जापानीले चासो राख्दा तप्पतप्प आँसु
- छबी सापकोटा / जापान
केही दिन अगि देखि यो मनमा खुशी हराएको छ । खुशी हराए लगत्तै पातको टुप्पोमा शितको थोपा टल्किए झैँ आँखाको डिलमा आँशु छचल्कि रहन्छ । पुछ्न खोज्यो झन धाराको टुटी खोलेर छोडे झैँ तप तप चुहिरहन्छ । ज्यान जतिखेर नि थकित र बिरामी झैँ देखिन्छ । बोल्न मन नलाग्दा नलाग्दै पनि बाध्यताले बोल्नु पर्ने हुन्छ । हांस्न मन नलाग्दा नलाग्दै बाध्यताले हास्नु पर्दा चोट पो बिर्सिए कि झैँ लाग्छ| बाटोमा हिड्दा, सपिङ्ग गर्न जाँदा, पसल भित्र ग्राहक संग बोल्दा शुरुमै प्रश्न गर्छन ‘ओहो…..हजुर त नेपाली हुनुहुन्छ है ? तपाईको देशमा त ठुलो बिनाशकारी भुकम्प आएछ । कस्तो छ परिवारलाई ? तपाईको घरलाई त केहि क्षति पुर्याएन ?’
कस्तो छ तंपाईको घर छिमेकमा ? हजुरका आफन्त त कोहि हताहत भएनन ? मलाई यिनै प्रश्नले नतमश्तक बनाउछ र एक छिन अनुत्तरीत हुन्छु । दुई करोड नेपाली जनता रोईरहेको बेलामा मैले कसरी भनु म सुरक्षित छु भनेर ? कसरी भनु मेरो परिवार सुरक्षित छ भनेर ? कसरी भनु मेरा आफन्त सकुशल छन भनेर ?
सिंगो देशै चर्किएको बेला मैले कसरी भनु मेरो घर सुरक्षित भनेर ? देशै रोईरहेको बेला कसरी भनु मेरो गाऊ सुरक्षित भनेर ? म त एक परदेशी देश छोडे पछि देशै घर जस्तो लाग्दो रहेछ । सारा नेपाली आफ्नै परिवार जस्तो लाग्दो रहेछ । पृथक पृथक घरहरु आफ्नै घरका कोठा सरह लाग्दो रहेछ । चन्द्र सुर्य अंकित नेपाली झण्डा आफ्नै आङ्को न्यानो लुगा झैँ लाग्दो रहेछ । आजकल मलाई हरेकदिन यस्तै प्रश्नले बाटो छेक्छन| अनि बाटोमा तेर्सिएका यिनै गरालो पन्छाउन अनुत्तरित हुदाहुदै पनि भन्ने गर्छु । म एक नेपाली हुँ । मेरो नेपाल दु:खी छ ।





