नेपाली हिमाल आरोही डेनिस नागरिकका अनुभव र दशैको सामूहिक टिका
- पूर्ण बन्धन / होपनहेगन डेनमार्क
गत अक्टुबर २ मा डेनमार्क नेपाल सोसाईटीको आयोजनामा नेपालका शिखरहरु आरोहण गर्ने डेनिस नागरिक सोर्यान गुड्म्यानले आरोहरण सम्बन्धी वृतचित्र र आफ्ना अनुभवहरु प्रस्तुत गरे । नेपालका प्रख्यात हिमालहरु मध्ये मनास्लू २००४ र सगरमाथा शिखर २००९ मा आरोहरण गर्ने सोर्यान गुड्म्यानले आफ्नो हिमाल आरोहण सम्बन्धी करिब २ घण्टा लामो अनुभव साँटेको उक्त कार्यक्रममा ६० भन्दा बढी डेनिस नागरिकहरु उपस्थित थिए ।
विश्वका विभिन्न देशका ७ वटा उच्च शिखरहरु आरोहरण गर्ने अवशर पाएका सोर्यानले नेपालका हिमाल आरोहरणको आनन्द सबै भन्दा उत्साहबर्धक र अदितीय रहेको कुरा उल्लेख गरे । उक्त कार्यक्रममा सन १९६९ देखि अनवरत रूपमा सञ्चालनमा रहेको डेनमार्क नेपाल सोसाइटीकी संस्थापिका बिर्गिट नियल्सन र वर्तमान अध्यक्ष लार्स गुन्डरसेनले कार्यक्रमको सौहाद्रपूर्ण व्यवस्थापनमा सहयोग गरेका थिए ।
कोपनहेगनमा सामुहिक दशैं टिका समारोह
डेनमार्कमा सञ्चालित सामाजिक संस्थाहरु र नेपाल सरकारको प्रतिनिधी निकाय नेपाली राजदूतावासको संयूक्त पहलमा अक्टोबर ५ तारिखका दिन सामुहिक टिका समारोह सम्पन्न भएको छ । नेपाली सडक महोत्सव प्रतिष्ठान डेनमार्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोपनहेगन महानगरपालिकाको विश्व सँस्कृति महाशाखाले विशेष सहयोग प्रदान गरेको थियो ।
सहभागी सर्वसाधारण नेपाली सँस्कृति प्रिय महानुभावहरुले डेनमार्क घुम्नका लागि पाल्नु भएका वयोवृद्ध तिर्थराज तिवारीका हातबाट दशैंको टिका ग्रहण गरेका थिए । विदेशमा बसेर पनि नेपालीहरु यसरी एकआपसमा बसेर सामुहिक टिका लगाउने यस अभियानलाई उपस्थित सबैले श्रहाना गरेका छन् । कार्यक्रममा सहआयोजकको भूमिका कोपनहेगनमा विधिवत रूपमा सञ्चालनमा रहेका सामाजिक संस्थाहरु फोकस नेपाल, क्रियटिभ नेपाली वुमन इन डेनमार्क, अभियान नेपाल डेनमार्क र गैर आवाशीय नेपाली संघका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । संख्यात्मक रुपले थोरै सहभागी भए तापनि भावनात्मक रुपले नेपालीहरु रमाएको देखेर उपस्थित विदेशीहरुले समेत टिका लगाउनुका साथै कलाकार दुर्गा बराईलीले नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जक बनाएकी थिईन ।
सोही अवशरमा नेपाली चलचित्र क्षेत्रका निर्देशक स्व. शिव रेग्मीको अन्तिम चलचित्र ‘पराई’ प्रदर्शन गरिएको थियो । पराई चलचित्रका मुख्य नायक गोबिन्द शाही स्वयं उपस्थित रहेको कथानक चलचित्रले दर्शकहरुलाई भावुक बनाएको र स्व. शिव रेग्मी प्रति श्रद्धासुमन अर्पण गरेका थिए ।









