प्रवाशी नेपालीकालागि मात्रिभूमीको सेवा गर्ने अवशर
यतिखेर सारा मुलुक रोइरहेको छ । जहाँ भएपनि जसरी बसेपनि एक अर्काको दु:खसुखमा साथ दिने, रुँदा सँगै रुने, हँस्दा सँगै हाँस्ने र आपतबिपतमा एकले अर्कोलाई सहयोग गर्ने नेपाली पहिचान, चिनारी हो । नेपालीको मन हो । त्यसैले नेपालमा आफ्नो जायजेथा र परिवार गुमाएर, बिपतमा परेका हाम्रा दाजुभाई दिदीबहिनी, केटाकेटीलाई सहयोग गर्नु नेपालीको कर्तब्य हो । जिम्मेवारी हो । त्यसैले यो बेला सबै कुरा भुलौं । राजनीति, हाम्रा बिमती, राजनीतिक चाख र सबै गुनासा र तुसहरुलाई थाँती राखौं । बिदेशमा बसेका नेपालीहरुको ऐक्यबद्दता देखाउँ ।
बिदेशका नेपालीहरु आफ्नै सुख सयल हेर्छन् । मोजमस्ती गर्न, धन कमाउन गएका हुन् । ति बिदेशकै ऐश आराममा भुल्छन् । तिनलाई स्वदेशको खासै चिन्ता हुन्न भन्ने धेरै नेपालीले सोच्छन् । तर बिदेशमा अनेक दु:ख र हण्डर खाएर परिवार धानिरहेका नेपालीहरु स्वदेशप्रती, आफ्नै देशप्रती चिन्तित हुन्छन् । स्वदेशका नेपाली रुँदा प्रवाशका नेपालीपनि सुखी हुन सक्दैनन् । तिनले जे सक्छन् साथ दिन्छन् भनेर देखाउने बेला हो यो । त्यसैले जहाँ बसेका भएपनि आफूले सकेको सहयोग गरौं । एक छाक कटाएर भएपनि यो बिपतमा प्रवाशका नेपालीले सहयोग गर्नै पर्छ । यो बेला प्रवाशका नेपालीले कुनैपनि बहाना, बाध्यता र नारामा रमाउनुहुन्न ।
सरकार यस्तो र उस्तो भनेर आलोचना गर्न सजिलो हुन्छ । तर यस्तो बिपत जहाँ जुन देशमापनि पर्न सक्छ । आर्थिक रुपले कमजोर हाम्रो भूमीको सरकारपनि कमजोर छ । स्रोत र साधनयुक्त छैन । त्यसैले न चाहइने हो नागरिक तहको सहयोग र साथ । प्रवाशमा २५ लाख नेपाली छौं । यो बेला हरेक नागरिकले केही न केही सहयोग गर्ने हो भने धेरै नेपालीको सेवा गर्न सकिन्छ । प्रवाशमा बस्ने नेपालीकालागि यो स्वदेशको सेवा गर्ने यो अवशरपनि हो ।
हरेक होटेल, रेस्टुरा, पसलमा कामा गर्ने नेपाली नेपाली मिलेर साना साना समूह बनाउँ । सकेको रकमा उठाउँ । सकिन्छ भने बिदेशी संघ संस्था र मित्रहरुलाईपनि हातेमलो गर्न लगाउँ । नसके एक छाक काटेरपनि मात्रिभूमिकालागि सहयोग गरौं ।








