नाकै काटिने भो बेलायतका नेपालीको
बेलायतसित अहिले नभएपनि संसारभरि साम्राज्य फैलाउँदै हिँडेको बेलाको साख छ । शान छ । भाषा र बेलायतीहरुको आफ्नो गौरव त झन भैहाल्यो । त्यहि साख र शानले गर्दा नेपालीहरु बेलायतनै हाम्फाल्न खोज्छन् । छनपनि एक लाख ७० हजारजति नेपाली छन् बेलायतमा । संघ संस्थानै सय वटा भन्दा बढि छन् । डाक्टर, कलाकार, क्याम्पसका साहु । अस्पत्तालका मालिक । बेलायतकी महारानीको लागि कानुनी सल्लाहरकारको समूहमापनि पर्ने नेपाली । ब्यापारी, पाइलोट, वकिल, डाक्टर कति छन् कति । एन आर एनकै चुनावमा लाख लाख पाउण्डको चर्चा सुनिन्छ । त्यहाँका नेपालीपनि यस्सो यताउति जाँदा टाउको तिनिक्क पार्छन्, त्यहि बेलायती शान र साख होला । तर जति भएपनि के गर्ने ? बेलायतका नेपालीले आफ्नै नाक चट्ट काट्न लागेको चर्चा नेपालीहरुमा चल्न थालेको छ ।
नेपाललाइ विश्वभरि चिनाउन भनेर उल्टो साईकल चलाएर ५६ देश पुगिसक्यो बिरेश दहालको टोली । उनीहरुले अमेरिकाको भिसापनि पाए । तर अमेरिका जान बाटा खर्चपनि नपुगेर यतिखेर ति लण्डनमा अलपत्र परेका छन् । तर नेपाली संस्थाहहरुले उनीहरुलाई बाटो खर्चपनि जोडिदिन ताकेता गरेका छैनन् । अहिले सम्म गैह्रआवासीय नेपाली संघ, बेलायतबाट करिब पन्ध्र सय पाउण्ड र गुल्मी जिल्ला समाज यूकेबाट एकसय ५१ पाउण्ड पाएका छन् । तर त्यसले पुग्दैन । अरु गर्नुपर्नेहरु चुपचाप बसेका छन् । बरु नाक काटियोस बालमत्लव झैं गरेर !
“बेलायतका नेपालीको नाक काटिने भो” भन्ने चर्चा नेपाल र नेपालीलाई चिनाउन भनेर हिँडेका नेपालीहरुलाई अलिकति बाटो खर्च सम्म दिन नसक्ने नेपाली बेलायतमा बस्छन् भनेर चल्दै छ । नेपालीहरुकै हित, नेपालीकै सेवा गर्ने भनेर बेलायती प्रशासनमा दर्ता भएर बसेका, नेपालीकालागि सेवा गर्न भनेर चर्चापनि गर्ने संस्थाले उल्टो साईकल चलाएर विश्व भरिको फन्को मार्न निस्किनेलाई बाटा खर्च पनि दिन नसक्ने कन्जुस नेपालीहरु बेलायतमा बस्छन् भनेर चल्दै छ । कलाकार ल्याएर नचाउन पाए, रमझम गरेर जाँडपानी खाएपछि कम्मर मर्काउन पाए ज्यान फाल्छन् बेलायतका नेपालीले । तर नेपालको हित हुने कामम पुठ्ठो फर्काउँछन् । नेपालको झण्डा त मसला बनाउन बोक्ने हुन् नेपालकै हितको काम गर्न पर्यो भने लुक्छन् भनेरपनि बेलायतका नेपालीलाई चिन्ने बाटो दिँदै छन्, बेलायतका नेपालीले ।
कसैलाई लाग्ला, साईकलमा विश्व घुम्छ त के दिने ? तर उनले गरेको कामले नेपालकै चर्चा परिचर्चा हुन्छ । झन उल्टो साईकल चलाएर विश्व परिक्रमा गर्ने त यो विश्वकै पहिलो घटना हो । पहिलो नेपाली, नेपालका नाममा विश्वभर त्यसको चर्चा हुने छ, ईतिहास रहने छ ।
यो टोलीले झ्याप्प घर घडेरी पुग्नेगरि सहयोग मागेकोपनि होइन । भिसा मिल्यो । अब अमेरिका पुग्ने बाटा खर्च हो । तर एक लाख सत्तरी हजार नेपाली भएको, सयवटा भन्दा बढि नेपाली संस्था भएको बेलायतबाट बाटा खर्चपनि जुटाइदिन नसक्ने हुन्छ ? यो चाहिँ जसले जे भनेपनि त्यहाँका नेपालीको बेईज्जतनै हो । “बाटो खर्च नपुगेकाले माग्न आका छम्, हार गुहार गर्न आका छम्, नेपालीले दिन सकेनन्” भन्दै यो टोली बेलायतीहरुको आँगनमा पुग्यो भने के होला ? कसको बेईजत होला ? वा कि इज्जत बढ्ला ?
५६ वटा देश पुग्दा सम्म उपाय झिके नेपालीले । सहयोग दिए । अझ कति थोरै नेपाली बस्ने । अझ कति गरिव मुलुकका थोरै तलबमा बसेका नेपालीले साथ दिए । युरोपमै सबैभन्दा बढि नेपाली बसेकै ठाउँमा अलपत्र ! सुन्दापनि कस्तो अपाच्य लाग्ने ! बेलायत बस्ने नेपालीलाई चाहिँ आनन्द लाग्ला ?






