देवदह नगरमा पर्यटक घुमाउने रहर
- सिद्धिचरण भट्टराई / बुटवल
देवदह नगरपालिका घोषणा भए लगत्तै यसलाई कसरी विकसीत र समृद्धनगरका रुपमा विकास गर्ने भन्ने मुल प्रश्न देवदह वासी राजनीतिक दल र समाजसेवीहरुका मन मष्तिष्कमा चलिरहेको सवाल हो । भर्खरै प्रथम नगर परिषद गरेको देवदह नगरपालिकाले पर्यटन, कृषि र पुर्वाधार : समृद्ध देवदहका आधार भन्ने मुल नारा तय गरेको छ । यसबाट नगरपालिकाको भावी दिशा र प्राथमिकता प्रष्ट हुन्छ । ४५ हजार नगरवासी १० हजार बढि परिवार रहेको देवदहमा जनसंख्याको तिब्र बृद्धि छ । यसको मुल कारण बसाई सराई हो जसले गर्दा शहरीकरण तिव्र छ । व्यवस्थित बसोबास चुर्नौति छन । खानेपानी, ढल निकास, बिद्युतिकरण, सडक, सिँचाई, घर निर्माण, सुरक्षा जस्ता क्षेत्रमा समस्या छन । जसको समाधान विना सुन्दर र व्यवस्थित नगर बनाउन सकिदैन । यसका वावजुद नगरपालिकाले आफनो प्राचिन इतिहास र भविश्यको गन्तव्यको सम्वन्ध निरुपण गर्न र यसैको महत्वको छायाँमा आफनो समृद्धिको सपना पनि पाल्दैछ ।
प्राचिन देवदहको प्रमाणिकरण
बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मावली र ससुराली स्थल हुनुका साथै प्राचिन कोलिय गणराज्य हुनुले देवदहले नेपालका मात्र होइन बिश्वभरका पर्यटकलाई आफनो आँगनमा ल्याउने सामथ्र्य राख्दछ । देवदहका जमिन मुनि विश्वसम्पदा सुचिमा पर्ने प्राचिन स्मारकहरु दविएका छन तिनलाई सतहमा ल्याउन सरकारीस्तरबाट प्रयास जारी छ । पुरातत्व विभागले गरेको उत्खननबाट बाह्रसय बर्ष अगाडिका मानव सभ्यता फेला परेका छन । देवदहको प्रमाणीकरण भई नसकेपनि बौद्धतिर्थस्थल भएका प्रमाण भेटिइसकेका सकेका छन ।
भवानीपुर, एतिहासिक पाँकरी बृक्ष, बैरीमाई कन्यामाई, देवदह र खयरडाँडा जस्ता क्षेत्रहरुमा रहेका प्राचिन इटाहरुले प्राचिनतम मानव सभ्यतास्थल हो भन्ने कुरा मा दुईमत छ्रैन । बौद्धग्रन्थमा पाइएका प्रमाण र हुयन सांग र फाइयान जस्ता तिर्थ यात्रुका यात्रावर्णनले लुम्बिनी र देवदहको दुरीका आधारमा यही क्षेत्र भएको पुष्टि गर्दछन । यद्यपी त्यतिखेरको कोलिय गणराज्य निष्चय नै बिशाल थियो । अहिलेको नगरपालिकाको मात्र सिमाले प्राचिनतम कुरा प्रमाणित गर्न सक्दैन । प्राचिन देवदह यहाँदेखि सुनवल र पण्डितपुर रामग्राम सम्मनै हुन सक्दछ । यसमा जिकिर गर्नु भन्दा प्रमाणिकरणको प्रक्रिया अगाडि बढाउनु सबैका लागि हितकर हुन्छ ।
पर्यटन गुरु योजना
देवदह नगरपालिकाले आफनै पहलमा पर्यटन गुरु योजना यस बर्ष निर्माण गदैछ । यसका लागि हामिले केही बर्ष देखि आवाज उठाउँदै समेत आएका थियौं । देवदहको विकासका लागि धेरै संस्थाले धेरै प्रकारले कुरा उठाएको र काम अगाडि बढन नसकेको स्थिती थियो । प्राचिनतम धरोहरलाई आफनो अनुहारमा झल्काएर देवदहले पर्यटकहरुलाई कसरी आकर्षित गर्ला ? यहि प्रश्नमा घोत्लिएर हामिले योजनाहरु अगाडि लैजानु पर्ने छ । गुरु योजना बनेमा विभिन्न बौद्ध धर्म अनुयायी देशमा हामी स्वयंले आग्रह गर्न सक्छौ र सरकार संगको समन्वयमा सोझै सहयोग ल्याउन सक्ने अवस्था हुन्छ । यस स्पष्ट बाटो तय गर्नेछ ।
नगरपालिका मार्फत हामीले अघि सारेका योजनाहरुलाई केही चर्चा गरौं । आगामी ५ बर्ष सम्म लगातार बजेट बिनियोजन गरी नगरपालिकाको दृष्टिकोणमा आधारित भई दीर्घकालिन योजनाका साथ अगाडी बढने सोँच रहेका योजना निम्न छन ।
भवानीपुर : देवदहको कोलिय गणराज्यको दरवार भएको ठाउँ यही क्षेत्रलाई मानिएको छ । यहाँ प्राचिन धारा र मुर्ति, पर्खाल भेटिएको छ । यो देवदहका स्थलहरु मध्ये अत्यधिक बौद्ध धर्मका तिर्थालुहरु आउने स्थल हो । यहाँ नगरपालिकाले ‘गोल्डेन टेम्पल अफ लभिंग बुद्ध‘ निर्माणकोे योजना बनाएको छ । यहाँ आउने पर्यटकलाई ध्यानमा राखेर पार्किंग क्षेत्र बनाउने योजना अगाडि सारेको छ ।
बैरीमाई कन्यामाई : यो क्षेत्रमा लुम्बिनी विकास कोष र पुरातत्व विभागले उत्खखन गरी प्राचिन पर्खाल र इनार, बुद्धका मुर्तिहरु फेला पारेका छन । प्राचिन मुर्तिहरुलाई बटुलेर स्थानिय बासीले एक मन्दिर बनाएका छन । यहाँ लुम्बिनी विकास कोषले प्राचिन बस्तुको संरक्षणका लागि एक चाैिकदार राखेको छ । यहा को संरक्षणका लागि तारबार र गेट निर्माण जरुरी छ । निरन्तर उत्खखन आवश्यक छ । स्थानिय समितीको सक्रियतालाई बढाएर भित्र आउने तिर्थालुका लागि प्रवेश शुल्क लिने प्रचलन शुरु गर्न जरुरी छ ।
पाँकरी बृक्ष : पाँकरी बृक्ष देवदहको सुन्दर पर्यटकिय गन्तव्य बनिरहेको छ । यो एतिहासिक र बौद्धकालिन बृक्ष हो भन्ने जनविश्वास छ । कहिल्यै पात नझर्ने, चराले गुँड नलगाउने, बिभिन्न तलामा सजिएको र हात्ति नजाने, कौवा नवस्ने जस्ता बिशेषताले यसलाई अलौकिक शक्ति भएको रुख मानिएको हो । यहि बिशेषताका साथ यस बृक्षको छायाँमा बसी ध्यान गर्ने, युगल जोडिले कसम खाने गरेमा प्रेम नित्य रहने बिश्वास छ । यही कुरालाई प्रचारित गरेमा यहाँ आन्तरिक र बाह्य पर्यटक बृद्धि हुने हुँदा नगरपालिकाले यसको संरक्षण, जग्गा विकास, प्रचार प्रसार गर्न बजेट बिनियोजन गरेको छ । स्थानिय सामुदायिक संस्था मार्फत यसको भित्र पस्न र बस्न प्रवेश शुल्क लिने व्यवस्था गर्न खोजिएको छ । यस वरीपरि फराकिलो जग्गाको कमि देखिएको छ । यसलाई बृद्धि गर्न योजना बन्नु पर्दछ ।
देवदह यशोधरा पार्क : बुद्ध दर्शनमा स्नाकोत्तर गर्ने डा. कृष्ण न्यौपानेका अनुसार प्राचिन बौद्धकालिन कोलिय गणराज्यका राजाहरुले नुहाउने क्रिडा गर्ने पुस्करीरिणी तलाउ देवदह हालका देवदह नपा वडा १० घोडाहा प्रगति सामुदायिक वनभित्र रहेको दह हो । यसको दक्षिणतर्फ खयरडाँडामा प्राचिन इटा र पर्खाल रहेकोले यसलाई पुष्टि गर्न बल मिलेको छ । यसलाई एउटा सुन्दर र आकर्षक पार्कको रुपमा विकास गर्न नगरपालिकाले नगरपरिषद मार्फत एउटा दृष्टिाकोण सहित दीर्घकालिन योजनामा समावेश गरेको छ । आगामी ५ बर्षमा एउटा सुन्दर पार्कमा विकसित भईसक्ने गरी बजेट बिनियोजन शुरु गरिएको छ । जहाँ पिक्नीक पार्क सेडहरु, मिनि जु, चिल्डैन पार्क, जैविक पार्क लगायत आकर्षहरु रहनेछन ।
दहलाई ३ बिगाह जग्गामा फैलाईने छ । त्यसको सुन्दरता र सिमसार अवस्थालाई संरक्षण हुने गरी तालको विच भागमा बुद्धकी धर्म पत्नी यशोधरा, छोरा राहुल र बुद्धको प्रतिमा राख्ने र त्यसलाई पानीको फोहोरा दिने, सो ठाउँमा जान सानो पुल बनाउने गर्न सकिनेछ । यसैगरीखयर डाँडा तर्फ व्यवस्थित उत्खनन गरी सो ठाउँलाई बिश्व प्राचिन सम्पदा क्षेत्र को रुपमा राखी उत्तर दक्षिणको जगंल बिशाल कोलिउ उपवन को रुपमा विकास र संरक्षण गर्ने अवधारणा समेत नगरपालिकाले राखेको छ ।
माथागढी र सरनावारी होमस्टे : देवदह अझैपनि पुर्ण नगरको रुपमा विकसित भई सकेको छैन । यसमा ग्रामिण परिवेश, परम्परागत कला र सष्कृति बिद्यमान छ । नगर सभ्यताको विकास हुँदै जाँदा र शहरीकरणका साथै पश्चिमी सभ्यताको प्रभाव बिस्तारले हाम्रा परम्परा लोप हुने खतरा पनि छ । यसलाई बचाउन र मानिसलाई पर्यटनबाट फाइदा लिन सिकाउन होमस्टे गाउँ प्रभावकारी उपाय ठानिँदै आएको छ । यसर्थ देवदहनपा ७ को सरनवारी गाउँ हामी सबैको छनौटमा परेको छ । परम्परागत मगरवस्ती हुनाले यसलाई संभव बनाएको छ । यसै बर्ष देखि तालिम प्रदान गरी ५ घरबाट शुरुवात सामेत गरेको छ । स्थानिय तहमा होटल र लज कम भएको अवस्थामा देवदहको यो कार्यक्रम अझ प्रभावकारी हुने छ । माथागढी सम्म सरनवारी हुँदै ट्रकिंग मार्ग र माथागढी माथामन्दिरको संरक्षण, उत्तर हिमाल, दक्षिण रामग्राम, लुम्बिनी र देवदह कोलिय क्षेत्रको स्थानहरु हेर्ने गरी भिउ टावर निर्माण गर्न सकिने छ । सुदुर भविश्यमा खैरेनी माथि दाउन्ने वा सरनवारीबाट केवुलकार पनि चलाउन सकिने छ । जसले गर्दा मनकामना जस्तै महत्वपूर्ण माथागढी मन्दिरको दर्शनार्थीलाई सहजहोस र आन्तरिक पर्यटनमा समेत छलांग मार्न सहयोग पुग्ने छ ।
यसका अतिरिक्त देवदह नगरपालिकाले सबै दलहरुको सहभागितामा देवदह चक्रपथ, मदनआश्रित पार्कमा देवदहमण्डप, मायाँदेवी पार्कमा बौद्ध गुम्वा, कृषी पर्यटनको रुपमा अग्र्यानिक खेति, कृषि पकेट क्षेत्र, देवदह ८ सितलनगरको वडाकार्यलयमा बहुउद्देश्यीय भवन देवदह संग्रालय, पर्यटन सूचना केन्द्र, देवदह ८ मा मायाँ देवी सामुदायिक हश्पिटल जस्ता पुर्वाधार विकासका योजना अगाडि सारेको छ । दुग्ध उत्पादनमा नेपालमै नाउँ कमाएको देवदहले दुग्ध जन्य परिकार उत्पादनमा ध्यान लगाउन खोजेको छ । अहिले बढि भन्दा बढि बजेट सडक कालोपत्रेमा रहने गरेकोले दृष्टिकोण बोकेका योजनाहरुले त्यति स्थान पाएका छैनन तर यहाँको विकास वा परिवर्तन यसबाट मात्रै सम्भव छ । भर्खरै भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य हुदैछ । ३ बर्ष भित्र त्यो पुरा हुनेछ । यसले लुम्बिनी घुम्न आउने र पोखरा जाने पर्यटकलाई एकदिन देवदहेमा राख्ने गरी यहाँेको पुर्वाधार बनाउन सकेमा हामीले छिटैनै सिँगापुरले प्राप्त गरे जस्तै उपलब्धि प्राप्त गर्न सक्छौ ।
देवदह नगरपालिकाले पर्यटन गुरु योजनाका लागि केहि बिशेषज्ञहरुलाई जिम्मादिई सकेको छ । यस परिस्थिीतिमा पर्यटन विकासबाट समुदायले लाभ लिने स्थिती सिर्जना गर्न र त्यसमा पनि आर्थिक रुपमा सिमान्तकृत समुदायले फाइदा लिने गरी योजना बनाउन जरुरी छ । पुर्वाधार विकास संगै पर्यटनजन्य साना उद्योगहरु स्थापना गरी स्वरोजगारी, रोजगारी र आर्थिक बृद्धि पनि हुनेछ ।
(लेखक नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य देवदह नगर इन्चार्ज हुनुहुन्छ )








