सूचना लुकाउने फ्रान्सेली मेडिया

  • ददि सापकोटा

Bernard+Henri+Levy+Charlie+Hebdo+First+Team+ZcyfmstkEM2l

‘हेल्लो म साईद काउची हो । हामी सरकारसित झुक्दैनौं । माफीपनि माग्दैनौं । हामीलाई यहाँ छौं भनेर छिटो पुलिसलाई खबर गरिदिनुस् न । हामी अल्लाका नाममा मर्छौं तर शरण पर्दैनौं ।’ दर्जन पत्रकार मारेको आतंककारीले कुनै पत्रीकामा फोन गरेर यसो भने हामी के गर्थ्यौं होला ? अवश्यैपनि ब्रेकिङ न्युज भन्दै खुब प्रचार हुनथाल्थ्यो । मख्ख पर्थ्यौं हामी । यही समाचार अन्य रेडियो र टिभीले फुक्न थालिहाल्थे । तर फ्रान्सेली मेडियाले यो सूचना लुकाए । 

मेडियाले सूचना लुकाउनुहुन्न । बरु ठूला घटनाहरु भएका बेला झन त्यसका हरेक पक्षबारे खोजिखोजी सूचना सार्वजनिक गर्नुपर्छ भनिन्छ । तर फ्रान्सेली मेडियाहरुले भने राष्ट्रिय सुरक्षा संकट परेका बेला सूचना लुकाउँछन । पाएको सूचना सार्वजनिक नगरेरै राष्ट्रिय हितमा काम गर्छन् । गत जनवरी ७ का दिन फ्रान्सको हाँस्यब्यंग्य संवन्धी प्रसिद्द पत्रीका चार्ली हेब्दोको कार्यालयमा आतंककारी हमलाका बेला यही गरे ।

गत जनवरी ७ का दिन ब्यंग्य पत्रीका सार्ली हेब्दोको कार्यालयमा हमला गरेर एक दर्जन पत्रकारको हत्या गरेका अफ्रिकी मूलका फ्रान्सेली दाजुभाई साईद कुवाची र सेरिफ कुवाचीले हेब्दो पत्रिकामा हमला गरेपछी एक पछी अर्को गर्दै सडकमा गुडिरहेका गाडी कब्जा गर्थे । गाडी फेरि फेरि चढेर भाग्ने गर्दै थिए । यस्तो बेला फ्रान्सेली मेडियाले सरकारलाई यती सहयोग गरे कि तिनले पेरिसको नाकाबाट निस्किने चौतर्फी आफ्ना मुभी क्यामरासहितका पत्रकार खटाइदिए । सुरक्षाकर्मी परिचालन त भएकै थिए । आतंककारीहरुलाई घेराबन्दिमा परेको अनुभुती भयो र तिनले दँ मार्ताँ अँ गोयल भन्ने पेरिसको काँठमा एक गाउँको प्रिन्टिङ मेशिन राखेको घरमा शरण लिए । प्रिन्टिङ गृहका सञ्चालकसहित ।

आतंककारीहरुले सबै सूचना लिइरहेका रहेछन बाहिर के भैरहेको छ भन्ने । उनीहरुले प्रिन्टिङ मेशिन राखेको घरका सञ्चालकलाईपनि कब्जामा लिएर भित्रै बसिरहे । त्यहिँबाट फ्रान्सेली केही प्रसिद्द मेडियालाई खबर गरे ‘हामी यसरी बसिरहेका छौं । प्रहरीहरुलाई खबर गरिदेउ । हामी मर्न चाहन्छौं । शरण पर्दैनौं ।’ तर फ्रान्सेली कुनैपनि मेडियाले त्यसलाई सार्वजनिक गरेनन् । फ्रान्स तिन टिभीका पत्रकार फ्रँक पेरेस भन्छन् “नागरिकहरु आतंकित नबनुन भनेर मेडियाहरुले नदिएका हुन । अर्को कुरा आतंककारी हो भन्ने अनुमान र दाबी न हो, अदालती पुष्टि भएको त थिएन । अपराधी भनेर न्यायिक निकायले पुष्टी नभएका ब्यक्तिलाई मेडियाले सुरक्षाकर्मी लगाएर हत्याको कारक बन्नुहुन्न भन्ने हो ।”

तर आतंककारीले कब्जामा लिएर सँगै राखेका प्रिन्टिङ गृहका सञ्चालकलाई कसरी जोगाउने ? यसमा फ्रान्सेली मेडियाले निकै जोड दिए । सरकारको एक पक्ष प्रिन्टिङ गृहका साहुको मिलोमतो नभै ति आतंककारीले कसरी शरण पाए ? तिनलाई बेलैमा जिवितरुपले कब्जामा लिनुपर्छ । नत्र ढिलो गर्नुहुन्न, बरु तेस्रो ब्यक्तिको ज्यान गए जान्छ भन्ने पक्षमा देखिन्थे ।

सरकारी पक्षको त्रास के थियो भने तिनलाई पक्राउ गर्न वा सिध्याउन जती बिलम्ब भयो उती तिनको आतंकाकारी सञ्जालले काम गर्छ र अन्यत्र हमला गरिरहन सक्छन् । तर फ्रान्सेली मेडियाले ति नागरिकलाई जबर्जस्ती वाध्य पारेको, तिनको कुनै संलग्नता नभएको हुनसक्ने भएकाले जसरिपनि जोगाउनुपर्ने भनेर लगातार दबाब दिईरहे । तिनले आतंककारी काउचीका दाजुभाईसित इन्टरनेट मार्फत संपर्क गरिरहे । ति बसेको कोठा, अवस्था र कब्जामा खास कती जना छन भन्ने बारेमा जानकारी लिए । तर यो सूचना सार्वजनिक गरेनन् । तिनले काउची दाजुभाईले कब्जामा लिएका तेस्रो ब्यक्तिलाई अनाहकमा ज्यान गुमाउन नदिन आग्रह गरिरहे ।

अन्तत : काउची दाजुभाईले प्रिन्टिङ गृहका सञ्चालकलाई मुक्त गरिदिए । काउची दाजुभाईले शरण लिएको घरमा अपरेशन गर्नु अघि राष्ट्रपती स्वयं उपस्थित हुनुपर्ने बाध्यता बनाइदिएर एक जना नागरिकको सुरक्षामा कति महत्वपूर्ण र गम्भिर हुनुपर्छ राज्य भन्ने देखाइदिए ।  बिएफएम टिभीका रेमी बार्बी सम्झिन्छन “दुई जना आतंककारी मार्ने नाममा अर्को ब्यक्तिको ज्यान गए त्यसले अर्को बिपत्ती निम्त्याउला भन्ने त्रासले गृह मन्त्रीलेपनी निर्णय गर्न नसकेका हुन् । राष्ट्रपतीनै उपस्थित हुनुपर्ने बाध्यता यहाँका मेडियाले बनाइदिए ।” तर सबै घटना अन्त्य भाईसकेपछी फ्रान्स एक र बिएफएम टिभीले तिनको अडियो वार्तानै सुनाइदिए । यसले फ्रान्सेली मेडियाले पाएको सूचना राष्ट्रिय हितकालागि सोचेर लुकाएको प्रस्ट पारिदियो ।

राष्ट्रिय मुद्दामा राजनीतिक दलहरुलाई एक ठाउँमा आउनपनि फ्रान्सेली मेडियाहरुलेनै बाध्य बनाएर अर्को सकारात्मक भूमिका खेले । सरकारले राष्ट्रिय संकट घोषणा गरेको थियो । तर नेपालका दलहरु झैं फ्रान्सका मुख्य दलहरुपनि तानातान र खिचतानेमै सक्रिय थिए । सरकार, सरकारको नेत्रित्वकर्ता दलको आलोचना गर्दा झन फ्रान्सेली नागरिक बिभाजित होलान, राष्ट्रिय संकटका बेला झन समस्या थपिएला भनेर फ्रान्सेली मेडियाले सरकारलाई यो मामिलामा अन्य दलहरुको सहयोग र समर्थन लिन वाध्य बनाए । सरकारलाई बिपक्षी दलहरुसित सहयोगको हात फैलाउन दबाबपूर्ण भूमिका खेले । बिपक्षी दलहरुलाईपनि सरकारको आग्रहमा सहयोग गर्न सकृय हुने बातावरण । यसैको परिणाम थियो, मुख्य प्रतिपक्षी दलका प्रभावशाली नेता, पूर्व राष्ट्रपती निकोला सार्कोजीको राष्ट्रिय संकटमा सबै फ्रान्सेलीलाई एक भएर सरकारलाइ सहयोग गर्न गरिएको सार्वजनिक आव्हान । मेडियाहरुले अती दक्षिणपन्थी दल नेशनल फ्रन्टको असहयोगकारी भूमिकालाई तिब्र आलोचना गरे । उनका आरोप र कटु आलोचनालाई उती स्थान दिएनन् । अधिकांश दलहरुलाई उनीहरुले एकै थालोमा उभ्याइदिए ।

प्राय फ्रान्सका नेता, राजनीतिक दलपनि अन्य मुद्दा र घटनामा सरकार र सरकार सन्चालन गर्ने दललाई दोष लगाउँथे । गाली गर्थे । सरकार सन्चालन गर्ने दललाई खुइल्याएर कमजोर बनाउन खोज्थे । तर यो घटनामा भने फ्रान्सका सबै मुख्य पार्टी र तिनका नेता एक ठाउँ उभिए । त्यो प्रयास फ्रान्सेली मेडियाको थियो । ‘यो हाम्रो समानता, मानव अधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार, फ्रान्सेली संस्क्रिति, सभ्यता, प्रजातन्त्र र समग्रमा आफ्ना नागरिकमाथिकै हमला हो । यसलाई गम्भिरतापूर्वक लिएर कदम चाल्नुपर्छ ।’ फ्रान्सेली मेडियाले सबै नागरिक, नेता र दलहरुलाई यही सन्देश दिईरहे ।

फ्रान्सेली मेडियाले खेलेको अर्को महत्वपूर्ण पक्ष धार्मिक र जातिय दंगा भड्किनबाट जोगाउनुपनि हो । आक्रमणकारी तिनै जना अफ्रिकी मूलका थिए । ति मुस्लिम धर्मका कट्टर अतिवादी थिए । तिनले अल्लाका नाममा नागरिक बन्धक बनाउने, मार्ने गरेका थिए । पोख्त भिन्सेन्टमा आमेदी कुलीबालीले जुइफ धर्मवलम्भीको ग्रोसरी पसलमा पसेर केही सर्वसाधारणलाई बन्धक बनाएका थिए । ति आतंककारीहरुले जुइफहरुमाथि आक्रमणको धम्की दिएका थिए । यसबाट मुसलवान र अन्य धर्म मान्नेबिच धार्मिक द्वन्द हुनसक्थ्यो । किनभने क्रिस्चियन र जुइफ धर्म मान्नेहरुले आफूहरुमाथि धार्मिक विश्वासका आधारमा आक्रमण गरेको प्रतिकृया दिइरहेका थिए ।

यो घटनालाई मुसलवान समूदायले आतंककारी हमला र मुसलवान समूदायको कुनै संलग्नता र समर्थन् नरहेको भन्दै बिरोध जनाए । तर फ्रान्सेलीहरूको नागरिक तहबाट सद्भावना पाउन सकेको थिएन । धेरै फ्रान्सेलीहरूले मुसलवान समूदायलाई फ्रान्सेली सरकारले पालेको, तिनलाई समर्थन् दिएको, फ्रान्सले गुन लगाएको र फ्रान्सेलीसरह ब्यवहार गरेपनि मुसलवानहरू फ्रान्सेली बिरुद्द देखिएको भन्दै बिरोध गरेका थिए । रंग, धर्म र जातिभेदको आरोप लाग्ने फ्रान्सेली कानुनले गर्दा खुलेर प्रस्टरुपमा बिरोध गर्न नसकेपनि यो घटनाबाट मुसलवान समूदायप्रती उनीहरू अब सरकारले कडा निति बनाउनुपर्ने मानसिकता बनाउँदै थिए । केहिले हाकै भनेका थिए ‘फ्रान्स मुसलवानहरूको मनपरी गर्ने थलो होईन । हाम्रै थलोमा बसेर, फ्रान्सेलीले आदर गर्दागर्दैपनि हामीबिरुद्द हमला ? यसलाई अब हामी पचाउन सक्दैनौं । फ्रान्सले मुसलवान समूदायलाई पाल्ने काम नगरोस् ।’

तर फ्रान्सेली मेडियाहरुले त्यसलाई स्थान दिएनन् । बरु ईस्लामिक, जुइफ, क्रिश्चियन धर्मका गुरु, नेत्रित्वकर्ता, संस्थाका प्रमुखहरुलाई मेडियामा ल्याएर प्रत्यक्ष रुपमा संवाद गराए । उनीहरुले ‘आतंकवाद, आतंककारीको धर्मसित कुनै संवन्ध हुन्न” भन्दै धार्मिक शाहीष्णुताका पक्षमा निरन्तर जनमत बनाए । आतंककारीहरु भएकाले तिनको हत्यामा मुस्लिम समूदायको आपत्ती नहुने मुस्लिम धार्मिक संस्थाका अगुवाहरुको भनाइलाई स्थान दिए ।

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रीकामा आक्रमण गरेर आठ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतंककारी बिरुद्द जनवरी १२ का दिन मौन जुलुस आयोजना गरिएको थियो । पेरिसमा मानव सुनामी उर्लियो । हरेक समूदाय, धर्म, जात र वर्गका मानिसहरुलाई एकजूट भएर जुलुसमा उतार्ने काम मेडियाले गरे । फरक फरकफरक मेडियाका अनुसार १० लाख देखि १५ लाख मानिसहरू प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, गणतान्त्रिक फ्रान्स, मानव अधिकार र समानताका लागि सडकमा उत्रिए । यो मौन जुलुसमापनि केही फ्रान्सेलीहरुले ‘फ्रान्स फ्रान्सको हो, धार्मिक आक्रमण गर्न पाइन्न, म क्रिश्चियन हुँ भनेर आक्रमण गर्ने ? फ्रान्स मन नपरे यहाँ बस्नु वाध्यकारी छैन ।’ आप्रवाशी र अन्य धर्मलाई मनोबैज्ञानिकरुपमा हेप्ने यस्ता प्लेकार्ड बोकेका थिए । त्यसैले एक अर्को वर्ग, समूदाय र धर्मप्रती बैमन्स्यता उब्जन्छ भनेर फ्रान्सेली मेडियाहरुले स्थान दिएनन् । बरु फरक फरक धर्म, समूदाय, अनुहारका मानिसहरुको सद्भावपूर्ण भनाइहरुलाई स्थान दिए ।

त्यसो त आतंकलाई पटक्कै स्थान दिनुहुन्न भन्ने फ्रान्सेली मेडिया निति गज्जबको छ । पेरिसको छेउमा रहेको पोख्त द भाँसँ भन्नेको ग्रोसरी पसलमा केही सर्व साधारणलाई बन्धक बनाएका आमेदी कुलीबाली र काउची दाजुभाई दुबैको हत्या कसरी गरियो । कसरी प्रहार गरियो । तिनको लास कस्तो देखिएको थियो । बन्धक बनेकाहरुले कस्तो त्रास भोगे भन्ने मेडियामा दिएनन् । ‘ आतंककारीमाथि हमला भएको आवाज त सुनाए । तर अहिलेसम्मपनि त्यसको द्रिष्य देखाएका छैनन् । हत्या हिंसाको प्रचारले त्यसैलाई बढाउँछ, मान्छेका संवेदनशिलता र कोमलतामा क्षती पुग्छ भन्ने हाम्रो बुझाई हो । त्यसैले हामी सकेसम्म दिन्नौं’ बार्बी भन्छन् ।

फ्रान्सेली मेडियाहरुले को सूचना पहुँछ र दिएको सूचना भरपर्दो हुनुको कारणपनि गज्जबकै छ । हाम्रोमा झैं उनीहरु जतिबेला कुनै बिषयको विशेषज्ञ आवश्यक पर्छ उतिखेर संपर्क गर्ने र खोज्ने गर्दैनन् । हवाई, सेना, प्रहरी, हिमाल आरोहण, बैदेशिक निति, भ्रस्टाचार, धर्म आदी हरेक बिषयका विशेषज्ञहरुलाई स्थाई रुपमै नियुक्त गर्दा रहेछन । कर्मचारीकै रुपमा नियुक्त नभएपनि तिनले आवश्यक पर्नासाथ चौबिसै घण्टा संपर्कमा रहने, वा ति आफू उपलब्ध नभए अर्को बिकल्प खोजिदिने र मेडियाकै कार्यालयमा बसेर बहसमा सहभागि रहने, सूचना दिने गर्दा रहेछन् । फ्रान्सेली मेडियाहरुले रिटायर्ड भएका चिकित्सक, विशेषज्ञ, सैन्यबिद, पूर्व मन्त्रीहरुलाई आफ्नो मेडियामा अस्थायीरुपले अनुबन्ध गर्दा रहेछन् । यसो गर्दा बहालवाला कर्मचारी, मन्त्रीसम्म उनीहरुको बिषय अनुसारको पहुँच हुँदो रहेछ । त्यसैले फ्रान्सेली मेडियाले कुनैपनि घटनाको सूचना तत्कालाई, भरपर्दो किसिमले ल्याउँछन ।

(प्रेस काउन्सिल नेपालको बुलेटिन संहितामा प्रकाशित)

तपाइँको प्रतिक्रिया