मानसिक रुपमा बलात्कृत भइरहेको छु : अमर न्यौपाने

amar-nyaupane

मेरो चरित्रहत्या गराउने नियतले केही दिनयता एक  साप्ताहिकमा प्रकाशित अन्तर्वार्तालाई केही अनलाइनहरूले साभार गरेर प्रकाशित गरेको थाहा पाउँदा अत्यन्त दुःखी भएको छु। समाचारमा उल्लेखित विचार र तर्कलाई नै अन्तिम सत्य मानेर सामााजिक सन्जालमा मेरो मानमर्दन र चरित्रहत्या गर्ने खालका विचार र टिप्पणीहरू देखेर म अचम्म मात्रै परेको छैन, सत्य र असत्यको भेद नै नखुट्याउने मानिसप्रति धारणा र टिप्पणी गर्ने प्रवृत्ति देखेर दुःखसमेत लागेको छ । यस्तो एक पक्षीय समाचारबाट मेरा पाठक, शुभचिन्तक तथा साथीभाइहरूमा पर्न गएको भ्रमप्रति क्षमा याचना गर्दछु । 

सत्य र आरोप फरक-फरक कुरा हुन्। चाहे महिला होऊन् या पुरुष, कोही पनि अन्यायमा पर्नुहुँदैन र अपमानित हुनुहुँदैन। म महिलालाई सम्मान गर्ने मानिस हुँ। चरित्रहत्या र मानमर्दनले न समस्याको समाधान निकाल्दैन। बरु यसले समस्यालाई कचल्ट्याउने र जटिल बनाउँछ।

हो, एघार वर्षअघि मेरो बिहे भएको हो तर सम्बन्ध राम्रो हुन सकेन र त्यो अघि बढ्न सक्ने अवस्था पनि रहेन। त्यसका निम्ति को दोषी थियो, को थिएन त्यो कानूनी उपचारपछि मात्रै निर्क्यौल हुने कुरा हो। सम्बन्ध सहज हुन नसकेपछि म उतिबेलैदेखि नै सम्मानजनक स्वतन्त्रताको पक्षमा उभिएको छु।

दोषी को थियो र थिएन, सामाजिक संजालमा टिप्पणी गरेर र अखबारमा मानमर्दन गर्ने र एकपक्षीय विचार र धारणा व्यक्त गरेर आउने कुरा पनि होइन। एउटा स्वाभिमानी मानिसलाई अपमानजस्तो ठूलो पीडा केही हुँदो रहेनछ। यही अपमानका कारण नै सम्बन्ध हुन सकेन।

मेरो चरित्रहत्याको श्रृङ्खला सुरु भएको केही दिनसम्म म मौन बसेँ। किनकि मलाई थाहा छ, समस्याको समाधान चरित्रहत्या र आरोप प्रत्यारोपको फोहोरी खेलबाट निस्कँदैन। म न्यायको पक्षमा छु र त्यसका निम्ति प्रतिवद्ध पनि छु। तर मौन बस्नुलाई दोषी हुनुको अर्थमा केहीले बुझ्न थालेकाले म प्रतिक्रिया लेख्न बाध्य भएको हुँ। किनकि म पनि एघार वर्षदेखि एक्लै बसेर सङ्घर्ष गर्नुको मानसिक पीडाबाट गुज्रिरहेको छु र मानसिक रूपमा यसरी नै बलात्कृत भइरहेको छु।

मिले पनि छुट्टिए पनि सम्मानजनक तरिका अपनाउनुपर्छ। कसैले कसैलाई जबरजस्ती सम्बन्धको बन्दी बनाउनु मानवअधिकारको हनन् हो। सम्बन्ध राम्रो भए सँगै बस्ने हो, सम्बन्ध राम्रो नभए छुट्टिनुपर्छ। त्यसैले त सम्बन्धविच्छेदको व्यवस्था भएको हो।

सम्बन्ध नराम्रो भएपछि एघार वर्षदेखि म सधैँ सम्मानजनक सामाजिक न्याय र कानुनी न्यायको पक्षमा उभिएँ। तर यसमा पुरुष मात्र तयार भएर हुँदो रहेनछ। महिलाले चाहे एकै दिनमा हुँदो रहेछ। मसँग समाधानको चाबी भएको भए दशएघार वर्षअघि नै यो समस्या समाधान भइसक्ने थियो। कानुनी उपचारमा जानै नखोज्ने र एकतर्फी दोष मात्रै थोपरेर समस्याको समाधान हुँदैन। न्याय र अन्यायको भेद खुट्टिन पनि सक्तैन।

कानुनी न्याय र सामाजिक न्यायको सहज बाटो हुँदाहँदै अरूको चरित्रहत्या गर्न एघार वर्ष अघिको कुरा अहिले पत्रपत्रिका र सामाजिक सन्जालमा ल्याएर अपमानित गर्नु निन्दनीय कुरा हो। यदि मैले अन्याय गरेको भए एघार वर्षअघि नै कानुनी न्यायको बाटोमा जानुपर्थ्यो। उति खेरै यो समस्याको समाधान हुने थियो।

प्रिय पाठक, शुभचिन्तक आफन्त तथा साथीहरू !

यहाँहरूलाई कुनै भ्रम नपरोस्, म महिलालाई मात्र होइन, समग्र मानव जातिकै न्याय र स्वतन्त्रताको पक्षमा उभिने मानिस र साहित्य लेख्ने लेखक हुँ। संसारका महान् मानिसहरूका पनि वैवाहिक जीवन असफल भएका छन्। यी नितान्त व्यक्तिगत कुरा हुन्। यस्ता कुराहरूलाई सार्वजनिक जीवनका जोडेर आरोपपत्र्यारोपको खेल खेल्नुहुँदैन। प्रेम र सम्बन्ध भनेको कुरा जबजस्ती हुने कुरा होइन। त्यसैले त कानुनले वैवाहिक बलात्कारको समेत नियम बनाएको छ।

मैले यतिका वर्ष लगाएर बनाएको प्रतिष्ठालाई आँच आउनेगरी चरित्रहत्या गरेर कसैको मानसिक तुष्टी हुनसक्छ तर त्यसले समाधान निकाल्न सक्दैन। प्रत्येक मानिस स्वतन्त्र छ। कुरा मिले सँगै बस्ने हो, नमिले अलग हुन पाउनुपर्छ। सम्बन्ध करकाप र जर्वजस्तीमा निर्माण हुने कुरा पनि होइन। कसैले कसैलाई सम्बन्धको बन्दी बनाउन पाइँदैन।

प्रिय पाठक, शुभचिन्तक आफन्त तथा साथीहरू ! म सधैँ सामाजिक न्याय, स्तन्त्रता र मानवताका पक्षमा उभिइरहने छु । आफ्नो लेखनलाई पनि यसमै समर्पित गर्नेछु ।

धन्यवाद !

(अमर न्यौपाने मदन पुरस्कार बिजेता साहित्यकार हुन् । उनले आफ्नै फेसबूकमा ब्यक्त गरेका बिचरालाई यहाँ राखिएको हो । यस अघि उनीमाथि लागेको आरोप यहाँ गएर पढ्न सक्नुहुन्छ । )

तपाइँको प्रतिक्रिया