा कसरी समसय हल गर्ने ? यस्ता धेरै कुराहरु आउने छन् । तिनको बारेमा लगानीनै चाहिन्छ ।

हाम्रा धेरै सामाजिक र सांस्कृतिक धरोहर, संपदाहरु भत्केका छन् । अब ति पूनर्निर्माण गर्नुपर्छ । बिदेशीले हामीले बनाइदिन्छौं भन्न थालिहाल्छन् । अझ पाएसम्म आफ्नो देशको नामपनी रहने गरी प्रस्तव गर्लान । बिदेशका नेपालीले आआफु बसेको देशका तर्फबाट कम्तिमा एक एक वटा मन्दिर, गुम्बा बनाइदिए, पूनर्निर्माण गरिदिए जाती हुन्छ । त्यसकालागिपनि रकम चाहिन्छ ।

अहिले हाट्ट हुट्ट सहयोग गर्ने । थोरै सहयोग उठाएका । एक पाकेट वाईवाई चाउ चाउ बाँडेर फेसबुकमा धेरै सहयोग गरेको देखाउनेहरु दुला पसेका हुने छन् । भारतीय सामाजिक संस्थाका स्वयंसेवीहरु फर्किसक्छन् । त्यसपछी नदेखिएका, लुकेका झन ठूला समस्या देखिने छन् । त्यसैले अहिले नै अनावश्यक ठाउँमा सहयोगका नाममा रकम दुरुपयोग नगरेको ठीक हुन्छ ।

अर्को भुल्न नहुने पक्ष, सामुहिक सहयोगअबारे सोच्नु राम्रो । जस्तै, गाउंमा धारो बनाइदिए सिंगो गाउँलाई हुन्छ । स्कूल बनाइदिए सिंगो गाउँका मानिसले केटाकेटी पढाउन पाउँछन् । केही बाख्रा पाठा पालनमा सहयोग गरिदिए घरको आर्थिक समस्या टर्छ । सामुहिक भेला हुने थलो बनाइदिए गाउँमा आपतबिपत पर्दा काम लाग्छ । त्यसैले दिर्घकालिन रुपमा सोच्नु जाती हुन्छ ।

 

राहत बाँड्दापनि सकेसम्म कतै राहत छोड्नु छ भने गाउँका महिलाहरुलाई सहभागि गराउनुस् । गाउँका शिक्षक र पूर्व गाविस, जिविसका प्रतिनिधीले राख्नुस् । त्यसो गर्दा यती सामान कहाँ गयो भनेर दुरुपयोग हुन दिँदैनन ।

सामान दिँदा कुन पसलबाट कति सामान लिएको हो । पसले को हो ? फोन कती हो ? सबै संपर्कसहितको बिल लिने, दिने गर्नुस् । सहयोग दिँदा यो यो प्रमाण चाहिन्छ भन्नुस् । दु:ख पाएका, वास्तबिक पिडितको नाम स्थानिय प्रहरीले राखेको हुन्छ । वडा कार्यालयमापनि हुन सक्छ । त्यसबाट लिनुस् । पिडितको सूची हेरेर बाँड्नुस् । नत्र एउटै परिवारका सबै सदस्य लाम लागेर राहत लिन्छन । अहिले सहयोग दिन सकिन भनेर अप्ठेरो मान्नु पर्दैन । अरुले सहयोग गरे, मैले सकिन, नालायक बनें भनेर दुखी बन्नु पर्दैन । अब झन सहयोग गर्नु पर्ने बास्तविक समस्या देखिने छन् ।

तपाइँको प्रतिक्रिया