युनिटीले ठगेको होइन, हाम्रै बिबेकले

10863585_10203130751136677_1309385554_n

  • पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क

कुरा सन २००७ तिरको हो । म त्यतिबेला, हरिसिद्धीमा अक्सिफ्रेस नामक मिनरल वाटर खोलेर बसेको थिएँ । लगभग ३ वर्षसम्म नेटवर्क मार्केटिंगका नाममा खुलेका प्रायः सबै कम्पनीका सञ्चालकहरुलाई एकजुट बनाई प्रत्यक्ष विक्री ऐन बनाउन नेपाल सरकारलाई दवाव दिन र डाइरेक्ट सेलिंग एसोसियन बनाउनका लागि पहल गरेर पनि थाकेको अवस्था थियो । कसैको नैतिकता चोखो थिएन । जो पनि कसरी धनी हुने भन्ने विषयमा चिन्तित थिए । त्यसैले मैले गरेका हरेक प्रयासहरु विफल भए ।

मिनरल वाटरको कारखानामा एकजना पुराना नेटवर्ककै कारणले चिनेका बुटलवासी मित्र किरण मल्लजी मलाई खोज्दै आउनु भयो । वहाँले मलाई खोज्नुको कारण पनि भन्नु भयो । पुनः त्यही विषय, नेटवर्क मार्केटिंगको । युनिटी लाईफ नामक कम्पनीमा आवद्ध हुनका लागि वहाँको अप्रत्यक्ष अफर पनि थियो । जुन मैले स्वीकारिन । तर वहाँले मलाई गंगवू स्थित कुनै फाईनान्स कम्पनी र युनिटी लाईफको कार्यालयमा लैजानु भयो । मलाई उक्त ठाउँमा लैजानुको कारण, नेटवर्कका नाममा चलेको उक्त कम्पनी कत्तिको कानून र नीति सम्मत छ, हेर्न र बुझाउनु थियो ।

त्यहाँ केही सैयाको अस्पताल पनि खोलिएको कुरा थाह भयो । फाईनान्स सेवा र अस्पतालले दिने उपचार सेवालाई युनिटीले नेटवर्क मार्केटिंगको माध्यम बनाएको रहेछ । नमिल्ने कुरा केही पनि थिएन । किन भने, एक्सल र एसिएन नामक अमेरिकी कम्पनीहरुले पनि टेलिफोन, बिमा र कानूनी सेवाहरु दिएर नेटवर्क मार्केटिंग गरेर अमेरिकामा राम्रै ख्याती कमाएको कुरा मैले पत्ता लगाएको थिएँ । उक्त युनिटी लाईफले दिन खोजेको कुरा पनि नेपालीका लागि आवश्यक सेवामध्येकै थिए ।

विष्णू क्षेत्री लगायतका थुप्र्रै सदस्य साथीहरुका साथ लगभग दुईघण्टा वार्तालाप भयो । उनीहरुका म्याक्यानिजम र लेनदेनका पद्धतिहरुको जानकारी लिएँ । सबै कुरा मनासिव लाग्यो । तर, केही आचार संहिता भने, पिरामिड स्कीमका जस्ता थिए । यद्यपी तिनमा सुधार आवश्यक देखिन्थ्यो । तर मलाई एउटा विषय भने निकै खट्कियो । त्यस दिन पहिलो र अन्तिम पटक म पुगेको थिएँ । त्यस दिन विष्णू क्षेत्रीजी (उक्त कम्पनीका सञ्चाल) लार्इ मैले भनेको थिएँ, “कम्पनी दर्ता गर्दैमा र भ्याटको सर्टिफिकेट लिदैमा अस्पताल र फाइनान्स कम्पनी खोल्न पाइदैन । त्यसका लागि सम्बन्धित निकायकायको अनुमती पनि लिनु पर्छ । ल हेर्नु यी याँहा कम्पनी दर्ताको प्रमाण पत्रका तल लेखेको छ ।” निःशुल्क पाएकोले होला, तर मेरो परामर्श मान्नु भएन । अन्ततः यूनिटी एउटा ठग कम्पनी सावित भयो र दुइ लाखभन्दा बढी नेपाली नेटवर्क मार्केटिंगको नामबाट अन्तिम पटक त्यसरी ठगिए ।

तर…. नेटवर्क मार्केटिंग ठगहरूले गर्ने धन्धा होइन । यो त सूचनाको युग अनुसारको एक फरक तरिका र योजनाले बजार व्यवस्थापन गर्ने एक फरक पद्धति हो भन्दै गर्दा, वहाँहरुमा अचम्मको घमण्ड थियो । वहाँहरुले मैले भन्दा नेटवर्क मार्केटिंगका बारेमा धेरै जानेको कुरा पनि घुमाउरो पाराले सुनाउनु भयो । साथै ठूल्ठूला नेता र महानेताहरुको पनि साथ र समर्थन रहेको ध्वाँस पनि दिनु भयो । त्यसरी मुख्र्याईं गरेर हुँदैन है, नेता न सेता । जुन दिन कानुन सम्मत भएन भनेर समात्यो भने, समाति हाल्छ । त्यस बेला नेता न सेता, कसैले चुईंक्कसम्म बोल्दैनन् । बरु, थामथुम पारेर उल्टै दोषी देखाएर उम्किन्छन् भनेको पनि थिएँ । त्यस बेलासम्म किरण मल्लजीले मलाई उक्त कम्पनीमा सल्लाहकार वा परामर्श दाताका रुपमा संलग्न गराउने कुरा पनि सोही भेटघाटमा उठाउनु भयो ।

प्रमाण पत्रको पुछारमा लेखिएको विशेष नोटको वेवास्ता गरेर बैंकिंक र वित्तिए सेवा, अस्पताल सेवा, विमा सेवाको कारोबार गर्नु पूर्व सम्बन्धित निकायको अनुमती लिनु जरुरी छ भन्दा भन्दै नमान्नेहरुको परामर्श दाता भएर मैले के को परामर्श दिने ? यै थियो मेरो आशय अनि सुझावकै माध्यमबाट यस्तै चेतावनी दिनु पनि मेरो धर्म थियो, जुन दिएर फर्कें । मेरै मिनरल वाटरको कारोवारमा लागि रहें । त्यसको लगभग एकवर्ष पछि, म डेनमार्क आएँ । युनिटी चलिनै रहेको देखियो, सुनियो । एकाएक, २०१० मा उक्त कम्पनीले थुप्रै कानून मिचेको आरोप लाग्यो । सञ्चालकहरु कोही समातिए, कोही अहिलेसम्म फरार भए । जावलाखेलको विशाल भवन देखि, अधिराज्यभरी लगानी गरेका करोडौंका सम्पती सरकारले निलम्बन गरेर, लाखौं नेपालीको खुन पसिनाको कमाही स्वाहा बनाईदियो ।

कमजोरी खास गरी सरकारी पक्षको पनि छ । वाणिज्य विभाग देखि उद्योग मन्त्रालयका सम्बन्धित निकाय र शाखाका अधिकृत, सहसचिव, उपसचिव, सचिव सबैलाई मैले लेखेका नेटवर्क मार्केटिंगका कितावहरु निःशुल्कै दिएको छु । कसैले पढेनन् । अझ पहिलो, “नेटवर्क मार्केटिंगको अवस्था र आवश्यकता” भन्ने पुस्तक त तत्कालिन मुख्य सचिव विमल कोईरालाले नै विमोचन पनि गर्नु भएको थियो । विश्व व्यापार महाशाखा, डब्लूटिओका प्रमुख, प्रचण्डमान सिंह प्रधानजीलाई पनि मैले बल्ड फेडेरेशन अफ डाईरेक्ट सेलिंग एशोसियनको मुख्यालयसंग सम्पर्क गराउने निकै प्रयत्न गरें । मैले एउटा खोज पत्रकारको हैसियतले बल्ड फेडेरेशन अफ डाईरेक्ट सेलिंग एशोसियनसंग गरिरहेको समन्वय प्रयाप्त थिएन । तर विश्व व्यापार महाशाखाले पनि वास्तf गरेको थिएन । त्यसैले पनि ममा वितृष्णा व्याप्त थियो र मिनरल वाटरले पखाल्दै बसेको थिएँ ।

त्यसैबीच नेटवर्कका नाममा ठग्ने एकपछि अर्को कम्पनी बजारमा आउने क्रम जारी थियो । उद्योग विभागका कर्मचारी कम्पनी दर्ता गराउनका लागि नयाँनयाँ शब्द खोजीखोजी नेटवर्कको प्रयायवाची शब्द हालेका उद्धेश्य लेखिदिएर घुस खानमै तल्लिन थिए । कम्पनी दर्ता गरेर मोटो रकम खानेमा तत्कालिन उद्योग विभागका निर्देशक ज्ञानदास उदास मुख्य हुन् । उनले निकै ठूलो रकम लिएर कम्पनी दर्ता गरिदिन्थे । भ्याटको प्रमाण पत्र लिएर सञ्चालकहरु काम थाल्थे । तर, उद्योग विभागका महानिर्देशकलाई सम्बन्धित निकायको अनुमती नलिएरै कारोबार गरिरहेको कुरामा अनुगमन गर्न भनेर हामी युनाईटेड युथका कबिन्द्र बुर्लाकोटी, शंकर श्रेष्ठ, अंगराज शर्मा, पुष्प पन्त लगायतका साथीहरु गएर पनि थाकेको अवस्था थियो । ज्ञानदासजीले एउटै जवाफ दिन्थे, ती कम्पनीले सम्बन्धित निकायको अनुमति लिए नलिएको जाँच्ने काम उनको होईन रे?

त्यसरी चलेको विभिन्न कम्पनीले जे जे कारोबार गरेर सर्वसाधारणलाई ठगे, त्यसमा पहिलो त राज्य पक्ष दोषी छ । दोश्रो, कम्पनी सञ्चालकहरु र तेश्रो स्वयं लगानी डुबाउनेहरु । पढेलेखेका मानिसहरुले सम्बन्धित निकायको अनुमती नलिएर चलाईएका अस्पताल, विमा कम्पनी, बैंकहरुबाट पाउने सेवा कतिसम्म दिगो होला नहोला भनि सोधखोज नगर्नु एउटा भरिया वा अनपढ ठगिएको जस्तो त होईन नि ?

तपाइँको प्रतिक्रिया