संस्मरण : उधारो भाइटिका

  • बस्नेत सागर 

basnet-sagarहामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ ।  शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । अझै हिम्मत नहारी लक्ष्मी भित्र्याउने ध्याउन्न । त्यति बेला मात्रै टुट्यो जब भाइ पनि छोरी भन्दाभन्दै छोरो नै भयो । धैर्यताको बाँध भत्कियो र दैवले हामीलाई चेलीको मायाले टुहुरो बनायो । मलाई दशबर्षको हुन्जेलसम्म तिहारमा भाइटिका पनि लगाउछन भन्ने थाहै थिएन । देउसी खेल्ने, पिङ खेल्ने, डाइस खेल्ने र पटका पड्काउने मात्रै होला भन्ने लाग्थ्यो । एउटा तिहारमा संगैको साथीले निधारको मध्यभागमा लामो सेतो धर्सोको माथि रंगीबिरंगी टिका र सयपत्री फूलको माला लगाएको देखेर मैले ममीलाई भनेको थिएँ मलाइ पनि यस्तै टिका लगाईदिनु ।

हुनत हाम्रा काकाबडाउका छोरीहरु प्रसस्तै थिए तर सानै भएको र हाम्रो खास आउजाउ नभएकोले त्योखाले प्रक्रिया पुग्न पाएको थिएन । ममीले मैले भनेको कुरा रुन्चे मुख लाउँदै हाम्रो छिमेकमा हुने हाम्रै थरिको दिदीलाई भन्नुभएछ । हामि घर अगाडिको पिङ खेल्दै थियौं । दिदीले भर्खरै आफ्ना दाजुभाइलाई टिका लगाइसक्नु भएको थियो र हामि पनि सोहि आसनमा लामबद्द भएर बस्यौं । जेठो र ठुलो हुनु भनेको सबैठाउँमा अगाडी हुन पाउनु हैन रहेछ । भाइ टिका लगाउनलाई कान्छो अगाडी बस्न पाईने रहेछ । आँफु त माइलो जसरि पनि बिचमै । 

मलाई दिदी नभएको कहिल्यै गुनासो लागेन । बरु बहिनी भए हुन्थ्यो जस्तो लाग्थ्यो । हाम्रो छिमेकमा साथीको बहिनी थिई । उमेरले त्यस्तै दुई बर्षको फरक भएका तिनीहरु अनेक निहुँमा झगडा गरिरहन्थें । दाजुले बहिनीलाई कुट्थ्यो । म सोच्थें किन कुटेको होला ? मेरो बहिनी भएको भए कहिल्यै कुट्नेथिइन् होला । घरमा हामिलाई खान बस्न खासै दुख थिएन, दुख मलाइ बहिनी नभएको मात्रै लाग्थ्यो । अरु कसैका दाजुबहिनी मिलेको देख्दा आरिस लाग्थ्यो र झगडा गरेभने रिस उठ्थ्यो । बहिनीसँग झगडा गर्नेलाई मुर्ख भन्थें म । एकपटक एउटा साथीको फुपुको बिहेमा गाउँकै एकजना साथीको बहिनी कोहि केटासंग खेततिर गई भनेको खबर पाएर त्यो साथीले हामिलाई पनि लिएर खोज्न गयो । खेतको बिचमा परालको माचमा चिनेकै केटासंग आपत्तिजनक अवस्थामा भेट्यौ । साथीले धेरै दुखमनाउ गर्यो, रोयो । अनि मेरो बहिनिमोह केहि हदसम्म भंग भयो । तरपनि मनमा कहीं न कहीं मेरो बहिनी हुन्थी भने यति खराब हुन्नथी भन्ने लागिरह्यो ।

तीनचार सालसम्म तिनै दिदीले टिका लगाइदिनु भयो हामिलाई । धेरै खुसि लाग्थ्यो, अलिक पछी मेरो ठुलोबुबाकी छोरीले बोलाउन थाल्नुभयो र त्यता लागियो । झन् पछी काकाका छोरीहरु पनि बढे त्यतापनी जान थालियो । हिजोआज इन्टरनेटमा धेरै दिदीबहिनी बनाएको छु । धेरै महिला साथीहरुसंग चिनजान हुनेबित्तिकै चेली माइतीको साइनो जोड्न मन लाग्छ । कति आँफै हराउदै जान्छन कति संधैभरी सम्पर्कमा रहिरहन्छन ।

सानो छँदा घुमेको रोटीको खुब रहर लाग्थ्यो । पहिले तिहारको एउटा बिशेषता नै सेलरोटी हुने गर्दथ्यो । मासुको उतिसारो चलन थिएन तिहारमा । अचेल त हामि यति मासुप्रेमी भईसक्यौ कि, दशैं त छँदैछ तिहार, माघेसक्रान्ति, होलि, नयाबर्ष देखि लिएर केटाकेटीका जन्मदिन र सत्यनारायानको पुजामा पनि अनिवार्य भईसकेको छ मासु । पाठ सकेर ब्राह्मण बाटो लागेपछि मासु खान मिल्छ भन्न थालिसकेका छौं । टन्न सेलरोटी खाएर पटका पड्काउदै हिड्न खुब रमाइलो हुन्थ्यो । झन देउसी र भैलोमा हुने रमाइलोको चर्चा नै गरिसाध्य छैन ।

मलाइ सानैदेखि भाग्यमा बिश्वास लागेन । शायद यहि कारण म कहिल्यै डाइस खेल्न मन गरिनँ । ठुलोबाको छोरीले टिका लगाइदिन थालेको दोश्रो बर्ष थियो । टिकाको दिन नुवाइधुवाई गरेर दिदीको घरतिर लागियो । बाटोमा बजार पर्थ्यो । बजारमा धेरै साथिभाइहरु भेटिए । साथीहरुले धेरै कर गरे, मसँग बुबाममिले ठुलिदिदिलाई यति दिनु, माइलीलाई यति र कान्छीलाई यति भनेर तोकेर दिएको पैसा बाहेक केहि थिएन । डाइस नखेली जान दिएनन् र हारेको खण्डमा आफुहरुले तिरिदिने बताए र खेल्न बाध्य पारे ।

शुरुमा जहाँ मनलाग्छ त्यहा राख पर्छ भने, मलाइ पाना मनपर्थ्यो राखें । पर्यो पैसा चारगुना बढी पाएँ । यस्तै यस्तै गरेर पर्दै गयो । मनपनि बढ्दै गयो र झन् साथीहरुले बढाएर राख्न उकास्दै गए । घरि जाँदै र पर्दै गर्दा मेरो खल्ती नै पुरै रित्तियो । डाइसवाला ठुल्ठुलो स्वरले कराउँदै थियो “रोपे फल्छ घोचे मर्छ” मैले त रोपेकै थिएँ तरपनि फलेन बरु जिली नै मासियो । साथीहरुले दिने कुरै भएन उनीहरु त झन् अघिदेखि टाट पल्टेर बसेका थिए । बुबा खुब जुवामा च्याँखे थाप्नु हुन्थ्यो । आँफुसँग भएको पैसा सबै ममीलाई राख्न दिएर थोरै पैसा बोकेर घरदेखि निस्किनुहुन्थ्यो र फर्किदा धेरै सामान ल्याउनु हुन्थ्यो । धेरैपटक हामिलाई ब्याडमिन्टन, फुटबल र कपडाहरु ल्याउनु हुन्थ्यो । बुबाले जुवामा च्याँखे थापेको हेर्न जाँदा धेरै पैसा पाईन्थ्यो कहिलेकाहीं गालि खाएर पनि फर्किनु पर्थ्यो । त्यहाँ जुवाका गेडा भुईमा पछार्नेले सधैं भन्थ्यो “झर है बत्तीका पुतलीहरु” मैले त्यो भनेको कहिल्यै बुझेको थिइनँ । आज डाइस खेल्ने भएर मज्जाले बुझें म बत्तिको पुतली भइसकेको थिएँ ।

टिकामा दिनलाइ दिएको पैसा हारेपछि म लडाई हारेको सिपाही र दिनभरी लुंडीमा जोतेको गोरुजस्तै खुट्टा घिसार्दै दिदीको घर पुगें । टिका लगाउन नजाउँ भने आँफुलाइ यो दिन कहिले आउला भन्ने लागेको थियो । जाउँ भने पैसा न सैसा टिकी ट्यासट्यास भनेजस्तो । घरमा गएर वृतान्त भन्ने हिम्मत पनि थिएन । बाटोभरि सोचें दिदीहरुले के भन्लान मलाइ । पक्कै नराम्रो मान्छन होला । मनमनै कान समातें डाइस खेल्न । एक त काकाको छोरा त्यहीमाथि पैसा नलिई आउने । भारि मन लिएर पुगें । रित शुरु भयो । पालै शान्ति मेरो पनि निधार रंगियो । अरुले जे जति भएपनि पैसा दिंदै ढोगे । तर मैले त्यसै ढोगे । दिदीहरुले केहिजस्तो मान्नु भएन । रोटि, अनारस, अचार, छोकड़ा, अनि अरु के हो के के खाइयो । अन्तमा पान पनि दिनुभयो । तरपनि मेरो मन भतभती पोलि नै राखेको थियो । दिदीहरु एकान्तमा भएको मौका पाएर मनका सबै कुरा भनें । रुंला रुंला गर्दै भनेका कुराहरु सुनेर दिदीहरु त हाँस्नु पो भयो र हातमा पैसा राखिदिदै भन्नु भयो ‘जा तिहारको दिन चेलीका पैसाले खेलिस भने जित्छस् |’ म के भनौं के भनौं भएँ | मैले के सोचेको थिएँ र दिदीहरु के हुनुहुँदो रहेछ । दिदीहरुले करबल गर्नुभयो हारिस भने हाम्रै जान्छ तँलाई के जा । एकजना दिदीसँगै गएँ नभन्दै जित्दै गएँ । अघि हारेको पैसा सबै उकासें । अनि घर आयौं । तर दिदीहरुले पैसा लिन मान्नुभएन । आज धेरै साल भयो दिदिहरुसंग टाढा छु परदेशमा । तर लाग्छ दिदीहरुले मेरोलागि यमराज रुपी ओखरलाई फोडेर नै म सकुसल छु ।

तपाइँको प्रतिक्रिया