दशैँ र तिहार बिदामा पढ्नुपर्ने केहि किताब
- डा. लेखनाथ काफ्ले / शिन्चु, ताइवान
पुस्तक पढ्नु राम्रो कुरा हो र असल पुस्तक पढ्नु झनै राम्रो कुरा हो। आजकल नेपालमा सातामा १० वटा किताब प्रकाशित हुनु र कम्तिमा ५ वटा विमोचित हुनु सामान्य हुन थाल्यो। अर्थशास्त्रले आपूर्ति धेरै भए माग कम हुन्छ भन्छ तर नयाँ प्रबिधि र रुचिका बिषयमा त्यो सिध्दान्तले मजाले फेल खान्छ। हाम्रोमा पुस्तकको अधिक आपूर्तिले माग पनि बढाएको छ, पढ्ने मान्छे बढाएको छ। प्रतिष्पर्धाले गर्दा बिबिधता बढेको छ। पाठकलाई मनग्य छनोट छ, गुणस्तरमा पनि राम्रो प्रभाव परेको छ, लेखक बढेका छन्, कृति बढेका छन्, बजार बढेको छ। समग्रमा नेपालीहरुको पढ्ने बानी बढेको छ।
दशैँ र तिहार पारिवारिक पर्व हुन्, पारिवारिक पुनर्मिलन, भेटघाट र खानपिन मुख्य पक्ष हुन् यी बिदाका। त्यसबाहेक मनोरञ्जनका लागी पिंग खेल्ने, घुम्ने,भैलो दिउसी खेल्ने, हेर्ने वा फिलिम हेर्ने यस समय गरिने मुख्य क्रियाकलाप हुन्। त्यसबाहेक मन परेका र अरु बेला समय नपुगेर वा नजुरेर पढ्न नभ्याएका वा नसकेका पुस्तक पढ्ने मौका हो यो। यसै सन्दर्भमा मैले यसपालीको दशैँ तिहारमा पढ्नै पर्ने केहि किताबहरुको चर्चा गर्दैछु।
१. चिना हराएको मान्छे(आत्मकथा)
लेखक: हरिबंश आचार्य प्रकाशक: फाइन प्रिन्ट मूल्य: ३५०
पत्नी वियोगले बिक्षिप्त बनेको बेला लोकप्रिय कलाकार हरिबंश आचार्यले लेखेको आत्मकथा हो “चिना हराएको मान्छे”। धेरैलाई लाग्दो हो सबैलाई हसाउने उनको जीवन त झनै रमाइलो होला तर ठिक उल्टो छ उनको जीवन । आफ्ना सबल र दुर्बल दुवै पक्षहरुको इमान्दारीपूर्वक लेखेका उनको आत्मकथाले विषम परिस्थिति बीच पनि सफलता पुगेको आफ्नो जीवनका उकालीओरालीको व्याख्या गरेको छ।
२. समय बिम्ब (डायरी)
लेखक: झमक घिमिरे प्रकाशक: शब्दहार क्रियसन्स प्रा.ली. मूल्य: ३५०
यसै पनि झमक नेपालकी एक शसक्त लेखक हुन्।अहिले उनि आफ्नो दुइ बर्षे डायरी लिएर आएकी छन्। उनको डायरीमा द्वन्दकालिन अबस्थामा उनलाई परेको दवाब, उनको पीडादायी दैनिकी, देशमा घटेका घटना र विद्यमान सामाजिक कुरीतीहरु माथि उनको विचार तथा झमकको बारेमा आजसम्म धेरैले नजानेको पहलुहरु छन्। काँडा नै काँडा बीच उनले आत्मविश्वास र सकारात्मक सोचहरुको माध्यबाट कसरी जीवनलाई फूल बनाउदी न भन्ने नजिकबाट बुझ्न यो डायरीले मदत गर्दछ ।
३. बाल्यकालका पदचापहरू (बाल्यकालको संस्मरण)
लेखक: खगेन्द्र संग्रौला प्रकाशक: फाइन प्रिन्ट मूल्य: ३९८
खरा लेखकका रूपमा परिचित खगेन्द्र संग्रौला “बाल्यकालका पदचापहरू” मा भने अत्यन्त कोमल, सरल र गम्भीर छन् । बाल्यकालका निर्दोष दैनिकीहरुलाई रोचक, सरल र लयात्मक लेखनमा उतारेका छन् उनले ।ससाना घटनालाई पनि मिहिन र पढु पढु लाग्ने बनाएर लेखेका खगेन्द्रको बाल्यकाल पनि पढ्दा लाग्छ आफ्नै बाल्यकालको फिलिम चलिरहेको छ आखाँ अगाडी ।
४. दुखेकोयुरोप (खोज लेखन)
लेखक: ददीसापकोटा प्रकाशक: सांग्रिला बुक्स मूल्य:३७५
एघार देशमा रहेका अठ्ठाइस नेपालीहरुको मानवतस्करहरुबाट ठगिएका, भोगिएका र युरोप पुगेर पनि बिताई रहका नारकीय जीवनको कथा हो ददि सापकोटाको ‘दुखेको युरोप’ ।बास्तबिक पात्रहरुसंग बसेर गरेका कुराकानीहरुको आधारमा तयार पारिएको कथानक संगालो हो यो ।यो किताब मार्फत आफ्नो स्वप्न देश मान्दै आएको यूरोपमा नेपालीहरुले भोगेका दुख र पीडालाई पाठकहरुले राम्ररी बुझ्नेछन।
५. जीवन काँडा कि फूल (आत्मकथा)
लेखक: झमक घिमिरे प्रकाशक: झमक घिमिरे साहित्य कला प्रतिष्ठान, नेपाल मूल्य: २५०
‘प्रतिमस्तिष्कीय पक्षघात’ भन्ने शारीरिक अशक्ततासहित धनकुटाको कचिंडे गाउँमा जन्मिएकी झमकले संसारलाई नै अचम्म पार्ने गरी आफ्नो कलम चलाई रहेकी छन् तर धेरैलाई थाहा छैन उनका थुप्रै मार्मिक भोगाइहरु । जीवन के हो र कसरि बाच्नु पर्छ भनेर आफ्नै जीवनका घटनाहरुमार्फत सबैलाई सिकाइरहेकी छन् झमक । उनको यो कृति अंग्रेजी र चिनिया भाषामा समेत उल्था भै सकेको छ ।
६. दमिनी भिर (उपन्यास)
लेखक: राजन मुकारुङ प्रकाशक: फिनिक्स प्रकाशन मूल्य: ३२५
शिर्षक हेर्दा नै अलि बेग्लै लाग्ने यो उपन्यास साच्चिकै बेग्लै नै छ । पूर्वी नेपालका राई लिम्बूहरुले बोलिचालिमा प्रयोग गरिने वाक्य र शब्दहरूले भरिएको यो उपन्यासले पढ्दा पाठकहरुले बेग्लै स्वाद र परिवेशको अनुभूति गर्ने छन् ।
७. फूलको आँखामा (आत्मकथा)
लेखक: आनी छोइङ डोल्मा प्रकाशक: नेपालय मूल्य: ३००
तिब्तवबाट लखेटिएर भारत हुँदै काठमाडौंको बौद्धमा आफ्नो ठेगान बनाएकी उनी आफ्नो पीडादायी बिगतलाइ बिस्तार गरेकी छन् यस आत्मकथा मार्फत । एउटी सामान्य केटि जो गरिबी र घरेलुहिंसाले प्रताडित हुन्छे उ कसरि आजकी ”आनी छोइङ डोल्मा” बन्छे कथा होयो ।कष्टकर जीवनबाट फुत्केर समाज बदल्ने अभियानमा लागेकी उनको यो प्रेरणादायी कृति हो ।
८. अन्तर्मनको यात्रा (जीवनोपन्यास / आख्यान)
लेखक: जगदीश घिमिरे प्रकाशक: जगदीश घिमिरे प्रतिष्ठान, नेपाल मूल्य: ३००
माइलोमा भएपछि मानिस कमै बाच्छन । धेरैमा तीन–चार वर्षसम्म मात्रै । जब उनलाई त्यो थाहा भयो अनि उनले नआत्तिकन आफ्नो जीवनमा रुची भएका र गर्न बाकि रहेका महत्वपूर्ण गर्न थाले । उनको त्यहि महत्वपूर्ण कामहरु मध्ये यो कृति पनि एक हो । यो उनको जीवनको भोगे र अनुभवको आलेख हो, अत्यन्त भावविह्वल र मार्मिक हुदाहुदै पनि यो एक प्रेरणादायी कृति हो ।
९. ताप (उपन्यास)
लेखक: शारदा शर्मा प्रकाशक: सांग्रीला बुक्स मूल्य: ३००
नारी मनोविज्ञानलाइ नारी लेखकले नै न्याय गर्न सक्दछ । चर्चित लेखक शारदा शर्माको नया उपन्यास तापले आनी भएर बस्दाका पीडा र नारीसंवेदनाका विविध पाटाहरूलाई उजागर गरेको छ । राजनीतिक बिकृतिहरु र पुरुष प्रवृतिलाइ पनि गहन गरि लेखिएको यो उपन्यासलेपाठकहरुलाई राम्ररी तान्न सक्दछ ।
१०. सकस (उपन्यास)
लेखक: जगदीश घिमिरे प्रकाशक: जगदीश घिमिरे प्रतिष्ठान, नेपाल मूल्य: ३७५
“सकस” नेपाली इतिहास र बर्तमानलाइ संगै मिलाएर लेखिएको गजबको कृति हो । यसमा मल्ल र शाह राजाहरु, राणाहरु सहित समयक्रममा अहिलेको वर्तमान नयाँ नेपाल समेत समेटिएको छ । एतिहासिक, राजनीतिक र सामाजिक विषयामा चाख राख्नेहरुको लागि यो नपढी नहुने कृति हो, तथापि यो जोसुकैले पढ्दा पनि उत्तिकै रोचक र लाग्दछ ।
११. पहाडजस्तो बाटोजस्तो म (बाल्यकाल र युवा अबस्थाको संस्मरण)
लेखक: मञ्जुल प्रकाशक: रत्न पुस्तक भण्डार मूल्य: ३५०
मन्जुलको बाल्यकाल र उनले भोगेका दुख, कष्ट र रमाइला भोगाइहरुको यो कृति एउटा पाहाडी केटाको संघर्षमय कथा हो । राल्फाली सांगीतिक अभियान र रामेशसंगको उनको उतारचढावको सम्बन्ध यो किताबको रोचक पाटो हो । उनीहरुले गरेका सांगीतिक कार्यक्रम र पारिजात कै बारेमा पनि केहि नया कुराहरु उनले यस मार्फत बाहिर ल्याएका छन् ।
१२. असहमति (नेपालका बिबिध बिषय/घटनाहरू माथि बिश्लेषाणात्मक निबन्धहरूको संगालो)
लेखक: सौरभ प्रकाशक: अर्किड बुक्स मूल्य: ३७५
नेपालमा हामीले जाने बुझेका वा सुनेका/पढेका घटना र विषयहरुमा उनको ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट गरिएको छुट्टै विश्लेषण र बिचारहरुको संगालो हो यो असहमति। जनसाधारणले सामान्यरुपमा लिएका विषयलाई अर्को दृष्टिकोणबाट बहसमा उतार्नु मै सौरभको चर्चित छन्। उनका लेखहरुले पाठकहरुको मन मष्तिस्कमा एउटा हलचल मच्चाउन सक्दछन।
१३. खुशी (आत्मकथा)
लेखक: बिजय कुमार पाण्डे प्रकाशक:फाइन प्रिन्ट मूल्य: ४९८
लेख्न कोशिस गरेको धेरै बर्षसम्म पनि के लेख्ने र कसरी लेख्ने भन्ने दोधारमा बसेका चर्तित पत्रकार बिजय कुमार अनन्त आफ्नै आत्मकथा लिएर आएका छन्। बजारमा आएका आत्मकथाका नाममा आएका आत्मप्रशंसा भन्दा अलग यो उनको इमान्दारितापुर्बक लेखिएको आत्मकथा हो। उनको जीवनका उतारचढाव, राम्रा-नराम्रा पक्षहरुलाई धेरै हदसम्म खुलेर लेखिएको यो आत्मकथा एक पढ्न लायक किताब हो।
१४. इन्द्रजाल (कथा संग्रह)
लेखक: नारायणढकाल प्रकाशक: फाइन प्रिन्ट मूल्य: २७५
शसक्त कथा, कबिता र लेख निबन्ध मार्फत नेपालीमाझ बेग्लै छबी बनाएका नारायण ढकालले यसपाली नेपाली राजनीतिमा आएका विसंगतिलाई रोचक पाराले कथामार्फत पाठक समाजमा राखेका छन्। उनका पात्रहरु देशका सबै क्षेत्र, भूगोल र समुदायका हुन्छन भने लेखकीय कला सशक्त ।
अहिले नेपालमा साहित्यिक भन्दा बाहिरका किताबहरुको माहोल छ। आत्म केन्द्रित फिक्सन वा आत्मकथाहरुले बजार पिटेको समय छ। नेपाली साहित्यमा यस्ता लहरहरू आउछन र जान्छन। आज भन्दा ५ बर्ष अघिसम्म पनि कबिता र सिर्जनात्मक लेखनको बाहुल्य थियो, अहिले यथार्थपरक कृतिहरु बढी बिक्नेमा पर्छन। पाठकहरुको स्वाद र चेतनाको फरकपनले यस्तो हुने गर्दछ। आफ्नो समाजमा चलेका वा आफ्ना आदर्श व्यक्तिहरुको बारेमा जान्न बुझ्न यस्ता किताबहरुले मदत गर्छन। तर नेपाली साहित्यको भण्डारलाई यस्ता मौसमी किताबले केहि पनि योगदान भने गर्दैनन्। यसको सकारात्मक पाटो पनि छ, यस्ता किताबहरूले मानिसहरुमा किताब किन्ने र पढ्ने बानी बसाल्छन। जसले भविष्यमा नेपाली साहित्यमा थप पाठक निर्माण गर्दछन।





