चिरेर पहाडहरू !

(किन यति बिघ्न बाढी र पहिरोले हाम्रा पहाडी वस्तिमा धुरुक्क किन रोवायो ? पहिरोको ज्यादति खेप्नु अघिनै लेखक मोहन मैनालीले यो लेख लेखेर सचेत पारेका थिए । यो लेख पढ्दा मननै झसंग हुन्छ । अझै कति बेदनाका खबर सुन्नु र खप्नु पर्ने हो भनेर मन अत्तालिन्छ । पहिरोको प्रकोप पछि यो लेख झनै सान्दर्भिक देखिएकाले कान्तिपुर कोसेलीबाट यहाँ साभार गरिएको छ-नेपालप्लस डट कम) 

  • मोहन मैनाली 

landslide-in-neal

अघिल्लो दिन बिहानैदेखि जुम्लामा पानी परेको थियो । बेलुका भएपछि झन् ठूलो । राति जाडो बढेर पानी जमेको थियो । त्यसको भोलिपल्ट, पोहर सालको चैत २२ गते आकाश छ्याङ्ग खुलेको थियो । पानीले धूलो पखालेर गाढा नीलो बनाएको आकाश मुन्तिरका टाकुरामा निकै तलसम्म सेताम्मे हिउँ जमेको थियो ।

जुम्ला बसौँ बसौँ लाग्ने गरी राम्रो भएका बेलामा मैले काठमाडौँ फर्कनु परेको थियो । मेरा साथीहरूले त ‘नेपालगन्जको बाटो भएर जा’ भनेका थिए तर होटल साहुले मलाई सोझै काठमाडौँ पठाउन मन गरे । पछि थाहा भयो, उनको एउटा कम्प्युटर काठमाडौँ पठाउनुपर्ने रहेछ । नेपालगन्जसम्म एउटा जहाजमा गएर, त्यहाँको गर्मीमा ६ घन्टा जति पर्खेर अर्को जहाजमा काठमाडौँ जानभन्दा जुम्लाबाट एक्सप्रेस जहाजमा काठमाडौँ जान सजिलो र सस्तो पर्थ्यो मलाई ।    

टिकट नलिई विमानघाट छिर्न नपाइने र विमानघाटभित्र नगई टिकट नपाइने समस्याको हल उनै होटलवालाले गरिदिए । आठनौजना मानिस र बेतबाँसको गोलो पिँजरामा थुनिएको एउटा जुम्ली च्याखुरा बोकेर नेपाल वायु सेवा निगमको टुइनअटर विमान जुम्लाबाट पश्चिम उड्यो । खलङ्गा बजार, नयाँ बन्दै गरेका घरले मिच्दै गएको तीला नदी किनारको खेत देखाएर तलिओम छेउ पुगेपछि जहाज फनक्क पूर्व घुम्यो र आकासियो ।

jumla-khalanga

हाम्रा दुवैतिर हिउँले ढाकेका पत्रैपत्र टाकुरा थिए । हाम्रा उत्तरमा हिमालय शृङ्खलाको मूल हाँगो थियो । हाम्रा दक्षिणमा चाहिँ हिमालयबाट छुट्टइिर् भिन्न बसेको च्याखेर-माबु लेक पूर्वबाट पश्चिम गएको थियो । भित्री हिमालको जुम्लाबाट हिमाल नाघेर पहाडै पहाड काठमाडौँसम्म उड्ने मौका कमै मात्र पाइन्छ । त्यो पनि राम्रो मौसम भएको, वसन्त ऋतुको सुरुमा ।

हामीभन्दा उत्तरका डाँडापाखाको हिउँलाई दक्षिणबाट लाग्ने घामले अलि पातल्याएको थियो । दक्षिणतिरका, उत्तर फर्केका ओसिला टाकुरामा चाहिँ हिउँ त्यति धेरै पग्लन पाएको थिएन । निकै होचा डाँडाका पातला जङ्गलका रूखका फेदमा हिउँका ढिका बाँकी थिए । माथिबाट हेर्दा स-साना मकै गोडेर तिनका फेदमा सेतो चिनी मल हालेझै देखिएको थियो ।

हाम्रो जहाज बिस्तारै पूर्वदक्षिण लाग्यो । सेता टाकुराबीचको साँघुरो खोँचमा हल्लाएर हामीलाई केही बेर तर्साएपछि जहाज भित्री हिमालबाट पहाडमा पस्यो । हिउँले ढाकेका टाकुरा अलि टाढा उत्तरमा छोडिए । हाम्रा नजिकचाहिँ गुराँसले राताम्मे पारेका पाखा थिए । बीचबीचमा बग्ने ठाडा खोलाले चिरेका । डाँडाका थाप्लाका मैदान पनि रातै थिए । गुराँसका रूख जसोतसो मात्र अडिन सक्ने भिराला पाखा पनि रातै थिए ।

अस्ति नेपालगन्जबाट जुम्ला आउँदा तीला उपत्यका पस्ने बेलामा उत्तरतिर अलिअलि मात्र लालीगुराँस देखिएको थियो । अहिले धित मर्ने गरी हेर्न पाइयो । त्यस ठाउँमा कतै कतै मात्र घर थिए । गोठ त पक्कै थिए होलान् तर जङ्गलको विनाश आकाशबाट देखिने गरी भएको थिएन ।

अलि गतिलो क्यामरा नबोकेकोमा पछुतो लाग्यो । साथीहरूको भनाइ मानेर नेपालगन्ज हुँदै काठमाडौँ फर्केको भए हदैसम्मको मूल्यवान कुरा हेर्न नपाइने रहेछ भन्न लाग्यो । यति राम्रो प्राकृतिक वरदान यस बाटोमा मात्र, यही बेला मात्र र मौसम खुलेका यस्तै दिनमा मात्र देख्न पाइँदो हो ।

त्यसपछि हामीले दिक्क लाग्दो, मन कुँडिने खालको, मानिसले गरेको विनाश हेर्नुपर्ने रहेछ । त्यसैले पो अहिलेसम्म हामीले औधि सुन्दर प्रकृति देख्न पाएका रहेछौँ । पूर्वदक्षिण लाग्दै जाँदा मानिसको बस्ती बाक्लिँदै गयो । त्यहाँ सडक खन्ने (बनाउने होइन, खन्ने अर्थात् भत्काउने) निहुँमा भयङ्कर ठूलो राक्षस पसेको रहेछ । खोलाको किनार, डाँडाको बीच र थाप्लोको जङ्गल जताततै एस्काभेटरले पहाड चिथोरेर त्यसको तल्लो भागमा ढुङ्गामाटो लडाएको थियो । कुनै गाउँमा त पहाडका यी तीनै ठाउँबाट तीनवटा बाटोरूपी राक्षस पुगेका थिए ।

जति हेर्दै गयो उति कहालीलाग्दो बाटो ! बाटो जानै नसक्ने ठाउँमा पनि बाटो ! बाटो लानै नहुने ठाउँमा पनि बाटो ! केही किलोमिटरको अन्तरमा बाटोले बनाएको पहिरो !

२०५२ सालमा नेकपा (एमाले) ले ‘आफ्नो गाउँ आफै बनाउ कार्यक्रममार्फत् आफूले चाहेको ठाउँमा खर्च गर्न पाउने पैसा गाउँमा गएपछि बाटो बनाउने क्रम तीव्र भएको थियो । अहिले त्यो कार्यक्रम चोला फेरेर ‘आफ्नो गाउँ आफै भत्काउ बनेको रहेछ ।

एक मनले चित्त बुझाउन खोज्यो- पहाडेलाई हिजोआज सबैभन्दा बढी चाहिएको कुरा बाटो रहेछ ! डा। तीर्थबहादुर श्रेष्ठ र अनिल चित्रकारले केही वर्षपहिले भारी बोकेर उकाली ओराली गर्ने मानिससँग कुराकानी गर्दा उनीहरूले एउटै कुरा चाहेका थिए रे- थाप्लाबाट नाम्लो हटोस् । अहिले पनि झन्डै ४० प्रतिशत पहाडेले बारैमास गाडी चल्ने बाटोमा पुग्न कम्तीमा पनि चार घन्टाभन्दा बढी हिँड्नुपर्छ रे । यस्ता ठाउँमा मानिसले बाटो चाहनु अनौठो र अनुचित थिएन ।

अर्को मन बुझेन । उसले भन्यो- बाटो चाहिएको हो भने त बाटो बनाउनु पो पर्छ । पहाड चिथोरेर त्यहाँको ढुङ्गामाटो बगाउँदा त थाप्लाबाट नाम्लो हट्दैन । अन्न फल्ने खेतबारी बाटो खन्ने हुँदा पुरेपछि त थाप्लामाथि नाम्लो झन् थपिन्छ ।

fairy-meadows-road-2

नेपालका गाउँका लागि चाहिने पूर्वाधारमा अहिलेसम्म १ खर्ब ९० अर्ब लगानी भइसकेको छ रे ! तर तिनको हालको वास्तविक मूल्य रु। १५ अर्ब हुन्छ रे । अर्थात् लगानीको १० प्रतिशत पनि बचेको छैन । नब्बे प्रतिशतभन्दा बढी लगानी बालुवामा पानी भएको छ । अहँ, होइन । बालुवामा पानी जस्तो भएको भए लगानी मात्र खेर जान्थ्यो, त्यसले थप समस्या त ल्याउँदैन । गाउँले सडकमा नाममा जे भइरहेको छ त्यसले त नयाँ समस्या निम्त्याएको छ । अर्थात् यो लगानी भत्काएको पहाडमा आकाशबाट तीव्र गतिमा घोप्टयाएको पानीजस्तो भएको छ तल जे भेटिन्छ त्यो सबै सोहोरेर लैजाने ।

यो बाटो देख्दा मलाई मात्र नरमाइलो लागेको हो कि भनेर म अलि पछि यसै क्षेत्रमा काम गर्ने मानिसका विचार बुझ्न थालें । यसै मेसोमा पाल्पाको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर प्रेमनारायण बस्यालको एउटा लेख भेटें । त्यसमा उनले लेखेका रहेछन्, ‘अत्यधिक मेसिनको प्रयोगले गर्दा डाँडाकाँडा रातै भएका छन्, ।।।बाटो खन्दा एकपटक एक्साभेटर पुग्छ र सम्भव भएमा अर्कोपटक उद्घाटन गर्न एउटा जिप दुःखसुख पुग्छ, त्यसपश्चात् उक्त बाटोको मर्मत गर्न सम्भव हुँदैन र बाटो सदाका लागि बन्द हुन्छ ।’

यसरी खनेको बाटोमा गाडी कुद्छ कि कुद्दैन भन्ने कुराको हिसाब दिन उनले पाल्पाको उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘हालसम्म पाल्पा जिल्लामा लगभग दुई हजार किमि स्थानीय सडक निर्माण भइसकेका छन्, जसमध्ये लगभग ४२ किमि सडक मात्र ओटासिल छ जसमा वर्षभरि यातायात सञ्चालन हुन्छ । बाँकी सडक धूले एवं ग्राभेल छ जसमा वर्षभरि यातायात सञ्चालन गर्न गाह्रो मात्र छैन, लगभग असम्भव छ ।’

नेपालभरको ५१ हजार किलोमिटर गाउँले सडकको अवस्था पाल्पाका गाउँले सडककोभन्दा राम्रो छैन ।

अचम्म लाग्दो कुरा के छ भने यसरी बनेका बाटोको मालिक स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागलाई अहिले खनिरहेका बाटो काम लाग्दैनन् भन्ने थाहा रहेछ । उसले आफ्ना प्रकाशनमा भनेको छ— सामान्यतया, सडक बनाउँदा भूक्षय हुन्छ, पहिरो जान्छ, वन, जैविक विविधता र कृषि सडकको विनाश हुन्छ । पानीका मुहानमा माटो थिग्रन्छ । ढलमा थिग्रेन जमेर ढल बन्द हन्छ । स्थायी सम्पत्ति मासिन्छ ।

यसो गर्नु हुँदैन भनेर नियम बनेका रहेछन् । पाल्पा, गोरखा र धादिङमा परीक्षण गरेर नेपालका पहाडमा कस्तो खालको सडक बनाउनुपर्छ भन्ने कुरा पत्ता लागिसकेको छ । तर पनि बिगार भइरहेको छ ।

यो सबैको दोष राजनीतिका नाममा बिगार गर्नेहरूलाई जाँदो रहेछ । बिग्रेको राजनीति सपार्न भनेर १०१२ वर्ष बिताएका यादव देवकोटाले गोरखामा भएको एउटा कार्यक्रममा भनेका थिए, ‘राजनीतिक दलहरूले अलग अलग बाटो खन्ने हुँदा एउटा गाउँमा चारवटा बाटो पुगेको छ ।’ देवकोटापछि गोरखाका स्थानीय विकास अधिकारी महेश बरालको बोल्ने पालो थियो । उनले देवकोटाका कुरा काट्लान भन्ने लागेको थियो । तर उनले त्यसो गरेनन् । उनले भने, ‘बाटामात्रै चारवटा होइनन्, सामुदायिक भवन पनि चारवटै छन् ।’

‘हामीले चाहना गरेर बेइमानी गरेका छैनौं तर बेइमानीलाई रोक्न पनि सकेका छैनौं,’ उनले भनेका थिए ।

यस नकामका लागि सबैले राजनीति गर्ने मानिसतिर औंला ठड्याउँदा रहेछन् । तर साँच्चै राजनीति गर्ने मानिस चाहिँ विनाशको विरोधमा रहेछन् । पाल्पाको यम्घामा पाँच वर्ष गाविस अध्यक्ष भएका ध्रुव अधिकारीले बाटो खन्ने साथीहरूलाई भन्ने गरेका रहेछन्— बाटो खन्नुस् साथीहरू ! पछि बसाई सर्दा ट्याक्टरमा सामान लान पाइन्छ ।

‘सडक बनाउने नाउँमा मानिस बाँच्ने सबै आधार मासेपछि बसाइ सर्नु परेन त !’ उनले भनेका थिए ।

अहिले गाडी गुडाउन मिल्ने खालको भिरालो, चौडाइ, घुम्ती, ढल आदि केही पनि नपुगेका बाटोमा गाडी हिँड्दा दुर्घटना भएर मानिस मर्नु अनौठो भएन । त्यसरी मरेका मानिसका लास टयाक्टरमा बोक्न पाइने एउटा सुविधाचाहिँ यस्ता बाटोले दिएका छन् ।

नेपालको सबैभन्दा उत्तरको हिमाललाई जलवायु परिवर्तनले कान्तिविहीन बनाउँदै छ रे । बाँकी नेपाललाई काम नलाग्ने बनाउन राजनीतिमा पसेका चोट्टाहरू लागिपरेका छन् । महाभारत पर्वतलाई बाटोका नाममा बगाउँदै छन् । तलतिर, चुरेलाई खारेर मैदान बनाउने काम पहिल्यैदेखि जोडतोडका साथ भइरहेकै छ । यी ठाउँमा यति पराक्रम गरेपछि नेपालको बाँकी भाग मधेस उजाड्न केही गर्नै पर्दैन ।

यस्तै कुरा सोच्न लगाउने दृश्य देखाएर जहाज पोखरामा ओर्लियो । त्यहाँबाट केही विदेशी यात्रु चढे । तिनलाई चकलेट र कपास दिन त्यस जहाजकी परिचारिका उठेर उनीहरूका सिटसम्म पुगिन । केही पहिले जुम्लामा हामी त्यही जहाजमा चढ्दा उनी गजधम्म भएर बसेकी थिइन् । उनी हिँड्न सक्दिरहिछन् भन्ने कुरा अहिले देखियो । जहाजका ग्राउन्ड स्टाफले पोखरामा चढेका यात्रुका सामान राख्न पछाडिको ढोका खोल्दा सकुशल भेटिएको च्याखुरालाई अभिवादन गरे । प्रकृतिले सुन्दर बनाएको र मानिसले कुरूप पारेको नेपालको राम्रो झलक सवा घन्टामा देखाइदिएर जहाज काठमाडौंमा ओर्लियो ।

यसबीचमा हामीलाई अनुपम यात्रा गराउनेमध्येको एउटा ट्विनअट्टर जहाज मुस्ताङमा चिप्लिएर कालीगण्डकीमा खस्यो । अर्काे जहाज हामी आएकै बाटो जुम्ला फर्कँदा बाटैमा खस्यो । जहाज नभएकाले, यस्तो उडान नभएकाले, जुम्लाका थप च्याखुरा काठमाडौं तस्करी भएनन् होला तर धर्ती मासेर नाफा कमाउने व्यापार भने रोकिएको छैन ।

(पहिलो तस्विर हालसालै स्याङ्जामा गएको पहिरोको हो । दोस्रो जुम्ला खलंगाको हो । तेस्रो फोटो माओवादीले खनेको रुकुम जोड्ने सडकको हो । फोटो स्रोत : पहिलो- फेसबुक, दोस्रो- मोहन मैनाली र तेसो – फ्रान्सेली पत्रकार भिन्सेन्ट प्राडो)

तपाइँको प्रतिक्रिया