नेपालीको दुखमा चल्ने कालो बजार
- धरम केसी / साउदी अरेबिया
केही बर्ष अघिको बस यात्रा भोगाई हो – काठमाडौंबाट मुग्लिन नपुग्दै दिनभरीको जाममा परियो । नजिकैका दुई पसलमा पानी किन्दा रू। ३० पर्यो । साधारण बिस्कुटको रू। १५ । अरू दिनमा त्यही पानी र बिस्कुट क्रमशः रू। २० र १० मा पाइन्थ्यो । नेपालीलाई दुख पर्दा बढी कमाउन खोज्ने नेपालीकै जुन मनोबृत्ती त्यहाँ देखेको थिएँ, पछिल्ला केही बर्षहरूमा साउदीको दमाम क्षेत्रमा त्यही मनोबृत्ती र प्रबृत्ती देखिरहेको छु ।
साउदी प्रहरीको हस्तक्षेपपछि दूतावासको पहलले कुनै निकास दिन नसकिरहँदा पछिल्ला २ हप्तामा दमाममा हामीले स्वयमसेवा गर्न पाएका छैनौं । यसलाई बढी कमाउने अवसरका रूपमा लिँदै स्थानिय ब्यापारीले आफ्नो सेवाशुल्क फेरी बढाएका छन । पासपोर्ट सहजिकरणका लागि एकजना सेवाग्रहीले ५०० रियाल दिएपछि १५० मात्र फर्काइयो । अर्थात कमिशनको दर बढेर फेरी ४० पुग्यो ।
स्मरणीय छ, गतः जुन ६ मा दूतावासले नै यो क्षेत्रमा कसैले पनि ३० रियालभन्दा बढी लिएमा कार्बाही हुने बताएको थियो । एनआरएनएले त्यो ३० रियाल नै बढी हो भन्दै आफूले यो क्षेत्रमा निशुल्क सेवा दिँदै आएको छ । एनआरएनएको यही निशुल्क सेवालाई दूतावासका यसै क्षेत्रमा खटिएका स्थानिय कर्मचारीले ‘सस्तो लोकप्रियता’ भन्दै यस्ता कुराका पछि नलाग्न भनेका छन । चन्दामा प्रशंसा-पत्र किनबेच गर्नेहरूका लागि लोकप्रियता पनि बिकाउ हुनसक्छ । तर निशुल्क सेवाबाट हासिल हुने लोकप्रियता अमूल्य हुन्छ । यसको मूल्य तोक्ने या सस्तो भन्दै अपहेलना गर्ने (होच्याउने) धृष्टता शोभनीय र पाच्य हुँदैन ।
त्यसैगरी सेवाग्रहीहरूलाई आइतबार दिनको २ देखि ४ बजेका बिच मात्र फोन गर्नू भन्ने सुन्ने हजारौं कानहरू छन । फोन सम्पर्क हुन नसकि दूतावासका कर्मचारीको आवाज (जवाफ) सुन्न नपाउने अरू असंख्य कानहरू छन । यो भ्रम नभई हिंजोसम्मको दुखद यथार्थ नै हो । अब सच्चिएर सुध्रिएर बिहिबारसम्म सम्वाद हुनसक्छ भने यो सुधारको अनुभूति सबैले गर्न पाऊन ।
दूतावासले रियादबाट कार्यालय समय र बिदाका दिनहरूमा समेत दिंदै आएको सेवा सह्राहनीय छ । तर संकलित सबै फारमहरूमध्ये दूतावास हाताभित्रै सेवा पाउने (भरिने फारमहरू)को संख्या अत्यन्त न्युन हुन्छ । बांकि प्रत्येक फारमहरूमा केही न केही ब्यापार भएकै हुन्छ । खर्च र सास्ती खेपेकै हुन्छन जसमा दूतावासले मौन सहमति र कतै कतै त संरक्षण र प्रोत्साहित समेत गरेको देख्दा सानेपामा पक्राउ परेकी एकजना महिलाको याद आउँछ जसले आफ्नो घरको पूजा कोठामा नित्य पूजा आराधना गर्थिन । तर सँगै घर भाडामा लिएर युवतिहरू राखेर देह ब्यापार चलाएकि थिइन । एकजना पत्रकारले त्यो देह ब्यापारमा ग्राहक बन्दै उनीसँग गरेको टेलिसम्वादको रेकर्डको आधारमा उनी (देह ब्यापार सञ्चालिका) पक्राउ परेकि थिइन ।





