शाह र खड्कामा प्रधानमन्त्री झुक्किएपछि ……..

Paras_Khadka

क्रिकेटमा नेपाली टोली राम्रो खेल जितेपछि क्याप्टेन पारस खड्कालाई प्रधानमन्त्रीले फोन गर्नुभएछ । खेलाडीहरू मलेसियामै थिए । प्रधानमन्त्री नेपालमा । प्रधानमन्त्रीले भन्नुभयो, ‘हेल्लो पारसजी, अहिले बैंककमा कस्तो छ ?’ 

पारस : बैंकक ? म बैंकक होइन प्रमज्यू, म त मलेसिया छु ।

प्रम : मलेसिया ? मलेसिया किन ? बैंकक सुरक्षित नभएर भाग्नुभएको हो कि क्या हो ?

पारस : भागेको होइन प्रमज्यू, म त सुरुदेखि मलेसियामै छु ।

प्रम :  ए…हो त हगि ? तपाईं क्रिकेटवाला पारस पर्नुभएछ हगि ? म त अर्कै पारस भन्ठान्या । लौ क्रिकेट जित्नुभएकोमा बधाई छ ।

पारस : धन्यवाद प्रमज्यू ।

प्रम : मलाई त तपाईंले छक्का हानेकै मज्जा लाग्यो ।

पारस : धन्यवाद प्रमज्यू ।

प्रम : यो छक्का हान्ने मलाई पनि सिकाइदिनुप¥यो भन्या । कसरी हान्ने होला ?

पारस : हजुरलाई छक्का किन हान्नुप¥यो प्रमज्यू ?

प्रम : अरे यहा“ विपक्षी पार्टीहरूले घातक बलिङ गरिरहेको देख्नुभएन तपाईंले ? बल्लतल्ल बल झेलेर बसिरहेको छु । अलि स्थिति कमजोर भयो कि आउट हुने सम्भावना छ ।

पारस : अब हजुरले सिक्नुपर्ने के ?

प्रम : छक्का हान्ने । कि चौका हान्ने ।

पारस : त्यसका लागि कोच ल्याउनुपर्छ ।

प्रम : उही श्रीलंकन ? मान्छे अलि घमण्डीजस्तो छ ।

पारस : उसोभए भारतीय ल्याउनुस् न । क्रिकेटमा भारतको ठूलो नाम पनि छ ।

प्रम : ए…हो ल । भारतीय कोचर त बिर्सेको । आजै फोन गर्नुपर्ला । ल धन्यवाद !

(डिस्कनेक्ट हुन्छ)

(हिजो बुधवारको जनआस्था साप्ताहिकमा प्रकाशित)

तपाइँको प्रतिक्रिया