आत्महत्या के हो ? के छन् कारण र समाधान ?

  • सुदिप घिमिरे / काठमाडौं

sudip-ghimireआत्महत्या नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिले यस्तो कार्य गोप्यरुपमा गर्दछ ।  आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा बिभिन्न माध्यम्बाट आफ्नो जीवन आफैंले समाप्त गर्न खोज्छ भने त्योनै आत्महत्या हो । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसके पछि व्यक्तिले यस्तो काम गर्छ । परिवारका सदस्य, समाजका व्यक्ति र साथीभाइले आफ्नो समस्यालाई नबुझेको महसुश गरेमा आफूलाई बेकार ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्ने गदर्छन् । 

आत्महत्याका कारणहरु

आत्महत्या व्यक्ति यही कारणले गर्छ भनेर किटेर भन्न सक्ने अवस्था छैन् । पहिले पहिले प्रेममा असफल भएका व्यक्तिले बढी आत्महत्या गर्छन् भन्ने चलन थियो । तर अहिलेको अवस्थामा सामाजिक कारणहरु बढी पाइएका छन् । सामान्यतय उदासिन व्यक्तिले आत्महत्या धेरै गर्छन् भनिन्छ । किनभने यस्ता व्यक्तिहरुको मनमा सामान्य भन्दा धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी नै उतार चढाव भइरहन्छ । आफूलाई एकदमै दयनिय अवस्थाको ठान्ने, जीवनप्रती कुनै रुची नहुनु र भविश्यप्रती आशा नराख्नु नै उदासीपन हो । आफ्नो उदासीपन, निराशापन र नकारात्मक भावनालाई हटाउनको लागि रक्सी र अन्य लागूऔषधको प्रयोग गर्दछन् । तर रक्सी र अन्य लागूऔषधले मस्तिष्कको सामान्य कार्यमा शिथिलता ल्याउछ र व्यक्तिमा उदासिनता आउँछ । यसको साथै रक्सी र लागूऔषधले ल्याउने धेरै प्रकारका शारीरिक समस्याहरु र आर्थिक स्थिती कमजोर बन्दै जान्छ । व्यक्तिमा बाँच्ने रहर कम भएर जान्छ र आत्महत्याको सोच बनाउँछ । 

त्यस्तै, जटील मानसीक रोग लागेका व्यक्तिहरुले आत्महत्या गर्न सक्छन् । त्यसवाहेक सामाजिक समस्याहरु वा मनोसामाजिक समस्याहरु जस्तै : बैवाहिक जीवन आनन्दमय नहुनु, कसै सँग पनि राम्रो सम्बन्ध बिकास नहुनु, अचानक जागिर जानु, भावनाहरु पोख्ने ठाउ वा व्यक्ति नहुनु, किशोर किशोरीहरु स्कूलमा फेल हुँद प्रेमी प्रेमीका बिचको बिछोड, आमा बाबु बिचको सम्बन्ध राम्रो नभएको अवस्थामा हुने तनावले आदि आत्महत्याका कारण बनेका छन् । कतिपय व्यक्तिहरु रीसको आवेगमा पनि आत्महत्या गर्ने गर्दछन् । 

व्यक्तिले आत्महत्या गदैछ भन्ने कुरा कसरी थाहा पाउने ?

सामान्यतय व्यक्तिको भावना समय र परिस्थिति अनुसार निर्माण हुन्छ । रमाइलो वातावरण भयो भने रमाइलो किसिमले प्रतिक्रिया दिने, दुख लाग्दो अवस्था भए दुखी हुने व्यक्तिको स्वभाविक प्रतिक्रिया हो । तर जो व्यक्तिलाई आत्महत्याको सोच छ त्यस्ता व्यक्तिहरुको भावना एकैनासको हुँदैन । उनीहरुको भावनामा विना कारण उतार चढाव आउँछ । सोचेको जस्तो भएनभने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्तसाही हुने, अस्वभाविकरुपमा दु:खी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । आफूलाई योग्यहिन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्यरुपमा तयारी समेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले फुटेको आाखाले हेर्दैनन्, म के को लागि बाच्ने भन्ने शव्दहरु व्यक्त गरिरेको पाइन्छ । आत्महत्या गरेपछि सामाजिक तथा पारिवारीकरुपमा भोग्नुपर्ने समस्या भन्दा आत्महत्या गर्दा हुने फाइदाको वारेमा मनमा कुरा खेल्न थाल्छ । अनि आफूसंग भएका महत्वपूर्ण सामानहरु बाँडीदिने काम गर्दछन् । यी लक्षणबाट हामीले बुझ्नुपर्ने हुन्छ व्यक्तिमा आत्महत्याको योजना वा विचार छ ।

कसरी सहयोग गर्ने ?

आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्या सम्बन्धी कुराहरु वारम्वार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नु पर्छ । समस्या समाधानको लागि सहयोग गर्नुपर्छ । यदी व्यक्तिमा यस्तो भावनाहरु पाइएमा परिवारका सदस्यले ध्यान दिएर उनको गुनासा र समस्या प्रति कुराकानी गर्नुपर्छ । उसलाई सल्लाह दिनु भन्दा उसको मनमा रहेका भावनाहरु पोख्ने वातावरणको सृजना गर्नुपर्छ । आत्महत्याको विचार वा भावना भएका व्यक्ति परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउनु पर्छ । परिवारका सदस्यहरुले व्यक्तिलाई एक्लै छोड्नु हुँदैन । रातिपनी ध्यान दिएर सुत्नु पर्छ । हाम्रो समाजमा आत्महत्याको वारेमा खुलेर कुरा गर्दा आत्महत्याको विचारलाई प्रोत्साहान मिल्छ भन्ने विश्वास छ । तर यो विश्वास गलत हो । यदी यस्ता व्यक्तिसंग राम्रोसंग कुरा गरेमा व्यक्तिलाई मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति रहेछन् भन्ने भावनाको विकास हुन्छ । अनि व्यक्तिलाई  आफ्नो भावना सकारात्मक हुन सहयोग पुग्छ ।

यदी व्यक्तिले आफूलाई मार्नको लागि सामाग्रीनै लुकाएर राखेको छ भने त्यस्ता व्यक्ति पूर्ण जोखिममा भएको बुझ्नु पर्छ । समस्या सबै व्यक्तिलाई हुन्छ । समस्या संगै व्यक्ति आफैमा समाधानका उपाय पनि हुन्छन् । हरेक व्यक्तिलाई प्रकृतिले राम्रा गुणहरु दिएको हुन्छ । समस्यामा भएको वेला व्यक्तिको मनमा समस्या मात्र हुन्छ । आफूमा भएका राम्रा गुणको वारेमा ध्यान हुँदैन् । त्यसैले सकारात्मकरुपमा व्यक्तिलाई हेर्ने मौका दिनु पर्छ । भविष्य राम्रो छ । बाच्नुजेल किन आफ्नो शरीरलाई दुख दिने । आखिर सवै मर्नुनै पर्छ भनेर जीवन प्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ । आत्महत्या गर्ने विचार भएका व्यक्तिहरुसँग आत्महत्या पछि आउने नकारात्मक परिणामको वारेमा कुरा गर्नुपर्छ । धार्मिकरुपमा पनि आत्महत्या गर्नु महापापको रुपमा लिइन्छ । यदी तपाईले कुराकानी गर्दा पनि त्यसलाई नियन्ण गर्न कठिन भएमा तुरुन्त मनोविमर्शकर्ता वा अस्पतालको सहयोग लिनु पर्छ ।

तपाइँको प्रतिक्रिया