बेल्जियमका कुकुरको चर्पी भित्र मानिस सुत्नुपर्ने कस्तो बाध्यता !
‘ल तपाईहरू कतै जानुस्, घुमघाम वा खानपिन गरेर आउनुस् । अब बस एक घण्टापछि मात्रै चल्छ । एक घण्टा बसको ढोका खुल्दैन बाहिरै बस्नुहोला ।’ ब्रसेल्सको स्टेशनमा झ्याप्प बस रोकेपछि चालक करायो । सेप्टेम्बरको पहिलो साता जानुपर्ने थियो, बेल्जियमको लुभेन शहर । फुस्स फुस्स पानी परेको थियो । कहाँ जाने ? कता गएर बस्ने ? क्यामरा बोकेर यस्सो वरिपरि हिँड्ने सोच बन्यो । सधैं के भवनहरू हेर्नु ? कति मान्छेका ओहोरदोहोर मात्रै नियाल्नु ? पार्कतिर यस्सो छिर्नुपर्यो भन्ने सोचेर युरोपेली परिषदको कार्यालय छेउकै पार्कतिर यस्सो छिरें । अचम्मको द्रिष्य देखियो ।
मान्छे घुम्ने मुख्य थलो, मानिस हिँड्ने सानो गोरेटोबाट अलि कुनामा रहेछ, कुकुरहरुलाई दिसा गराउने खुला चर्पी ! चारैतिरबाट फलेकको पर्खालले घेरिएको । कुकुर भित्र पसाउन सानो ढोका राखिएको । यस्सो धकलेपछी ढोका खुल्ने । त्यहि ठाउँमा एक जना मानिस ओछ्यान लगाएर सुतिरहेका थिए । चिसो नआओस् भनेर प्लास्टिक ओछ्याएका भुइँमा । सानो सरसामान भएको झोलाको सिरानी बनाएका । चप्पल खोलेर छेउमा राखेका । उनी मस्ती निदाइरहेका थिए । उनी सुतेको ठाउँ वरिपरि कुकुरका लेंड्का प्रशस्तै थिए । तर उनलाई त्यसको कुनै मतलब देखिएको थिएन । वरिपरिबाट आएको गाडीको हल्लालेपनि उनलाई खासै दखल नपुर्याए जस्तो । उनको यो बाध्यताले आप्रवाशीहरूले भोग्नुपरेका समस्या र बाध्यताको संकेत गरिरहेको थियो ।
पार्कमा केही युवायुवती पिङ र चिप्लेटी खेलिरहेका थिए । कुकुरको चर्पीमा सुत्ने मानिसका बारेमा जान्न मन लाग्यो । मैले तिनैलाई सोधें । कहिलेकाहिँ तिनचार जनानै लस्करै सुत्ने गरेको उनीहरूले बताए । बेल्जियमा सरकार आप्रवासीहरुका मामिलामा कडा निति लागू गरिरहेको छा । बेल्जियममा बस्ने र काम गर्ने, बिध्यार्थी वा घुम्ने भिसा छैन् भने सजिलो छैन् । अथवा, गैह्र कानुनी रुपको बसाई हो भने त्यहाँ नियम कडा छ । छड्के जाँचमा परेका बेला बैधानिक कागज (इजाजत) देखाउन नसके त्यहिँबाट झ्यालटुङ पार्दै सिधै विमानमा कोचेर संवन्धित देश पुर्याइदिन सक्छ । त्यसैले त्यहाँको प्रहरीबाट बाच्ने उपाय खोजिरहन्छन । यसरी प्रहरी र प्रशासनको आँखा छल्न कागज नभएका आप्रवाशीहरू यस्तै ठाउँ खोजेर सुत्छन, आराम गर्छन् । यस्ता ठाउँमा प्रहरीको आँखा र खोजी पर्दैन भन्ने ठानेर ।
जसको बैधानिक कागज हुन्न । तिनले लुकी लुकी काम पनि गर्छन् । तर सस्तोमा । तर त्यहाँको बैधानिक कागज छैन भने यिनलाई सरकारले बस्ने ठाउँ दिन्न । निजी घर भाडामा लिनपनि सक्दैनन् । कोहि आफन्तपनि छैनन् सहयोग गर्ने भने त तिनको गुजारा गाह्रो हुन्छ । सुने ठाउँ नपाएर भौंतारी इरहन्छन । रेलका डिब्बा र स्टेशनमा आजकाल प्रहरीको छड्के जाँच हुने गर्नाले यस्तै पार्कतिर अली शान्त ठाउँ खोजेर सुत्ने गर्छन् ।
आज हो की भोलि हो प्रहरीको पक्राउमा पर्ने भन्ने भय भैरहन्छन यस्ता आप्रवाशीहरूलाई । त्यसैले यिनको सम्पत्ति भनेकै एउटा सानो झोला हुन्छ । मन्जन र ब्रस । फेरफार गर्ने एकाध लुगा । थोरै खर्च चलाउन अलिकति रकम । बास, जता गएपनि यहि बोकेर हिँड्छन । यहिपनी अक्सैले लगिदिन्छ की भनेर त्यसलाई सिरानी बनाएर सुत्छन् । प्रहरी देख्दा तर्केर परैबाट बाटो लाग्छन्, लुक्छन । यस्ता मानिसमध्ये केही त लुकेर काम गर्नेपनि हुन्छन् । पैसो अलिअलि साथमा भएपनि, कमाएपनि बैधानिक कागज भएको, डेरा लिनसक्ने कोहि नभेटेसम्म यसैगरी कष्टले बिताउँछन । केहीले भने बैधानिक कागजपत्र भएकासित मिलेर डेरा लिएर बस्छन् । यति कष्ट ब्यहोरेरपनि दु:खले क्माएको रकम आफ्नो घर पठाएर परिवार धान्छन् । लुकिलुकी बसेरपनि आशा राख्छन्, एक दिन मैलेपनि बैधानिक कागज पाउँछु की !
यि मानिस युरोपेली युनियनकै कार्यालय छेउको पार्क नजिक सुतेका थिए । यो यहि कार्यालय हो जहाँ मानिसको सुबिधा र मानव अधिकारका लागि अनेक बैठक, बहस र छलफल गरिन्छ । मानवहितका बारेमा चर्काचर्की पर्छ । यो युरोपेली युनियनको कार्यालयबाट यी आप्रवाशी सुतेको दूरी सायद मुस्किलले तिनसय मिटर हुँदो हो ।
कतिपय देशमा भने यस्ता बेघरबारहरुलाई बस्न, खान र सुत्ने ठाउँको ब्यवस्था गरिएको हुन्छ । सामाजिक परोपकारी र सरकारी संस्थालेपनि दिन्छन् त्यस्तो सुविधा । तर नियम कानुन, भाषा र यताको पद्दती नबुझ्दापनि धेरै आप्रवाशीहरूले त्यस्तो सुबिधा लिन जान्दैनन् । मेसो नै पाउँदैनन् त्यसका बारेमा । कतिपयलाई चाहिँ त्यो सुबिधा लिन जाँदा प्रहरीले पक्रिन्छ की भन्ने मनको बाघले खान्छ र डरलेनै जाँदैनन् । कतिपय देशमा यस्ता परोपकारी संस्थानै यस्ता बेघरबार परेकालाई खोज्दै हिँड्छन् । तर जाडोको याममा मात्रै ! जाडोमा चिसोले कठ्यांग्रिएर बिरामी पर्लान्, मर्लान भनेर ती खोजी गर्दै हिँड्छन । तर गर्मी याममा भने तिनले खोजी गर्दैनन् ।
युरोप भनेपछि सूख सयल काटिन्छ । मोजमस्ती गरिन्छ । राम्रो काम पाइन्छ । सुबिधा हुन्छ । टन्न पैसो कमाइन्छ भन्ने भ्रम पालेर धेरै एशियाली र अफ्रिकीहरू युरोप जसरिपनि भासिन खोज्छन् । तर यहाँ आएपछी ती सबै भ्रम रहेछन् भन्ने बुझिन्छ । झन् दु:ख दिन शुरु हुन्छन् तिनका । धेरैले अनेक खाले समस्या भोग्छन् । यस्ता समस्या भोग्न नसकेर, उता लागेको ऋण र घर परिवारका आकांक्षा पूरा गर्न नसकेर कतिको मानसिक अवस्थानै बिग्रन्छ । कति पय त त्यत्तिकै बेपत्ता बनिदिन्छन् ।








