पुष्कर शाह : एक यायावर र उसका यात्रा
(पुस्कर शाहको यात्रा कस्तो हुँदै थियो ? कहाँ पुगेर के गर्लान उनले ? पहिलो विश्व साईकल यात्री नेपाली भएकाले धेरैमा कौतुहलता र जिज्ञासा हुनु स्वभाविक थियो । उनी विश्व यात्रामा निस्किएपछि नेपालप्लसले आग्रह गर्यो, पुस्करलाई । आफ्ना यात्राका केही रोचक पाटाहरू नेपालप्लस मार्फत् पाठकलाई चखाउने । उनले स्विकारे । त्यसैले नेपाल प्लसले यसअघि पुस्कर शाहका यात्राका धेरै डायरी श्रृङ्खलाबद्ध रूपमा प्रकासित गरिसकेको छ । पुस्तकमा परेका धेरै पाठहरू नेपालप्लसमा प्रकाशित भइसकेका छन । समग्रमा उनको पुस्तक कस्तो छ ? नेपालप्लसमा पुस्करलाई पढिरहेका पाठककालागी उनको विश्व यात्राको बारेमा लेखिएको पुस्तकबारे जान्न पाउँदा खुशि लाग्ने छ-नेपालप्लस )
-गजेन्द्र बुढाथोकी-
मलाई असाध्य मन परेको चलचित्र हो- इन टु द वाइल्ड । वास्तविकतामा आधारित, Christopher McCandless ग्राजुएसनपछि आफ्नो सारा सर्टिफिकेट, परिचय फ्यालेर जंगलका जीवन बिताउन जान्छ । जंगलमै शिकार खेल्ने, फलफूल र कन्दमुल खाएर बाँच्ने क्रममा एक दिन विषादीयुक्त वन टमाटोका जरा खाएपछि अन्ततः मर्छ ।
त्यस्तै दोलाखाका पुष्कर शाह, नेपालबाट आफ्नो परिचय त नभनौँ, अब यी सर्टिफिकेटका काम केही छैन भन्दै जलाएछन । काठमाडौंमा मस्तमौलाका जिन्दगी बाँच्दै थिए । २१ वर्षका उमेरमा सन १९९६ मा विश्व् साइकलयात्रा गर्ने रहर पलाउँछ र ऊ यात्रामा निस्कन्छ ।
मेरा हातमा पुष्कर शाह- संसारलाई पाँच फन्को परेको निकै दिन भयो । सकेपछि केही लेखौंला भनेका थिएँ, आफ्नै काममा अल्झिएँ । अझ एक जना मित्रका पुस्तकका “तर्कुले-बर्धने” यहीबीचमा हेरिदिनु पर्ने भयो ।
पहिला पुष्कर आलोचनाबाट । दुई-तीन जना मित्रहरूले भन्नु भयो- पुष्कर अब पहिलाका पुष्कर रहेन । उसमा दम्भ पलाएको छ, निकै घमण्ड बढेको छ ।
सुन्दा हो कि लाग्ने !
अरे बाबा, संसारलाई ५ फन्को लगाएर घुमेर आउनु चानचुन कुरा त होइन नि । अलिअलि अनुभवले, अलिअलि समयले पनि गर्ने रहेछ, त्यो कुरा । मैले कतिपय मेरा मित्रहरूलाई यहीँ नेपालमै बसेर त ममात्र महान हुँ भनेको, त्यसअनुसार व्यवहार गरेको देखेको छु, भेटेको छु । पुष्करले त ११ वर्ष लगाएर संसार घुमेर आए, त्यतिले मात्र नपुगेर सगरमाथा चढेर आए । स्वभाविक हो, हिजो र आजमा फरक हुनु ।११ वर्षमा पुष्करले १ करोड ७० लाख रूपैयाँ साइकलयात्रामै सके, सबै मागेरै, अर्का भाषामा भन्नुपर्दा शुभेच्छुकहरूका सहयोगले । पुष्करले चाहेका भए त्यो पैसाले काठमाडौंमा एउटा गतिलै घर बनाउथे, नभए दोलखामै भए पनि । अवसर पाउने वित्तिकै नेपाली पासपोर्ट फ्यालेर अमेरिका, युरोप नभए जापानमा थ्रीडीमा काम गर्ने अरू नेपालीजस्तै उनी पनि त्यतै कतै भाँडा माझ्न सक्थे, कुनै कारखानामा पेच, नटबल्टु कस्न सक्ने, कतै पेट्रोलपम्पमा पेट्रोल भरेर बस्न सक्थे । त्यस्तै परे कतै रेष्टुँरा नै चलाएर बस्न सक्ने । विश्व घुमे, इमानदारीपूर्वक नेपाल फर्किए, अहिले पनि काठमाडौंका सडकमा पाइडल मार्दैछन ।
अब पुस्तकका कुरा ।
नेपालमा पुष्कर शाहका पुस्तक प्रकाशनमा आएपछि विभिन्न खालका प्रतिक्रियाहरू आए । कतिपयले यसलाई आत्मकथा भने कतिले निबन्ध । वास्तविकता के हो भने यो नियात्रा संग्रह हो । बुझिने भाषामा भन्नुपर्दा यात्रा वर्णन (travel Dairy) एउटा यात्रीले लेखेका डायरीको संकलन ।
संसार घुम्नु भनेको संसारभरिका संस्कृति, भौगिलिक वातावरण र मानिसहरूसँग साक्षात्कार हुनु हो । पुष्कर शाहले घुमेका १५० देशमध्ये ७० देशका ससाना नियात्रा यसमा संग्रहित छन । जसले एक झलकमा संसारका मुख्य-मुख्य भाग घुमाइदिन्छ।
नेपालीहरू अहिले औपचारिक रूपमा विश्वका १०९ मुलुकमा पुगेका छन् भनिन्छ, तर त्योभन्दा बढी देश हुनसक्छ । विश्वका थुप्रै देशमा नेपाली राजदूतावासहरू छन, नभएका देशमा त्यही देशमा बस्दै आएका नेपालीहरूले अनौपचारिक दूतका काम गर्दै आएका छन । कतिपय दूतावासका कर्मचारीले नेपालीमाथि नै गर्ने व्यवहार पनि न्यायोचित छैन, अफ्रिकाका बिरान मुलुकहरूमा नेपालीहरूले अरूलाई समेत आश्रय दिएर मानवीय कार्य गर्दै आएका छन ।
पुष्कर शाहले जे देखे, त्यही लेखे । मलेसिया, कोरिया र इजरायलमा नेपालीहरूले गर्दै आएका काम, उनीहरूले बाँच्नु परेका कठिन जिन्दगी, उनीहरूमाथि हुने दुर्व्यवहारजस्ता गम्भीर विषय पुष्करका पुस्तकमा छन् । नक्कली डलर बनाएर रातारात धनी हुने लोभमा नाइरेजियरनद्वारा ठगिएर नाइजेरियामा अलपत्र परेका, भागेर लुक्दैछिप्दै युरोप पुगेका नेपालीका कथा पनि छन ।
अफ्रिका र मेक्सिकोमा पटक-पटक ठगिएका, लुटिएका कथाहरू छन । पुष्करका अनुसार उनले अफ्रिकामा मात्रै २ वर्ष बिताएका छन् । भाेक र माक्सवादका कुरा छन । पुस्तक पढ्दै जाँदा ती देशमा पुष्करले भोगेका अनुभूतिसँग आफू पनि साक्षात्कार भइन्छ ।
सेक्स डायरी
पुस्तक आएपछि विभिन्न खालका टिप्पणीहरू आए, त्यसमध्ये एक थियो- यो पुष्कर शाहका सेक्स डायरी हो । सिग्मड फ्रायडका सिद्धान्तले भन्छ- अधिकांश लोग्ने मानिसका दिमागमा सेक्स नै भरिएको हुन्छ । पुस्तकमा धेरै शीर्षकहरू सेक्ससँग जाेडिएका छन । पुस्तकका धेरै ठाउँमा यौनसँग सम्बन्धित प्रसंग परेका छन ।
मैले नेपालमै कतिपय यस्ता पुरूष मित्रहरू भेटेको छु, जो घरमा एउटी श्रीमती हुँदाहुँदै हप्तामा एउटा “नौलो स्वाद”का लागि महिला खोजिहिड्छन । यौन मानवीय आवश्यकता हो, विश्व भ्रमणमा हिडेका पुष्करले त्यसलाई नजिकबाट साक्षात्कार गरे होलान । अफ्रिकी मुलुकहरूमा एक छाक भातका लागि यौन व्यापारमा लागेका करूणादायी प्रसंगहरू छन्, त्यसलाई कुन ढंगले लिने?
एउटा कुरा स्वीकार्नै पर्छ, यौनका कुराका सन्दर्भमा पुष्कर शाहले अलि कलात्मक हुन नजानेकै हुन् । जे कुरा मनमा लाग्यो-लेखिदिए, पुस्तक सम्पादकले अझ यौनसँगै जोडेर शीर्षक राखिदिए । यस अर्थमा पुष्कर इमानदार लेखक हुन, तर त्यसले पुस्तकलाई अलि हलुका बनाइदिएको छ ।
अभाव
पुस्तक नियात्रा संग्रह हुँदाहुँदै अझै अधुरो प्रतित हुन्छ । यात्रासँग सम्बन्धित प्रसंगहरू श्रृङ्खलावद्ध छैनन । देेशहरूका यात्रा वर्णन उफ्रिएका (जर्क) भएका छन्। अलिकता थोरै मिहिनेत गरेका भए पुस्तक अझ राम्रो हुनसक्थ्यो, किनकी १५० देशका कथा ३५८ पृष्ठमा सकिदैनन । धेरै देशका प्रसंग २०० शब्दमै सकिएका छन, जबकि त्यहाँसम्म पुग्न उनले कैयन दिन र कैयन रातहरू बिताएका थिए होलान । भोकका कुरा, मृत्युसँग जुधेर फुत्किएका कुरा उनले राम्रोसँग वयानै गर्न सकेका छैनन । जसरी पुष्कर शाहले बियर पिएपछि विन्दास तरिकाले अनुभवहरू सुनाउँछन, त्यसलाई मात्र उतार्ने हो भने अझै यस्ता ५-७ वटा पुस्तक तयार हुन्छन । अझ पुस्तकका अनुसूचीमा प्रयोग गरिएका तस्बिरहरूलाई सम्बन्धित मुलुकका यात्रा वर्णनसँगै राख्ने हो त्यसले अझ प्रभावकारी हुने देखिन्छ ।





