हिन्दूहरुको दशैं, हामी खेल्छौ किर्पा

  • महिन्दो वाइबा

kirpa-4

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सेमजोङ गाविसमा विशेष गरी तामाङ जातिको बाहुल्यता छ । यहाँ युगौदेखिको बाक्लो बस्ती छ । नेपालको पश्चिमी तामाङ भनेर चिनिने धादिङका तामाङहरु अन्य क्षेत्रका भन्दा अलिकति पृथक छन् । ति आफ्नै इतिहास, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा रितिरिवाजले सु-सम्पन्न छन् । धादिङ जिल्लाको सेमजोङ गाविस तामाङहरुको ऐतिहासिक थलो हो । सेमजोङमा रहेको वाइवा राजाको डापजोङ दरबारको इतिहास किताब र इतिहासको पानामा भेटिँदैन । तर वाइवा राजा र डापजोङ दरबारले बेग्लै किसिमको इतिहास बोकेको छ । यस डापजोङ दरबारको निर्माण विसं ४००-५०० तिर राजा तागुर र रानी सिलिङ्मोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

तात्कालिन वाइवा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्थे । जंगलमा गिठ्ठा भ्याकुर खोज्थे। आफ्नो राजालाई शिकार गर्ने मेसो मिलाइदिन वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरिपरी ल्याइदिने गर्थे । जुन दरबारको भाग्नावशेष अहिले पनि छ । तर संरक्षणको अभावमा दिन दिनै जिर्ण हुँदै गएको छ । राजाले जनावरलाई आफ्नो धनुवाणले मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गर्थे ।

kirpa-3

राजा धनुवाणमा निकै निपुँण थिए । राजारानीका चार भाइ छोराहरु थिए । नेपाल एकिकरणको क्रममा राजा पृथ्वीनारायण शाहले आक्रमण गर्ने क्रममा तीन भाइ छोराहरु आक्रमणमा मारिए । एक भाइ भागेर पश्चिमतिर लागे । पृथ्वी नारायण शाहको आक्रमण पश्चात वाइवा राजाको वंशजहरु दरबार छोडी हालको सेमजोङको गैरा गाउँमा बस्दै आएका थिए ।

kirpa-1

राजारानीको नाति राजकुमार छेवाङका आठ भाइ छोराहरु र एक छोरीको जन्म भएको थियो । राजारानी हजुरबा, हजुरआमाको निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुराना दरबारबाट केहि पूर्वमा बाजे-बज्यैको सम्झनामा दुइवटा मानेहरु बनाएका रहेछन् । सो माने अहिले पनि देख्न सकिन्छ । छेवाङले पनि आफ्नो निधनपछि माने बनाउनुपर्छ भनी छोराछोरीहरुलाई भनेको हँदा छोराछोरीहरुले आफ्नो बुबाको सम्झनामा माने बनाए । त्यो माने बनाउनको लागि प्रत्येक छोराछोरीको तर्फबाट एक-एक मुरी धान भुटेको फूल, मकैको फूल, लट्टेको फूल गरी जम्मा नौ-नौ मुरी र दुध, दहि, नौनी, घ्यू गरी नौ-नौ पाथी जम्मा पारी होमा नामको मानेू बनाए । त्यो माने अहिले पनि छ । प्रत्येक बाह्र वर्षमा त्यहाँ भव्य मेला लाग्ने गर्दछ ।

kirpa-5

सो माने ह्यापेङ खोलाको ढुङ्गा ल्याएर बनाएको भन्ने बुढापाकाहरुको भनाई छ । अहिले पनि त्यो मानेको ढुङ्गा टुट्फुट भएमा वा मानेमा भएको पाँच बुद्धको मुर्तिहरु टुट्फुट भएमा वाइवाहरुको ज्वाइँ चेलाको उपस्थितिमा ह्यापेङ खोलाको ढुङ्गा ल्याएर मर्मत गर्ने गरिन्छ ।

यिनै वाइवा राजासंग जोडिएको अर्को पाटो हो, प्रत्येक आश्विन शुक्लपक्ष दशामीका दिन किर्पा क्लाङबा धनुषकाँडा तारो हानेर खेल्ने शिकार खेलेको प्रतिबिम्वित गरी अग्रज पूर्खाहरुलाई स्मरण गर्ने प्रचलन अहिले पनि छ ।

किर्पा परिचय

पूर्खौदेखि चलिआएको किर्पा परम्पराले तामाङहरुको जिउँदो इतिहास बोकेको छ । बितेका पुर्खाहरुलाई सम्झँदै ऐतिहासिक र सांस्कृतिक्र परम्परालाई प्रतिविम्विद गर्ने यो खेलमा एक व्यक्तिलाई कुकुरको भूमिका दिइन्छ भने गाउँको मूखियाले राजाको भूमिका निभाउँछ । गाउँका यूवाहरुले जनताको भूमिकामा मृग हरिण जस्ता वन्यजन्तुको सट्टा फर्शी ल्याएर राख्छन्। शिकारीहरु कुकुर लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छन् । यसमा सत्य के भने तात्कालिन वाइवा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका बज्रवाणलाई पनि शिकार खेल्ने ठाउँसम्म लाने गरिन्छ । सो वाँणबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फर्शीको टुक्रा पठाउने गरिन्छ ।

kirpa-2

kirpa-6

kirpa-7

त्यसपछि गाउँका सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रमाइलो गर्छन् । साथै तीर हानेर कसले निसाना लगाउने भनेर प्रतिस्पर्धा हुन्छ । पृथ्वीको उत्पतिदेखि हालसम्मको कथा बोमसाङ गाथामा सुनाउँदै माने वरिपरि नाच्ने चलन छ । किर्पा क्याङ्बा देखिदा साधरण खेलजस्तो देखिएता पनि यसले जिउँदो इतिहास बोकेको छ । यसको संरक्षण संवर्धन र निरन्तरताको लागि हामी सबैले पहल गर्न जरुरी छ ।

तपाइँको प्रतिक्रिया